अप्ठ्यारो समयबारे जीवन आमा कालिकाकै हृदयबाट सुन्न चाहन्छन् । कालिका चार दशकअघि छुटेका समयतिर फन्को मार्छिन् र सुस्केरा हाल्दै छोरासँग पोखिन्छिन्, ‘दुःखको कुरा त सोध्दै नसोध्नु, जागिर नाइँ, भारी बोकेर, मेलापात गरेर, मलका डोको बोकेरै सन्तान हुर्काएकी हुँ । साह्रै संघर्षले हुर्काएँ ।’
काठमाडौँ — गत २९ मा सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा सांसद तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले मानव अधिकार उल्लंघन गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्मा बोलाउनु पर्ने धारणा राखेका थिए । लगत्तै उनले सामाजिक सञ्जालमा अस्वाभाविक र असंवेदनशील टिप्पणीहरू खेप्नुपर्यो । जातीय विभेदको लप्का फेसबुकको ‘कमेन्ट’ भरि देखियो ।
ती ‘कमेन्ट’ ले शनिबारसम्म पनि पोल्न छाडेको थिएन । बिहानको झरीसँगै अनुहारमा धमिलो मुस्कान बोकेर परियार गफिँदै थिए, ‘मैले विचार दिएको हो । विचारले प्रतिवाद गर्न सकिन्छ । जातीय कुरा जोडेर छुद्र रूपमा गालीगलौज गर्दा साह्रै मन दुख्दो रहेछ । त्यो देखेर म राति निदाउन सकिनँ ।’
समाजको जुन विभेदविरुद्ध उनले संघर्ष गरेका थिए, त्यही विभेद नामेट पार्ने अभिप्रायले राजनीतिमा होमिए । तर सडकदेखि संसद्सम्म पुग्दा पनि उही विभेदको झिल्को समाजमा सल्किरहेको देख्दा उनी आजित देखिएका थिए । ‘त्यतिबेला मैले मेरै आमाजस्ता आमाहरू सम्झें, जसको आँखा विभेद र दलनको आँसुले भरिएको छ । तिनै आमाहरूको आँसु पुछ्न हिँडेको म, यस्तो देख्दा झन् कति मन रुन्छ होला ?’ चस्किरहेको मनलाई सेलाउन खोज्दै थिए, जीवन ।
साना छोराछोरी हुर्काउँदा लामो समय बिसञ्चो मन लिएर बाँचेकी थिइन् जीवनकी आमा । पहाडको उकालो ओरालोमा पहाड जतिकै गह्रुँगा दुःख, त्योभन्दा नि गह्रुँगो जात व्यवस्थाको भारीले थिचिएर किनाराकृत बाँचिरहेकी थिइन् कालिका परियार । कथित उपल्लो जातका प्रशासकले त नाममा पनि जोरजुलुम गरेका थिए । नागरिकतामा कालिकाको ‘का’ हटाएर काली बनाइदिएका थिए । तर कालिकाको संघर्षका कारण सन्तानले आफ्नो बाटो आफैं कोरे । जेठो छोरा जीवन त यतिबेला नीति बनाउने तहमा छन्, कांग्रेसको सहमहामन्त्री मात्र हैन, राजनीतिमा प्रभावशाली व्यक्तिका रूपमा समेत स्थापित छन् । सन्तानले मारेको यही फड्को सम्झेर अहिले ७२ वर्षीया कालिकाको मन सञ्चो छ । यही सञ्चो मन आफूलाई आएको असंवेदनशील गालीगलौजले फेरि टुक्रियो भने ? जीवन गम्छन् ।
बेलाबेलामा डर लाग्दो रैछ कालिकालाई । छोरा मन्त्री हुने हल्ला एक समय कानसम्म पुग्यो । कतिले त बधाई पनि दिए । खुसीको खबर पर्खेर बसिरहिन् उनी । तर मन्त्रिमण्डलमा जीवनको नाम अटाएन । त्यो सम्झेर कालिका अहिले पनि ननिको मान्दै भन्छिन्, ‘यो राजनीति त्यति राम्रो कुरो रैनछ बाबु । बरु स्थायी जागिर खाइदिएको भए...।’
०००
कास्कीको फल्याङकोटमा २०३३ मा कालिका र सुग्घरबहादुर परियारको परिवारमा नयाँ खुसी थपियो । उनीहरूलाई डर थियो, ‘यो खुसी पनि पानीको फोकाजस्तै फुटिजाने पो हो कि !’ त्यसअघि दुई सन्तानले जन्मेर पनि जीवन पाएनन् । गुमाएका सन्तानको आहतले पोलिरहेको बेला नयाँ आशा अंकुराएको थियो । यो खुसीलाई कसरी जोगाउने ? त्यही चिन्ताले डसिरहेको क्षण भिक्षा माग्दै घरमा एक जोगी आइपुगेछन् । उनीहरूले जोगीलाई सन्तान दान गरे र फेरि जोगीबाट ‘किने’ ।
त्यसपछि बालकको बोलाउने नामै ‘जोगी’ भयो । बालकले एक दिन स्कुलको आँगन टेके । पहिलो पटक त्यहाँ उनको असली नाम लेखियो– जीवन परियार । जीवन आफ्नो असली नाममाथि मन्थन गर्छन्, ‘यो नाम पनि बाआमाले अमर रहोस् भनेर सोचविचार गरेर दिनुभएको रहेछ ।’ जीवनपछि भने एक भाइ र बहिनी जन्मिए ।
जीवन डेढ वर्षको छँदा फल्याङकोटबाट उनीहरू स्यास्त्रीमा बसाइँ झरे । मादीको किनारमा ठूलो बस्ती थियो । त्यहाँ खेतीयोग्य जमिन पनि थिए । ‘फल्याङकोटमा छोराको भविष्य अन्धकार हुन्छ भनेर उहाँहरू त्यतिबेला बसाइँ सर्नुभएको थियो,’ जीवन भन्छन् ।
०००
सन्तान हुर्काउन सजिलो थिएन । त्यो अप्ठ्यारो समयबारे जीवन आमाकै हृदयबाट सुन्न चाहन्छन् र पोखरामा रहेकी कालिकालाई फोनबाट सोध्छन्, ‘भनिदिनु त आमा, हामीलाई हुर्काउन कति कठिन थियो ?’ कालिका चार दशकअघि छुटेका समयतिर फन्को मार्छिन् । फोनबाटै ती समयका सुस्केरा सुनाउँछिन्, ‘दुःखको कुरा त सोध्दै नसोध्नु । साह्रै संघर्षले हुर्काएको । जागिर नाइँ, भारी बोकेर, मेलापात गरेर, मलका डोको बोकेर हुर्काएको हुँ ।’
त्यतिखेर कालिका सखारै ३ बजे उठ्थिन् । बिहान आँगनमा घाम खस्दा उनले परालको भारी दुई तीन खेप बोकेर भ्याइसकेकी हुन्थिन् । ‘लामा उकालोहरू हुन्थे । आमाले त्यति ठूलाठूला भारी कसरी बोक्नुभयो होला ?’ उनी सोच्छन् । आफ्नो खेतीले त भोक पनि मार्दैन थियो । टिठलाग्दो अनुहारले बाआमा अर्काको खेत खनिरहेको देख्दा ८ वर्षको उमेरमा जीवनलाई लाग्थ्यो, ‘अरूका यत्रा जमिन छन् । हाम्रो चाहिँ किन कम ?’
