हर आँधीबेहरीलाई चुनौती 

अनुहारको आधा भाग पूरै रङविहीन र अर्को आधा भाग पूरै चहकिलो रङैरङले बनाउँदा जसको मुहारचित्र बन्छ, त्यो पारिजातको हुन्छ । 

फाल्गुन ७, २०७६

सरस्वती प्रतीक्षा

पहिलोपटक बाहेक पारिजातको किताब कहिल्यै बन्द वा खुला कोठामा बसेर पढिनँ । पारिजात पढ्न मलाई आफ्नो कोठा वा पुस्तकालयको एकान्तले पुग्दैन । बरीलाई सम्झन सुयोगवीरलाई छुट्टै समय र एकान्त चाहिएजस्तै पारिजातलाई पढ्न मलाई पनि छुट्टै समय र एकान्त चाहिन्छ । 

पहिलोपटक स्कुलमा पारिजातको नाम सुन्दा शिरीषको फूलसँगै जोडिएर आयो । यी दुवैलाई एक–अर्काको पर्यायका रूपमा सुनेँ । त्यसरी नै पढेँ । सुरुआतको पढाइले पारिजातभन्दा पनि शिरीषको फूलकी सकमबरीले हुरुक्क बनाएकी थिई मलाई । मुडुलो टाउको, बेपत्ता दुब्लो शरीर, बुलेट पड्केको जस्तो आवाज, ठाडो स्वभाव, असामाजिक मूल्यमान्यताकी प्याकेज अर्थात् सकमबरी मेरो ‘लभ एट फस्ट रिड’ थिई ।


२०५६ सालमा कुनै एउटा पुस्तक प्रदर्शनीमा निर्माण प्रकाशन, सिक्किमद्वारा प्रकाशित पारिजातका रचनाहरूको संकलन देखेँ । ६ भागमा प्रकाशित ती रचनाहरूको सबै संकलन किन्ने पैसा मसित थिएन । क्याम्पसकालीन सुरुआतका दिनहरूमा साहित्यिक किताब किन्ने पैसा जोहो गर्नु भनेको खाजा खाने पैसा बचाउनु जो हुन्थ्यो, मेरा लागि । त्यसैले आफ्नो गच्छेअनुसार केवल एउटा भाग अर्थात् ग्रन्थ ५ किनेँ, किनकि त्यसमा पारिजातका कविताहरू थिए । 


बडो उत्साहमा त्यो किताब बाबा सरुभक्तलाई भेट्न जाँदा देखाएँ । मैले अन्य भाग नकिनी एउटा मात्र भाग किन्नुको अर्थ उहाँ आफैंले बुझ्नुभयो सायद । त्यसको केही दिनमै उहाँले पारिजातका सबै ग्रन्थ उपहारस्वरूप मेरो हातमा थमाइदिनुभयो र भन्नुभयो, ‘यी किताबहरू मन लगाएर पढ्नू छोरी । मेरो सपना छ— आज मान्छेले पारिजातको किताब खोजीखोजी पढेजस्तै कुनै दिन मेरी छोरीका किताबहरू खोजीखोजी पढून् ।’


पत्रिकामा जम्माजम्मी एक–दुईवटा फुटकर कविता प्रकाशित हुँदाका ती दिनहरूमा बाबाको सपनाको वजन  मेरो उमेरले थेग्न सक्नेभन्दा अलि बढ्ता नै गह्रुंगो महसुस भएथ्यो । उहाँको वाक्यभन्दा पनि वाक्यभित्रको भावले आजपर्यन्त झक्झकाइरहन्छ मलाई ।

पारिजातका सबै ग्रन्थ एकसाथ उपहार पाएपछि अचम्मको भूत सवार भयो ममा । सबैजसो किताब घरमै पढ्न रुचाउने मान्छे म । पारिजातका किताब भने दुलेगौंडास्थित शिव मन्दिरमा बसेर पढेँ । भीरमा बनाइएको नयाँ मन्दिर थियो । मन्दिरभित्र त कहिल्यै पसिनँ तर मन्दिरको खुला वातावरण र बगैंचा मनमोहक लाग्थे । तलतिर सेती नदी बग्दै गरेको दृश्य देखिन्थ्यो । कहिले सेती नदी हेर्दै सेती बग्दाको एक तमासको आवाज सुन्नु, कहिले माथितिरको खुला आकाशको रसस्वादन गर्नु । वरपर चिरबिराइरहने थरीथरीका चराहरू । अलि साँझ पर्दै गएपछि झ्याउँकिरीको चर्को आवाज । किशोरवयका ती दिनहरूमा पारिजातका सम्पूर्ण ग्रन्थ मैले प्रकृतिसितको सान्निध्यमा पढेँ । 


पठनसँगै पुनर्पठनको यात्रा पनि रोमाञ्चक रह्यो । २० देखि ३० सम्मको उमेरमा पारिजातका किताबहरू फेवातालको छेउमा बसेर कहिले मिल्क टी त कहिले मिल्क कफी पिउँदै पढेँ । ४० कटेपछि कसरी पढ्छु, थाहा छैन तर ३० कटेपछि भने एउटा हातमा कहिले ब्ल्याक टी त कहिले रेड वाइन र अर्को हातमा पारिजातको किताब लिएर पढ्ने गर्छु । अहिले सोच्दा लाग्छ, एउटी असामान्य स्वास्नीमान्छेलाई पढ्न मैले अर्को खाले असामान्यपनको अभ्यास गरेँ सधैं । एउटा फुक्काफाल अराजकतालाई पढ्न मैले अर्को खाले फुक्काफाल अराजकताको अभ्यास गरेँ सानै उमेरबाट । 


एक दिन फोनमा एउटी कवि साथीसित पारिजातका कुरा भए । मैले पारिजातका किताबहरू पढ्न खुला आकाशमुनिको तालतलैया, नदीनाला वा डाँडाकाँडा खोज्दै हिँड्ने बताएपछि ती साथीले अचम्मको कुरा रहस्योद्घाटन गरिन् । भनिन्, ‘सरस्वती, म त घरको छतमा बसेर चुरोट पिउँदै पारिजातलाई पढ्छु नि । वरपर चुरोटको सेतो धूवाँ उडाउँदै पारिजातलाई पढ्दा सेतो बादलमाथि उड्दै–उड्दै पढेजस्तो लाग्छ ।’


साथीको कुराको प्रभाव ममा यसरी पर्‍यो कि एक दिन मैले घरमा कसैले थाहा नपाउने गरी चुरोट तान्दै पारिजात पढ्ने प्रयास गरेँ, ताकि मलाई पनि माथिमाथि सेतो बादलमा उडेको महसुस होस् । बादलमाथि त त्यस्तै हो, पहिलोपटक चुरोट तान्नासाथ पिरो धूवाँको यसरी सर्को पर्‍यो कि बादलमा नटेक्दै सीधै जमिनमा खसेजस्तो भयो । खोक्दाखोक्दा छाती नै दुख्यो । त्यसपछि त्यो सेतो बादलवाला अराजकताको अभ्यास जीवनमा कहिल्यै गरिनँ । 


विक्रमाब्द १९९४ मा दार्जिलिङमा पहिलोपटक आँखा उघारेकी पारिजातले २०५० मा पछिल्लोपटक काठमाडौंमा आँखा चिम्लिन् । यो बीचमा उनले जति बाँचिन्, त्यो एक बचाइ मात्र बनिदिएन, किंवदन्ती बनिदियो । सबको मुखारावृन्दमा झुन्डिने दन्त्यकथा बनिदियो । 


एउटा मान्छे सम्पूर्ण मान्छे हुन उसमा सबैखाले भाव र संवेदना हुन जरुरी हुन्छ । कोही मान्छे सधैं एकोहोरो मुस्कुराइ मात्र रहन्छ भने उसको मुस्कुराहट कतै न कतै बनावटी हुन्छ । कोही मान्छे सधैं रोई मात्र रहन्छ भने त्यो मान्छे पनि रोगी मान्छे हुन्छ किनकि जीवनमा भएका दुःखभन्दा नभएका काल्पनिक दुःख निर्माण गरेर बाँच्ने उसलाई आदत लागेको हुन्छ । एउटा मान्छे सम्पूर्ण मान्छे हुन ऊ आशा, निराशा, खुसी, हाँसो, विक्षिप्तता, विद्रोह सबैखाले चरम अनुभूति हुँदै गुज्रनुपर्ने हुन्छ । एउटा सम्पूर्ण मान्छेमा हुनुपर्ने सम्पूर्ण संवेदना भएकाले नै पारिजात मन परेको हो मलाई । 


‘जीवन विसंगतिपूर्ण छ’ भन्दै पारिजातले शिरीषको फूल लेखिन् । मान्छेले शिरीषको फूललाई औधी मन पराए । आफैंले उद्घोष गरेको दर्शनमा आफैंले ‘नोट अफ डिसेन्ट’ लेखिन् र दर्शन सच्याउँदै भनिन्, ‘विसंगति मान्छेको जीवनको अन्त्य होइन ।’ त्यसपछि राल्फाली बनिन् । वाम चिन्तक र लेखकहरूसितको उठबसले उनलाई भुइँमान्छेको नजिक पुर्‍यायो । पारिजातको यो नयाँ अवतार र अवतारसँगैको प्रतिरोधी लेखनलाई पनि मान्छेले उत्तिकै मन पराए । 


