१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जो रेनकोटभित्र बाफिएर संक्रमितको उपचारमा खटिए

भूषण यादव

वीरगन्ज — कोरोना महामारीको पहिलो लहर आउँदा वीरगन्जमा गर्मी उकालो लाग्दै थियो । वीरगन्ज कोरोनाको हटस्पट नै बनेको थियो । नारायणी अस्पतालको परिसरमा पुग्दा एक चिकित्सक रेनकोट लगाएर कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका हुन्थे । 

जो रेनकोटभित्र बाफिएर संक्रमितको उपचारमा खटिए

साँझ क्लिनिकमा पुग्दासमेत ती चिकित्सक रेनकोटमै हुन्थे । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरको करिब एक वर्ष ती चिकित्सकले बिरामीको उपचार गर्ने क्रममा रेनकोट खोलेनन् । ती डाक्टर हुन्, नारायणी अस्पतालका वरिष्ठ चिकित्सक निरजकुमार सिंह । कोरोनाको दुवै लहरमा प्लास्टिकको डबल लेयरको रेनकोट, फेस सिल्ड, माथिपट्टि टेपले टाँसिएको डबल मास्क र गमबुट उनको पहिरन बनेको थियो ।

‘मेरो दिमागमा सुरुदेखि नै के कुरा थियो भने, जसले जे भने पनि म एउटा गरिब देशको डाक्टर हुँ । मेरो देशले दैनिक लगाएर फ्याक्ने पीपीई सेट दिन सक्दैन । कोभिड वार्डमा काम गर्दा सरकारले देला तर जनरल वार्डमा काम गर्दा त दिन्न, रिस्क त सबै ठाउँमा छ,’ डा.सिंहले भने, ‘त्यसैले मैले सुरुदेखि नै डबल लेयर भएको रेनकोट लगाउँथे । ४० डिग्री तापक्रममा समेत रेनकोट लगाएको हुन्थेँ । निथ्रुक्क भिजेको हुन्थेँ । गर्मीले कतिपटक रिँगटा लाथ्यो । रेस्ट गर्थेँ, जीवनजल खान्थेँ । तर, रेनकोट फुकाल्दिनथेँ । आफू सुरक्षित भएमात्र बिरामीको सेवा गर्न सकिन्छ ।’

उनले पहिलो र दोस्रो लहरको बीचमा जम्मा एक महिनामात्र पीपीई खोलेका थिए । एक वर्ष लगातार लगाए । अहिले वीरगन्जमा दोस्रो लहर नियन्त्रणमा आएर ५ जनाभन्दा कम संक्रमित अस्पतालमा भर्ना भएपछि मात्र सामान्य कपडा लगाउन सुरु गरेको उनले खुलाए ।

वैशाख दोस्रो सातादेखि वीरगन्ज र आसपासका क्षेत्रमा कोरोनाको दोस्रो लहर फैलिइसकेको थियो । पहिलो लहरबाट अनुभव प्राप्त गरेकाले हामीले लक्षण मिल्दोजुल्दो भएको रोगलाई एकै किसिमले उपचार गर्न थालियो । ‘एउटा समूहको ५/५ वटा औषधिको नाम लेखेर एउटा प्रेसक्रिप्सन बनाए, त्यस्तो प्रेसक्रिप्सन एक हजार वटा छपाएको थिएँ,’ उनले भने, ‘बिरामी भेट्न आउँदा लक्षण र एक्सरे हेरेर दिन मिल्ने औषधिको नाममा टिक लगाएर दिन्थेँ । मलाई भेट्न नपाएका बिरामीले समेत त्यही प्रेसक्रिप्सनको फोटोकपी गरी प्रयोग गरेका छन् । र उनीहरुलाई फाइदा भयो ।’

सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि उनले आफ्नो क्लिनिकमा राति ९ बजेसम्म कोभिडका बिरामी हेर्ने गर्थे । ‘कोभिड क्लिनिकको प्रोटोकल न भएपछि मैले अन्तिममा मसँग काम गर्ने एक्सरे प्राविधिक, पारामेडिकल स्टाफलाई सावधानी अप्नाएर काम गर्न कन्भिस गरी आफ्नो क्लिनिकलाई नै कोभिड क्लिनिकमा परिवर्तन गरेको थिएँ,’ उनले भने, ‘राति ९ बजेसम्म कोभिडको बिरामी आउनुहुन्थ्यो । उहाँहरुको उपचार गरे ।’

कोरोनाको दोस्रो लहरको रोकथाम, नियन्त्रण र बिरामीको व्यवस्थापन वीरगन्जमा राम्रो भएको डाक्टर सिंह बताउँछन् । एक दिन नारायणीमा एक सय १४ जना संक्रमित भर्ना हुँदा एक सय १४ जनालाई नै हाइफ्लो अक्सिजनमा राख्नु परेको थियो । ‘त्यस्तो भयावह स्थिति हाम्रो टिमले जीवनमा कहिले देखेको थिएन,’ उनले भने,‘दोस्रो वेभ हामीले राम्रोसँग व्यवस्थापन गर्यौं ।’

बारबरा फाउन्डेसनले डा.निरजकुमार सिंहको कामको मूल्यांकन गर्दै २ लाख ५० हजार रुपैयाँ राशिले पुरस्कृत गरेको छ । ‘पैसाभन्दा पनि कामको मूल्यांकन गरी सम्मानित भएकोमा हर्षित छु,’ उनले भने ।

कोभिडको बेला बिहान ८ बजेदेखि राति ११ बजेसम्म नियमित काम गर्थे उनी । ‘घरमा जाँदा बच्चा सुतिसक्या हुन्थे । मेरा दुइटा बच्चाले पहिले बाबा जस्तै डाक्टर बन्ने भन्थेँ,’ उनले भने, ‘अब बाबाको दैनिकी देखेर डाक्टर बन्दिनँ भन्छन् । यो लेभलको व्यस्तता, तनाव, खाना खाने बेला पनि फोनको जवाफ फर्काउने ।’ जति नै व्यस्त भए पनि बिरामीको ज्यान बचाउन पाउँदा आफूलाई निकै खुसी हुने उनी बताउँछन् ।

‘केहीगरी यो लहर निकाल्न सकियो र अधिकतम जीवन बचाउन सकियो, आफ्नो घर परिवार बचाउन सकियो भने एउटा खुसी हुन्छ । र, त्यही खुसीका लागि यत्रो मेहनत गर्दै आएको छु,’ उनले भने ।

प्रकाशित : श्रावण २०, २०७८ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?