स्कुले जीवनमा खाजा मात्र हैन, कापीकलम किन्न पनि धौ–धौ पर्थ्यो जीवनलाई । बा कामको सिलसिलामा कहिले काठमाडौं, कहिले दिल्ली हुन्थे । घरको सारा जिम्मेवारी आमाको काँधमा थियो । आमा ऋण सापटी गर्न सिपालु थिइन् । आफूले बोलेको बचन काट्दिन थिइन् । ब्याजसहित लिएको रकम तोकेको समयसम्म फिर्ता गर्थिन् ।
बिस्तारै बाआमाले दुःखजिलो गरेर घरको अवस्था उकासे । भैंसी, बाख्राहरू थप्दै, घरमै टेलरिङको काम गर्दै उनीहरूले आर्थिक अवस्थालाई मजबुत बनाउँदै लगे ।
०००
आमाले सन्तानलाई बाटो बिराउन दिइनन् । र, उनीहरूको पढाइमा पूर्णबिराम पनि लगाइनन् । एकपल्ट जीवनकी बहिनी निर्मला कक्षा ५ मा फेल भइन् । गाउँलेहरूले कान भरे, ‘अब योभन्दा बढी पढाउनु पर्दैन । पुग्यो ।’ कालिकाले उनीहरूको कुरा एक कानले सुनिन्, अर्को कानले उडाइदिइन् । उनले छोरीको पढाइ रोकिनन् । दोस्रो वर्ष निर्मला कक्षामा प्रथम भइन् । ‘बहिनीले पछि स्नातकोत्तर पनि सकिन् । अहिले नर्वेमा छिन्,’ जीवन गौरवान्वित हुन्छन् । जीवन पनि राजनीतिशास्त्रमा अहिले एमफिल दोस्रो वर्ष पढ्दै छन् । समाजशास्त्रमा स्नातकोत्तर पढिरहेछन् । बीएएलएलबी पनि गरेका छन् ।
दुःखजिलो गरेर पढाएको उनै जेठा छोराले ०४९ सालमा एसएलसी पास गरे । दलित समुदायबाट गाविसभरिमै उनी एसएलसी पास गर्ने पहिलो व्यक्ति थिए । ‘बाबु, त्यतिबेला दमाईको छोराले पढ्यो भनेर रिस गर्नेहरू थिए । तर मैले चिताएको जस्तै गर्यो,’ आमा मनमा गढेका शब्दका खिल झिक्छिन् ।
एसएलसीपछि पोखराको पृथ्वीनारायण क्याम्पसमा थप अध्ययनका लागि जाने सोचे । तर पढाउने आर्थिक हैसियत आमाको थिएन । कतिपयले भने, ‘धनसम्पत्ति छैन, किन सर्छस् पोखरा ? सक्छन् त ? उनले जवाफ फर्काइन्, ‘सके नि नसके नि मेरो छोरा पढाउँछु ।’ जीवनले एसएलसी दिएलगत्तै ४ महिना गाउँको स्कुलमा पढाएका थिए । पास भएपछि उनले पढाउन छाडे । त्यसपछि क्याम्पस पढ्ने योजना बुने ।
कतिपयले ‘दमाईको छोरा’ले धेरै पढ्ने भयो भन्दै आरिस गर्थे । सबै कुरा निलेर डटेकी कालिका अहिले सम्झिँदै पुलकित हुन्छिन्, ‘नपढाऊ भन्नेहरूलाई देखाउन पनि दस थरी संघर्ष गरें बाबु । अहिले छोराछोरीले मेरो नाम राखे ।’
छोराछोरीका लागि मात्र हैन, बुहारीका लागि पनि आमाले सन्तानको जतिकै सोचिन् ।
०५३ सालमा जीवनले सीता परियारसँग बिहे गरे । बिहेपछि सीता आईए पहिलो वर्षको तयारीमा थिइन् । उनीहरू पोखरामा सँगै डेरा लिएर बस्थे । ‘त्यतिबेला बुहारी भन्नेबित्तिकै घरको काम गर्नका लागि ल्याउने सोचिन्थ्यो । तर आमाले छोरीको व्यवहार गर्नुभयो,’ जीवन सुनाउँछन् ।
०००
जीवनलाई स्कुले जीवनमा अभाव पनि ठूलो कष्ट दिने कुरा थियो विभेद । उनले पाठशाला होस् वा चिया चौतारा । कसैको बिहे वा भोजभतेर । विभेद महसुस नगरेको ठाउँ सायदै थिए । स्कुलमा तिर्खा लाग्दा कथित उपल्लो जातका साथीले कार्यालयमा भएको बाल्टीको पानी सहजै खान्थे । तर आफूले खार्नुपर्दा कथित उपल्लो जातको साथी लिएर जानुपर्थ्यो । साथीले जगबाट खन्याएको पानी थापेर खानुपर्थ्यो ।
कथित उपल्लो समुदायको घरमा आमाको हात समाउँदै पुग्थे उनी पनि । त्यहाँ पनि आफूहरूलाई गरेको अलग्गै व्यवहारले बिझाउँथ्यो जीवनलाई । घर पारिपट्टि लमजुङमा एउटा मन्दिर थियो । मन्दिरमा अरू भित्र
हुन्थे । उनीहरूलाई पस्न निषेध थियो । विवाह र व्रतबन्धमा उनीहरूको भान्सा अलग थियो । आमाले बिझेको मन बुझाउँदै बेलाबेलामा भन्थिन्, ‘यस्तै छ बाबु यो समाज । हामी के गर्न सक्छौं ।’
०४६ सालमा जीवन ८ कक्षामा पढ्थे । बन्द, हडतालका कारण स्कुल बन्द थियो । उनी सिनियर दाइहरूसँगै पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा निस्किए । नाराबाजी गरे । कुटाइ पनि खाए । आफूलाई कुन संगठन के हो भन्ने पनि थाहा थिएन । दाइहरूले भने, ‘तँ नेविसंघमा हुनुपर्छ ।’ त्यसपछि उनले नेविसंघको सदस्यता लिए । उनको राजनीतिक यात्राको सुरुवात त्यहींबाट भयो ।
बुबा पनि बिस्तारै राजनीतिमा सक्रिय हुँदै थिए । ०४९ सालमा बुबा सुग्घरबहादुर पनि वडाअध्यक्षमा निर्वाचित भए । राजनीतिक संगत र पारिवारिक माहोलले गर्दा उनी निरन्तर राजनीतिक यात्रामा सक्रिय भए । सक्रिय हुँदा नै उनले जात व्यवस्थाविरुद्ध लड्नुपर्छ भनेर सोचे । ‘क्याम्पस पढ्न थालेपछि विभेदविरुद्ध लड्नुपर्छ भन्ने चेतसहित संगठित भयौं । ०५५ सालमा नेपाल दलित संघ कास्कीको संस्थापक सचिव भएँ । पछि केन्द्रीय महासचिवसमेत भएँ,’ उनी राजनीतिक यात्रा वृत्तान्त खोतल्न खोज्छन् ।
जीवनले ०५४ मा बीए पास गरे । त्यसपछि उनले गाउँकै स्कुलमा पढाउन थाले । स्कुलमा पनि सहकर्मी शिक्षकबाट जातीय विभेदको महसुस गरे । उनले प्रतिरोधको स्वर पनि त्यहाँ निकाले । शिक्षण पेसामा पनि मन भाँचियो । ‘गाउँमा निमाविको दरबन्दी थियो । मैले दरबन्दी नपाएपछि गाउँ छाडें,’ उनी सुनाउँछन् ।
स्कुल छाड्दा विद्यार्थीहरू डाँको छाडेर रोए ।
