आमा के थिइन् ? सँगै हुँदा सायद महसुस गरेनन् बिकीले । अहिले थकथकी लाग्छ, ‘आमा त सबथोक थिइन् ।’ आमाले भनेका कति सुने, कति सुनेनन् । त्यसको लेखाजोखा त उनीसँग छैन, तर तिनै गाली, आदेशहरू आमाका स्वरमा सुनिरहन चाहन्छन् । आफैंलाई सोध्छन्, ‘आमाको महत्त्व गुमाएपछि मात्र किन थाहा पाइस् ?’
What you should know
काठमाडौँ — त्यो दिन उनको मन फुरुङ्ग थियो । अनुहारभरि खुसी छचल्किरहेको थियो । धेरै दिनपछि कमेडियन बिकी अग्रवालको सपनामा आमा आएकी थिइन् । हरबिहान निदाइरहेको छोराको निधार चुमेर जाने आमा ३ वर्षयता सम्झनामा मात्र थिइन् । यस पटक भने सुस्तरी बिकीको स्वप्नलोकमा आइन् ।
छोराको समीप बसिन् र बेस्सरी अंकमाल गरिन् । आमाको न्यानो अँगालोमा बेरिन पाउँदा पुलकित बनेका उनका आँखा अचानक खुले । बिकी ओछ्यानबाट जुरुक्क उठे । जीवनसाथी श्रद्धा प्रसाईंले आत्तिएर सोधिन्, ‘के भयो ?’ बिकीले अलौकिक खुसी महसुस गर्दै भने, ‘मैले आमालाई अँगालो मारें ।’
000
काठमाडौं तिहारको रमझमले छोपिएको थियो । ‘कस्तो रैछ बिकी बसेको सहर !,’ भारतको सिक्किममा बस्ने आमा दुर्गा थापामगरलाई छोराको सहर हेर्ने रहर थियो । त्यसमाथि छोराले नेपालमा कमाएको ख्यातिलाई प्रेमले महसुस गर्न मन थियो । दुई वर्षअघि पहिलो पटक आमा बिकीसँग काठमाडौं आउने भइन् । नेपाल आउनेबेला गाडीमा सामान राख्दै गर्दा दाइले जिस्कँदै भने, ‘आमालाई उतै राख है बिकी ।’ आमाले पनि हाँस्दै जवाफ फर्काइन्, ‘आउँदिनँ–आउँदिनँ तेरो घर, बिकीसँगै बस्छु ।’
बिकीको आड र भरोसामा रत्तिँदै आमा काठमाडौं हिँडेकी थिइन् । काठमाडौं विमानस्थलमा उत्रिँदा आमा सहरको स्वरूप हेर्दै रमाइरहेकी थिइन् । बिकीको गुगल ड्राइभभित्र आमासँगका थुप्रै फोटो उनले सँगालेर राखेका छन् । उनी देखाउँदै भन्छन्, ‘यो चाहिँ एयरपोर्टमा उत्रनासाथ खिचेको अन्तिम फोटो ।’ बिकीले आफ्नो कोठाको वालमा पनि आमासँगको फोटो मात्रै टाँसेका छन् । नितान्त एक्लो महसुस हुँदा उनी ती फोटो हेरेर आँट बटुल्छन् । काठमाडौं ओर्लंदा आमाले सहरमात्र देखिनन्, छोराका प्रशंसकहरू पनि देखिन् । भोलिपल्ट पशुपति मन्दिर जाँदा बिकीसँग फोटो खिच्नेहरू आए । छोरासँग फोटो खिचेकाहरूलाई आमाले भनिन्, ‘पख्नु त, तपाईंहरूसँग म पनि खिच्छु ।’ बिकीले लाज मान्दै साउतीमा भने, ‘आमा, के गरेको यस्तो ?’
बिकी त्यतिबेला नयाँ प्रोजेक्ट सुरु गर्दै थिए । आमालाई सम्झिएरै पछि प्रोजेक्टको नाम उनले ‘आम्मा कसम याँ दुख्छ’ राखे । त्यसैको दौडधुपमा छोरा व्यस्त भएको आमाले देखेकी थिइन् । काठमाडौं आएपछि दुर्गालाई टाउको दुख्न थालेको थियो । बिकी बेलाबेला आमाको टाउको मालिस गरिदिन्थे । टाउको दुखेको पर्सिपल्ट थियो सायद ! आमा बिहानै उठेर नुहाइन्, पूजापाठ गरिन् । बिकी एक जना प्रोड्युसरसँग मिटिङका लागि निस्कँदै थिए । छोरा जाने बेलामा दुर्गाले भनिन्, ‘आउने बेला औषधि ल्याइजो ल ।’
अघिल्लो दिनभन्दा आमा ठीकठाक देखिएकी थिइन् । सामान्य देखिएकी आमासँग बिकी हाँस्दै निस्किए । दिनभरि भेटघाट र मिटिङमा व्यस्त भए । साँझ फर्किने बेला आमाका लागि औषधि किनिदिए । जब राति घर पुगे, फ्ल्याट अँधेरो थियो । बिकीको मनमा चिसो पस्यो । उनी हतार–हतार बेडरुममा छिरे, बत्ती बाले । आमा थिइनन् । हतारिँदै भान्साकोठामा पुगे, आमा भुइँमा लडिरहेकी थिइन् । बिकीका हातपाखुरा एकाएक गले । आकाशै खसेर शिरमा बज्रिएजस्तो भयो । नजिक गएर आमालाई छोए । आमा मौन थिइन् । उनको विवेकले भन्यो, ‘आमा जानुभयो ।’ तर मनले मानेन, ‘माउथ टु माउथ’ सास फुके । सीपीआर दिए तर आमा ब्युँझिनन् । कोठा शान्त थियो, आमा शान्त थिइन् । पराजित मनोदशाबाट गुज्रिएका छोराको मन भने अशान्त भयो । उनले काँपेका हातले फोन समाते । सिक्किममा रहेका दाइलाई फोन गरे र अप्रत्याशित खबर सुनाए, ‘अब आमा रहनुभएन ।’
अहिले पनि त्यो दिनको सम्झनाले बिकीको हृदय डस्छ । पश्चातापको जलनले पोल्छ । ‘मैले के गरेको हो त्यस्तो !’ आफूलाई मनभरिको गाली दिन्छन् बिकी । आफूले छाडेको दिनभर आमालाई के बित्यो होला ? सोच्दा पनि ऐंठन हुन्छ । ‘न वरिपरिका कोही चिन्नुभएको थियो । न त यहाँको फोन थियो,’ उनी बेचैनी सुनिन्छन्, ‘छोराको संसार देख्न आएकी आमालाई छोराले नै जोगाउन सकेन ।’ त्यसपछि के भयो ? बिकीसँग धमिला सम्झना छन्, ‘म त ब्ल्याक आउट भएँ ।’ अस्पतालनिरको सडकमा बसेर एकोहोरिरहेको, बा र दाइ आएको मसिनो झझल्को मात्र छ उनीसँग ।
आफूलाई काठमाडौंमा बसाएकी आमालाई सिंगो सिक्किम पर्खिरहेझैं देखिन्थ्यो । यहाँबाट फर्किएपछि आमाका योजनाहरू थिए । बिकीका दाइको बिहे मनाउनु थियो । नयाँ घरको उद्घाटन गर्नु थियो । छोराले किनेको गाडी भित्र्याउनु थियो । तर सबै कुरा थाती राखेर आमा गइन् । ‘त्यसपछि त सबै लथालिङ्ग । लाग्छ, अब त कहिले पनि लयमा आउँदैन होला,’ बिकी घायल सुनिन्छन् ।
आमा के थिइन् ? सँगै हुँदा सायद महसुस गरेनन् बिकीले । अहिले थकथकी लाग्छ, ‘आमा त सबथोक थिइन् ।’ जहिल्यै फोन गरेर सोध्थिन्, ‘खाना खाइस् ?’ काखे बालकलाई झैं आदेश दिन्थिन्, ‘छिटो सुत्, धेरै पानी खा ।’ आमाले भनेको कति सुने, कति सुनेनन् । त्यसको लेखाजोखा त उनीसँग छैन, तर बिकी तिनै गाली, आदेशहरू आमाका स्वरमा सुनिरहन चाहन्छन् । अनि बेलाबेला आफैंलाई चिमोटिरहन्छन्, ‘आमाको महत्त्व गुमाएपछि मात्र किन थाहा पाइस् ?’
