'निर्वाचनमा पैसाको भूमिका महत्त्वपूर्ण, तर म जनतामा निर्भर छु'

जनताका अपेक्षा धेरै छन् । सबै अपेक्षा पूरा गर्न हाम्रो बजेटबाट सम्भव हुँदैन । जनता विकासप्रति सचेत छन्, निरन्तर माग गरिरहन्छन् ।

कार्तिक २४, २०७९

कान्तिपुर संवाददाता

दाङ — २०७४ सालमा एमालेबाट सांसद निर्वाचित भएका मेटमणि चौधरी अहिले नेकपा एकीकृत समाजवादीबाट शहरी विकासमन्त्री छन् । उनी दोस्रोपटक दाङ–१ बाट चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका चौधरी एमालेमा रहँदाको पूर्वसहकर्मी शान्ता चौधरीसँग प्रतिस्पर्धा गर्दै छन् । चौधरीसँग दुर्गालाल केसीले गरेको अन्तर्वार्ता :

चुनाव प्रचारप्रसार कस्तो चलिरहेको छ ?

अहिले गाउँघरमा प्रचारप्रसार र भेटघाट भैरहेको छ । सकेजति निर्वाचन क्षेत्रका हरेक गाउँमा पुग्ने प्रयास गरिरहेको छु । मतदातालाई भेटेर समस्याहरू सुन्ने, सुझाव लिने र आफूले गर्न सक्ने कामहरूमा प्रतिबद्धता दिइरहेको छु । सबै ठाउँमा पुग्न दौडधुप छ ।

मतदाताका अपेक्षा तथा सुझाव के छन् ?

जनता आफ्नो लागि काम गर्ने नेता चाहिएको छ भन्छन् । पाँच वर्षपछि होइन, निरन्तर गाउँमा आइरहनुपर्छ भन्छन् । धेरैजसोले स्थानीय बाटो, सिँचाइ, पानीजस्ता मागहरू बढिराखेका छन् । पहिलेको चुनावमा भनेका कुराहरू किन पूरा हुन सकेनन् भनेर गुनासो पनि गरिरहेका छन् । मैले सांसद् भएर नीतिनियम बनाउन बढी भूमिका खेलें, विकासका लागि पनि पहल गरें भनेको छु । अझै नीति कार्यान्वयनको काम बाँकी छ, अब बाँकी काम पूरा गर्नलाई भोट दिनुहोस् भनेको छु ।

२०७४ मा निर्वाचित भएर मन्त्रीसमेत हुनुभयो । यो अवधिमा उल्लेख्य कामहरू के गर्नुभयो ?

नीति निर्माणका काममा बढी योगदान गरियो । जनताका अपेक्षा विकास निर्माणमा बढी छन् । मैले आफ्नो क्षेत्रको विकासका लागि पनि धेरै नै भूमिका खेलेको छु । लमहीमा नयाँ सहरका लागि बजेट विनियोजन, कोइलाबासको विकासका लागि बजेट विनियोजन, राप्ती करिडोरका लागि बजेटको खोजीलगायत कामहरू गरेको छु । गाउँघरका अन्य विकासका काममा पनि मैले पहल कदमी गरेको छु । मन्त्री छोटो समय मात्र हुन पाएकाले गर्न बाँकी अझै धेरै कामहरू छन् । फेरि अवसर पाएर ती बाँकी कामहरू पूरा गर्ने चाहना छ ।

यसअघिको निर्वाचनमा जनतासामु गरेका सबै प्रतिबद्धताहरू पूरा भए त ?

मैले सकेजति गरेको छु । जनताका अपेक्षा धेरै छन् । सबै अपेक्षा पूरा गर्न हाम्रो बजेटबाट सम्भव हुँदैन । जनता विकासप्रति सचेत छन्, निरन्तर माग गरिरहन्छन् । जनताले चाहेअनुसारका सबै काम गर्न हामीसँग पर्याप्त बजेट हुँदैन । जसले गर्दा प्रतिबद्धता गरेका सबै काम गर्न सकिएको छैन । कतिपय योजनामा स्थानीय तहले कार्यान्वयन नगर्दा पनि काम हुन सकेका छैनन् । जनताको अपेक्षा र हाम्रो नीति नियम अर्कोतिर हुँदा पनि समस्या छ ।

अहिलेको निर्वाचनमा तपाईंले उठाएका एजेन्डाहरू के-के हुन् ?

राप्ती करिडोरलाई मुख्यरुपमा उठाएको छु । यसको शिलान्यास गरिसकेको छु । करिडोर निर्माणका लागि १० अर्ब बजेट आवश्यक पर्छ । अब बजेटको खोजीमा छु । नदीको दुवैतर्फ गरी १ सय ३५ किलोमिटर लम्बाई र २१ मिटर चौडा सडक निर्माण गर्ने योजना छ । भालुवाङदेखि गढवा र राजपुर हुँदै बाँकेको अघैयासम्म करिडोर निर्माण हुनेछ । राप्ती नदीको दाङ खण्डमा नदीको एउटा किनार ६७.५ र अर्को किनार ६८.३ किलोमिटर लामो छ । यो काम हुन सकेमा नदी कटानबाट हुने जमिनको क्षति कम गर्न सकिन्छ । नदीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ ।

यसका साथै पर्यटकीय क्षेत्रको विकासका लागि देउखुरीको सिर्जना चोकदेखि प्यूठान स्वर्गद्वारीसम्म जोड्ने केबलकार निर्माण, फोरलेन सडक निर्माण, भूमिहिनलाई लालपूर्जा वितरण, समृद्धिका लागि रोजगारी वृद्धि, गाउँहरूमा आवश्यक उद्योगहरू स्थापना, किसानलाई अनुदान, जनजीविकाका सवालहरूको सम्बोधनलगायतका दीर्घकालीन महत्त्वका योजनाहरू पूरा गर्ने लक्ष्य राखेको छु । 

यी एजेन्डाहरू पूरा गर्न सक्नुहुन्छ भनेर जनताले कसरी विश्वास गर्ने ?

यसअघि सांसद् मात्र हुँदा पनि धेरै काम गरेको छु । तीन महिनामात्रै मन्त्री हुँदा धेरै कामको सुरुआत भएको छ । अब लामो समय काम गर्ने अवसर दिएमा सबै काम गर्न सकिन्छ भन्नेमा म प्रतिबद्ध छु । जनताले मेरो विगतको काम र अहिलेको ऊर्जा देखेर पूरा गर्न सक्छ भन्ने विश्वास गर्नुहुन्छ ।

विगतमा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचन जित्नुभएको थियो । अहिले कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँगको गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । तपाईंको संगठन त्यति ठूलो छैन भन्ने गरिन्छ । निर्वाचन जित्ने आधार के हुन् ?

पाँचदलीय गठबन्धनले इमान्दारीपूर्वक काम गरिरहेको छ । यो स्थानीय गठबन्धन होइन । राष्ट्रिय गठबन्धन हो । सबै मिलेर एउटै राजनीतिक दलजस्तो भएर काम गरेका छौं । हाम्रो मत अन्य उम्मेदवारभन्दा धेरै गुणा बढी छ । हामी अग्रगामी हौं । अग्रगामी बाटोमा हिँड्नेको जित हुन्छ । जनताको मनोविज्ञान पनि गठबन्धनप्रति नै छ । त्यसकारण म धेरै मतान्तरले जित्छु भन्नेमा ढुक्क छु ।

निर्वाचन जित्न शक्ति, सत्ता र पैसाको भूमिका हुन्छ भन्ने सुनिन्छ । खासमा निर्वाचन जित्न के कुराले सहयोग गर्छ जस्तो लाग्छ ?

निर्वाचनमा पैसाको महत्त्वपूर्ण भूमिका छ । धेरैले पैसाकै बलमा जित्न पनि खोज्छन् । जनाधार कमजोर भएको ठाउँमा पैसाको भूमिका हुन्छ । मेरो क्षेत्रमा पैसाको भूमिका छैन । जनतामै निर्भर छु । जनताकै विश्वासले म निर्वाचन लडिरहेको छु । मैले पैसामा विश्वास गरेको छैन ।

अहिले मन्त्री भएर सत्ता र शक्तिको दुरुपयोग गर्नुभएको छ भन्ने गुनासो छ । निर्वाचन आयोगबाट पनि पटकपटक स्पष्टीकरण सोधिएको छ । यो कुरालाई तपाईं कसरी प्रतिरक्षा गर्नुहुन्छ ?

मैले जनताका लागि काम गर्दा स्पष्टीकरण सोधिएको हो । पटकपटक स्पष्टीकरण आएको छ । बाढीबाट पीडित भएका जनतालाई समस्या भएपछि जनताको नेताका हिसाबले राहत वितरण गरेको हो । निर्वाचन आचारसंहिताका नाममा जनतालाई भोकै राख्न सकिँदैन । जनताको सेवा गरेको विषयलाई सत्ताको दुरुपयोग गरेको भन्न मिल्दैन । मैले अन्य गलत काम गरेको छैन । जनताकै हितका लागि काम गरेको हो । भोलि पनि म जनताकै लागि काम गरिरहने छु । 

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully