धिमालको तरुवा रेसिपी

आश्विन ५, २०८०

पर्वत पोर्तेल

झापा — करिब डेढ दशकअघि फाट्टफुट्ट आउने गाउँले ग्राहकको भरमा चलेको थियो, बाहुनडाँगीका धनबहादुर धिमालको खाजा घर । तर अहिले भने समय फेरिइसकेको छ । खाजा खान ग्राहकले पालो कुर्नुपर्ने अवस्था आइसकेको छ । खासमा यो देहाती खाजाघर बंगुरको तरुवाका लागि चिनिएको छ । तराईका आदिवासी धिमाल जातीय शैलीमा तयार पारिने तरुवाको स्वाद चाख्न टाढा–टाढाका ग्राहक जम्मा हुन्छन् । अनि जिब्रो पड्काउँदै फर्किन्छन् ।

‘तरुवाको स्वाद मुखै रसाउने छ,’ मेचीपारि नक्सलबारीबाट आएर तरुवाको पहिलो स्वाद चाखेपछि सञ्जय क्षत्रीले भने, ‘बाहुनडाँगीको बंगुरको तरुवा स्वादिलो छ भन्ने सुनेको थिएँ, आज चाख्नै पाएँ, साँच्चै मीठो लाग्यो ।’ 

धिमाल परिवारले घरमै चलाएको खाजा घरमा बंगुरको तरुवा चाख्न मेचीपारिबाट मात्रै नभई धरान, इटहरी, दमकलगायतबाट पनि पारखीहरू ओइरिन्छन् । जसरी धरान कालो बंगुरको कानका लागि प्रख्यात छ, त्यसरी नै बाहुनडाँगीको यो खाजा घर बंगुरको स्वादिलो तरुवाका लागि चर्चित छ । बंगुर पाल्नु, रक्सी पारेर बेच्नु धिमाल समुदायको जातीय कर्म नै हो । धनबहादुरको घरमा पनि बंगुर थियो । सँगसँगै रक्सी पारेर पनि बेच्थे । रक्सी पारेपछि बचेको जाँडको कड (छोक्रा) बंगुरले खान्थ्यो । घरमा पारेको अर्गानिक स्वादको रक्सी खान गाउँले ग्राहक आउँथे । रक्सी खाँदै गर्दा ग्राहकहरू भन्थे, ‘सितन चैं केही छैन ?’ रक्सी खान आउने ग्राहकले सितन खोज्न थालेपछि धनबहादुरलाई एक दिन जुक्ति फुर्‍यो, रक्सी र मासुसहितको खाजा घर खोल्दा त चल्छ कि क्या हो ? 

ब्रोइलर कुखुरा पाल्न ठिक्क पारेको कटेरोलाई खाजा घरमा परिणत गरे । त्यही कटेरोमा बंगुरको मासु तारेर बेच्न थाले । रक्सीका पारखीले धिमाल जातीय पहिचान झल्किने कटेरोमा बसेर स्वाद मानीमानी तरुवा खान थाले । अब बंगुरको तरुवाको स्वाद चाख्ने ग्राहक गाउँका मात्रै रहेनन्, गाउँ बाहिरबाट पनि आउन थाले । ‘शून्य लगानीमा खाजा घर सुरु गरे,’ धनबहादुरले सुनाए, ‘बिस्तारै ग्राहक बढ्न थाले, अहिले त सिंगो परिवारको जीविकाको मुख्य माध्यम यही नै बनेको छ ।’ 

मीठो स्वादका कारण ग्राहकहरूले नै विज्ञापन गरिदिए । त्यसैले यहाँ होर्डिङ बोर्डको जरुरी नै परेन । मौखिक विज्ञापनपछि खाजा घरमा बिस्तारै ग्राहकको भीड बढ्न थाल्यो । ‘पहिला गाउँका ग्राहक मात्रै हुन्थे,’ धनबहादुरले थपे, ‘अहिले त धेरै ठाउँबाट आउँछन् ।’ तरुवाको स्वाद पछ्याउँदै आउने ग्राहकहरू मेचीपारि या तल्तिरको सहर काँकडभिट्टाका मात्रै छैनन्, अलि टाढा धरान, इटहरी र दमकसम्मका छन् । खाजा घरको नाम ग्राहकहरूले नै जुराइदिए, ‘ट्यु टायर’ । मासुमा पनि बंगुरलाई उनले प्राथमिकतामा राखे । 

रक्सी र मासुसहितको खाजा घर खोलेपछि गाउँले ग्राहकको संख्या बढ्न थाल्यो । अदुवाको अचारसँग बंगुरको तरुवाको स्वाद जिब्रोमै झुन्डिने खालको रहेको स्थानीय गणेश बस्नेतले सुनाए, ‘५ वर्षदेखि निरन्तर तरुवाको स्वाद लिइरहेको छु, जहिल्यै नयाँ स्वाद पाइरहेको छु ।’ धनबहादुरका दुई छोरा अरुण र विपुलले अहिले खाजा घर सम्हालेका छन् । अरुणसँग भारतको चेन्नाईमा कुक गरेर फर्किएको अनुभव छ । घरमै तरुवाको स्वाद चाख्नेको भीड देखेपछि उनले चेन्नाई फर्किने योजना बदले । ‘चेन्नाई जानुभन्दा यतै बुबा र भाइलाई सघाउँछु भनेर बसें,’ अरुणले भने, ‘हाम्रा लागि विदेश यही हो ।’ 

मिहिनेत गरे देशमै सुन फलाउन सकिन्छ भन्ने भनाइ धिमाल परिवारका हकमा सान्दर्भिक देखिएको छ । बंगुरको तरुवा बेचेर उनीहरूले जातीय स्वादलाई प्रवर्द्धन मात्रै होइन, मनग्ये आम्दानी पनि गरेका छन् । दैनिक ३० किलोभन्दा बढी मासु बिक्री हुने अरुणले जनाए । उसिनेर राखेको बंगुरको मासुलाई पातलो काटेर लसुन अनि अदुवा र खुर्सानीको पेस्ट हालेर तारेको तरुवा २२० रुपैयाँमै खान पाइन्छ । 

युवा ग्यालरी

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully