कथावाचक आमा 

लोककथा सुनाउन पोख्त आमा भगवतीदेवीले नै तयार पारिदिएकी थिइन्, नयनराजको लेखनको ब्याड । आमाको अर्ती छ– जगत्‌को कल्याण हुने कथा लेख्नू !

पुस २६, २०८०

दीपक सापकोटा

काठमाडौँ — कुनै छोराले आमाको कोठामा सीसीटीभी किन जडान गर्छ ? आमाको जासुसी गर्नुपर्ने त्यस्तो के खण्ड आइलागेको हो ? आमाबाट त्यस्तो ‘खतरा’ के छ ? सुप्रसिद्ध आख्यानकार नयनराज पाण्डे हुन्, ती जडानकर्ता पुत्र । सीसीटीभीको धर्मबमोजिम, उनले गरेको त आमाको जासुसी नै हो । तर, प्रेमपूर्ण जासुसी । र, एउटा कर्तव्यपरायण छोराले आफ्नै जिम्मेवारीको जासुसी पनि गरिरहेको हो, यो सीसीटीभी–प्रकरण ।

कहिलेकाहीं मध्यराततिर झस्कन्छन्, नयनराज । बिरालोको पदचापले पनि उनलाई कहिलेकाहीं अत्याउँछ । ‘अत्यास लाग्छ– आमालाई केही भयो कि भन्ने डरले,’ नयनराज भन्छन्, ‘खै, यस्तो डर कसरी मनमा बस्यो ? यो भय रोगकै तहमा पुगेजस्तो लाग्छ । त्यसैले आमाको कोठामा सीसीटीभी जोडेको हुँ । मोबाइलबाटै हेर्छु, मामी सुत्नुभयो कि जाग्राम हुनुहुन्छ ?’

यदाकदा नयनको आमा–सुर्ता सपनामा पनि दृश्यहरू बनेर आउँछन् । जस्तो कि, रिकरिङ (दोहोरिरहने) एउटा सपनाको नमुना (उनले सुनाएअनुसार) यस्तो छ : लखनऊको एउटा अस्पताल । लहरै शय्याहरूबीच एक शय्यामा दमले स्याँ–स्याँ गरिरहेकी आमा । सुँक्क–सुँक्क रोइरहेकी । क्लान्त र बेचैन । कलेटी परेका ओठ । अस्तव्यस्त कपाल ! मरुभूमिजस्तो सुक्खा अनुहार ! अनि, औषधिको चर्को हरक । र, मृत्यु, डर, तनाव, निरीहतामा अस्पतालको कुनामा घुँडाबीच मुन्टो घुसारेको, गति–स्फुर्ती हराएको, गलेको एक बिरामी कुरुवा ! बाहिर रफ्तारमा कुदिरहेको लामो रेलको एकनासे आवाज...! 

आमा भगवतीदेवीसँग लेखक नयनराज पाण्डे ।

बारम्बार देखिरहने यस्तो सपनापछि नयन बिउँझिन्छन्, अनि निदाउनै सक्दैनन् । छटपटीमा बाँकी रात बितिजान्छ । पद्मिनी कोल्हापुरे खोज्दै हिरो बन्ने सपनाले वशीभूत भएर बम्बई पुगेको एक पात्रको कहानी हो, नयनकृत उपन्यास ‘घामकिरी’ । ‘भागेर बम्बई पुग्ने, बम्बईको त्यो चकाचौंधमा पद्मिनी खोजिरहने त्यो पात्र अरू कोही होइन, मै हुँ,’ पुसको एक चिसो दिन नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा, भानुभक्तको सालिकमुनि ढल्किएर, पुराना दिनको स्मृति–तालमा सयर गर्न थाले, नयनराज । 

२०३९ सालतिरको एक दिन नयन (मानौं, भविष्यमा उनीद्वारा लेखिइने ‘घामकिरी’ को त्यस पात्रको भ्रूणको अवतारमा) बम्बई भागेका थिए, नायक बन्न । उनी उता भागेपछि, यता आमाको दिनको भोक गायब भयो, रातको निद्रा बसाईं गयो । छोरो हराएकी आमा चिन्ता, व्यग्रता, बेचैनी र सन्तापको ज्वालामुखीमा भुटभुटिएर ओछ्यानै परिन् । स्वास्थ्य कति खराब भयो भने उनलाई उपचारार्थ लखनऊ लगियो । ‘म भागेर बम्बई जाँदा आमा यता भयंकर बिरामी हुनुभएछ– मेरो चिन्ताले । 

म घर आउँदा अत्यासलाग्दो एकान्तले छोपेको थियो, आमा त लखनऊको अस्पतालमा हुनुहुँदोरैछ, एकदमै क्रिटिकल अवस्थामा,’ नयन अतीतोन्मुख हुन्छन्, ‘म घर फिरेको खबरले आमालाई सन्चो हुँदै गयो । आमा त्यसबेला गर्भवती पनि हुनुहुँदोरहेछ । पछि बच्चा खेर गयो ।’ 

***

आमाहरूलाई पात्र बनाएर कैयौं आख्यान लेखिसकेका लेखकले आफूभित्र गुम्साइराखेका आमा–कथाहरूको स–सानो सँगालो हो, यो आलेख । उनकी आमा भगवतीदेवी पाण्डे (८६) को कथा हो । पाँच–छ वर्षका थिए, राजु । उनलाई लाग्यो– आमा कतै जाँदै हुनुहुन्छ, आफूलाई छोडेर । ‘आमा त जानुभो’ भन्ने अत्यासले ती बालक कुहिरिलो एक बिहान सडकमा निस्किए र बर्को ओडेकी आमालाई पछ्याए । निकै पर पुगेपछि मात्रै थाहा पाए– जसलाई आमा ठानेर पछ्याइयो, ती त अरू कसैकी आमा पो रैछिन् ! पछ्याउने त्यो सानो राजु अरू कोही नभई आजका लेखक नयनराज पाण्डे थिए ।

‘आमा कतै जाँदा म कहालिएर रोएका बाल्यकालका दृश्य सम्झिन्छु आज पनि’, नयन ती दिनतिर टोलाउँछन्, ‘आमाको हात समातेर कतै जान नपाउँदा या आमासित दुई/चार घण्टाको साथ छुट्दा पनि कहालिन्थेँ म ।’ फेरि एक रात आमा गएको सपना आयो, पटक–पटक आयो । बिहान उनी ती सपना मुठीमा बन्द गर्थे, फेरि औंला खुल्थे र सपना खुला औंलाका कापबाट कपुरजस्तै बिलाइजान्थे । ‘आमाले छोडेर जाँदै हुनुहुन्छ भन्ने त्यो अत्यास सम्झेर अहिले पनि मुटुको ढुकढुकी बढ्छ,’ यसो भनिरहँदा नयनका आँखा रसिला बने । 

लेखक नयनराज पाण्डे । तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

आजकाल सोचिबस्छन्– समयले अब त आमालाई बालकझैं बनायो । जस्तो सेक्सपियरले उहिल्यै भनेका थिए, ‘मानिस पुनः एकपटक बालक बन्छ– दाँतविहीन, आँखाविहीन स्वादविहीन... दोस्रो बाल्यकालमा पुग्छ ।’ अहिले नयनलाई एउटै प्रश्नले कुटुकुटु खाइरहन्छ— मैले आमाप्रति आफ्नो भूमिका राम्ररी निर्वाह गरेको छु त ? उनका सम्झनामा छन्– आमाले कतैबाट सुनेर चोलोमा सिउरिएको सुर्के–थैलीमा जतनले लुकाएर राखेका लोककथा, जसलाई नेपालगन्जका छिप्पिएका पुस–माघका कठ्यांग्रिँदा रातका प्रहर–प्रहरमा आमा मनमोहक ढंगले सुनाउँथिन् । कहिले ओछ्यानछेउको भित्तामा ढेपिएर, कहिले अँगेना वरपर उत्सुक नयन र दिदीहरू सुनिबस्थे । आमा सुनाउँथिन्– शिशिर वसन्तको कथा, सुनकेशरी मैयाँको कथा, कथैकथा । ‘एकादेशमा एक बडा प्रतापी राजा थिए, उनका शिशिर–वसन्त नाम गरेका दुइ राजकुमार थिए...।’ आमाको देहान्तपछि शिशिर–वसन्तको कडा संघर्ष, करुणामय विछोड र दाजुभाइको सुखद मिलन ! 