आमा जीवनभर अस्पताल गएको बिकीलाई थाहा छैन । बरु बाको स्वास्थ्यमा समस्या देखिरहन्थ्यो । सबैको ध्यान बातर्फ केन्द्रित थियो, आमाको पनि । घरबाट निस्कँदा दाइहरूलाई अह्राएकी थिइन्, ‘बाबालाई दबाइ समयमा खान भन्नु ।’
सबैको ख्याल राख्ने आमा ख्यालख्यालमै बितिन् । त्यो पनि ५३ वर्षको अल्पायुमै । आमा त्याग्नु सन्तानका लागि कति पीडादायक हुन्छ ! बिकी आफूलाई छाम्छन् । र, भन्छन्, ‘सानो बच्चालाई झ्याप्पै छाडेर गएजस्तो हुँदो रहेछ ।’ धेरै दिनसम्म बिकीले यो स्वीकार्न सकेनन् । अहिले पनि सिक्किम जाँदा आमा रछ्यानमा काम गरिरहेझैं देख्छन् । आमाले बोलाइरहेझैं सुन्छन् । त्यसकारण उनी घर जानै चाहन्नन् । दाइहरू सोध्छन्, ‘सिक्किम नआउने ?’ उनी मनमनै भन्छन्, ‘आमाको याद आउँछ, कसरी आउनू ?’
सामाजिक सञ्जालका भित्ताहरूमा मानिसहरू आमाको माया दर्शाउँछन् । बिकीलाई त्यसो गर्न आउँदैन । मातातीर्थ औंसीमा ‘हेप्पी मदर्स डे’ भन्न पनि आउँदैन । तर बिकीलाई जतनले मनभित्र राखेकी आमाको कथा सुनाउन आउँछ । उनी आमाका स्मृति–कथा सुनाउँछन् ।
000
बिकीका घरमा बा गणित शिक्षक थिए, आमा नेपाली । तर बिकी यी दुवैमा कमजोर । बरु उनको रुचि कमिक पढ्न र लेख्नमा थियो । दुर्गा छोराका लागि खोजीखोजी पुस्तकहरू ल्याउँथिन् । बिकी कस्सिएर पढ्थे । अहिले पनि घरमा थुप्रिएका कमिक पुस्तकका चाङहरूमा उनी आमाको चित्र देख्छन् । ‘म यहाँसम्म पुग्नुको जग त्यही कमिक पुस्तक थिए । त्यसको श्रेय आमालाई जान्थ्यो,’ बिकी भन्छन् ।
आमाले सन्तानलाई छिट्टै बुझ्छिन् । तर आमालाई बुझ्न त समय लाग्दो रहेछ । जुन दुर्गालाई भएको ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ (ओसीडी) को बिमारबारे उनीहरूलाई पछि थाहा भयो । यो अनौठो बिमार थियो । ‘जस्तो कि कसैले हात मिलायो भने १० पटक हात धुनैपर्ने, घरभित्र कोही पस्यो भने सरसफाइ गरिहाल्नुपर्ने,’ बिकी
