सोनु निगम सुन्न उर्लिए दर्शक

सबैका आँखा चमकधमकले सजिएको स्टेजतिरै थियो, लागिरहेको थियो– उनी हिन्दी गीत गाउँदै प्रेक्षालयमा देखा पर्छन्, तर उनले मिठो सरप्राइज दिए, नेपाली गीत ‘उकाली ओराली’ गाउँदै स्टेज चढे ।

पुस ११, २०८१

समर्पण श्री

The audience turned up to listen to Sonu Nigam

काठमाडौँ — सूरज हुआ मद्धम, चाँद जलने लगा...यो गीत हर नेपालीका कानमा वर्षौंदेखि गुन्जिरहेको छ । गीत गुनगुनाउनेहरू त्यसका गायकलाई सम्झिरहन्छन् ।

‘कल हो ना हो’ होस् वा ‘में अगर कहुँ’ । जसका दर्जनौं गीतहरू नेपालीहरू मुक्तकण्ठले गाउँछन् । उनै गायक सोनु निगमले काठमाडौंको चिसो रातलाई न्यानो बनाउने गरी सांगीतिक प्रस्तुति दिए । 

लोकप्रिय गायकलाई प्रत्यक्ष सुन्न दर्शक लालायित देखिन्थे । बुधबार साँझ हायात होटलको मैदान संगीतप्रेमीले तातिएको थियो । ‘सोनु निगम लाइभ इन नेपाल’ को मैदानमा सबैलाई प्रतीक्षा थियो–उनको इन्ट्रीको । कोही टाढैबाट श्रद्धाका हातहरू फैलाउन चाहन्थे त कोही फूलका गुच्छाहरू सोनु निगमसम्म पुर्‍याउने अभिलाषामा थिए । सबैका आँखा चमकधमकले सजिएको स्टेजतिरै थियो ।

लागिरहेको थियो, ‘उनी हिन्दी गीत गाउँदै प्रेक्षालयमा देखापर्छन् ।’ तर उनको सरप्राइज्ड मीठो थियो । उनी नेपाली गीत ‘उकाली ओराली’ गाउँदै स्टेज चढे । भीआईपी र प्लाटिनम श्रेणीको रोहमा भएका दर्शकले त उनलाई सजिलै देख्थे । तर जनरल श्रेणीमा रहेका दर्शकहरूलाई भने स्टेज चढेका सोनु निगम देख्न कसरतै गर्नुपर्थ्यो ।

कोही एकले अर्कालाई बोक्दै प्रत्यक्ष गाइरहेका आफ्ना प्रिय गायकलाई हेर्न थाले । र, कोहीले भन्न थाले, ‘आई लभ यु सोनु निगम ।’ नेपाली दर्शकहरूमा सोनु निगम क्रेज यो दृश्यबाट देखिन्थ्यो । लामो कपाल र कालो चस्मा लगाएका सोनु निगमलाई दर्शकहरूले हुटिङमार्फत स्वागत गरे ।

The audience turned up to listen to Sonu Nigam

सोनु निगमको स्वरमा आधा दर्जन बढी नेपाली गीतहरू छन् । त्यसमध्ये फिल्म ‘सिमाना’ को ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’ र फिल्म ‘बादलपारि’ को गीत ‘यो जिन्दगीले के गर्‍यो के गर्‍यो’ निकै चर्चित छन् । सोनुले आफ्ना नेपाली गीतहरू पनि नेपाली दर्शकसामु प्रस्तुत गरे ।

सोनु बुधबार दिउँसो मात्र नेपाल आइपुगेका थिए । उनले दर्शकहरूलाई सांगीतिक कार्यक्रममा आउन निम्तोसमेत दिएका थिए । उनको निम्तोलाई स्विकारेर आएका दर्शकहरूलाई उनले भरपूर नचाए । गीतमा झुमेका दर्शकहरूसँग सोनुले अन्तरक्रिया पनि गर्न भ्याए । गाउने क्रममा सोनु निगमले सम्झिए, ‘मैले गाउन थालेकै ४७ वर्ष पुगेछ ।’ 

हुन त उनी ५१ वर्ष लागिसके । उनले ४ वर्षको उमेरदेखि गाउन थालेका थिए । सुरुमा उनी आफ्ना बुबासँग विवाह र पार्टीहरूमा गीत गाउँथे । ३० जुलाई १९७३ मा भारतको फरिदाबाद, हरियाणामा जन्मिएका सोनुले शास्त्रीय संगीतको शिक्षा उस्ताद गुलाम मुस्तफा खानबाट लिएका हुन् ।

सोनुले १९९० मा फिल्म ‘जनम’ का लागि पहिलो गीत गाए तर त्यो रिलिज भएन । सन् १९९२ मा टेलिभिजन कार्यक्रम ‘तलास’ का लागि गाए । उनलाई पहिलो सफलता भने १९९३ मा रिलिज भएको फिल्म ‘आजा मेरी जान’ को गीत ‘ओ आसमान वाले जमी पर’ ले दियो । त्यसपछि उनले ‘बेवफा सनम’ (१९९५) र ‘सन्देशे आते हैं’ (१९९७) जस्ता हिट गाना गाए । त्यसपछि ‘अच्छा सिला दिया तुने मेरे प्यार का’ बाट त उनको परिचय झनै फैलियो । 

१९९९ मा उनका पहिलो सोलो एल्बम ‘दिवाना’ आयो । जसले उनी भारतीय संगीतका एक पृथक् नाम बने । अझ कल हो ना हो (२००३) फिल्मको मुख्य गीत ‘कल हो ना हो’ पछि उनले पछाडि फर्केर हेर्नु नै परेन । सोनु निगमले हिन्दीका साथै कन्नड, असमिया, पञ्जाबी, बंगाली, तमिल, मराठीका साथै नेपाली भाषामा पनि थुप्रै गीत गाएका छन् । त्यसकारण पनि उनको गायकीका प्रशंसक थुप्रै भाषीका छन् ।

The audience turned up to listen to Sonu Nigam

सोनु आफ्ना गीतका अंशहरू गाउँदै थिए । जस्तो कि ‘तुने तो पल भर में’ गाउँदा जोडी दर्शकहरू आफूलाई फिल्मी रूपमा प्रस्तुत गरिरहेका थिए । उनले ‘अब मुझे रात दिन’ गीत गाउनुअघि जीवनको एउटा मीठो क्षण सेयर गरे । ‘यो गीत गाएर मैले उतिबेला आफ्नी प्रेमिकालाई प्रेम प्रस्ताव राखेको थिएँ ।’ यसरी तीन घण्टा लगातार सोनुले आफ्नो जादुमयी स्वरमा दर्शकहरूलाई मन्त्रमुग्ध बनाइरहे ।

नेपाल आइरहन्छन् बलिउड कलाकार

नेपालमा भारतीय कलाकारहरू आउनु नौलो कुरा हैन । यसै वर्ष पनि थुप्रै भारतीय कलाकारहरू नेपाल आइसकेका छन् । र, यो आवतजावतको क्रम चली नै रहेको छ । कोही विभिन्न समारोह तथा सांगीतिक कार्यक्रममा भाग लिन आउँछन् त कोही पारिवारिक र व्यक्तिगत भ्रमण गर्न । भ्रमण तथा बिदा मनाउन आउने कतिपय कलाकार भने आए–गएको पत्तै हुन्न । पछिल्लो तीन वर्षयता थुप्रै कलाकार कार्यक्रमका लागि नेपाल आएका छन् ।

२०८० मंसिरमा बलिउडका चर्चित गायक अरिजित सिंह नेपालमा पहिलो पटक गुन्जिए । हायातको ग्राउन्डमा उनलाई हजारौं नेपाली दर्शकले सुनेका थिए । अरिजितले ४ घण्टा गाएका थिए । फ्यानहरूलाई अटोग्राफ दिए । २०७९ चैतमा गायक हनी सिंहले पनि हायातकै ग्राउन्डमा दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए ।

हायातकै ग्राउन्डमा पाकिस्तानी चर्चित गायक आतिफ असलम पनि गुन्जिएका थिए । गत नयाँ वर्षको पूर्वसन्ध्यामा उनले आफ्नो प्रस्तुति दिएका थिए । आतिफले यसअघि सन् २०१२ मा दशरथ रंगशालामा पनि नेपाली दर्शकहरूका माझ झुमेका थिए ।

भारतीय कलाकार सुनील ग्रोबर पनि गत मंसिरमा काठमाडौं आए । नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा उनले आफ्नो प्रस्तुति दिएका थिए । उनको कार्यक्रममा नेपाली ब्यान्ड कुटुम्बले पनि प्रस्तुति दिएको थियो ।

यही साता मात्र तीन चर्चित बलिउड अभिनेत्रीहरू सन्नी लियोनी, इशा गुप्ता र निया शर्माले नेपालमा प्रस्तुति दिए । उनीहरू भैरहवामा खुलेको क्यासिनोको उद्घाटनमा आएका थिए । लियोनी त पटकपटक नेपाल आइरहेकी छिन् । इशा पनि यसअघि नेपाल आएकी थिइन् ।

गत मंसिरमा बलिउडमा भिलेनको परिचय बनाएका भारतीय अभिनेता प्रदीप रावत पनि नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को प्रमोसनका लागि नेपाल आएका थिए । उनको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा महत्त्वपूर्ण भूमिका थियो । उनीसँगै दक्षिण भारतकी अभिनेत्री कल्याणी पनि नेपाल आएकी थिइन् ।

The audience turned up to listen to Sonu Nigam

गत भदौमा फिल्म ‘साम्बाला’ को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकी पनि नेपाल आएका थिए । उनीहरू ‘साम्बला’ को प्रिमियर कार्यक्रममा पनि सहभागी भएका थिए । भारतीय गायिका शिल्पा राव पनि गत वर्षको भदौमा नेपाल आएकी थिइन् । भदौ ८ मा उनले सोल्टी होटलमा सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिइन् । उनले नेपालीहरूको प्रशंसा गर्दै भनिन्, ‘तपाईंहरू सुन्दर ठाउँमा बस्नुहुन्छ ।’ उनले १४ वटा गीत गाएकी थिइन् ।

चर्चित बलिउड पार्श्व गायक जावेद अलीले पनि गत वर्षको साउनमा पहिलो पटक नेपालमा लाइभ कन्सर्ट गरेका थिए । २०७९ फागुनमा दशरथ रंगशालामा भारतीय गायिका आस्था गिलले पनि दर्शकलाई प्रस्तुति दिएकी थिइन् । उनले आधा दर्जन गीत गाएर दर्शक तताएकी थिइन् ।

त्यतिबेला उनीसँगै चर्चित भारतीय र्‍यापर डिभाइन र किङले पनि प्रस्तुति दिएका थिए । आस्था त्यसअघि वैशाखमा पनि नेपाल आएकी थिइन् । उनले दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ कन्सर्ट’ मा दर्शकहरू झुमाएकी थिइन् । उनले हिट गीत ‘पानी पानी हो गई’, ‘तेरा बज’, ‘डिजेवाले बाबु’ ‘अभी तो पार्टी सुरु हुई है’ लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गरेकी थिइन् ।

३ वर्षअघि ०७८ माघमा इन्डियन आइडल ‘पवनदीप राजन’ ले पनि नेपालमा प्रस्तुति दिएका थिए । उनले ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना भएको ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिएका थिए । बलिउड गायिका असिम कौरले पनि त्यसताका दरबारमार्गस्थित क्लब प्लाटिनममा ‘राता लम्बिया नाइट विथ आशिष कौर’ मा प्रस्तुति दिएकी थिइन् ।

२०७९ मंसिरमा भारतीय अभिनेत्री सबाना आजमी पनि नेपाल आएकी थिइन् । उनी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा सहभागी हुन काठमाडौं आएकी थिइन् । थापागाउँस्थित मण्डला थिएटरको हलमा उनको मास्टर क्लास पनि थियो ।

गत वर्ष भदौमा ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता पनि नेपाल आएकी थिइन् । उनले फेस्टिभलको छलफल तथा गोष्ठी सेसनमा भाग लिएकी थिइन् ।

गत वर्षको जेठमा भारतीय अभिनेत्री भाग्यश्री पनि नेपाल आएकी थिइन् । ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैटौं संस्करणमा भाग लिन उनी नेपाल आएकी थिइन् । उनीसँगै भारतीय कलाकार रञ्जीन, बिन्दु दाह्रा सिंह, कमेडियन ध्वनि पवारलगायत नेपाल आएका थिए ।

बलिउड अभिनेता अनुपम खेर २०७९ असारमा नेपाल आएका थिए । उनले नेपाल आएर पशुपतिनाथको दर्शन गरेका थिए । उनले हायात रिजेन्सीमा आयोजित एक कार्यक्रममा मोटिभेसनल स्पिच पनि दिएका थिए । त्यसअघि उनी नेपालमा आफ्नो फिल्म ‘उचाइ’ को छायांकनका लागि पनि आएका थिए । त्यतिबेला उनीसँगै बोमन इरानी, परिणिति चोपडा, सारिक हसनलगायतका भारतीय कलाकार नेपाल आएका थिए ।

समर्पण श्री उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully