यो आमनिर्वाचन हो, तर मतदाताको गुनासो विकास निर्माणसँगै जोडिएको छ । क्षेत्रमा विकास भएन, हामीले चुनेको जनप्रतिनिधिले हाम्रो समस्याहरूलाई बुझिदिनुभएन भन्ने गुनासो नै धेरै सुनिरहेको छु ।
काठमाडौँ — आसन्न निर्वाचनमा देशभर मूलतः नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ । अहिले उम्मेदवारहरू मतदाता रिझाउन घरदैलो गरिरहेका छन् ।
यसै सन्दर्भमा ललितपुर क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशमशेर राणासँग प्रकाश धौलाकोटीले गरेको कुराकानी :
मतदानको दिन नजिकिँदै छ, चुनावी प्रचार कस्तो भइरहेको छ ?
हाम्रो गठबन्धन छ, यहाँ संयुक्तरुपमा प्रचारप्रसार गरिरहेका छौं । त्यहीअनुसार निर्वाचन आचारसंहिताभित्र रहेर हामीले टोल–टोलमा पुगेर मतदातासँग भेट्ने र मत माग्ने गरिरहेका छौं । गएको पाँच वर्षमा आशातित काम हुन नसकेका कारण यसपटक मलाई मतदाताहरूले निकै माया र स्नेह देखाउनुभएको छ । गठबन्धनको पक्षमा राम्रो माहोल बनेको छ ।
मतदाताको प्रतिक्रिया के छ ? गुनासाहरू पनि होलान् नि ?
यो आमनिर्वाचन हो, तर मतदाताको गुनासो विकास निर्माणसँगै जोडिएको छ । क्षेत्रमा विकास भएन, हामीले चुनेको जनप्रतिनिधिले हाम्रो समस्याहरूलाई बुझिदिनुभएन भन्ने गुनासो नै धेरै सुनिरहेको छु । कतिपय ठाउँमा भने पहिले एउटा सेलिब्रेटीलाई भोट हाल्यौं र जितायौं । तर, सेलिब्रेटीबाट विकास हुन सकेन । बरू तपाईं चुनाव हारेपनि हामीसँगै रहनुभयो, अब तपाईंले नै हाम्रो समस्याहरू बुझिदिनुपर्छ भन्ने कुरा पनि आएको छ । कार्यकर्ता र मतदाता सबै उत्साहित हुनुहुन्छ । तर, मतदाताको मनोदशा- 'हामी भोट दिन्छौं, तर जितेपछि बिर्सिंनुहोला कि? हाम्रो जनप्रतिनिधि हाम्रो सुखदुःखमा हामीसँगै हुनुपर्छ,' भन्ने छ ।
तपाईंका चुनावी एजेन्डाहरू के–के हुन् ?
सबैभन्दा धेरै माग पूर्वाधारकै हो । यहाँको गोदावरी नगरपालिका क्षेत्रमा अहिले पनि सडकको समस्या छ । सबैतिर सहज पुहँच बनेको छैन । फेरि गएको पाँच वर्षमा केही कामै भएन, विगतमा बनेका सडकहरू पनि मर्मत सम्भारको काम भएको छैन, जताततै लथालिङ्ग बनेको अवस्था छ । धेरै साथीहरूले सडक राम्रो बनाइदिनुस्, कालोपत्रे गरिदिनुस्, टोलमा एम्बुलेन्स आउने अवस्था हुनुपर्यो भन्नेसम्मका कुराहरू गर्नुहुन्छ । त्यस्तै, ढल र खानेपानी योजनाहरूको माग पनि धेरै छ । तर, त्योभन्दा ठूलो समस्या भने मैले यहाँ बेरोजगारीको देखिरहेको छु ।
पढेलेखेका युवाहरूले समेत रोजगारी पाइहाल्ने अवस्था छैन । जनशक्तिको जहाँ आवश्यक छ, त्यहाँ दक्ष जनशक्ति छैन । जो रोजगारी चाहिरहेको छ, ऊसँग दक्षता छैन । धेरै युवाहरू बेरोजगार हुनुपरेको अवस्था छ । रोजगारीको वातावरण कसरी बनाउने भनेर मैले योजनाहरू पनि प्रस्तुत गरेको छु ।
मैले क्षेत्रका समस्याहरूबारे चुनावमा होइन, त्योभन्दा पहिले देखि नै निरन्तर छलफल गर्ने र आफ्नो ठाउँबाट सम्बोधन गर्ने गरिरहेको हुँ । अहिले चुनावमा मतदाताको बीचमा जाँदा पनि मैले उही कुरा दोहोर्याएको छु । कुन समस्यालाई कसरी सम्बोधन गर्ने भनेर मसँग प्रष्ट योजनाहरू छन् । त्यसका लागि स्रोतको, बजेटको आवश्यक पर्छ । यहाँ स्थानीय तहहरू अहिले गठबन्धनले नै जितेका छन् । त्यसकारण स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार मिलेर अन्य सरोकारवालासँग समेत छलफल गरेर, समन्वय गरेर काम गर्छु भनेर मतदाताको बीचमा गइरहेको छु ।
०७४ मा तपाईं पराजित हुनुभयो । अहिले पनि पुरानै प्रतिस्पर्धीसँग भीड्दै हुनुहुन्छ, कसरी हेर्नुभएको छ ?
हाम्रो क्षेत्रमा नेपाली कांग्रेस आफैं बलियो संगठन भएको पार्टी हो । यसपटक गठबन्धन पनि भएका कारण हामीलाई अप्ठेरो छैन । यो क्षेत्रमा ३० वटा वडाहरू छन् । यहाँ कांग्रेसले मात्रै २२ वडा जितेको छ । त्यस्तै, माओवादी केन्द्रले ५ वटा जितेको छ । एमालेले जितेको ३ वटा वडामात्रै हो । वडाध्यक्षहरूले पाएको मतको आधारमा म करिब ११ हजार मतले अगाडि छु । त्यसमाथि उहाँलाई जिताएपछि उहाँले काम गर्न सक्नुभएन भन्ने गुनासो धेरै सुनिरहेको छु, त्यसैले यसपालि हाम्रो जित निश्चित छ ।
स्थानीय तहको मतकै आधारमा जित निश्चित भन्न मिल्छ र ?
म विगत २५ वर्षदेखि यही क्षेत्रबाट राजनीति गरिरहेको छु । चुनाव जित्दा पनि, हार्दा पनि म यही क्षेत्रका जनतासँग रहेर काम गर्दै आएको छु । मैले अर्थ राज्यमन्त्री भएर पनि काम गरें । म तरुण दलको अध्यक्षसमेत भएँ, तर मलाई अहिलेसम्म कसैले उदयशमशेरले यो काम गर्दा मेरो यति पैसा खाइदियो भनेर भन्न पाउने मौका मैले दिएको छैन । म पैसा कमाउन राजनीतिमा आएको होइन । वास्तवमै जनताको, राष्ट्रको सेवा गर्छु भन्ने भावनाले म राजनीतिमा लागेको हुँ ।
आज राजनीतिमा भ्रष्टाचार सबैभन्दा ठूलो समस्या बनेको छ । म दोहोर्याएर भन्छु, म २५ वर्षदेखि राजनीतिमा लागेको छु । तर, मैले अहिलेसम्म कसैको दुई पैसा हात लिएको छैन । म त सार्वजनिकरुपमै च्यालेन्ज गर्छु, राजनीतिमा हुने सबैको सम्पत्ति छानबिन गरौं, २५ वर्षअघि मेरो सम्पत्ति कति थियो, अहिले कति छ ? सबैको सम्पत्ति छानबिन गरौं । सायद सबैको सम्पत्ति बढेको हुनसक्छ, कत्तिले राजनीति गरेर अकुत सम्पत्ति कमाएका पनि होलान् । तर, मेरो सम्पत्ति सायदै बढेको छ, बरू घटेको हुनसक्छ । भ्रष्टाचार देशको ठूलो रोग हो । यो रोगबाट म धेरै टाढा छु । त्यसैले मेरो प्रतिस्पर्धीहरूभन्दा म भिन्न छु । मतदाताले साँच्चिकै भ्रष्टाचार नगर्ने नेता चाहेको भए, म निर्विकल्प हुँ ।
अर्को कुरा, अहिले राजनीति र ठूला राजनीतिक दलहरूप्रतिको जुन वितृष्णा देखिन्छ, त्यसको कारण पनि भ्रष्टाचार नै हो । यसमा मतदाताले पनि सचेत हुनुपर्छ जस्तो लाग्छ । नेताले खायो, कमायो भनेर आरोप लगाउने, फण्डा गर्ने, पैसा बाँड्ने, अनेक उट्पट्याङ गर्ने गरिरहेको देख्छु । चुनावको बेला मतदाताले राम्रो नेता चुन्ने मौका हो । योबेला मतदाताले सही नेतालाई चुन्नुपर्यो । फण्डाको भरमा होइन, उट्पट्याङ गरेको भरमा, सेलिब्रेटी भएको भरमा होइन, पैसा बाँडेको भरमा होइन, म चुनाव जित्नकै लागि मात्रै यी सबै कुरा गर्दिनँ । म त प्रष्ट छु, भ्रष्टाचार गरेर भएपनि पैसा ल्याऊ, बाँड भन्ने हो भने म त बरू राजनीति नै गर्दिनँ, तर, यो अहिलेको ठूलो समस्या हो ।
