प्रादेशिक विकासका योजनाकार - फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रादेशिक विकासका योजनाकार 

योजना आयोगमा रहेका बेला हर्क गुरूङले तराई, पहाड र हिमाली प्रदेशको अर्थतन्त्र एकीकरण गर्ने र असमानता घटाउने खाका तयार गरेका थिए । उनी आयोगबाट बाहिरिएपछि खाका कार्यान्वयन हुन सकेन । तर पछिल्ला सबै योजनाले प्रादेशिक शब्द र तथ्यांक उल्लेख गरेकै छन् ।
भीमप्रसाद सुवेदी

‘म पहाड (हिमाल) लाई माया गर्छु चाहे त्यो जतिसुकै सानो (होचो) किन नहोस्, म नदी (खोला) लाई प्रेम गर्छु चाहे त्यो जतिसुकै फोहोर किन नहोस् ।’ ‘नेपालमा जो हिमाल चढ्छन् उनीहरूले लेख्दैनन् र जो लेख्छन् उनीहरूले हिमाल चढेका छैनन् ।’ ‘नेपालमा विकास भनेको आरोहण गर्न सबैभन्दा चुनौतीपूर्ण हिमाल (पहाड) हो ।’


हर्कबहादुर गुरुङका यी भनाइले उनको देशप्रेम र विकासप्रतिको दृष्टिकोण बुझ्न सहयोग गर्छन् । भूगोल विषयमा गुरुङको व्यक्तित्व सगरमाथाजत्तिकै उँचो थियो । नेपाली समाज विज्ञानका अन्य विधामा पनि उनको उचाइ कम थिएन । उनलाई भूगोलशास्त्री, समाज–मानवशास्त्री, योजनाविद्, मन्त्री, विद्वान्, हिमाल अभिलेखक, स्पोर्ट्सम्यान, पर्यटनविद्, नियात्राकार, अल्पसंख्यक तथा आदिवासी जनजातिका अभियन्ता/रक्षकका रूपमा समेत चिनिन्छ ।


गुरुङ सन् १९३९ मा लमजुङ जिल्लाको तराचे गाउँमा जन्मिएका हुन् । उनी सुवेदार पर्साई गुरुङ र माइसोबु गुरुङका चौथो छोरा हुन् । उनको सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भयो ।


बहुआयामिक व्यक्तित्व भएका र विविध पदमा रहेर काम गरेका गुरुङबारे धेरै ठूला ग्रन्थ लेख्न सकिन्छ । यस लेखमा भने उनको जीवनबारे संक्षिप्त विवरण र उनले नेपालको प्रादेशिक विकास अवधारणासँग जोडिएको विषयवस्तु मात्र उठाउने जमर्को गरिएको छ । लेखको पहिलो खण्डले जीवनी समेट्न खोज्छ भने पछिल्लो खण्डले प्रादेशिक योजनामा उनको योगदानको वर्णन गर्छ ।


जीवनका पाँच कालखण्ड

गुरुङको जीवनलाई पाँच खण्डमा विभाजन गर्न सकिन्छ । पहिलो, जन्मदेखि विद्यालय अध्ययनसम्मको कालखण्ड (१९३९–१९५५) । जन्मेर ९ वर्ष हुँदासम्म उनको जीवन विशुद्ध ग्रामीण भेडीगोठालो किसिमको देखिन्छ, जुन समयमा उनी ‘ठूला’ भनेर चिनिन्थे । असाध्यै चकचके, उटपट्याङ, साहसी र कोहीभन्दा कम हुन नचाहने त्यति बेलाको उनको परिचय देखिन्छ । ग्रामीण जीवनका ती बालसुलभ चरित्रभित्र नेपाली पहाड, पर्वत, जनजीवन, उकाली–ओरालीलगायत प्रकृतिसँगको प्रत्यक्ष र स्वच्छन्द सम्पर्कले नै उनमा आफ्नो माटो, जन्मभूमि तथा खोला र पर्वत (हिमाल) प्रति जिज्ञासा र समर्पणभाव विकास भएको देखिन्छ ।


९ वर्षपछि भने उनले काठमाडौं तथा देहरादुनतिर औपचारिक शिक्षाको अवसर पाए । उनका माइला र साइँला दाजुले दरबार हाइस्कुलमा पढेका थिए । उनीहरूले अध्ययन गर्दाका राम्रा–राम्रा पोसाक तथा चित्रसहितका पुस्तक घरमा थिए । पोसाक र चित्रहरूले उनलाई पाठशाला जान प्रेरित गरेको देखिन्छ । अनि प्रत्येक वर्ष काठमाडौं आई पेन्सन लिने बुबाको समय पहिल्याएर उनी घरबाट भागेर ७ दिनको यात्रा गरी काठमाडौं आएका हुन् । त्यसपछि सुरु भएको विद्यालय शिक्षा किङ जर्ज मिलिटरी स्कुल, जालन्धर देहरादुनबाट सन् १९५५ मा पूरा भएको थियो । सैनिक विद्यालयमा रहँदा अध्ययन, अनुशासन, खेलकुद तथा अतिरिक्त क्रियाकलापप्रति लगनशीलता बढाएर उनी उत्कृष्ट बन्न सके ।


दोस्रो कालखण्ड सन् १९५६ देखि १९६५ सम्मको हो, जुन उच्च शिक्षामा केन्द्रित देखिन्छ । देहरादुनबाट हाइस्कुल सकेपछि काठमाडौं फर्केर उनले त्रिचन्द्र कलेजमा भूगोल विषय लिई आईए पास गरे । त्यसबेला त्रिचन्द्र कलेजको पाठ्यक्रम पटना विश्वविद्यालयअन्तर्गत थियो । उनी बीए अध्ययनका लागि भने पटनामै गए र १९५९ मा अनर्ससहित प्रथम श्रेणीमा प्रथम भए । त्यस समयमा उनी फुटबल, हकीजस्ता खेलमा कप्तान थिए । पत्रपत्रिकामा लेख लेख्थे । विद्यार्थी युनियनको सचिवसमेत भए ।


पटनाको अध्ययनपछि उनले बेलायतको एडिन्बरा विश्वविद्यालयमा छात्रवृत्ति पाए । सन् १९६१ मा पोस्ट ग्र्याजुएट डिप्लोमा तथा १९६५ मा भूगोलमा पीएचडी गरे । लन्डनको स्कुल अफ ओरियन्टल र एसियन स्टडिजमा रिसर्च फेलोका रूपमा पनि सन् १९६४ देखि १९६६ सम्म काम गरे ।


तेस्रो कालखण्ड १९६६ देखि १९७५ सम्मको हो । उनी छोटो समय त्रिविमा लेक्चरर भए । १९६८ मा राष्ट्रिय योजना आयोगको सदस्य भएपछि उनी योजनाकारका रूपमा नेपालको विकास अवधारणा तयार गर्न तथा नीति निर्माणमा लागे । उनी केही समय आयोगको उपाध्यक्ष भए । उनकै कार्यकालमा नेपालमा प्रादेशिक विकास योजनाको खाका तयार भयो र कार्यान्वयन भयो । उनले प्रादेशिक योजनाकारको पहिचान बनाएको योजना आयोगमा गरेको योगदानले नै हो ।


चौथो कालखण्ड (१९७५ देखि १९८६ सम्म) मा उनको विविध क्षेत्रमा संलग्नता देखिन्छ । प्रथमतः, राजनीतिमा प्रवेश देखिन्छ । उनी शिक्षा, उद्योग तथा वाणिज्य राज्यमन्त्री, पछि पर्यटनमन्त्री र यातायात तथा निर्माणमन्त्री भए । उनी मनोनीत राष्ट्रिय पञ्चायत सदस्य भए । १९८० नपुग्दै राजीनामा दिएर उनी स्वतन्त्र परामर्शदात्री बने । गुरुङले नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइ–सराइ अध्ययन टोलीको नेतृत्व गरे । उनका प्रतिवेदनलाई लिएर झुन्ड्याउनुपर्नेसम्मका टिप्पणीसमेत भए ।


सन् १९८६ को पञ्चायतको आमनिर्वाचनमा उनी लमजुङबाट रापस उम्मेदवार भए । ‘डा. हर्क घर (लमजुङ) फर्क’ नारा पनि लेखियो । तर, अफसोस लमजुङवासीले उनलाई जिताउन सकेनन् र उनको राजनीतिक यात्रामा पूर्णविराम लागेजस्तै भयो । १९८६ देखि १९९० सम्म भने उनी अध्ययन–अनुसन्धान र विज्ञ सेवामै रमाए ।


पाँचौं कालखण्ड १९९० पछिको समयमा उनी संरक्षणवादी, वातावरणवादी तथा समावेशी विकासका अभियन्ताका रूपमा देखिए । यसबीचमा १९९३ देखि १९९८ सम्म मलेसियाको क्वालालम्पुरस्थित एसिया प्यासिफिक डेभलपमेन्ट सेन्टरको निर्देशक भए । पछिल्लो समय उनले आदिवासी जनजाति, जातजाति र सामाजिक अभियानमा संलग्न रहे । विशेषतः नेपाल अल्पसंख्यकहरूले राज्य गरेको, असमावेशी र विभेद भएको भनी संरचनागत समस्या औंल्याउन बढी केन्द्रित भए । वातावरण संरक्षणलगायतका पक्षमा पनि उनका लेखहरू आइरहे ।


प्रादेशिक विकास योजनाको प्रादुर्भाव

नेपालको विकास अध्ययनका हिसाबले गुरुङले गरेको महत्त्वपूर्ण योगदानको एउटा क्षेत्र भनेको प्रादेशिक योजनाको अवधारणा र प्रादेशिक विकास हो । विषयगत पृष्ठभूमि, अध्ययन र नेपाली भूमिको वस्तुगत अनुभव र विश्लेषणबाट गुरुङलाई क्षेत्रीय विकास र योजनाको प्रारूप तयार पार्ने प्रेरणा र प्रोत्साहन मिलेको बुझ्न कठिन छैन । गुरुङ र नेपालमा प्रादेशिक विकासको अवधारणा र कार्यान्वयनको प्रसंग चल्दा केही अन्य सन्दर्भ पनि जोडिन आउँछन्, जसले प्रादेशिकताको प्रवेश अचानक भएको होइन भन्ने स्पष्ट पार्छ ।


प्रथमतः, गुरुङ भूगोलको विज्ञ भएको र भूगोल विषयमा ‘प्रदेश’ (रिजन) ४/५ वटा अवधारणामध्ये एक भएको कुरा बिर्सन हुन्न । एक समयमा प्रदेशलाई भूगोलको आधारशिला वा अस्तित्वका रूपमा स्विकारिएको हो । दोस्रो, प्रसिद्ध लेखक रिचार्ड हार्टसोर्नको भूगोल विधाभित्र एउटा स्थापित पुस्तक ‘पर्स्पेक्टिभ अन द नेचर अफ ज्योग्राफी’ १९५९ मा प्रकाशन भएको थियो । यो पुस्तकको मूल तर्क थियो कि संसारमा विविध किसिमका प्रदेश छन् र ती प्रदेशमा भिन्नता छन् । ती भिन्नताले गर्दा प्रदेशले आ–आफ्नो पहिचान बनाउँछन् अनि ती प्रदेशका विविधता अध्ययन गर्नु भूगोलको मूलमर्म हो ।


२० औं शताब्दीको मध्यतिर यो अवधारणा पश्चिमी देशका भूगोल अध्येताहरूमा गहिरो रूपमा स्थापित थियो । यसको प्रभाव बेलायती भूगोल शिक्षामा पनि थियो । प्रादेशिक भूगोल पाठ्यक्रमको अभिन्न अंगका रूपमा स्विकारिएको थियो । प्रदेशहरूलाई विश्लेषणका एकाइका रूपमा हेरिन्थ्यो, चाहे प्राकृतिक प्रदेश होस् वा सांस्कृतिक/राजनीतिक प्रदेश । यो अवस्थाले गर्दा पनि भूगोलविद्हरू आफ्नो कार्यक्षेत्रमा यस किसिमको आयाम लैजान चाहन्थे । गुरुङले यसमा अवसर पाए र उनमा यस किसिमको क्षमता पनि थियो ।


तेस्रो, गुरुङले एडिन्बरा विश्वविद्यालयमा बुझाएको विद्यावारिधिको शोधग्रन्थ ‘पोखरा उपत्यका’ भौगोलिक (प्रादेशिक) सर्वेक्षण आफैंमा उत्कृष्ट प्रादेशिक विवरणको दस्तावेज थियो र छ । यो दस्तावेजले उनलाई प्रादेशिकताप्रति अझ बढी उत्प्रेरित र विश्लेषणमा कुशल बनाएको हुनुपर्छ । चौथो, बेलायतबाट फर्केपछि उनले १९६७ मा ‘ज्योग्राफी एन्ड प्लानिङ इन नेप्लिज कन्टेक्स्ट’ शीर्षकको लेख बसुधा पत्रिकामा प्रकाशन गरे । यसमा उनले अल्पविकासको समस्यालाई कुनै पनि क्षेत्रको संसाधनको वितरण र तिनीहरूको उपयोगको मात्रासँग जोडेर हेर्नुपर्छ भनी स्पष्ट पारे । सधैं संसाधनको वितरण र तिनीहरूको उपयोगबीचको बेमेललाई समष्टिगत आयामबाट विश्लेषण गरिनुपर्छ भनी वकालत गरेका थिए । पाँचौं, गुरुङको नेपालका पहाडी र हिमाली भागको विस्तृत भ्रमण र भ्रमण गरिएका गाउँ/ठाउँबारे गहन अध्ययन गर्ने र विविधता विश्लेषण गर्ने बानी थियो । ‘मैले देखेको नेपाल’ मा उनले उल्लेख गरेको कर्णाली क्षेत्रको कागमारा लेक चढ्ने १९६६ जुन महिनाको प्रयास र असफलताको वर्णनले सामान्य गाउँ/ठाउँदेखि ५ हजार मिटरसम्म उनको भ्रमण झन्डै–झन्डै सामान्य कुराजस्तै देखिन्छ ।


गुरुङ राष्ट्रिय योजना आयोगको सदस्यमा १९६८ मा मनोनीत भए । यो आफ्नो ज्ञान र अनुभवबाट राष्ट्रलाई नवीन आयाममार्फत विकासको सही दिशामा अघि बढाउन गुरुङजस्ता ओलम्पियन स्पिरिट भएकाका लागि अत्यन्त राम्रो अवसर हो । नेपाल १४ अञ्चल र ७५ जिल्लामा रेखांकन भइसकेको थियो ।


दोस्रो योजना (१९६२–६५) ले ‘प्रादेशिक सन्तुलन नीति’ लिएको थियो तर उद्देश्य प्राप्त गर्ने पद्धति राम्रोसँग उल्लेख भएको थिएन । तेस्रो, योजना (१९६५–१९७०) मा प्रादेशिक विकास नीतिले प्राधान्य पाउँछ भनिए पनि कार्यान्वयनमा लैजाने स्पष्ट खाका थिएन । यो अवस्थामा गुरुङ तेस्रो योजना कार्यान्वयनको मध्यतिर योजना आयोग प्रवेश गरेका थिए । केही समयमै प्रादेशिक विकासको स्पष्ट खाकासहितको ‘नेपालमा प्रादेशिक विकास योजना’ दस्तावेज (१९६९ मा) तयार गरी उनले चौथो योजना (१९७०–७५) मा समावेश गरे ।


प्रादेशिक विकास योजनाको दस्तावेजले स्पष्ट रूपमा उल्लेख गर्‍यो— १) गतिशील विकासका लागि तयार गरिने रणनीतिले प्रादेशिक पक्षको ख्याल राख्नुपर्छ । २) राष्ट्रको एकमुष्ट तथ्यांकका आधारमा विकास कार्यक्रमलाई प्रादेशिकस्तरमा विश्लेषण गर्न र कार्यक्रम सञ्चालन गर्न सकिन्न । ३) विकासका लागि राष्ट्रिय साधनहरू बाँडफाँड गर्ने तरिकालाई परिमार्जन गर्नुपर्छ । ४) प्रादेशिक विकास यस्तो विधि हो जसले सामाजिक तथा आर्थिक विकासका उद्देश्य परिपूर्तिका साथै राष्ट्रिय स्रोतसाधन बाँडफाँड गर्ने तरिकालाई परिष्कृत गर्छ । ५) यो विधिले छानिएको खास–खास ठाउँमा लगानी केन्द्रित गराएर सीमित स्रोतलाई असन्तुलित रूपमा जथाभावी छरिनबाट बचाउँछ । ६) प्रादेशिक विकास नीति राष्ट्रिय स्तरको विस्तृत विकासको साधन हो र यसमा मुलुकका सम्पूर्ण स्थानले राष्ट्रिय उद्देश्य प्राप्तिका लागि योगदान गर्छन् ।


प्रादेशिक योजनाको उद्देश्यका रूपमा ५ वटा कुरा उल्लेख गरियो जसले राष्ट्रिय स्तरका उद्देश्य पूरा गर्न योगदान पुर्‍याउँछन्— क) अन्तर–प्रादेशिक असमानता घटाउने ख) राष्ट्रिय अर्थव्यवस्थाको एकीकरण गर्ने ग) विकासको जटिल चक्रलाई तोड्ने घ) आयोजनाहरूबीचको असन्तुलन घटाउने र ङ) प्रादेशिक आर्थिक ढाँचाको विश्लेषण गर्ने ।


सन्तुलित विकासका लागि राष्ट्रिय उद्देश्यमा प्रादेशिक पक्षहरू सम्मिलित हुनुपर्ने भएकाले क्षेत्रीय विकास रणनीतिका रूपमा भिन्न–भिन्न विश्लेषणका प्रदेश जोड्ने उत्तर–दक्षिण विकास रेखाका रूपमा मूल सडकहरूको परिकल्पना गरियो । यी विकास रेखाहरूमार्फत विकास केन्द्रहरू जोडिने भए । यी विकास केन्द्रहरूमा आर्थिक लाभ हुने कार्यक्रम केन्द्रित गरिने र यसका लागि आयोजनाहरूबीच समन्वय गरिने भनियो । प्रादेशिक विकास कार्यक्रमहरू सुरु गर्न ४ वटा विकास रेखा तथा यिनीहरूसँग जोडिने विकास केन्द्रहरू उल्लेख गरियो । त्यसबेला पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल गरी ४ विकास क्षेत्र थिए ।


१. कोसी विकास रेखा विराटनगरमा सुरु भई हेदाङ्ना (संखुवासभा) पुग्ने जसमा विराटनगर, धरान, धनकुटा र हेदाङ्ना विकास केन्द्रहरूमा विकास हुने ।

२. काठमाडौं विकास रेखा वीरगन्जमा सुरु भई हेटौंडा, काठमाडौं हुँदै पूर्वतिर बाह्रबिसे र पश्चिमतिर धुन्चे विकास केन्द्रका रूपमा विकास हुने ।

३. गण्डकी विकास रेखा भैरहवामा सुरु भई बुटवल, तानसेन, स्याङ्जा, पोखरा हुँदै जोमसोम पुग्ने । उल्लिखित ठाउँहरू विकास केन्द्रका रूपमा रहने ।

. कर्णाली विकास रेखा नेपालगन्जमा सुरु भई जुम्ला पुग्ने जसमा नेपालगन्ज, सुर्खेत, दैलेख र जुम्ला विकास केन्द्रका रूपमा विकास हुने ।


विकास केन्द्रहरू विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्जले तराईको विकासको नमुना प्रस्तुत गर्छन् भने धनकुटा, तानसेन, स्याङ्जा, दैलेखले पहाडी प्रदेशको विकासको नमुना । हेदाङ्ना, बाह्रबीसे, धुन्चे, जोमसोम र जुम्लाले हिमाली प्रदेशको विकासको नमुना प्रस्तुत गर्छन् । यसरी तराई, पहाड र हिमाली प्रदेशको अर्थतन्त्रको एकीकरण गर्ने र प्रादेशिक असमानता घटाउने कार्यको खाका तयार भएको देखिन्छ । विडम्बना, गुरुङ १९७५ पछि योजना आयोगमा रहेनन् । पछि गएर प्रादेशिक योजनाकै अंशका रूपमा साना क्षेत्र विकास आयोजना, एकीकृत ग्रामीण विकास परियोजना, दुर्गम क्षेत्र विकास समितिजस्ता कार्यक्रम सञ्चालन भए । प्रादेशिक विकास योजनापछि गएर केवल तथ्यांकलाई क्षेत्रगत रूपमा उल्लेख गर्ने, स्रोत वितरणका लागि संख्यात्मक रूपमा मिलाउने आदिका लागि प्रयोग भयो । यसको समतामूलक मर्म तथा तराई–पहाड अर्थतन्त्रलाई एकीकरण गर्नेलगायतका क्षेत्रीय विकासमार्फत राष्ट्रिय विकासका लक्ष्य पूर्ण गर्ने यसको उद्देश्य सफल हुन सकेन । पछिल्ला सबै योजनाले प्रादेशिकताका शब्द र तथ्यांक भने उल्लेख गरेकै छन् । यसको श्रेय गुरुङलाई नै जान्छ ।


अन्तमा,

गुरुङ आफ्नो समयका प्रखर र उर्वर लेखक थिए । उनको लेखन सन् १९५७ देखि २००६ सम्म आइपुग्दा ६९७ वटा लेखरचनाको सिर्जनामा टुंगिन्छ । यस्ता सिर्जनशील सामाजिक विज्ञानका अध्येता नेपालले फेरि पाउँछ कि पाउँदैन, भविष्यले बताउला तर वर्तमानमा अरू कोही होलाजस्तो लाग्दैन । १९५७ देखि सन् २००६ सम्म कुनै पनि वर्ष यस्तो रहेन, जहाँ उनको लेख प्रकाशन भएन । वर्षमा तीनवटादेखि ४२ वटासम्म लेख प्रकाशित भए ।


