शीतलताका लागि तराई–मधेशका स्थानीय बजारमा सातु, मोही, बेलको सर्वत र उखुको जुसजस्ता परम्परागत पेयको माग र आकर्षण ह्वात्तै बढेको छ। सर्वसाधारणलाई शीतलता प्रदान गरिरहेका यी स्वास्थ्यवर्द्धक रैथाने पेयको व्यापार उत्साहजनक छ।
What you should know
चितवन, कैलाली, बर्दिया, रौतहट र विराटनगर — केही समयअघिसम्म ‘चिसो’ भन्नेबित्तिकै आयातित र ‘बोटलिङ’ गरिएका प्रशोधित पेय पदार्थ मात्रै बुझिन्थ्यो । गर्मीले अत्याएपछि उपभोक्ता बजारमा तिनै आधुनिक पेय रोज्न बाध्य हुन्थे ।
तर, अब समय फेरिएको छ– बजारमा हाम्रै रैथाने पेय पदार्थले बलियो उपस्थिति जनाउन थालेका छन् । परम्परादेखि भान्साको चौघेरोमै सीमित मौलिक पेय अहिले व्यावसायिक बन्दै बजारसम्म आइपुगेका छन् । बजारमा मात्रै कहाँ हो र ! जिल्लाका सरकारी कार्यालयको अतिथि सत्कारमा पनि रैथाने पेय नै पहिलो रोजाइ बन्न थालेको छ ।
रैथाने पेयमा सबैभन्दा बढी उपयोगमा मही छ । पहिले–पहिले गाउँघरकै भान्सामा सीमित मही अहिले बजारका फ्रिज र होटलका टेबलसम्म सजिन थालेको छ । सभा, समारोह, भोजभतेर र अन्य सुखदुःखका जमघटमा रोजाइको पेय बनेको छ– मही । गर्मीमा व्यापक खपत हुन थालेपछि आकर्षक बोतलमा राखेर मही बिक्री गर्ने चलन बढेको छ । दुग्ध सहकारीका साथै निजी डेरी उद्योग पनि मही उत्पादनमा लागेका छन् ।
चितवन भरतपुर–९, शरदपुरका जंगबहादुर थापा मंगलबार दिउँसो भरतपुर अस्पताल रोडस्थित चिया पसलमा साथीहरूसित गफिइरहेका भेटिए । जमघटमा चिया र चिसोको साटो महीको बोतल किनेर साथीहरूसँग बाँडे । र, पिउन सुरु गरे । चार जना साथीले तीन बोतल मही पिएको उनले बताए । ‘सानो हुँदा घरमा प्रशस्त हुन्थ्यो । नभएका बेला गाउँघरमा बोलाइबोलाइ दिन्थे । त्यसरी बानी परेको हो । अहिले किनेर खानुपरेको छ,’ उनले भने, ‘तर, सबै ठाउँमा पाइँदैन ।’ किनेरै खाए पनि स्वास्थ्यवर्द्धक पेय पदार्थ पिउन पाउँदा ढुक्क लाग्ने उनले बताए । बजारमा मही बिक्री हुन थालेकाले किसानलाई पनि राहत मिलेको उनले बताए ।
पटिहानीस्थित गंगानगर दुग्ध सहकारीले चार वर्षदेखि मही बेच्दै आएको छ । सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले मही बेच्ने चलन आफूहरूले सुरु गरेको दाबी गरे । बिक्री बढेपछि तीन वर्षयता बोतलमा भरेर बजारमा बिक्री गरिरहेको उनले बताए । अहिले नियमित बजारमा मही पठाउने गरिएको छ । ठूला सभा, समारोह, भोजभतेरका लागि महीको विशेष माग हुने गरेको उनले बताए । ‘असार ६ मा रामपुरमा कृषि विश्वविद्यालयको दीक्षान्त समारोहका लागि तीन हजार बोतल मही अर्डर भएको छ,’ उनले भने, ‘बिहे भोज र अन्य कार्यक्रममा पनि यस्तै अर्डर आउँछ । खाना खुवाउने होटलले पनि नियमित लैजान्छन् ।’
सामान्य रूपमा दिनमा ११ सय लिटर मही बिक्री भइरहेको उनले बताए । चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघका अनुसार, जिल्लामा १ सय १७ दुग्ध सहकारी छन् । तीमध्ये जिल्ला संघ र अन्य ६ वटाले मही उत्पादन गरिरहेका छन् । चार वटा निजी डेरीले मही उत्पादन गर्छन् । संघले आफ्ना उत्पादन बिक्री गर्न जिल्लाका तीन ठाउँमा बिक्री केन्द्र पनि राखेको छ ।
तीन वटा केन्द्रमा दूधका विभिन्न परिकार बिक्री हुन्छन् । मही खोज्दै आउने ग्राहक धेरै हुने गरेको संघका व्यवस्थापक जनार्दन पौडेलले बताए । न्यूनतम ५ सयदेखि अधिकतम २ हजार लिटरसम्म मही दैनिक बिक्री हुने गरेको उनको भनाइ छ । तीन वर्षयता महीको बजार राम्रो हुँदै गएको पौडेलले सुनाए । फागुनदेखि भदौसम्म राम्रै बिक्री हुन्छ । पुस–माघमा मही खोजिँदैन ।
मही गर्मीका लागि शीतल पेय भएको गंगानगर दुग्ध सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । गोरखाको बारपाकदेखि तनहुँको बन्दीपुरसम्म यहाँबाट मही पठाउने गरिएको छ । प्लास्टिकको प्याकेट र बोतलमा बिक्री हुने गरेको छ । खुला मही लिटरको ५५ रुपैयाँ र बोतलको ७० रुपैयाँमा बिक्री हुन्छ ।
आँत भर्न उखुको जुस
तराईका पूर्वदेखि पश्चिमसम्मका जिल्लामा गर्मीले जनजीवन कष्टकर छ । बिहानै घाम लागेपछि दिउँसो यात्रा गर्न मुस्किल पर्छ । यस्तोमा घरबाहिर निस्किने कामकाजी पनि गर्मीले लखतरान हुन्छन् । त्यसैले तराईका बजार, सडक र राजमार्ग आसपास उखुको जुस बेच्ने पसल बढेका छन् । कतिले अटोरिक्सामै पेल्ने मेसिनसहित उखु लिएर डुलाउँदै हिँड्ने गरेका छन् । पसलमा गर्मीबाट राहत पाउन उखुको जुस पिउनेको भीड लाग्ने गरेको छ । गर्मीले हपक्कै बनाएका बेला उखुको जुस पिउँदा आँत चिसो हुने गरेको सर्वसाधारणको अनुभव छ ।
पश्चिम तराईका रूपन्देहीदेखि कञ्चनपुरसम्म अहिले गर्मीमा हिँडडुल गर्नसमेत धौधौ भइरहेको छ । चिकित्सकले समेत अत्यावश्यक कामबाहेक दिउँसो घरबाहिर ननिस्कन सुझाव दिइरहेका छन् । धेरैलाई गर्मीले आहत तुल्याइरहेका बेला चिसो उखुको जुस बेचेर आम्दानी गर्नेलाई राहत मिलेको छ ।
यसरी उखुको जुस बेचेर सर्वसाधारणलाई शीतल बनाउनेमध्येकी एक धनगढीकी ५० वर्षीया बिमला चौधरी हुन् । उनले १० वर्षदेखि सडक व्यापार गरिरहेकी छन् । उनका अनुसार, गर्मी याममा छोराछोरीको पढाइदेखि दैनिक घर खर्च जुस बेचेरै चल्ने गरेको छ । दिनमा ७५ देखि ८० गिलाससम्म जुस बेच्ने उनी दैनिक तीन हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । उनका अनुसार, प्रतिगिलास ४० रुपैयाँका दरले जुस बिक्री हुन्छ ।
एक दशकअघिसम्म उनीसित आयआर्जनको केही उपाय थिएन । श्रीमान्को कमाइले मात्रै परिवार धान्न धौधौ भएपछि उनले व्यवसाय सुरु गरेकी हुन् । स्थानीय महिला समूहबाट १ लाख ऋण लिएर व्यवसाय सुरु गरेको उनले बताइन् । ‘ठूलो परिवार भएकाले खेतीपाती गरेर मात्रै वर्षभरि खान पुग्दैन,’ उनले भनिन्, ‘यही व्यवसाय अहिले आयआर्जनको मुख्य स्रोत बनेको छ ।’
यसै व्यवसायबाट उनका दुई सन्तान स्नातक तह र १२ कक्षामा अध्ययन गरिरहेको उनले सुनाइन् । व्यवसायको सुरुवाती चरणमा २० रुपैयाँ प्रतिगिलास उखुको जुस बिक्री हुन्थ्यो । बिमला बिहान ९ बजेदेखि राति ९ बजेसम्मै जुस बेच्छिन् । बिहानैदेखि अबेर रातिसम्मै काम गर्न बिमलालाई सहज छैन तर छोराछोरीका लागि दुःख गरिरहेको बताउँछिन् । उखुको जुसको व्यवसाय मौसममा निर्भर हुन्छ । गर्मीमा व्यापार चल्छ । ‘चिसो सुरु भयो कि काम ठप्प हुन्छ,’ उनले भनिन्, ‘चिसो याम सुरु भएपछि गुजारा चलाउन ज्यालामजदुरी गर्छु ।’
पछिल्लो समय महँगीको मारमा साना व्यवसायी परेका छन् । डिजेल, कागतीलगायत अत्यावश्यक सामानको मूल्य बढेपछि लागत बढेको बिमलाले बताइन् ।
बेलको सर्वतले शीतल
गर्मीमा शीतलता प्रदान गर्ने बेलको सर्वत बर्दियामा लोकप्रिय छ । जिल्लाका सरकारी कार्यालय, वन समूह, संघसंस्था र होमस्टेमा पाहुना तथा कार्यक्रमका सहभागीलाई बेलको सर्वतले स्वागत गरिन्छ । गर्मीले आँत हर्हराइरहेका बेला चिसो पेयका रूपमा यसको उपयोग भइरहेको छ । मधुवन नगरपालिका–२, ओराली बजारस्थित नवदुर्गा सामुदायिक बेल सर्वत उद्योगले ‘सौगात बेल स्क्वास’ उत्पादन गरिरहेको छ । यहाँ उत्पादन भएको बेलको सर्वत देशका विभिन्न ठाउँमा पुग्ने गरेको छ । जिल्लास्थित अधिकांश सामुदायिक वनमा बेल उत्पादन हुन्छ । गर्मीमा शरीरका लागि महत्त्वपूर्ण मानिने बेलको सर्वतको माग बढी हुने गरेको छ ।
बेलको सर्वतले गर्मीमा शरीरलाई शीतलता दिने हुँदा धेरैले रुचाउँछन् । बेलको सर्वतले शरीरलाई शीतलता प्रदान गर्ने, पाचन प्रणालीलाई राम्रो बनाउने तथा कब्जियत, अल्सरजस्ता पेटसम्बन्धी समस्या समाधान गर्ने विश्वासका कारण यसको खोजी बढिरहेको संरक्षणकर्मीहरू बताउँछन् ।
बेलको सर्वतले ओराली बजार प्रख्यात छ । यहाँ उत्पादन भएको सौगात बेल स्क्वास नेपालगन्ज, नारायणघाट हुँदै काठमाडौंसम्म पुग्छ । यस्तै स्थानीय बजारमा पनि राम्रै बिक्रीवितरण भइरहेको छ ।
२०६२ मा नवदुर्गा सामुदायिक बेल सर्वत उद्योग स्थापना भई एक वर्षपछि उत्पादन सुरु भएको थियो । बेलको सर्वत उद्योग स्थापना हुँदा डब्लूडब्लूएफले मेसिनरी सामान सहयोग गरेको थियो । २०७९ देखि आफ्नै लगानीमा बेल उद्योग सञ्चालन गरिरहेको स्थानीय रविनकुमार पुरीले बताए । ‘सिजनमा बेलको सर्वतको हाई डिमान्ड हुन्छ,’ उनले भने, ‘तर, सरकारको तवरबाट फोकस गर्न जरुरी छ ।’ उद्योगमा अहिले १५–१६ स्थानीयले रोजगारी पाएका छन् । प्रत्येक वर्ष वैशाख २० देखि असारसम्म यसको उत्पादन हुन्छ । त्यसपछि लेबलिङ र प्याकेजिङसहित भण्डारण गरिन्छ ।
सामुदायिक वनका उपभोक्ताले संकलन गरेको बेल प्रतिकिलो १५ देखि २० रुपैयाँमा खरिद गरिन्छ । प्रत्येक वर्ष २० देखि २५ हजार बोतल उत्पादन गरिन्छ । ५ सय मिलिलिटर बेलको स्क्वास होलसेलमा २ सय २० रुपैयाँमा बिक्री गर्ने गरिएको उनले जनाए । बेलको कच्चा पदार्थका लागि जंगलमा भर पर्नुपर्छ । कुनै वर्ष बढी फल्छ भने कुनै वर्ष कम, त्यसैले समस्या हुने गरेको उनले बताए । बेलको सर्वत लाभदायक भएकाले यसको उत्पादन बढाउन जरुरी रहेको सञ्चालक समिति अध्यक्ष हरि गुरुङले बताए । ‘यसअघिको सञ्चालक समितिले के गर्यो, थाहा छैन,’ अध्यक्ष गुरुङले भने, ‘अब नयाँ सञ्चालक समिति बनेको छ । यस वर्ष उद्योग सञ्चालनका लागि अरूलाई जिम्मा दिए पनि अर्को वर्षदेखि समितिले राम्रोसँग सञ्चालन गर्नेछ ।’
गर्मी छल्न सातु
रौतहटको चन्द्रपुर चोकमा प्रत्येक बिहान फरक दृश्य देखिन्छ । चोकको एक कुनामा मानिसको बाक्लो जमघट हुन्छ । पहिलो पटक यस्तो दृश्य देख्नेले पक्कै सोच्छ– ‘यहाँ के भइरहेको होला, यस्तो भीड ?’ तर, भीड हुनुको कारण हो– मधेशको पहिचानसँग जोडिएको सातुको स्वाद ।
यहाँ सातु खानै मानिसहरू टाढा–टाढाबाट भेला हुन्छन् । जिल्लाका बासिन्दा मात्रै होइन, महेन्द्र राजमार्गमा यात्रा गर्नेहरू पनि गाडी रोक्नासाथ सातुका ठेला खोज्न थाल्छन् । गर्मी बढेसँगै सातु पारखीहरूको संख्या दिनानुदिन थपिँदै गएको सातु व्यवसायी चन्द्रनिगाहपुरका अनिल कार्कीले सुनाए । ‘पछिल्लो समय चिसो पेय पदार्थभन्दा सातु खाने धेरै छन् । गर्मीमा आइसक्रिम र कुल्फीभन्दा सातुको व्यापार बढेको छ,’ उनले भने, ‘सातुले शरीरलाई फाइदा मिल्छ र गर्मीमा थकान भगाउँछ, त्यसैले यसको माग बढेको हो ।’
सातु खानेकुरा मात्रै होइन, पूर्वीय सभ्यता, संस्कृति र इतिहासको एउटा बलियो कडी पनि हो । ‘एक दशकदेखि ठेला वरपर भीड लाग्ने गरेको देखेको छु,’ स्थानीय शालिग्राम उपाध्यायले सुनाए, ‘सातु पूर्ण रूपमा प्राकृतिक र पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । यो पेट भर्न मात्रै होइन, स्वास्थ्यका लागि पनि फलदायी छ ।’ लामो समय चिकित्सा सेवामा संलग्न उपाध्यायले गर्मी मौसममा अमृत समान मानिने सातुको व्यापारले स्थानीयस्तरमा परम्परागत पेसा धानिनुका साथै सर्वसाधारणलाई पनि बजारिया खाजाको विकल्प दिएको बताए ।
मकै, जौ, गहुँ, भटमास र चनाजस्ता शरीरलाई ऊर्जा दिने गेडागुडी भुटेर मिल वा जाँतोमा पिसेपछि सातु तयार पारिन्छ । उपभोक्ताले आफ्नो रुचि र स्वास्थ्यको आवश्यकताअनुसार अन्य गेडागुडी वा ड्राइफ्रुट्ससमेत मिसाउने गर्छन् । अहिले चनाको सातु
घर–घरमा पुर्याइदिने साना व्यापारी पनि सक्रिय छन् । उनीहरू मोटरसाइकलको पछाडि सानो मेसिन राखेर चना तथा अन्य गेडागुडी घरमै पुगेर पिँधिदिन्छन् ।
चन्द्रपुर अस्पतालका चिकित्सक सुभाष चौधरीले बजारमा उपलब्ध चिसा पेय पदार्थले क्षणिक आनन्द दिए पनि स्वास्थ्यमा असर पुग्ने बताए । ‘सातुले पेट पनि भर्छ, शरीरलाई शीतल पनि बनाउँछ र यो पूर्ण रूपमा शुद्ध हुन्छ । विशेषगरी गर्मीको मौसममा सातुको सेवनलाई सर्वोत्तम मानिन्छ,’ उनले भने, ‘यो सजिलै पच्ने, शीतल र ऊर्जादायी हुन्छ । गर्मीमा शरीरलाई चिसो राख्छ, डिहाइड्रेसन रोक्न र आवश्यक पोषण दिन सातु उत्तम विकल्प हो ।’
कतिपयचाहिँ सातुमा नुन, कागती, हरियो खुर्सानी र प्याज हालेर चटपटे स्वादमा समेत खाने गर्छन् । चन्द्रपुर, गरुडा, शिवनगर, गौर, समनपुर र कटहरियामा सातुको व्यवसाय फस्टाएको छ । सातु पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ ।
गर्मीमा ताडीको स्वाद
पूर्वी तराईमा गर्मी बढ्नासाथ सडक किनार, चौतारा र बजारका कुनामा ताडीको स्वादको चर्चा चल्न थाल्छ । ताड वा खजुरको रुखबाट निकालिने यो प्राकृतिक रस मात्रै होइन, तराईको जीवनशैली, संस्कृति र स्थानीय अर्थतन्त्रसँग जोडिएको परम्परा पनि हो ।
विराटनगरदेखि झापासम्म गर्मी याममा ताडीको माग बढ्छ । चर्को घामबाट थाकेका मानिस शरीरलाई शीतलता प्रदान गर्न ताडी खोज्दै आइपुग्छन् । आधुनिक कोल्ड ड्रिंक्स र प्याकेट बन्द पेयको बजार विस्तार भए पनि ताडीको लोकप्रियता घटेको छैन । ‘ताडी मेरो नियमित पेय हो,’ विराटनगरका जीवन थापाले सुनाए, ‘यो पिएपछि अलग्गै आनन्द हुन्छ । शरीर नै शीतल बन्छ ।’
ताडी निकाल्ने सीप पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको छ । ताड वा खजुरको रुखको टुप्पो नजिकै एक भागमा विशेष तरिकाले चिरा पारेर रस संकलन गरिन्छ । बिहान सबेरै निकालिएको ताडी ताजा, गुलियो र हल्का अमिलो स्वादको हुन्छ । दिन चढ्दै जाँदा यसको स्वाद र गुणमा परिवर्तन आउँछ ।
स्थानीयका अनुसार, गर्मीमा ताडले शरीरलाई चिसो राख्न मद्दत गर्छ । त्यसैले तराईका जिल्लामा खेतमा काम गर्ने किसान, मजदुर तथा यात्रुबीच यसको विशेष माग रहन्छ । ग्रामीण भेगमा ताडीलाई प्राकृतिक ऊर्जा दिने पेयका रूपमा समेत लिने गरिन्छ ।
ताडी व्यापारले धेरै परिवारको जीविकोपार्जन भइरहेको छ । ताडी संकलन, ढुवानी र बिक्री गर्ने सयौं परिवार प्रत्यक्ष–अप्रत्यक्ष यस व्यवसायसँग जोडिएका छन् । एक हुन्– मोहम्मद अली । उनी प्रतिकप २० रुपैयाँ र प्रतिबोतल १०० रुपैयाँका दरले ताडी बेच्छन् । ‘गर्मी मौसममा ताडी पिउनेहरू धेरै आउँछन्,’ उनले भने, ‘दैनिक १५–२० लिटर बिक्री गर्छु ।’
केही दशकमा तराईका धेरै क्षेत्रमा ताड र खजुरका रूख घट्दै गएका छन् । सहरीकरण, सडक विस्तार र खेतीयोग्य जमिनको उपयोगमा आएको परिवर्तनले ताडीको मुख्य स्रोत संकटमा पर्न थालेको अलीको भनाइ छ । उनको अनुभवमा विगतमा विराटनगर र आसपास क्षेत्रमा सयौं ताडीका रुख थिए । अहिले धेरै मासिइसके । ‘ताडी मासिँदै जाँदा उत्पादनमा असर परेको छ,’ उनी भन्छन्, ‘हाम्रो रोजीरोटीमा पनि असर परेको छ ।’ खाद्य विज्ञहरूका अनुसार, स्थानीय उत्पादन र रैथाने खाद्य संस्कृति संरक्षण गर्ने हो भने ताडीलाई एक पेयका रूपमा मात्रै हेर्नु पर्याप्त हुँदैन । यसको सांस्कृतिक, आर्थिक र पर्यटनसम्बन्धी पक्षमा पनि समान महत्त्व दिनु आवश्यक छ ।
पछिल्ला वर्ष विश्वभरै स्थानीय र परम्परागत खाद्य तथा पेय पदार्थप्रति आकर्षण बढिरहेका बेला ताडी पनि पूर्वी नेपालको पहिचान बोकेको महत्त्वपूर्ण रैथाने पेय बन्दै गएको छ ।
