सनसिटीबासी भन्छन्, 'दुई दिनको तनाव बल्ल कम भयो'

अभिनेत्री बेनिशा हमाल भन्छिन्, 'दुई दिन आतंकित भइयो '

वैशाख ३, २०७७

रीना मोक्तान

काठमाडौँ — बुधबार भएको आरडिटी परिक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि दुई दिनदेखि तनावमा रहेका काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टबासीहरु अहिले राहतको महशुस गरिरहेका छन् ।

दुईजना संक्रमित भेटिएकै ब्लक 'ए' का २ सय ९६ जनाको परीक्षण नेगेटिभ देखिएको हो ।

'ए' ब्लकमा बस्ने सबैको नेगेटिभ नतिजा आएसँगै एक किसिमको खुशी छाएको सनसिटी हाउजिङ वेलफेयर सोसाइटीका कार्यबाहक अध्यक्ष पुष्कर रेग्मीले बताए । 

'रिजल्ट सबैको नेगेटिभ आयो, यो खुशीको कुरा हो । जो व्यक्तिमा संक्रमण देखिएको थियो उहाँको घरमा काम गर्ने भाइको रिजल्ट पनि नेगेटिभ आयो । जब कि भाइ पनि अपार्टमेन्टमै बस्छ,' उनले भने, 'अर्को राहतको कुरा ए ब्लकको तीनजना संक्रमित भएकोमा २ जना पोजेटिभ, एकजनालाई नेगेटिभ भन्नेखालको कुरा आएको छ ।' 

आरडिटी परिक्षण बिहान ९ बजेबाट सुरु भएको थियो । 'बिहान ९ ‍बजे स्वाथ्यकर्मी यहाँ आइपुग्नुभो । हामीले चाहिने टेबल, कुर्सीको व्यवस्था गरिदियौं । सनसिटीमा 'ए', 'बि', 'एच', 'आइ' र 'जे' गरी पाँचवटा ब्लक छन् । संक्रमित ए ब्लककै हुनुहन्छ । त्यसैले त्यही ब्लकबाट आरडिटी परिक्षण सुरु गरेको थियो,' उनले सुनाए ।  

वेलफेयर सोसाइटीका कार्यबाहक अध्यक्ष पुष्कर रेग्मी

आरडिटी परिक्षणमा डायलसिस गर्नुपर्ने मिर्गौलाका बिरामी, क्यान्सरको बिरामी, तत्कालै अस्पताल लानुपर्ने मानिसहरुलाई प्राथमिकतामा राखेर परिक्षण गरिएको थियो । अपार्टमेन्टको फराकिलो प्राङ्गणमा सोसल डिस्टान्स कायम गर्दै परिक्षण सम्पन्न भएको उनी बताउँछन् । 

सनसिटीमा करीब १३ सय जति मानिसको बसोबास छ । त्यसमध्य पनि संक्रमण ए ब्लकबाट देखिएका कारण यो ब्लकका मानिस बढी त्रासमा थिए । उनीहरुले संक्रमितले प्रयोग गरेको एउटै लिफ्ट प्रयोग गरे । तर, बुधबारको नतिजाले त्रास केही कम भएको छ । बुधबार बिहानै उक्त लिफ्टको सरसफाइ गरिएको थियो । सबै ब्लकको प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गरेको पनि रेग्मीले बताए ।  

‍...

अभिनेत्री बेनिशा हमाल सनसिटीको ब्लक 'जे' मा बस्छिन् । सनसिटीमा कोरोना संक्रमित भेटिएको खबर सार्वजनिक हुँदा उनी अपार्टमेन्टभित्र फिल्म हेर्दै थिइन् । १४ औं तलामा बस्ने एक साथीले फोन गरेर उनलाई उक्त खबर सुनाइन् । 'खबर सुनेर सुरुमा त म बेस्सरी आत्तिएँ । त्यसपछि बाहिर निस्केर हेरें । तल ग्राउन्डमा पुलिस र पुलिस भ्यान थिए ।' 

त्यसपछि मनलाई सम्हालिन् । 'के गरौं के गरौं भएको थियो । झन एकैचोटी दुइटा समाचार आयो, सनसिटीमा पनि संक्रमित भयो रे अनि सिल पनि गर्‍यो रे । नसोचेको घटना भएपछि त मानसिक अवस्था नै ठीक थिएन। आतंक थियो । पिसिआर परिक्षणमा नेगेटिभ देखियोस् भनेर प्रार्थना गर्दै थिएँ । तर, रिजल्ट पोजेटिभ आयो । तर पनि यस्तो अवस्थामा आत्तिएर बस्नु भन्दा संयमित भएर बस्ने सोचें,' बेनिशाले भनिन्। 