भूगोल विधा आफैंमा अन्तरविषयक हो । बहुआयामिक प्रतिभा तथा उनको अध्ययनशीलताका प्रभावसमेतका कारणले गर्दा उनका लेखहरू भूगोल, विकास, कृषि, जनसंख्या, समाजशास्त्र, पर्वतारोहण, नक्सा/एटलास, राजनीति, पर्यटन, वातावरण, नियात्रा, भाषा/धर्म, शिक्षा आदि समूहमा विभाजन गरी विश्लेषण गर्न सकिन्छ । यसमध्ये पनि सबैभन्दा बढी विकास, राजनीति, जनसंख्या, पर्यटन र भूगोलसँग सम्बन्धित देखिन्छन् । पुस्तकहरूलाई मात्र हेर्ने हो भने ‘मैले देखेको नेपाल’ (१९८०), ‘डाइमेन्सन्स अफ डेभलपमेन्ट’ (१९८४), ‘नेचर एन्ड कल्चर’ (भिग्याट्स अफ नेपाल) (१९८९), ‘रिजनल डेभलपमेन्ट प्लानिङ फर नेपाल’ (१९६९), ‘रिजनल प्याटर्न्स अफ माइग्रेसन इन नेपाल’ (१९८९), ‘नेपाल : सोसल डेमोग्राफी एन्ड एक्सप्रेसन्स’ (१९९८), ‘इन्टरनल एन्ड इन्टरनेसनल माइग्रेसन इन नेपाल’ (१९८३), ‘अन्नपूर्ण टु धौलागिरी’ १९६८), ‘जनजातिको सेरोफेरो’ (२०७४), फ्रम इन्क्लुजन टु एक्स्क्लुसन (२००५), नेपाल : रिजनल स्ट्राटेजी फर डेभलपमेन्ट (२००५), ‘विषय विविध’ (२००६), ‘म्याप्स अफ नेपाल : इन्भेन्टरी एन्ड इभालुएसन’ (१९८३) बढी चर्चित छन् ।


गुरुङका लेखहरूको विशेषता भनेकै तथ्यमा आधारित, सूक्ष्म विश्लेषण, सरल भाषा र स्पष्ट अभिव्यक्ति हुन् । तालिका प्रशस्त मात्रामा रहनु, बेलाबखतमा मानचित्रमार्फत सचित्र प्रस्तुति दिनु उनका विशेषता हुन् । मौखिक प्रस्तुतिको हकमा छोटा वाक्य र चोटिलो अभिव्यक्ति उनका अद्वितीय पहिचान हुन् ।


गुरुङको जीवनमा ठूला ठाउँहरूलाई छाडी ३ वटा साना ठाउँ र उचाइले धेरै महत्त्व राख्छन् । पहिलो, तराँचे (१९१४ मिटर), जुन गुरुङको जन्म स्थानका नामले सुपरिचित भयो । दोस्रो, फले (३४०० मिटरभन्दा अग्लो) जुन सेप्टेम्बर २३, २००६ मा गुरुङको जीवन अन्त्य भएको दुःखद सम्झनाको स्थान बन्यो । तेस्रो, पिक २९ (७८७१ मिटर), जसलाई ङादी चुलीको नाम गुरुङ संलग्न अध्ययन टोलीले दिएको थियो । उनको जन्मस्थान नजिकैको यही चुलीलाई नेपाल सरकारले मार्च ५, २००७ मा ‘डा. हर्क गुरुङ पिक’ नामकरण गर्‍यो जसबाट बेलायतमा रहँदाकी मायालु क्रिशसँग धेरै खेप प्रकट गरेको हिउँमाथि आफ्नो चिहान बनाउने उनको सपना पूरा भयो ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्

भाग्यवादका भाष्यकार

डम्बर चेम्जोङ

ललितपुर झरुवारासी गाउँका चेतबहादुर विष्ट यति कट्टर थिए कि ‘को छ, को छ, कसरी जोसुकैसँग यात्रा गर्ने ?’ भनेर बससमेत चढ्दैनथे । गाउँघरमा घोडा चढेर र हिँडेरै सहर पुग्थे । घरमा हाँस, कालिज, गाई, भेडा थिए तर कुखुरा पाल्न बन्देज थियो ।

तिनै चेतबहादुरका छोरा डोरबहादुर कालान्तरमा जातजाति र समुदायका विविध पक्ष अध्ययनअनुसन्धान गरेर कहलिए । नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक बने ।

चेतबहादुर र मीनाकुमारी विष्टका जेठो छोरा डोरबहादुर १९८३ माघ ४ मा जन्मिएका हुन् । उनको विवाह गोरखाकी नारायणी बस्नेतसँग भएको थियो । उनीहरूका तीन छोरा र एक छोरी छन् ।

डोरबहादुरका माइला छोरा पूर्वमन्त्री केशरबहादुरका अनुसार चेतबहादुरले दोस्रो विश्वयुद्ध लडेका थिए । युद्धमा घाइते भएर नेपाल फर्केपछि उनी नेपाली सेनाको कर्णेल भए । २००७ सालमा सेनाबाट अवकाश लिएका उनको दैनिक जीवन र पारिवारिक व्यवस्थामा पनि सैनिकतरहकै अनुशासन थियो । डोरबहादुरले २०१२ सालमा बेलायत बसेर फर्कंदा पशुपतिमा शुद्धि अनुष्ठान गरीवरी चोखिएर मात्र घर पस्ने अनुमति पाएका थिए । डोरबहादुर सानो छँदै अलि बढी जिज्ञासु थिए । पूजा, अनुष्ठान, कर्मकाण्डमा किन, के, केका लागि जस्ता अनेक प्रश्न तेर्स्याएर पण्डित बाजेलाई हैरान पार्थे । मृत्युपश्चात्को किरिया–कर्मलाई ‘आडम्बर’ मान्थे ।

