चुनावमा जनमत लिएरै वैकल्पिक राजनीतिलाई उचाइ दिएको विवेकशील साझा भने पाँच वर्षमै छिन्नभिन्न
काठमाडौँ — अहिलेको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको माहोल जसरी गर्माएको छ, ०७४ मा त्यस्तैगरी जनमत बटुलेको थियो– विवेकशील साझा पार्टीले । त्यसबेला देशभर अप्रत्याशित मत र चर्चा कमायो, दलगत हिसाबले छैटौं दल बन्यो विवेकशील साझा । तर, सत्ता राजनीतिमा हालीमुहाली गरिरहेका पुराना र ठूला पार्टीका शीर्ष नेताहरूलाई नै कडा टक्कर दिएको सो पार्टी यसपटकको चुनावमा भने सतहमा छैन ।
पाँच वर्षपछिको यो चुनावमा चर्चा बटुलिरहेको पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीबारे अहिले अनेक अडकलबाजी भइरहेका छन् । यसको भविष्य के हुन्छ ? अहिले गर्ने अनुमान मात्रै हो । तर, चुनावमा जनमत लिएरै वैकल्पिक राजनीतिलाई उचाइ दिएको विवेकशील साझा भने पाँच वर्षमै छिन्नभिन्न बनेको छ । नीति, नेतृत्व र कार्यकर्ताको खडेरी लागेको छ । पटक–पटक विभाजन र एकताको प्रयास गरेका नेताहरू अहिले पार्टीबाट अलग्गिएर कोही राप्रपामा पुगेका छन् भने कोही स्वतन्त्र बसेका छन् ।
विवेकशील साझाकी नवनिर्वाचित अध्यक्ष समीक्षा बाँस्कोटा अहिले पार्टीको अस्तित्व रक्षाको लडाइँ लडिरहेको बताउँछिन् । ‘नेतृत्वले पार्टीलाई अगाडि बढाउनुपर्ने हो । तर हाम्रो हकमा भने नेतृत्वबाटै योजनाबद्धरुपमा पार्टीलाई सिध्याउने काम भयो,’ उनले भनिन्, ‘हाम्रो राजनीति यो निर्वाचनसम्म मात्रै होइन, अहिले हामी केवल पार्टीको अस्तित्व बचाउने लडाइँ लड्दैछौँ ।’
०७४ को स्थानीय चुनावताका विवेकशील नेपाली दल र साझा पार्टी अलग–अलग थिए । काठमाडौं महानगरपालिकाको चुनावमा दुवैले उम्मेदवारी दिएका थिए । त्यसबेला काठमाडौंको मेयरमा विवेकशीलकी रञ्जु दर्शनाले २३ हजार ४२९ मत पाएकी थिइन् भने साझा पार्टीका उम्मेदवार पूर्वसचिव किशोर थापाले १८ हजार ४ सय ९६ मत पाएका थिए ।
त्यहीबेला ललितपुरको मेयरमा उठेका साझाका रमेश महर्जनले १३ हजार ४५८ र उपमेयर शोभा शाक्यले १४ हजार २४० मत पाएका थिए । त्यही परिणामबाट उत्साहित भएका यी दलले संसदीय निर्वाचन अगावै पार्टी एकता गरेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए । त्यो बेला काठमाडौंका दस निर्वाचन क्षेत्रमध्ये काठमाडौं– १ मा रवीन्द्र मिश्र दोस्रो बन्दा बाँकी क्षेत्रमा विवेकशील साझाका उम्मेदवार तेस्रो भएका थिए ।
पाँच वर्षअघिको चुनावमा ठूला दललाई चुनौती दिएको विवेकशील साझाले यसपटक काठमाडौं महानगर मेयरको चुनावमा भने आफ्ना उम्मेदवारको जमानत जोगाउनै सकेन । त्यही कारण देखाएर गत ११ जेठमा अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएपछि पार्टीमा संक्रमण निम्तियो ।
‘महाधिवेशन नभएको, संयोजकमाथि कारबाही भएको अवस्था थियो, अध्यक्षले नै राजीनामा दिएपछि पार्टी मृत्युशय्यामा पुग्यो,’ विवेकशील साझाका प्रवक्ता प्रकाशचन्द्र परियार भन्छन्, ‘रवीन्द्रजीले विवेकशीललाई आफूसँगै राप्रपामा मिसाउने प्रपञ्च गर्नुभयो, तर हामीले विवेकशील राजावादी होइन, राप्रपामा गएको छैन भनेर अहिले परीक्षा दिइरहेका छौं । पार्टीलाई बचाएका छौं ।’
अध्यक्षबाट राजीनामा दिएका मिश्र १२ असोजमा राप्रपा प्रवेश गरेर काठमाडौं–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
यस्तै, कारबाहीमा परी पार्टीबाट निकालिएका तत्कालीन संयोजक मिलन पाण्डे काठमाडौं–९ मा साझा पार्टीबाट उम्मेदवार छन् । त्यसबेला विवेकशील साझामा रहेका नेतामध्ये रञ्जु दर्शनाले काठमाडौं–५ मा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् भने अर्का नेता पुकार बम काठमाडौं–१ मै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । युवा संगठनको अध्यक्ष रहेका अब्दुस मियाँ एमाले प्रवेश गरेर गोरखा–२ बाट उम्मेदवार बनेका छन् ।
विवेकशील साझा आफैंले भने प्रतिनिधिसभातर्फ ७ वटा क्षेत्रबाट मात्रै उम्मेदवारी दिएको छ । अघिल्लो निर्वाचनमा उपविजेता बनेको काठमाडौं–१ मा शंकर बञ्जाडे उम्मेदवार छन् । नेपाली टोपीका अभियन्ता बञ्जाडे युवा व्यवसायी हुन् ।
विवेकशील साझाबाट काठमाडौं–२ मा धनेज थापा, काठमाडौं–६ मा अजित खड्का, काठमाडौं–१० मा सनन श्रेष्ठ, सुनसरी–२ मा विजयकुमार बस्नेत, बारा–३ मा अमिरी साह तेली र बारा–४ मा सुनिलप्रसाद साह कलवार उम्मेदवार छन् ।
त्यस्तै प्रदेशसभा सदस्यका लागि ललितपुर–३ (१) मा समुन्द्र केसी, बारा–४ (१) मा डम्बरबहादुर खत्री र बारा–४ (२) मा धनञ्जयप्रसाद यादव उम्मेदवार छन् ।
०७४ मा प्रतिनिधिसभातर्फ विवेकशील साझाले २ लाख १२ हजार ३६४ मत पाएको थियो । वाग्मती प्रदेशमा भने एमाले, कांग्रेस र माओवादी केन्द्रपछि चौथो बनेको विवेकशीलबाट विराजभक्त महर्जन, शोभा शाक्य र रमेश पौडेल समानुपातिकबाट प्रदेशसभा सदस्य बनेका थिए ।
विवेकशील बिग्रहको बिगत
पहिलो संविधानसभाबाट संविधान जारी नभएर विघटन हुँदै गर्दा एउटा विवेकशील युवाहरूको झुन्डले ‘वैकल्पिक राजनीति’ को नाम दिएर विवेकशील अभियान थालेका थिए । जसको नेतृत्वमा थिए– उज्वल थापा, गोविन्द नारायण र पुकार बमहरू । विवेकशील राजनीतिक दलकोरुपमा उदाउँदै गर्दा नेताहरूले नयाँ संस्कार र डेलिभरीसहितको राजनीतिलाई एजेन्डा बनाए ।
०७१ को जेठमा उज्वल थापाको नेतृत्वमा विवेकशील नेपाली दल दर्ता भयो । ०७० को संविधानसभा सदस्य निर्वाचनमै ठूला दलको वर्चस्वविरुद्व उम्मेदवार उठाएको विवेकशीलले दलको आकार लिँदै थियो । त्यही बेला बीबीसी नेपाली सेवाको जागिर छोडेर रवीन्द्र मिश्रले साझा पार्टी खोले ।
०७४ को स्थानीय चुनावमा आ–आफ्नो शक्ति परीक्षण गरेपछि थापा र मिश्र एक ठाउँमा उभिए, अनि बनेका थियो–विवेकशील साझा पार्टी । त्यसबेला ३४ सदस्यीय केन्द्रीय समितिमा मुमाराम खनालदेखि किशोर थापा र सूर्यराज आचार्यसम्म अटाएका थिए । त्यतिबेलासम्म नेताहरूको तर्क थियो– हाम्रो पार्टी वाम वा दक्षिणपन्थी होइन, अग्रगामी हौं । हामी विकास र समृद्धिको नेतृत्व गर्छौं । त्यतिबेला महाधिवेशनसम्म थापा र मिश्र दुवै सहसंयोजक रहने गरी पार्टी एकीकरण भएको थियो ।
०७४ को आमनिर्वाचनमा उत्साहपूर्ण मत पाएपनि पार्टीभित्र थापा र मिश्रको द्वन्द्व चर्किन थाल्यो । त्यसपछि उनीहरू विभाजित भए । र, थापाले विभाजित भएपछि विवेकशील नेपाली दलको नेतृत्व मिलन पाण्डेलाई हस्तान्तरण गरे, मिश्र आफैं नेतृत्वमा रहिरहे । पछि फेरि मिश्र र पाण्डे नजिकिए, र २४ मंसिर, ०७७ मा फेरि उनीहरूबीच एकीकरण भयो । मिश्र अध्यक्ष भए, पाण्डे संयोजक ।
तर, फेरि पनि मिश्र र पाण्डे एकै बाटोमा अटाएनन् । मिश्रले ‘विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै मार्ग परिवर्तनको प्रस्ताव ल्याएपछि पाण्डे समूह बिच्कियो । मिश्रले स्थानीय तहको पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह’ को प्रस्ताव ल्याएका थिए । प्रस्ताव छलफलका लागि ल्याएका थिए ।
त्यसपछि मिश्र–पाण्डेबीचको दुरी झन् बढेर गयो । पाण्डे समूहले पार्टीभित्रै समानान्तर गतिविधि गर्न थालेपछि मिश्रले कारबाही गरेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरे । पाण्डे समूहका अन्य २६ जना नेताहरूको केन्द्रीय समितिको पद खोसिएको थियो । संयोजक पाण्डेलाई कारबाही गरेर निकालेपछि मिश्र एक्लैले पार्टी हाँक्दै आएका थिए ।
विवेकशील साझाबाट काठमाडौं-१ मा उम्मेदवार रहेका बन्जाडे नेताले पार्टी छोडेपनि पार्टीको जनमत भने कायम रहेको दाबी गर्छन् । '०७४ को निर्वाचनमा काठमाडौं-१ मा हाम्रो पार्टी उपविजेता हो । अहिले जनताको माझमा जाँदै गर्दा हामीलाई अनुभूति भइरहेको छ,' उनले भने, 'मान्छेले मिश्रजीलाई गाली गरेका छन् । तर पार्टीप्रतिको आशा अझैसम्म मरिसकेको छैन । हामी दलहरुको भीडमा विवेकशील साझा अलग हो भन्ने स्थापित गर्छौं ।'