एकातिर शिरीषको फूल लेख्दाताकाकी घोर निराशावादी र पलायनवादी पारिजात, अर्कोतिर पर्खालभित्र र बाहिर, परिभाषित आँखाहरू देख्दाताकाकी विद्रोही र क्रान्तिकारी पारिजात । झरी परेका बेला रुझ्दै हिँड्ने अराजक र फुक्काफाल पारिजात एउटी पराकाष्ठा । बाथरोगले कुँजिएर अरूको सहारामा बाँच्नुपर्ने रोगी पारिजात अर्को पराकाष्ठा । उनको एउटा खुट्टा अभाव, पीडा, एक्लोपन, संघर्षहरूको उत्तरी ध्र्र्रुवमा हुँदा अर्को खुट्टा भने नाम, प्रशंसा, लोकप्रियता आदिको दक्षिणी ध्रुवमा हुन्थ्यो ।


यसैले एउटा मात्र रङले उनको मुहारचित्र बनाउन खोज्यो भने त्यो अधुरो हुन जान्छ । अनुहारको आधा भाग पूरै रङविहीन र अर्को आधा भाग पूरै चहकिलो रङैरङले बनाउँदा जसको मुहारचित्र बन्छ, त्यो पारिजातको हुन्छ । एउटा आँखामा सघन दुःख र अँध्यारो, अर्कोमा भर्भराउँदो आगो र उज्यालो पोत्दा जसको मुहारचित्र बन्छ, त्यो पारिजातको हुन्छ । पारिजातको जीवनमा जुन विविधता पाइन्छ, त्यही विविधता उनका रचनामा पनि पाइन्छ । त्यही विविधता नै पारिजातको ब्रान्ड पनि हो । 


एकथरी मान्छे तिर्खा लाग्यो भने नदीसम्म गएर पानी पिउँछन् । अर्काथरी मान्छे अरूलाई पनि तिर्खा लागेको हुन सक्छ भनेर नदीको पानीलाई अनेक उपाय लगाएर बस्तीसम्म ल्याउने अभियानमा जुट्छन् । साहित्यकार र साहित्यिक कार्यकर्ताबीचको फरक पनि यही हो । राम्रो साहित्यकार खराब साहित्यिक कार्यकर्ता हुन सक्छ । खराब साहित्यकार राम्रो साहित्यिक कार्यकर्ता हुन पनि सक्छ । राम्रो साहित्यकार र राम्रो साहित्यिक कार्यकर्ता– यी दुवै गुण एउटै मान्छेमा भेटिनु एकदमै दुर्लभ कुरा हो । पारिजात तिनै दुर्लभ कोटीकी साहित्यकार एवं साहित्यिक कार्यकर्ता हुन् । त्यसैले त खगेन्द्र संग्रौला ठोकुवा गर्छन्, ‘पुस्तक र साहित्यिक पत्रिकामा, अखबार र पर्चामा, साहित्यिक संघसंस्था र गोष्ठीमा, प्रतिरोधकारी भेला र जुलुसमा, दूरदराजका जनजागरणकारी अभियान र भूमिगत सल्लाह–साउतीमा– पारिजातको हस्तक्षेपकारी उपस्थिति कहाँ मात्र थिएन ?’


पारिजातको सिर्जनाशक्ति देखेर धेरैले वाहवाही गर्दै बूढीऔंला देखाए । केही कुण्ठित मनोरोगीले भने माझीऔंला उठाए र आरोप लगाए— यौनकुण्ठा लेख्ने आइमाई ! चारित्रिक प्रमाणपत्रको ठेक्का लिएका कथित ठेकेदारहरू नानाभाँतीका प्रमाणपत्र दिन पछि परेनन् । प्रशंसाको मात्र होइन, लाञ्छनाको पनि पराकाष्ठा भोगिन् उनले । उनका संस्मरण पढ्दा यदाकदा यस्ता कुराले आँधीबेहरीजस्तो जिन्दगीमा थप आँधीबेहरी थपेको महसुस गर्न सकिन्छ । 