उनले गाउँमै हुँदा पनि दलित समुदायका मानिसहरूलाई जम्मा गरेर चिया पसलमा आफूले खाएको भाँडा नमाझ्ने अभियान अगाडि बढाए । विवाह, व्रतबन्धमा हुने अलगअलग भान्सालाई एउटै बनाउन संघर्ष गरे । द्वन्द्वकालको समयमा उनको परिवार चपेटामा थियो । बढी चपेटामा त आमा थिइन् । बुबा वडाध्यक्ष थिए । सरकार पक्ष आएर आदेश दिन्थ्यो, ‘माओवादीको घर कुन हो देखा ?’ माओवादीहरू आक्रोशित हुँदै भन्थे, ‘यो कांग्रेसको घर हो । कांग्रेसीहरू सामन्ती हुन्छन् ।’ दुवै पक्षको तनाव खेपिरहेकी आमा सशस्त्र युद्ध भइन्जेल डराइरहिन् ।
०००
२०६२/६३ पछि देशमा केही परिवर्तन आयो । लामो समय जीवनको राजनीतिक यात्राले पनि एउटा आकार लिइसकेको थियो । ०६४ मा टिकट पाउँछु भनेर ढुक्क भएका उनी तर निराश भए । दोस्रो पटक ०७० मा संविधानसभाको चुनावमा उनले समानुपातिकमा सभासदको टिकट पाए । उनी निर्वाचित भए । यसले सबैभन्दा धेरै खुसी बुबाआमालाई दियो । कास्कीमा सारा मानिसले बुबाआमाका सामु छोरालाई सम्मान गरे । त्यो देखेर दुवैका आँखा हर्षले भिजे ।
एक पटक एउटा संयोग जुर्यो । ०७३ सालको दसैंताका घर पुग्दा जीवन र श्रीमती सीतालाई आमा समूहले सम्मान गर्ने भयो । सीता त्यतिबेला दोलखाको एलडीओ थिइन् । त्यसमाथि आमा समूहको अध्यक्ष पनि आफ्नै आमा । आमाले मञ्चबाट सन्तानका लागि आफूले गरेको दुःख हर्षका साथ सुनाइन् । आमाको मन्तव्यले जीवन द्रवीभूत बने । त्यतिबेला प्रमुख अतिथिको आसनमा बसेर सोच्न थाले, ‘मेरी आमाले यतिको चेत थपिदिनुभयो र त म यहाँ छु ।’ नेपाली कांग्रेसको दुई पटक केन्द्रीय सदस्य भएका जीवन ०७८ बाट सहमहामन्त्रीमा निर्वाचित भए । ०७९ को प्रतिनिधिसभा चुनावमा पनि सांसदमा निर्वाचित भए ।
बेलाबेला थोरै समय मिलाएर घर पुगेको छोरालाई देखेर आमा बडो चिन्ता मान्छिन् । भोको छ कि भनेर ठान्छिन् । पैसा छैन कि भनेर आफ्नो थैली खोल्छिन् । र, केही हजारका नोट निकाल्दै भन्छिन्, ‘लाऊ, तेल हाल ।’
उनी लिँदैनन् । रिसाएझैं गर्छिन् । आमाको मन राख्नका लागि भए पनि जीवन लिन्छन् । ‘हामी त भत्ता बुझ्छम् बाबु । आमाको मन न हो । छोराले कमायो भने नै पनि गोजीमा राखिदिन मन लाग्छ । छैन कि जस्तो लाग्छ,’ कालिका हाँस्दै भन्छिन् । कालिकाको अबको धोको छ, ‘छोरा मन्त्री भएको हेर्ने । आँखाबाट मातृस्नेह बगाउँदै भन्छिन्, ‘मर्नुअघि त्यही एउटा चाहना छ ।’
जीवनको धोको भने मन्त्री बन्नु मात्र छैन, आफ्नो आमाजस्तै थुप्रै आमाहरूको बिसञ्चो मन सञ्चो बनाउनु छ उनलाई । पिँधमा पारिएका तप्काहरूको दबिएको आवाज अझै सतहमा ल्याउनु छ उनलाई । ‘अब थुप्रै आमाहरूका लागि सोच्नु छ, थुप्रै सन्तानहरूका लागि सोच्नु छ,’ उनी उज्यालो अनुहार बनाउँदै भन्छन्, ‘त्यो साहस पनि आमाबाटै त पाएको छु ।’