केशरबहादुरका अनुसार हजुरबुबा चेतबहादुरमा जोगी (साधु–सन्त) पाल्ने सोख थियो । गाउँमाथिको महादेवस्थानमा जोगी आएर कुटी जमाउँथे । जोगीलाई खानपिन बन्दोबस्त गरिदिन्थे । कुनै दिन अचानक जोगी गायब हुन्थे, कुटी सुनसान पारेर । प्रश्न उठ्थ्यो, ‘जोगी कता गयो ?’ उत्तर सधैं एउटै— ‘जोगी अलप भयो ।’ यी सबै देख्दै–भोग्दै आएका डोरबहादुर आफैं एक दिन अलप भए ।

बहुप्रतिभाशाली डोरबहादुर
डोरबहादुरलाई लेखनी वा पेसाको कुनै एक विधा र एक शास्त्रमा सीमित गर्न सकिँदैन । उनी कथाकार, उपन्यासकार, चित्रकार, अध्येता, मानवशास्त्री, समाजसेवी, शिक्षक, निष्ठावान कर्मचारी, सिद्धहस्त लेखक, चित्ताकर्षक वक्ता र राष्ट्रप्रेमको जिम्मेवारीबोध गरेका नागरिक थिए । उनी आफू जन्मेको गाउँ र देश बिर्सन पाइँदैन भन्थे । जेठा छोरालाई विवाह गरेर पारिवारिक नबनेसम्म विदेश अध्ययन गर्न जाने अनुमति दिएनन्, विवाह नगरी जाँदा छोरो देश फर्केर नआउला कि भन्ने पीरले ।

माइला छोरा एसएलसीको परीक्षा दिएपछि बोस्टन (अमेरिका) गएका थिए । पारिवारिक मित्रहरूले उनलाई बोस्टन सहरकै स्कुलमा भर्ना गरिदिएछन् । यता डोरबहादुरले दूतावासमार्फत ‘घुम्न पठाएकोलाई स्कुल भर्ना गर्न पाइँदैन’ भनेर फिर्ता बोलाइहाले । पीर उही, उतै पढेपछि देश नफर्कला कि भन्ने । डोरबहादुरका लागि छोराछोरीले घोडा चढ्न, बन्दुक हान्न, साइक्लिङ, ड्राइभिङ र स्विमिङ जान्नैपर्थ्यो ।

शिक्षक डोरबहादुर
डोरबहादुर २०१२ सालमा बेलायतबाट फर्केपछि पाटन मंगलबजारको कन्या हाइस्कुलको हेडमास्टर भए । कन्या हाइस्कुलसँगै जोडिएको घर हालका शताब्दी पुरुष सत्यमोहन जोशीको थियो । डोरबहादुरको मित्रता र बसउठ तिनताका सत्यमोहनसँग थियो ।
डोरबहादुरले ‘नर्मल’ तालिमको शिक्षक भएर देशका विभिन्न भागमा पढाए । त्यसबेला १२–१४ वर्षसम्म पनि स्कुल नगएकाहरूलाई नर्मल तालिम पढाएर कक्षा १, ३, ६, ८, १० गर्दै एसएलसी परीक्षा लेख्न लगाउने चलन थियो । डोरबहादुरपछि त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रको शिक्षक भए । उनले आफू रहेबसेको स्थानमा स्कुल खोले । जस्तै– कीर्तिपुरमा दलितहरूका लागि स्कुल (आजसम्म चलेकै छ), जुम्लाको चौधबीसमा कर्णाली इन्स्टिच्युट स्थापना, पछि स्कुल ।

आख्यानकार डोरबहादुर
पाटन कन्या हाइस्कुलको हेडमास्टर हुँदाताका आफूले भोगे–देखेको, अवलोकन गरेको सामाजिक जीवनलाई डोरबहादुरले आख्यानात्मक कलेबर दिएर कथा लेखे ।

कामका दौरान देश–विदेश भ्रमणका क्रममा अवलोकन र अनुभवमा आधारित कथाहरू ‘डोरबहादुर विष्टका कथाहरू’ मा सँगालिएका छन् । ‘कालीगण्डकीको हुरी’, ‘ता कर्व्यु’, ‘पान सुका’ केही प्रमुख कथा हुन् । ती कथा सामाजिक यथार्थपरक घटनामा बुनिएका छन् ।

डोरबहादुरले महावाणिज्यदूतका हैसियतमा ल्हासा बसाइमा आफूले अवलोकन गरेको नेपाली व्यापारीहरूको जीवनको एउटा पाटोमा आधारित रहेर उपन्यास ‘सोताला’ लेखेका छन् । डोरबहादुरका कथा र उपन्यासबाट मात्र पनि उनी सामाजिक यथार्थवादी आख्यानकार हुन् भन्न सकिन्छ ।

एथ्नोग्राफर डोरबहादुर
डोरबहादुर विष्ट नेपाली मानवशास्त्रका संस्थापक हुन् । उनले आफैं भ्रमण गरेर र समुदायसँग भेटेर नेपालका जात–जाति तथा समुदायको सामाजिक, सांस्कृतिक परम्परा, जीवनशैली र रहनसहन समेटिएको पुस्तक ‘पिपुल अफ नेपाल’ सन् १९६७ मा प्रकाशन गरे । त्यति बेला नेपालको सांस्कृतिक र सामाजिक विविधता झल्काउने सबैभन्दा आधिकारिक पुस्तक थियो ‘पिपुल अफ नेपाल’ । सम्बन्धित विषयमा यो पुस्तक आज पनि अतुलनीय छ । ‘पिपुल अफ नेपाल’ को नेपालीमा अनूदित पुस्तक ‘सबै जातको फूलबारी’ हो ।

त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्र सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) मा रहेर उनले नेपालको मानवशास्त्रीय अध्ययन अनुसन्धान गरिरहेकै बखत सन् १९८१ मा स्नातकोत्तर तहमा मानवशास्त्र र समाजशास्त्र विषयको अध्यापन सुरु भयो । त्यसका प्रथम शिक्षक डोरबहादुर नै भए ।

‘पिपुल अफ नेपाल’ सम्भवतः नेपालबारे नेपालबाट प्रकाशित पुस्तकमा सबैभन्दा बढी बिक्री हुनेमा पर्छ । प्रथम प्रकाशन भएको पाँच दशकपछि आज पनि यो पुस्तक निरन्तर बिक्री भइरहेको छ । डोरबहादुरका छोरा केशरबहादुर सम्झन्छन्, ‘त्यो पुस्तक राजा वीरेन्द्रलाई अत्यन्त मन परेको थियो । अंग्रेजीभाषीका लागि नेपाल चिनाउन त्यो नै सबैभन्दा उपयुक्त पुस्तक हो भन्ने थियो । राजा वीरेन्द्रले आफूसँग भेट्न आउने प्रत्येकजसो विदेशीलाई त्यो पुस्तक उपहार दिनुहुन्थ्यो ।’

आफ्नो ल्हासा बसाइको अवसर सदुपयोग गरेर डोरबहादुरले वर्णनात्मक रूपको ‘रिपोर्ट फ्रम ल्हासा’ पनि लेखेर प्रकाशन गरे ।

“डिभलपमेन्ट एन्थ्रोपोलोजिस्ट” डोरबहादुर
मानव समुदायका व्यावहारिक समस्या समाधान गर्न वा समाजलाई सकारात्मक दिशातर्फ लैजान मानवशास्त्रको सैद्धान्तिक ज्ञान र अध्ययन विधि सदुपयोग गर्ने कर्म र उपविधालाई विकास मानवशास्त्र भनिन्छ । यस कर्ममा अर्थात् विकास मानवशास्त्रीका रूपमा डोरबहादुरलाई अरू नेपाली समाज वैज्ञानिकहरूको त कुरै छाडौं, मानवशास्त्रीहरूले समेत हेर्न वा बुझ्न खोज्ने प्रयास गरेझैं लाग्दैन । डोरबहादुरमा स्पष्ट सैद्धान्तिक दृष्टिकोण र त्यसलाई कार्यान्वयन गर्ने क्षमता तथा जुक्ति थियो भन्ने उनका कामले प्रस्ट्याउँछन् ।
दुर्गम क्षेत्र विकास समितिको सदस्यसचिवका हैसियतमा डोरबहादुर सरकारी सेवामा पनि रहे । त्यस अवसरमा उनले भारतको कश्मीरबाट सानो हवाइजहाजमा बिरुवा ल्याएर जुम्लामा स्याउ बगैँचा सुरु गराए । छोरा केशरबहादुरका अनुसार सुरुमा जुम्लाको स्याउको बजारै थिएन । खाइनसक्नु फल्थ्यो ।

स्थानीयले स्याउले बजार नपाएकोमा डोरबहादुरसँग गुनासो गर्थे । त्यतिबेला उनी ‘मान्छेले खाइनसकेको गाईलाई खुवाउनू, ती साना–साना गाई बढेर ठूला हुन्छन्’ भनेर जवाफ दिन्थे । आज जुम्लामा लाखौंको स्याउ बिक्री हुन्छ ।

पछिल्लो पटक डोरबहादुरले कर्णाली इन्स्टिच्युट स्थापना गरे । जुम्लाको चौधबीसमा पानीघट्टबाट विद्युत् निकालेर गाउँमा बाँडे । विद्यालय स्थापना गरे । त्यहाँ चुह्लोको धूवाँ घरभित्रै भुमरीसरी घुमिरहने चिम्नीबिनाका घर थिए । डोरबहादुरले घर–घरमा धूवाँ जाने चिम्नी राख्न सिकाए ।

तातो पानीले नुहाउन, हात–मुख धुन सजिलो र सफा हुन्छ भन्ने हेक्का थिएन चौधबीसवासीमा त्यतिबेला । छोरा केशरबहादुरका अनुसार बालबालिकाले हात सफा नगर्नाले मयल जमेको हुन्थ्यो । डोरबहादुरले बालबालिकालाई विद्यालयमा पढ्न बोलाउँथे र उनीहरू ‘बड्डाकामा पढ्न जाने’ भन्दै आउँथे । ‘बड्डा’ ले ठूलो खड्कुलोजस्तो भाँडोमा पानी तताउँथे । बालबालिकालाई दाहिने वा देब्रे एउटा मात्र हात मनतातो पानीमा डुबाएर राख्न लाउँथे । निकैबेर राखेपछि मयल ढाडिन्थ्यो र हात बाहिर निकालेर पुछपाछ गरेपछि सफा र सेतो हुन्थ्यो । दुवै हात सँगै अगाडि देखाउन लाउँदा फरक स्पष्ट देखिन्थ्यो । अनि ‘बड्डा’ ले विद्यार्थीलाई भन्थे, ‘लौ घर जाओ र आमालाई अर्को (मयलपत्रे) हात पनि यस्तै बनाइदिनू भन ।’

सिद्धान्तनिष्ठ मानवशास्त्री डोरबहादुर
प्राध्यापक विष्टले समग्र नेपाली समाजको चरित्रबारे अध्ययन गरे । अध्ययन र विवेकका आधारमा नेपालको विकास र आधुनिकीकरणको बाटोमा देखापरेका तगारा पत्ता लगाए र ती कुरा लेखे । उनको किताब ‘फेटलिजम एन्ड डिभलपमेन्ट ः नेपाल्स स्ट्रगल फर मोर्डनाइजेसन’ (१९९१) प्रकाशित भयो । यो पुस्तक विहंगम दृष्टिले समग्र नेपाली समाजको चरित्र जे देखिन्छ त्यसको वर्णन हो ।

डोरबहादुरले जुम्लाको चौधबीसका जनताको सामाजिक, आर्थिक, शैक्षिक जीवनस्तरको रूपान्तरण गर्न जुन विकास–मानवशास्त्रीय कर्म गरे, त्यस किसिमको वस्तुनिष्ठ अध्ययन र अनुभवमा आधारित भएर लेखिएको पुस्तक होइन ‘फेटलिजम एन्ड डिभलपमेन्ट...’ । कुनै व्यक्तिले कुनै पनि क्षेत्रमा हासिल गरेको सफलता वा असफलतालाई निजको भाग्यसँग जोड्ने प्रवृत्ति, चाकरी नगरी जागिर पाइन्न र पाएको जागिर पनि बचाउन सकिन्न भन्ने विश्वास एक–दुई पुस्ताअगाडिको नेपाली समाजमा व्याप्त थियो । व्यक्तिले आफ्नो उन्नति, प्रगतिका निम्ति कल्पनाशीलता (सपना), श्रम, सीप र ज्ञानमा विश्वास नगरेर भाग्यवादी चिन्तनमा भर पर्ने, ‘कर्म गर फलको आशा नगर’ भन्ने र ‘आफ्नो मान्छे’ प्रवृत्ति र चिन्तन नै समाजको आधुनिकताका निम्ति तगारो हो भन्ने व्याख्या ‘फेटलिज्म एन्ड डिभलपमेन्ट...’ मा छ । उनका अनुसार उल्लिखित प्रवृत्तिहरू हिन्दु वर्णव्यवस्थामा आधारित उच–नीच, जोखो–जुठो जातीय व्यवस्थाबाट निसृत भएको हो । यसै प्रवृत्तिलाई विष्टले समग्रमा ब्राह्मणवाद भनेका छन् ।

डोरबहादुरले आफ्नो पुस्तकलाई समाज र संस्कृतिको अध्ययन र विश्लेषणमा जर्मन समाज वैज्ञानिक म्याक्स वेबरको ‘इन्डिविज्युअल रास्नलिटी’ सिद्धान्तको टेकोमा उभ्याएको देखिन्छ । म्याक्स वेबर भन्छन्, ‘समाजमा व्यक्तिहरूको क्रियाकलाप र निर्णय प्रक्रियाहरू रास्नल (विवेकसंगत) हुनुपर्छ । धार्मिक आस्था (जस्तै हरिद्वार तीर्थ गरेपछि पुण्य प्राप्ति हुन्छ भन्ने विश्वास), परम्परागत मूल्य (श्राद्धमा बिरालो बाँध्नुपर्छ) र भावनात्मकता (माया र स्नेहका साथ गरिने व्यवहार) का आधारमा हुने व्यक्तिका क्रियाकलाप विवेकसंगत होइनन् ।

मानिसले के कस्तो जुक्ति र उपायद्वारा कस्तो क्रियाकलाप गरे आफूलाई आर्थिक, सामाजिक र राजनीतिक फाइदा हुन्छ भनेर सकारात्मक परिणामको लक्ष्य किटान गर्न सक्नुपर्छ र त्यसरी अघि बढ्दा भने समग्र समाज र व्यक्ति विवेकसंगत (रास्नल) र आधुनिक (मोडर्न) हुँदै जान्छन् ।’ विष्टको पुस्तकको सार यही हो— नेपाली समाज मूलतः विवेकसंगत सामाजिक अन्तरक्रियामा आधारित छैन । आधुनिकताका अवरोधहरू चाकरी, आफ्नो मान्छे, भाग्यवाद व्याप्त छन् । त्यसैले नेपाली समाजले भनेजस्तो विकास गर्न नसकेको हो ।

अन्तमा
आफ्नो ६९ औं जन्मदिन आउनुभन्दा ६ दिनअगाडि २०५२ पुस २७ देखि डोरबहादुर अलप भएका छन् । जुम्लाबाट नेपालगन्ज उडेर नेपालगन्जमा आफ्नो सम्पर्क केन्द्रमा खबर गरेदेखि उनी सम्पर्कविहीन भएको २४ वर्ष भयो । पहिले गाउँमा जोगी अलप भएको देखिरहँदा डोरबहादुर परिवारमा यदाकदा भन्ने गर्थे रे, ‘म अलप हुन चाहन्छु । मृत्युपछि परिवारका सदस्यहरूले गर्ने कर्मकाण्ड आडम्बर हो ।’

एक महिनाअघि माघ ४ गते उनको ९३औं जन्मदिन मनाउने समारोहमा उनको पुस्तक ‘फेटलिज्म एन्ड डिभलपमेन्ट...’ को नेपाली अनुवाद ‘भाग्यवाद र विकास’ को विमोचन भयो ।

डोरबहादुर मानवशास्त्री मात्र थिएनन्, अध्येता, लेखक, समाज परिवर्तन र विकासका अभियन्ता र देशप्रेमी नागरिक थिए । उनी अलप भएका छन् तर उनले टेकेका पाइला नेपाली मानवशास्त्र र वाङ्मय जगत्मा अमिट छाप बनेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×