प्रस्ट्याउँछन् । घरभित्र कोही आगन्तुक प्रवेश गरिहाले परिवारको सातो जान्थ्यो । ‘यदि कोही छिरिहाले आमा बेड सिट, पर्दा निकालेर धोइहाल्नुहुन्थ्यो । पोछा लगाइहाल्नुहुन्थ्यो,’ बिकी सम्झन्छन् । सानोमा राति एक बजे पनि बिकीले आमालाई लुगा धोइरहेको देखेका छन् । आमाको यो समस्या घरदेखि स्कुलसम्म पुग्थ्यो । त्यसकारण घरमा कोही आउन अघोषित निषेधजस्तै थियो । साथीहरू घर आउन खोज्थे । तर उनी कहिल्यै भित्र लैजान्नथिए । बरु बाहिरै भेटेर फर्काउँथे । ‘कोही मान्छे आए भने छिटोछिटो कुदेर गेटमा जान्थ्यौं, त्यहीं भेटेर फर्किन्थ्यौं । पाहुना भित्र ल्याउन डराउँथ्यौं,’ बिकी सम्झन्छन् ।
सुरुमा त आमाको बिमारबारे कसैले चाल पाएनन् । बा आजित भएर आमासँग धेरै जंगिन्थे । स्कुल पढाउन जाँदा पनि दुई जोर कपडा बोकेर जान्थिन् । पढाउन जाँदा र फर्कंदाका कपडा फरक हुन्थे । ‘बाल्यकालभरि त हामीलाई सबैको घरमा यस्तै हुन्छ जस्तो लाग्थ्यो,’ बिकी सम्झन्छन् । पछि आमाको बिमारबारे परिवारमा थाहा भयो । अनि नियन्त्रणको उपायतर्फ सबैको ध्यान गयो । परिवारको साथमा दुर्गाले आफ्नो बिमारलाई नियन्त्रण गर्दै गइन् । बिकी कलेज पढ्दासम्म घरभित्र साथीहरू ल्याउने भइसकेका थिए ।
कलेज पढ्दा बिकीको मन फिल्म र संगीततिर पोखिएको थियो । त्यतिबेलै फिल्मका तीन/चार वटा पटकथा लेखिसकेका थिए । तर, पटकथा पर्दासम्म नपुगी डस्बिनमा फालिए । बिकी फर्केर हेर्छन्, ‘ती फिल्म बनाउन लायक थिएनन् ।’ एक समय बिकी ड्रमर थिए । गितार, भ्वायलिन, ड्रमसँग त उनको गहिरो प्रेम थियो । चार वर्ष त ब्यान्डमै बरालिए । त्यतिन्जेल उनीभित्रको कमेडियनलाई उनैले छाम्न पाएका थिएनन् । बिकीले अंग्रेजीमा मास्टर्स गरे । र, उनी गाउँकै स्कुलमा मास्टर बने । आमा पनि छोरा शिक्षक भएको हेर्न चाहन्थिन् ।
000
जीवनले एकदिन नयाँ मोड लियो । त्यो मोड उनीहरूकै मुडले सिर्जना गरेको थियो । ‘सिक्किममा अहिलेसम्म स्ट्यान्डर्ड कमेडी भएको छैन, हामी गरौं,’ बिकी र बिटी कान्छा मिलेर योजना बुने । योजनामुताबिक कार्यक्रम भयो । बिकीले पनि पहिलो पटक कमेडी गरे । सोचेका थिएनन्, कार्यक्रमबाट आफू हिट हुन्छु भनेर । मनभरि आँट बटुले, ‘कमेडी त म पनि सक्दो रहेछु ।’ त्यही क्रममा नेपालमा ‘कमेडी च्याम्पियन सिजन २’ सुरु हुन लागेको थाहा पाए । नेपाल घुम्ने चाहना थियो । त्यसकै लागि अप्लाइ गरे, छनोट पनि भए ।
पहिलो पटककै शोमा ‘सातौं आश्चर्य’ भयो । ‘गोल्डेन–की पाएर सिधै टप टेनमा पुगेछु,’ बिकी सम्झन्छन् । त्यसबेला पाएको ‘गोल्डेन–की’ लाई पछि आमाले काँचभित्र सजाएर राखिन् । कमेडी च्याम्पियनमा सुरु भएको यात्राले बिकीलाई नयाँ पहिचान दियो । उनको लवज, शैली र हास्यव्यंग्य चेतको तारिफ दर्शकहरूले गर्दै गए । कमेडीमा पनि नयाँ प्रयोग गरेर ‘रिस्क’ मा रमाउन चाहन्थे उनी । त्यही ‘रिस्क’ उनले कमेडी च्याम्पियनको अन्तिमतिर ‘प्यान्टोमाइम’ मार्फत लिए । निर्णायकले नरुचाए पनि दर्शकहरूको स्याबासी पाए ।
उनी च्याम्पियन त बन्न सकेनन् । तर कमेडी च्याम्पियनको मैदानबाट निस्केपछि धेरै कमेडियनको करिअरको रथ हाँकिरहेका छन् । युवाकेन्द्रित कार्यक्रम ‘आम्मा कसम याँ दुख्छ’ होस् वा अहिले धेरैको रोजाइमा पर्ने ‘कमेडी दरबार’, जीवनसाथी श्रद्धा र बिकीले कुशलतापूर्वक हाँकिरहेका छन् । अब बिकीका पाइला फिल्म क्षेत्रतिर लम्किरहेका छन् । सोमबारमात्र जीवनसाथी श्रद्धा र उनले पहिलो फिल्म ‘क का कि की’ घोषणा गरेका छन् ।
उतिबेला सेमीफाइनलमा पुग्नुअघि नै विक्कीले सोचेका थिए, ‘च्याम्पियन बनुँ नबनुँ, तर त्यसपछिको मैदानमा आफू तयार हुनुपर्छ ।’ ‘च्याम्पियन’ बन्न त दर्शक मात्र हैन, भोट पनि चाहिन्थ्यो । भोटको संघर्ष त झन् कठिन । त्यतिबेला आमा दुर्गाले छोरालाई भोट माग्न स्टलै राखेर बसिन् । बिकीले अरूले भनेको सुने, ‘तिम्रो आमा त कस्तो खट्नुभएको । तिम्रा लागि भोट माग्न स्टल लगाएर बस्नुभएको छ ।’ दुर्गा फोनमा हौसिँदै छोरालाई भन्थिन्, ‘बाबु, पैसाको टेन्सन नगर, राम्रो पर्फमेन्स दे ।’
छोराको अलिअलि नाम बन्दै गर्दा आमाको अनुहारको उज्यालो सम्झँदा बिकीभित्र सन्नाटा छाउँछ । ‘अब म जति नै सफल भए पनि सन्तुष्ट हुन्न’ बिकी पुनः भावुक सुनिन्छन् । सिर्जनामा असन्तुष्टि लाभदायी छ । बिकीलाई त यसले झन् स्वप्नशील बनाउँछ । त्यसकारण जोखिम मोल्छन्, डराउँदैनन् । आमा गुमेपछि बाँकी डर र पीडाहरू उनलाई नगन्य लागेका छन् । भनिन्छ पनि, संसारमा आमाभन्दा ठूलो केही छैन । ‘त्यसकारण आमा गुमाउनुको पीडाभन्दा ठूलो पीडा पनि केही छैन,’ बिकी दह्रो छाती बनाउँदै भन्छन् । पीडालाई पचाएका बिकीलाई शुभचिन्तकहरू अहिले ‘लङ रेसको घोडा’ ठान्छन् । सायद दुर्गा पनि छोरा परपरसम्म दौडिरहेको त हेर्न चाहन्थिन् ।