यसरी सन्तुलित लय र चालमा आमा कथा सुनाउँथिन् । काल्पनिक लोककथाका ती अदृश्य शिशिर–वसन्त नयनका नयनमा जीवित हुन्थे । सोच्थे– ती साँच्चैका मान्छे हुन्, मेरा साथी हुन् । उनको बाल–समझका अति महत्त्वपूर्ण कथा थिए ती । ‘आमाले सुनाएका तिनै तिलस्मी कथाले नै मलाई लेख्न प्रेरित गर्‍यो,’ नयन भन्छन् । कथा भनिरहेकी, दमले खोकिरहेकी, कुरुसमा तन्मयपूर्वक स्वेटर बुनिरहेकी आमाको पुरानो झझल्को आइरहन्छ, नयनलाई । यस्ता अगणित याद छन् । आमा बिरामी हुँदा अत्तालिएर साइकल कुदाउँदै डाक्टर बोलाउन दौडिएका साँझको सम्झनाले अहिले पनि बिझाउँछ नयनलाई । नेपालगन्जमा एक बंगाली डाक्टर थिए– तारापद साह । उनी रुँदै तिनकहाँ पुग्थे, आमाको औषधि लिन । डाक्टर रिक्सामा आउँथे, उपचार गरेर फर्किन्थे । 

***

आमा भगवतीदेवीले विख्यात आख्यानकार–छोराको उपन्यास ‘सल्लीपीर’ खुब घत मानेर पढिन् । उपन्यासले याक र पेमाको कथा भन्छ । पेमालाई सधैं लाग्थ्यो– किताबमा भूत बसेको हुन्छ र यसले मति बिगार्छ । त्यसैले पेमा छोरा फुर्वालाई सधैं अक्षरको निकटताबाट जोगाउन चाहन्थी । फुर्वाले चट्टानहरूमा पवित्र बुद्धमन्त्र लेखेको देखेपछि पेमामा गम्भीर परिर्वतन आउँछ । ऊ भन्छे, ‘मेरो बुबाले पढ्ने गरेका अक्षरहरू भूत थिएनन् । ती त सुकिला मन्त्रहरू थिए ।’ त्यसपछि छोराका लागि पेमाको किताब खोज्ने यात्रा भन्छ उपन्यासले । 

‘सल्लीपिर’ पढेपछि भगवतीदेवीले नयनलाई पाठकीय समीक्षा प्रदान गर्दै भनिन्, ‘यसमा आमाले छोराका लागि गरेका दुःखकष्ट लेखेको रैछस् तैंले । त्यो मनपर्‍यो, बुझिस् ! जगत्को कल्याण हुने धार्मिक कथा पनि लेख्नू !’ १७—१८ वर्षको छँदा नयनराजका कथा छापिन्थे– ‘गोरखापत्र’ मा । उनी दंग परेर आमालाई देखाउँथे । आमा खुसी हुन्थिन् । 

संसारभरको साहित्यमा आमा सार्वभौम ‘कन्टेन्ट’ हो । अनुभव गर्न सकिएला, प्रेमिकापछि धेरै कसैमाथि लेखिएको छ भने आमामाथि नै लेखिएको छ । बडेबडेदेखि छोटेमोटे, हस्तीदेखि सिकारुसम्मका कवि–लेखकले आमाबारे केही त लेखेकै छन्, लेखेकै हुन्छन् । कसैकसैले त आमाका नाममा भावुकताको खोलै पनि बगाएका हुन्छन् । नयनले पनि आमा–गाथा खुबै लेखेका छन्– ‘उलार’ देखि, ‘जियरा’ सम्मै । ‘लू’ मा इलैयाकी आमा, ‘उलार’ मा द्रौपदीकी आमा, ‘सल्लीपिर’ मा फुर्वाकी आमा, ‘घामकिरी’ मा झन् जताततै आमा ! ‘जियरा’ का त हरेक कथामा आमाहरू सम्मानित र परिवर्तनकामी व्यक्तित्वका रूपमा आएका छन् । 

***

उबडखाबड र संघर्षले भरिएकी भगवतीदेवीको ८४ पूजा सकिएपछि उनमा अझै ऊर्जा थपिएको छ । १९९५ सालमा काठमाडौंको कमलपोखरीमा जन्मिएकी हुन्, उनी । पिता असाध्यै रिसाहा, दुर्बासा नै सम्झाउने ! र, परिवारप्रतिको दायित्व पूरै बिर्सिएका । जुवाको लत बसेकाले धनसम्पत्ति, घरघडेरी सबै सकियो । तर, भगवतीदेवीलाई मामाघरे हजुरबुवा/हजुरआमाले भरथेग गरे । भगवतीदेवीका मामा पशुपतिदेव पाण्डेको ‘पशुपति छापाखाना’ थियो । ‘समाज’ पत्रिका त्यहींबाट छापिन्थ्यो । अर्का मामा थिए– चर्चित लेखक बालमुकुन्ददेव पाण्डे । उनले पनि ‘नयाँ समाज’ पत्रिका निकाले, उनीहरूको सुनाम थियो– ‘छापाखाने’ । रन्जना हलसँगै फसिकेव, प्युखामा थियो– मामाहरूको तीनवटा घर । 

झ्यालबाट आधुनिकतातिर पसिरहेको सानदार नयाँसडक देखिन्थ्यो । भगवतीदेवी मामाघरै बस्न थालिन् । जेठो मामा रक्सीका कति सौखिन रहेछन् भने रन्जना छेउको घर रक्सीको कुलतले स्वाहा भएछ । 

नयनकी आमाको जुगको काठमाडौं कहानी नै बेग्लै । उबेला सामान्य मान्छेले धेरै कमाए महिनाको १०–१२ रुपैयाँ कमाउँथ्यो । ४ पैसाको तरकारी–मसला, ५० रुपैयाँको चारआना सुन, ५० पैसाको २ माना मसिनो चामल, दुई माना तेलको ३ मोहर, १ सेर घिउको २ रुपैयाँ, च्युरा र मार्सी चामल ५० पैसामै दुई माना ! दूध, दही, मोही र घिउ जति खाऊ !काठमाडौं सफा थियो । भदौमै पनि बाक्लो मन्डी ओढ्नुपर्थ्यो ! भुँ–भुँ गर्दै लामखुट्टे विचरण गर्दैनथे । बरु उपियाँले निकै दुःख दिन्थे । सडकमा बस् गुड्दैनथे । बानेश्वर ठूलो खेत थियो, जहाँ ज्यापूहरू मुला–काउली उमार्थे । काठमाडौं भन्नु हनुमानढोका मात्रै । किनमेल–थलो असन, इन्द्रचोक ! बागबजारको मान्छे नयाँसडक जानुपरे भन्थ्यो– काठमाडौं पुगेर आउँछु ! नयन लेखक बन्नुमा आमाका मामा र उनका सानाबा उत्तम कुँवरको भरपुर योगदान छ । भगवतीदेवी बेलाबेला भन्छिन् पनि– ‘तँ त मेरो मामातिर गइस्, ठिकै गरिस् ।’

मामाहरूले उनलाई कन्या मन्दिर हाइस्कुल भर्ना गरिदिए । शिक्षक थिए– तारानाथ शर्मा, कृष्णचन्द्रसिंह प्रधानहरू ! उनले २०१६ सालमा एसएसली पास गरिन्, उमेर थियो– २०–२१ वर्ष । २०१७ सालमा भगवतीदेवीको बिहे भयो, डिल्लीराज पाण्डेसँग । बिहेपछि पढाइ रोकियो । सल्यानका डिल्लीराज पढेलेखेका थिए– ‘गोरखापत्र’ का सुब्बा । सूचना विभागको अधिकृत पनि भए । पछि हेडमास्टर भए– सल्यान र नेपालगन्जमा । बिहेपछि सल्यान, नेपालगन्ज पुगेकी भगवतीदेवीलाई त्यहाँको बसाइ सकसपूर्ण भयो । ‘काठमाडौंमा हुर्के–बढेकी मान्छे दुर्गम पहाड र गर्मी मधेश पुग्दा गाह्रै त हुन्छ नि,’ नयन भन्छन् !

२०–२१ सालतिर अढाई वर्षकी छोरी बोकेर श्रीमानको पछिपछि भगवतीदेवी सल्यान पुगिन् । र, श्रीमान् हेडमास्टर भएको स्कुलमा पढाउन थालिन् । सल्यानमा पानीको निकै समस्या थियो– घरदेखि निकै परको ढुंगे धारा पुग्नुपर्ने, रातभरि लाइन लाग्नुपर्ने ! उनी बिरामी परिन् । श्रीमान् फेरि बीएड गर्न काठमाडौं आए । सँगै उनी पनि आइन्, नयनराज काठमाडौंमै जन्मिए । नेपालगन्जमै हेडमास्टरको प्रस्ताव आएपछि परिवारै नेपालगन्ज पुगे । ‘आमा भन्नुहुन्छ– नेपालगन्जमा गर्मी र लामखुट्टेले निकै सतायो, तर बिस्तारै बानी पर्‍यो,’ नयन सम्झन्छन् । सल्यानको हेडमास्टर जागिर छाडेर मंगलप्रसाद गुप्ताले स्थापना गरेको नेपालगन्जको एमपी स्कुल पढाउन थाले– डिल्लीराज । नेपालगन्जमा नगरपालिका र औद्योगिक क्षेत्रबीचको सुर्खेत रोडमा थियो– घर ।

मंगलप्रसाद शिक्षा–सेवी थिए । उनीबारे भनिन्थ्यो– पढ्न नजान्ने र पढ्न नमान्ने विद्यार्थीलाई उनी इनारमा उल्टो झुन्ड्याउँथे । विद्यार्थीलाई भनिरहन्थे– समझे तो क्या समझे, नहीं समझे तो क्यूँ नहीं समझे ! उनी गणितका राम्रा शिक्षक थिए । पछि स्कुल सरकारीकरण भयो । उनले आफ्नै जग्गामा स्कुल खोलेका थिए । शैक्षिक योग्यता कम भएकाले आफ्नै स्कुलमा पनि उनले पढाउन पाएनन्, त्यसपछि जीवनभरि नै त्यो स्कुल टेकेनन् । त्यही स्कुलमा नयनका बुबा डिल्लीराज हेडमास्टरबाट ४३–४४ सालतिर रिटायर्ड भए । २०५५ मा संसारबाट बिदा भए ।

***

नयनराज काठमाडौंको प्युखामा सरदार रुद्रराज पाण्डेको घरको भुइँतलामा जन्मिए । ‘रुपमति’ लेख्ने रुद्रराज पाण्डे बुबातिरको चार–पाँच पुस्ताभित्रकै पर्छन् । नयन र रुद्रराजमा पाँच पुस्ताको फरक छ । रुद्रराज जीवित भइरहेका भए नयन अहिले पनि उनलाई ‘दाजु’ सम्बोधन गरिरहेका हुन्थे । नेपालगन्जमा प्राथमिक र निम्नमाध्यमिक तहसम्मको पढाइ नयनले आफ्नै बुबाको स्कुलमा गरे । पढ्नमा निकै अल्छी, बल्ल–बल्ल पास हुने, स्कुलबाट भागेर फिल्म हेर्ने बानी लागेको थियो– घरमा पैसा चोरेर दिक्कै लगाउँथे, बुवा–आमाको निकै पिटाइ खाए । जाँचका बेला चिट बनाउन सिपालु थिए । उतिबेला एसएलसीमा पनि मजाले चिट चोर्न पाइन्थ्यो । तर, रमाइलो विडम्बना के थियो भने नयनले जसको चिट सारे, ती साथी चाहिँ फेल भए । फेल भएका ती साथीले अहिले वनस्पति विज्ञानमा पिएचडी गरिसकेका छन् । त्यसैले नयनलाई लाग्छ, हाम्रो विद्यालयको प्राप्तांकले जीवनको उपलब्धि गणना नहुने रहेछ ।

सिनेमा हेर्ने लत, बजारका चाट, राबडी र जिलेबी खाने बानी । त्यसका लागि पकेट खर्च अपर्याप्त हुन्थ्यो । त्यसैले नयन बुबाको खल्तीबाट यदाकदा रकम उडाउँथे, समातिन्थे, सजाय पनि पाउँथे । तर, चेत्दैनथे । एकपटक नयन घरको केही किलो तोरी पोको पारेर बेच्न निस्किएकै बेला आमाले देखिन् । उनले त्यतिबेला पिटाइ त खाएनन्, तर रंगेहात समातिएपछि नयनलाई ग्लानि भएको थियो । उनको अन्तिम चोरी त्यही थियो । नयन हुर्किए– अत्याउने गर्मी र मुटु कपाउने शीतलहरको सहर नेपालगन्जमा । घुर्मैलो स्मृतिमा छँदैछ– त्यो सहरको बास्ना र स्वाद । मुसाफिरखाना, एकलैनी, महेन्द्रपार्क, सदरलाइन मस्तिष्कमा आउने–जाने गरिरहन्छन् । कबाब दोकानका कबाब, हलबाईको राबडी, जिलेबी, बुनिया, इमर्ती, कालाजामुन, रसभरिको बास्ना अहिल्यै आइरहेको हो झैं लाग्छ । ढेलामा बेचिने देसी घिउ र मगमग बास्ना आउने चाटको सम्झनाले उनलाई अहिले पनि लोभ्याउँछ ।

नयन र उनका दिदीहरू दुब्ला–पातला थिए– नेपालगन्ज सरेपछि कुखुराको अण्डा खान दिए मोटाउलान् भनेर श्रीमान्लाई थाहै नदिई भगवतीदेवीले घरमा काम गर्ने एकजनालाई ठेक्का दिएकी थिइन्– स्कुलबाट फर्कंदा एक–एकवटा अम्लेट ख्वाउने ! श्रीमान् घरमा कुखुरा र अण्डा भित्र्याउन दिँदैनथे । घरमा लसुन, प्याज पनि चल्दैनथ्यो । नयनराजले लामो समयसम्म आमाले बुनेकै स्विटर लगाए । बुन्ने कला र पाक कलामा आमा सिपालु थिइन् । ‘सेतो रङमा कौडाको बुट्टा भएको आमाले बुनेको मेरो त्यो प्रिय स्विटर कहिल्यै बिर्सिन्न’, नयन स्मृतितिर पस्छन्, ‘कुरुसले आमाले स्विटर बुनिरहेको त्यो दृश्यले अहिले पनि नोस्टाल्जिक बनाउँछ ।’ 

***

२ छोरा, २ छोरीकी आमा भगवतीदेवी ठ्याम्मै कान सुन्दिनन् । तर, देश–विदेशका राजनीतिक घटनाक्रम र खबरबारे सधैं अपडेट हुन्छिन् । धार्मिक किताब पढ्छिन् । नयनले थाहा पाउँदासम्म उनी टेलिफोनमा कुरा गर्थिन् । तर, पछि कान पूरै बन्द भयो । ५० वर्ष भयो– उनले छोराछोरीको आवाज नसुनेको । नयनलाई लाग्छ– आमाले मेरो आवाज कहिल्यै सुन्नुभएन । काठमाडौं आएपछि आमाको दम हरायो । सायद परम्परागत चुलोको कारण उनलाई दम थियो । उनको दैनिकी छ– कौसीका फूलमा पानी हाल्नु, केही समय पूजा कोठामा बिताउनु र बाँकी समय टिभी हेर्नु । वर्षौंदेखि एउटै तालिका छ– सुत्ने, उठ्ने, चिया खाने, खाना–खाजा खाने ! पानी दैनिक तीन लिटर खान्छिन्, औषधी सात–आठथरिको । छोरा–नाति–बुहारीलाई सल्लाह दिइरहन्छिन्– धर्मबाट च्यूत नहुनु, अभक्ष नखानु !

नयन आमालाई ‘मामी’ सम्बोधन गर्छन् । सोच्छन्– समाजमा आमाहरूको सम्मानित स्थान छैन । आमामाथि लेखिएको माक्सिम गोर्कीको किताब ‘आमा’ उनलाई प्रिय छ । नयनको बुझाइ छ– साहित्यमा आमाहरूलाई कमजोर पात्र बनाइयो, आमा नै नायक भएको साहित्य या फिल्म कम आए । 

२०४४ सालमा काठमाडौं आएपछि नयन आमालाई चिठी लेख्थे– मामी पीर नमान्नु ! काठमाडौंमा आफ्नै घर हुन्छ, गाडी हुन्छ । म तपाईंलाई गाडीमा सहर घुमाउँछु । त्यो सपना ढिलो पूरा भयो । एकै छतमुनि भए पनि आमालाई सपनामा देखिरहन्छन् नयन– तर, सपनामा नेपालगन्ज नै देखिन्छ, गरगहना लगाएकी आमाको चित्र आउँछ । बुवा बितेपछि बरखी बारेकी हिमधरझैं आमा पनि आउँछिन् । आमा नयनलाई भन्छिन्, ‘मरेपछि म यो संसारिक सुखसयल छोडेर यहाँभन्दा राम्रो घरमा जान्छु– त्यो गोलोकमा, जहाँ यो मृत्यु–लोकभन्दा सुख, शान्ति र सुन्दरता छ ।’ त्यो स्वर्गीय ठाउँको कल्पनाले उनको मनबाट मृत्युको भय पूरै गायब भइसकेको छ । 

नयनलाई सधैं लाग्छ– आध्यात्मिक भएरै आमामा आत्मविश्वास छ । ‘मेरी आमा विशिष्ट आमा होइनन्, उस्तै सपना र रहर भएकी, स्नेहले भरिएकी अरू असंख्य आमाजस्तै हुन् । अभावमा पनि सन्तानलाई अधिकतम् सुख दिन खोज्ने संसारका हरेक आमा ‘म्यानेजेरियल स्किल’ ले भरिपूर्ण भव्य र गरिमामय व्यक्तित्व हुन्’, नयन भन्छन्, ‘आमा मेरो कमजोरी हो र शक्ति पनि । आमाको धोतीको सुगन्ध मलाई सधैं प्रिय छ ।’ ‘लू’ को एक–दृश्यमा नयनले लेखेका पनि छन्– आमाको आँचल जति सुरक्षित ठाउँ संसारमा अर्को छैन !

कान्तिपुरमा प्रकाशित आमा शृंखला

आमा-फिचर श्रृंखला

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully