तनहुँ — आसन्न निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले जिल्लाको व्यास नगरपालिकामा नमुना मतदान कार्यक्रम आयोजना गरिएको छ । नगरपालिका र जिल्ला निर्वाचन कार्यालयले बुधबार दिउँसो खुल्ला मैदानमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको हो ।
अघिल्ला निर्वाचनहरु भन्दा यसपटक फरक ढंगको मतपत्र रहेको हुँदा मतदातालाई मतदान प्रक्रिया सिकाउन नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए । उनका अनुसार जिल्लाका १० वटै पालिकामा नमुना मतदान गरिने छ । मंगलबार म्याग्दे, बन्दिपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न भइसकेको छ ।
‘हामीले नमुना मतदान सँगसँगै मतदाता शिक्षालाई पनि उत्तिकै प्राथमिकतामा राखि अगाडि बढेका छौं,’ उनले भने, ‘जिल्लाकै ८५ वटै वडामा १ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी वडास्तरबाटै मतदान शिक्षा पनि दिइरहेका छौं ।’