जुन रूखको जरा नै बलियो छ, त्यो रूखलाई आँधीबेहरीसँग केको डर ? पारिजातले हर आँधीबेहरीलाई चुनौती दिइन् । हडबडाएर आफ्नो गतिमा ब्रेक लगाइनन् । उनको प्रतिभाका हाँगाबिँगा यसरी फैलिए कि तिनले राष्ट्रको सीमा नाघेर अन्तर्राष्ट्रिय भूगोलमा समेत रङ देखाए । अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयमा उनको ‘द ब्लु मिमोसा’ को अध्ययन–अध्यापन हुनु त्यसैको एक उदाहरण हो ।


हाजिरीजवाफमा पारिजातको वास्तविक नाम के हो भनेर सोध्दा विष्णुकमारी वाइबा भन्न जति सजिलो छ, विष्णुकुमारी वाइबाले आफैंलाई पारिजातमा रूपान्तरण गर्दाको यात्रा उति नै सजिलो पक्कै थिएन । एउटा अन्तर्वार्तामा उनको स्वीकारोक्ति छ, ‘मेरो व्यक्तिगत जीवन सहज थिएन । म मरुभूमिको पैदलयात्रा गरिरहेकी थिएँ, मेरो कुनै ओयसिस थिएन । मनस्थिति जता छाम्यो उतै रक्ताम्य, जीवन मेरो निम्ति काठको बिछ्यौनामा सुत्नु थियो ।’


उनीभित्रको त्यही द्वन्द्व, दुःख र संघर्षले खारेको हो उनलाई, जसरी आगोले सुनलाई खार्छ । पृथ्वीको गर्भमा डरलाग्दा कम्पनहरू पैदा भएपछि नै हिमालहरू बन्ने हुन्, पहाडहरू बन्ने हुन् । पारिजातभित्रका डरलाग्दा द्वन्द्व र कम्पनहरूले हिमाल पारिजात बनायो, पहाड पारिजात बनायो । त्यसो त आफ्नो पहिलो उपन्यास ‘शिरीषको फूल’ नलेख्दै आईएदेखि बीएसम्म पढ्दाको दौरान पारिजातले चारवटा उपन्यास लेखेकी थिइन् । संघर्ष, मानव अन्तर्यामी, शारदा र वरपीपल नामका ती उपन्यास आफैंलाई चित्त नबुझेपछि निर्ममतापूर्वक च्यातेर फ्याँकेकी थिइन् । एउटा नवोदित लेखकलाई आफ्ना ४–४ वटा उपन्यासको पाण्डुलिपि च्यात्न कत्रो हिम्मत चाहिन्छ ? पारिजात त्यही हिम्मतको अर्को नाम थिइन् । 


पारिजात अर्थात् एक अराजकता । पारिजात अर्थात् एक जटिलता । पारिजात अर्थात् एक घुमावदार अस्तित्व । पारिजात अर्थात् एक विस्फोटन । पारिजात अर्थात् एक विद्रोही पाठशाला ।


पारिजातको सौन्दर्य विरोधको मात्र होइन, विरोधाभासको पनि हो । ‘शिरीषको फूल’ लाई आफैंले ‘जनविरोधी उपन्यास’ घोषणा गरिन्, जनताले सबैभन्दा बढी त्यही शिरीषको फूललाई रुचाए । उनले जलाइ दिए पनि हुन्छ भनेको उपन्यास उनको अमरताको मुख्य कारण बन्न पुग्यो । जसको कर्म पनि लेखन थियो र धर्म पनि लेखन । जिन्दगीभर लेखिरहिन्, बस् लेखिरहिन् । जीवनको उत्तरार्द्घमा उपचारका लागि पासपोर्ट बनाउने क्रममा भने हस्ताक्षरको ठाउँमा औंठाछाप लगाउन बाध्य भइन् । 


पारिजातले के–के गरिन् ? त्यसको लेखाजोखा समयले गर्दै गर्ला । पारिजातले केचाहिँ गरिनन् ? उनले भने कतै भनेकी छन्, ‘म आफूले आफैंभित्रको स्वास्नीमान्छेलाई मायाले कहिल्यै सुम्सुम्याउन पाइनँ ।’ पारिजातले आफैंभित्रकी पारिजातलाई माया गर्न कन्जुस्याइँ गरे पनि पाठकले पारिजातलाई माया गर्न कहिल्यै कन्जुस्याइँ गरेनन् । जसले पारिजातलाई आत्मसात् गरेर पढेको छ, ऊभित्रको जिजीविषाले पक्कै भनेको छ— ओ जिन्दगी ! तँ जति क्रूर छस्, त्यति नै सुन्दर पनि छस् ।

सरस्वती

Link copied successfully