सनसिटीको खबर फैलिएपछि चितवनबाट बुवा र आमाको फोन आयो । 'उहाँहरु डराउनु भएको थियो । मैले म र भाई अनि फूपू अपार्टमेन्टभित्र सुरक्षित रहेको खबर दिए । परिवारको चिन्ता पनि कम भयो,' उनले भनिन् । 

बुधवार ब्लक ए को नतिजा नेगेटिभ आएपछि राहतको अनुभव भएको बेनिशा बताउँछिन् । उनका अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ । संक्रमित परिवारसँग उनको आपसी चिनाजानी छैन । ‍ तर अझै पनि मनमा कता-कता डर रहेको  उनी बताउँछिन् ।

'जति सुरक्षित भएर बसे पनि त्रास चाहिँ हुँदो रहेछ । किनकि एउटै कम्पाउन्डमा हो नि बस्ने त । केही समय अगाडि त काठमाडौंमा सुरक्षित छ भन्ने अनुभव थियो । तर आफ्नै कम्पाउन्डभित्र संक्रमित देखिएपछि डर हुँदो रहेछ,' उनले सुनाइन्, 'एकले अर्कालाई सान्त्वना दिएर बस्दैछौं ।'  

अब उनीलगायत अपार्टमेन्टमा बस्नेहरुको एउटै समस्या छ खाद्य सामाग्री । सनसिटी सिल छ । केही दिनका लागि दैनिक उपभोग्य सामाग्री त उनीहरुले जम्मा गरेर राखेका छन् । त्यो सामाग्री सकिएपछि के गर्ने उनीहरुमा अन्यौल रहेको उनी सुनाउँछिन् । 

'सिल गरेसँगै सुरक्षाकर्मी खटिनु भएको छ । अरुबेला ८ बजेतिर बिहान तरकारी पसल, किराना पसल खुलेको हुन्थ्यो । तर संक्रमण देखिएसँगै यहाँ सुनसान छ । यहाँ अगाडि तरकारी पसल र दुइवटा मार्ट छ । अबको केही समय पश्चात जम्मा गरेर राखेको खाद्यान्न सकिन सक्छ । अब कसरी लिन जाने हो ?' उनले प्रश्न गरिन् । 

...

कञ्चन शाही ब्लक 'बि' को १० औं तलामा बस्छन् । उनीसँगै श्रीमती छोरा, छोरी र एक भान्जी अपार्टमेन्टमा बस्छन् । बुधबार परिक्षण पोजिटिभ देखिएसँगै खुशी हुनेहरुमा उनको परिवार पनि पर्छ । महामारीले आफ्नै ढोका ढकढकाउन आउँदा उनलाई पीर थियो छोराछोरीलाई मानसिक तनाव हुने हो की ! 

साथीभाइ र आफन्तहरु डराएको अवस्था थियो । उनीहरु तारन्तार फोन गरिरहन्थे  । परिवारभन्दा पनि आफन्तहरु डराएका थिए । त्यसैले घरमा मानसिक रुपले बलियो हुन परिवारलाई हौसला दिइरहन्थे । बुधबारको नतिजाले त्यसमा थप उर्जा मिलेको उनी बताउँछन् । संक्रमित परिवारसँग उनी नजिक थिए । चिनापर्ची राम्रै थियो । तर विदेशबाट फर्किएसँगै ती परिवार क्वारेन्टाइनमा बसेका कारण भेट्न पाएका थिएनन् । सनसिटीकै चुनावमा पनि झलक्क देखेका थिए । 

तर उनीहरु आफैं विदेशबाट भर्खर आएको भन्दै दुरी बनाएर हिँड्ने गरेको उनी सुनाउँछन् । 'उहाँहरुले कसैसँग भेट्नु नै भएको छैन । किनभने उहाँहरु विदेशबाट फर्कनु भएदेखि घरभित्रै बस्नु भयो । चुनावको समयमा भोटमात्र दिएर जान्छु भनेर उहाँ जानु भएको थियो,' कञ्चनले भने, 'ल है म बाहिरबाट आएको तिमीहरुसँग बसेर कुरा गर्दिन भनेर जानुभयो ।' 

...

इन्दिरा पण्डित घिमिरे

ब्लक बि को ७०५ मा बस्छिन् ईन्दिरा पण्डित घिमिरे । उनी गृहणी हुन् । श्रीमान र दुई छोरासँग बस्ने उनको तनाव आरडिटी परिक्षणपछि केही कम भएको छ । 

'ए ब्लकमा संक्रमण भेटियो भन्दा त कति तनाव, कति तनाव । २ दिन तनावमै बित्यो । अहिले आरडिटीको नतिजाले आरमका साथ बसेका छौं । बाहिर निस्केका छैनौं, 'उनले सुनाइन्,' नत्र त फोन आएरै तनाव । अहिले डर कम भएको छ ।'

उनी आफ्नो परिवारको पनि आरडिटी परिक्षण गराएर ढुक्क हुन चाहन्छिन् ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully