भूमिहीन र दलितको आवाज खोज्दै- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूमिहीन र दलितको आवाज खोज्दै

यज्ञश

‘नाकाबन्दी लागेपछि कुनै पनि पसलेलाई सामान बेच्न दिइएन । दलितहरूलाई सामान बेचे सामाजिक बहिष्कार गर्ने भनेर लहान बजारमा समेत माइकिङ गरिएको थियो ।

हामीलाई यसको खासै फिकर लागेको थिएन । किनभने, अरूकै जमिनमा काम गरेर पाएको ज्यालाको भए पनि केही दिन खान पुग्ने चीज घरमै थिए । जब नुन र तेल सिद्धिन थाल्यो, अनि बल्ल नाकाबन्दीको मतलब समझमा आयो । नुन–तेल किन्न जाँदा कसैले दिएन । त्यस दिन बल्ल मलाई थाहा भयो, हामी दलितको त एउटा किराना पसलसम्म रहेनछ ।’


सप्तरीको भारदहनजिकै कनकपुरमा उनलाई भेट्न पुग्नेलाई बलदेव राम यो कुरा सुनाइरहन्थे । २०५६ साल चैत १० गते लहानमा चमारबाहेकका ११ जातिको बैठकले सिनो उठाउन अस्वीकार गर्ने चमारहरूविरुद्ध नाकाबन्दी लगाउने निर्णय गरेको थियो ।

यो नाकाबन्दी नेपाली समाजमा व्याप्त छुवाछूत र अन्यायको एउटा प्रकट स्वरूप थियो । बलदेवले यस्ता नाकाबन्दी अन्य स्वरूपमा धेरैपटक भोगेका थिए । चाहे त्यो भूमि अधिकारको माग गर्दा कांग्रेस केन्द्रीय कार्यालयमा अनशन बस्दा होस् वा एमाले नेताहरूसँग उनीहरूका वाचा सम्झाउँदा होस् । ‘हामी पार्टी कार्यालयहरूमा अनशन बसिरहेका थियौं । कांग्रेस कार्यालयमा अनशन बस्नेलाई पिउने पानी माग्दा हामीलाई ट्वाइलेट देखाए । त्यहींको पानी खाऊ भने,’ उनले भन्थे ।


सिरहा र सप्तरीमा चमारमाथिको नाकाबन्दीको कथा २०५६ को साउनमा सुरु हुन्छ । २०५६ को असार–साउनमा बलदेव रामले सिरहाका १२ गाविसका दलितको भेला बोलाए । धाँती बजारमा भएको यो भेलाले निर्णय गर्‍यो— आइन्दा चमारले सिनो नउठाउने, खत्वेले डोली नबोक्ने, मुसहर र डोमले सुँगुरको खोर घरदेखि टाढा बनाउने, डोमले भोजको जुठो नखाने र रक्सी खान अनि मुर्दाको कपडा लगाउन छोड्ने ।


यो निर्णयको असर केही दिनमै देखियो । साउनमा मधुपट्टी–९ कुदमाहा गाउँका किसुनलाल कलवारको घरको गाईको बाच्छी मर्‍यो । त्यसै वडाका ढोढाई रामलाई बाच्छीको सिनो उठाउन भनियो । तर, उनले सिनो उठाउन इन्कार गरे । यो कुरीतिविरुद्ध उनी उभिए । समानता र स्वाभिमानको आन्दोलनमा एउटा झिल्को बनेर निस्किएका ढोढाई रामको तापलाई त्यहीं दबाउन खोजियो । सामाजिक परम्परा तोडेको भन्दै उनलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरियो ।


उनलाई सार्वजनिक बाटो हिँड्न, खेतमा मजदुरी गर्न, कसैको आँगन टेक्न, पैंचो माग्न र धारा–इनारमा पानी भर्न प्रतिबन्ध लगाइयो ।

यहींबाट सुरु भयो, सिनो बहिष्कार आन्दोलन । यो नाकाबन्दीविरुद्ध बलदेवको नेतृत्वमा दलितहरूले जिल्ला प्रशासनमा उजुरी दिए, मानवअधिकार र मौलिक हकको हनन भएको भन्दै । ढोढाई रामविरुद्धको नाकाबन्दी खुल्यो । कलवारले आफ्नो गोठमा मरेको बाच्छी आफैंले गाडामा राखेर खोलामा फाले ।


त्यसपछि त के, सबै चमारले सिनो उठाउन छोडे । दौलतपुर क्षेत्रका पाँच सय चमारले एकैचोटि सिनो उठाउन छोडेपछि माहोल तात्यो । सिनो बहिष्कार संघर्ष समिति बन्यो । यसको अध्यक्ष बलदेव राम नै थिए ।


संघर्ष समितिले आन्दोलन चर्काएपछि ११ जातिको बैठकले लहानबाट नाकाबन्दीको माइकिङ थालेका थिए । १५ दिनको कडा र त्यसपछि बिस्तारै नरम हुँदै गएको यो नाकाबन्दी मानवअधिकार दिवसका दिन त्यस क्षेत्रमा ठूलो जुलुस निस्किएपछि निष्क्रिय भएको थियो ।


सिनो बहिष्कार आन्दोलनले तराईंका दलितहरूमा जागरण ल्यायो । २० वर्षअघिको त्यो आन्दोलन नेपालमा भएका केही ठूला र प्रभावकारी सामाजिक आन्दोलनमध्ये एक थियो । यसको मुख्य सन्देश थियो— सामाजिक परम्पराका नाममा चलिआएका कुरीतिविरुद्ध एकजुट हुने हो भने दलितहरूले जस्तोसुकै सफलता पनि पाउन सक्छन् । आफ्नै देशभित्र कुनै एउटा जातविशेषलाई लगाइएको नाकाबन्दी दलितबाहेक अरू कसैले भोगेका छैनन् । र यसलाई अरूले तोडेका पनि छैनन् ।


बागलुङका भगत सर्वजित विश्वकर्माले दलित मुक्तिका लागि संगठित पहल थालेको पचास वर्षपछि तराईका दलितको विद्रोहको अगुवाइ बलदेव रामले गरेका थिए । इनारको पिंधबाट आकाशतिर फर्केर बोलेजस्तो, आफ्नो धोद्रो आवाजमा बलदेवले घोषणा गरे, ‘तिमी हामी बराबर हौं, हामी आइन्दा कसैको घरको सिनो उठाउँदैनौं र खाँदैनौं ।’


बलदेवले मुख्यतः तीन किसिमले योगदान दिए । पहिलो– जातपात र छुवाछूत तथा यसकै आधारमा गरिने आर्थिक र सामाजिक विभेदविरुद्ध राँको बालेर । दोस्रो– दलितहरूलाई भूमिको अधिकारबाट वर्षौंदेखि वञ्चित गरिएको भन्दै भूमि अधिकारको मागलाई बुलन्द गरेर । तेस्रो– लोकतन्त्र र जनताका अधिकारका लागि शान्तिपूर्ण आन्दोलनमा दलितहरूको नेतृत्व गरेर ।


देशमा प्रजातन्त्र आएकै वर्ष २००७ सालको पुसमा बलदेव सप्तरीको मधुपट्टी गाविस (हालको कनकपुर) मा जन्मिएका थिए । उनका पिता पृतमदास गाउँ पञ्चायतका सचिव थिए । उनी समाजमा सुधार आवश्यक छ भन्ने ठान्थे । पृतमदासले नै दलितहरूको एउटा अनौपचारिक संगठन बनाएका थिए ।


देशमा प्रजातन्त्र आएपछि अब छुवाछूत र जातभातका कुरा हटाउनुपर्छ भनेर लागेका थिए । आफ्ना पिताबाटै बलदेवले यो चेतना प्राप्त गरेका थिए ।


२०७० सालको एक दिन बलदेवले सप्तरीको आफ्नै घरमा सुनाएको जीवनकथाअनुसार उनी ७ कक्षा पढ्दा भएको एउटा घटनापछि उनले स्कुल जान छोडिदिए । गाई चराउन गएको कुनै दलित युवाले लठ्ठी हान्दा एउटा गाईको बाच्छी मर्‍यो । त्यो सिनो उठाउन घरबाट किशोर बलदेवलाई खटाइयो । ‘त्यस दिन मलाई लाग्यो— न यो बाच्छी मेरो ? न यसलाई मैले मारेको ? फेरि यसको छाला काढेर मासु लिन मलाई किन पठाइयो ?’


बस, यो प्रश्नको सियोले उनलाई घोचिरह्यो । प्रश्नको सियो कति तिखो हुन्छ भने त्यसले उत्तर पाएन भने मान्छेको मनलाई नै भेदन गरिदिन्छ । बलदेवको मन त्यस दिन चँॅडियो । ‘मलाई यो समाज, व्यवस्था र शिक्षा सबै बेकार हुन् भन्ने लाग्यो,’ बलदेवले सुनाएका थिए, ‘त्यसपछि म जात व्यवस्था र समाज व्यवस्थाबारे बुझ्न थालें ।’


धेरै वर्षको संघर्ष र प्रयासपछि बलदेव र दुखीराम चमारलगायतका उनका साथीहरू सिनो बहिष्कारको सफलतामा आइपुगेका थिए ।


यो आन्दोलनको शक्तिलाई जोगाइराख्ने अर्को चुनौती थियो । त्यसैले बन्यो— दलित जनजाति पार्टी । यस पार्टीका अध्यक्ष विसवेन्द्र पासवान पनि यहींको दलित आन्दोलनका नेता हुन् । उनी केपी ओलीको पहिलो सरकारमा मन्त्रीसमेत बनेका थिए । तर, यो पार्टीले पछिल्ला चुनावहरूमा धेरै राम्रो उपस्थिति देखाउन सकेन ।


‘यो देशमा दलित पछि पर्नुको मुख्य कारण राजनीतिक शक्ति नभएर हो । हाम्रो एउटै बलियो संगठन नभएर हो । जबजब दलितहरू एक ठाउँमा आउन खोज्छन्, दलका नेताहरूले त्यसलाई तोडिहाल्छन्,’ बलदेव गुनासो गर्थे ।


हृदयाघातका कारण २०७४ को साउन १७ गते बलदेव रामको निधन भयो । देशको राजनीति र दलितको अवस्थामा खास सुधार भएको छैन । यसबीचमा एउटा परिवर्तन भने भएको छ । सरकारले भूमिहीन दलितलाई एकपटकका लागि जमिन दिने बताएको छ । यससम्बन्धी कानुन पनि बनेको छ । यसलाई बलदेवले उठाएको एउटा माग पूरा भएको मान्न सकिन्छ । तर, यसको कार्यान्वयन कस्तो हुन्छ हेर्न बाँकी छ ।


सिनो बहिष्कार आन्दोलनको सफलता देशैभरिका दलितहरूलाई तरंगित बनाउने सफलता थियो । यसले एकजुट भएका खण्डमा दलितकै नेतृत्वमा समाज परिवर्तन गर्न सक्ने आन्दोलन हुन सक्छ भन्ने देखाएको थियो र दलित युवाहरूको आत्मविश्वासलाई बढाएको थियो ।


लगत्तै देशमा बढेर गएको माओवादी द्वन्द्वको डढेलो आइपुग्यो । यसको चपेटामा बिस्तारै मधेसका दलितहरू पनि परे । केही यसमा खरबारीको खरझैं डढेर गए त कोही आगलागीपछि पलाएको नयाँ पालुवाझैं पलाए ।


बलदेवका लागि भने यो समय भूमिको अधिकारका लागि लड्ने समय भएर आयो । माओवादीले तराईमा जमिनदारका जग्गामा झन्डा गाडे र नारा दिए— जसको जोत उसको पोत ।


नेपालमा भएका प्रायः सबैजसो भूमि आन्दोलनको एउटै नारा यही हुने गरेको छ । जमिनमा जसले काम गर्छ, हलो जसले जोत्छ, जमिन उसको हुनुपर्छ । २००७ सालदेखि तुलसीलाल अमात्यको नेतृत्वमा रौतहटबाट सुरु भएको किसान आन्दोलन होस् वा सुदूरपश्चिममा भीमदत्त पन्तले सुरु गरेको किसान आन्दोलन सबैको एउटै उद्देश्य थियो— जमिनमा किसानको हक । बलदेवले यसमा एउटा अर्को नारा थपे— सहरमा बसेर गाउँको जमिन कब्जा गर्न पाइँदैन !


‘माटोमा कहिल्यै झरेको छैन । बेलाबेला गाउँ आएर बाली उठाएर सहर लैजाने तर जमिनलाई सम्पत्तिका रूपमा कब्जा गर्ने एउटा वर्ग छ । अर्को वर्ग यस्तो छ जो बाह्रै महिना जमिनमा गडेर बस्छ । वर्ष दिन मिहिनेत गरेर आधा–अँधिया लिएर जहान छोराछोरी पाल्छ । तर त्यो जमिन कहिल्यै उसको हुँदैन । एउटा छाप्रो हालेर बच्चा पाल्नलाई समेत उसको जमिन छैन । त्यो किसानले के अपराध गरेको छ र उसले चाहिँ जमिन नपाउने ? अनि त्यो सहरमा बस्ने धनी मानिसले के पुण्य गरेको छ र जमिन सधैं उसको हुने ? उसका सन्तानले पनि कहिल्यै जमिनमा पाइला हाल्दैनन्, एक छिन जमिनमा आए भने उनीहरूलाई मैलो लाग्छ तर त्यो जमिन सधैं उनीहरूकै हुने ?’ बलदेवले यो प्रश्न छोडेर गएका छन्, ‘के यो माटो धनीमानीले बनाएको हो ? यो उसका पुर्खाले आर्जन गरेको हो ? कि कब्जा गरेको हो ? एउटै जाति र वर्गको कब्जामा रहेको शासन सत्ताले असमान तरिकाले वितरण गरेको होइन ?’


नेपालमा भूमि उत्पादनको साधन मात्र होइन, सामाजिक प्रतिष्ठादेखि धनको आधार पनि जमिन हो । यस्तोमा जमिनमा काम गर्नेलाई नै त्यसको अधिकारबाट वञ्चित गरेपछि तिनको उत्थान कहिले हुन्छ ? यो प्रश्न लिएर बलदेव धेरै चहारे । राजनीतिक दलदेखि सामाजिक अभियन्ताहरूकहाँ पुगे । बलदेव र साथीहरूको पहलमा २०६१ मा भूमि अधिकार मञ्च गठन भयो । बलदेव यसका संस्थापक अध्यक्ष भए ।


भूमि आन्दोलन चलिरहेका बेला देशमा ठूलो राजनीतिक आन्दोलन सुरु भयो । २०६२ मा सुरु भएको जनआन्दोलनमा बलदेव दलित युवाहरूलाई साथ लिएर सहभागी भए ।


लोकतन्त्र, भूमि अधिकार र दलित अधिकारका लागि उनले सप्तरीको राजविराजमा ४ सय दलितहरूको नेतृत्व गरी ४८ घण्टा लामो अनशन बसे । आन्दोलनकै क्रममा उनको नेतृत्वमा झन्डै २० हजार दलितको जुलुस निस्कियो । राजनीतिक आन्दोलनमा यति मानिसको जुलुस निस्किनु सामान्य होला, तर दलित आन्दोलनका हिसाबले यसको ठूलो महत्त्व थियो ।


बलदेवले जीवनमा २४ वटा त मोही मुद्दा भोगे । उनले छुवाछूतविरोधी, ज्याला वृद्धि, हलिया अधिकार र हरूवाचरुवा प्रथाविरुद्ध आन्दोलन चलाए ।


२०७४ साउन १७ गते हृदयाघातका कारण बलदेव रामको निधन भयो । संयोग कस्तो भने, ६५ वर्षअघि अर्का किसान नेता भीमदत्तको पनि साउन १७ गते नै निधन भएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

मधेस राजनीतिका सूत्रधार

तुलानारायण साह

वेदानन्दका बारेमा जान्ने कांग्रेसी, वामपन्थी र मधेसवादी राजनीतिका सक्रिय/निष्क्रिय नेता, राजनीति शास्त्री, बुद्धिजीवी, कूटनीतिज्ञहरूको लामै सूची तयार भयो । करिब एक दर्जनसँग कुराकानी गरियो ।

मधेसका धेरैले वेदानन्द झालाई गद्दार नेताका रुपमा लिन्छन् । कूटनीतिज्ञहरू अत्यन्त प्रभावशाली राजदूतका रूपमा सम्झिन चाहन्छन् । केही राजनीतिशास्त्रीका तर्कमा उनी नेपालमा संघीयताका जनक पनि हुन् ।

बितेका डेढ दशकमा नेपाली राजनीतिमा संघीयताको बहस सघन भएसँगै राजनीतिशास्त्रीका वृत्तमा वेदानन्द झा र तराई कांग्रेस पनि चर्चाका विषय भइआएका छन् । तर, मधेसका कतिपय नेता र बुद्धिजीवी झालाई जस दिन तयार भेटिँदैनन् । ‘तराई कांग्रेसका संस्थापक वेदानन्द नभई उनका दाजु कुलानन्द झा र अर्का नेता बलदेव दास थिए । त्यसकारण चर्चा कुलानन्द र बलदेवहरूको हुनुपर्छ,’ केही मधेसी राजनीतिकर्मीको तर्क हुन्छ ।

वेदानन्द झा र तराई कांग्रेसबारे लिखित दस्तावेज निकै कम उपलब्ध छन् । पुराना दस्तावेज संकलन गर्दा फ्रेडरिक एच. गेजको ‘नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता,’ ग्रीष्मबहादुर देवकोटाको ‘नेपालको राजनीति दर्पण,’ उपेन्द्र यादवको ‘नेपाली जनआन्दोलन और मधेसी मुक्ति का सवाल,’ जयप्रकाश गुप्ताको ‘नेपाल के राजनीतिक आन्दोलन मे मधेसी समुदाय का योगदान’ र रामरिझन यादवको ‘सिरहा के इतिहास’, सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति–२०१८ को प्रतिवेदनजस्ता सीमित पुस्तक मात्र उपलब्ध हुन सके ।
उल्लिखित स्रोतहरूका अनुसार नेपाल तराई कांग्रेसबारे सबैभन्दा पहिला सन् १९५३ मे २ मा प्रकाशित हिन्दुस्तान टाइम्समा उल्लेख थियो । त्यसपछि मे ४ को स्टेटम्यान पत्रिकामा प्रकाशित थियो । ती दुवै अखबारलाई आधार मानेर ‘डेमोक्रेटिक इन्नोभेसन इन नेपाल’ पुस्तकमा तराई कांग्रेसबारे उल्लेख छ । यो पुस्तक भुवनलाल जोशी र लियो इ. रोजले लेखेका हुन् जुन सन् १९६६ मा प्रकाशित भयो । त्यसपछि सन् १९७५ मा प्रकाशित फ्रेडरिक गेजको पुस्तक र सन् २००३ मा प्रकाशित उपेन्द्र यादवको पुस्तकमा पनि अघिल्ला स्रोतहरूलाई आधार बनाएर तराई कांग्रेस र वेदानन्द झाबारे लेखिएका छन् ।

स्रोत सामग्री अध्ययन र पुराना राजनीतिज्ञ खुशीलाल मण्डल, जयप्रकाश गुप्ता, कूटनीतिज्ञ डा. भेषबहादुर थापा, दीपकुमार उपाध्यायलगायतसँग कुराकानी गरेपछि के थाहा भयो भने वेदानन्द झा र तराई कांग्रेसबारे अनेकौं भ्रम छन् जसबारे प्रस्ट हुन बाँकी छ ।

तराई कांग्रेसको वास्तविक नाम नेपाल तराई कांग्रेस (नेतका) थियो । पार्टीका संस्थापक नेताबारे गेज र देवकोटाको पुस्तकमा केही पनि उल्लेख छैन । नेताका रूपमा केवल वेदानन्द झाको नाम उल्लेख छ । स्थापना मिति र संस्थापक अध्यक्षबारे किटानी केही उल्लेख छैन । तर, सन् १९५३ मा प्रकाशित स्टेटम्यान र हिन्दुस्तान टाइम्सका समाचारहरूमा तराई कांग्रेसका नेताका रूपमा वेदानन्द झाको नाम मात्र उल्लेख रहेको गेजको पुस्तकमा छ ।

उपेन्द्र यादव, जेपी गुप्ता, रामरिझन यादवका पुस्तकहरूका आधारमा नेतकाको स्थापना सन् १९५१ (विसं २००८) सालमा कल्याणपुर (हालको सिरहा जिल्ला) मा भएको थियो । स्थापनार्थ आयोजित भेलाको अध्यक्षता बलदेव दासले गरेका भए पनि पार्टीका संस्थापक अध्यक्ष कुलानन्द झा रहेको उल्लेख छ । पुराना राजनीतिज्ञ खुशीलाल मण्डलको भनाइ पनि यस्तै छ ।

२०१३/१४ सालतिर भएको हिन्दी बचाउ आन्दोलनको नेतृत्व नेतकाले गरेको थियो । २०१५ को निर्वाचनमा उक्त पार्टीले एउटा पनि सिट जितेन । सो पार्टी २०१८ सालमा नेपाली कांग्रेसमा विलय भएको ती स्रोतहरूमा उल्लेख छन् ।

वेदानन्द झाको व्यक्तित्वका तिनवटा पाटा छन् । पहिलो, तराई कांग्रेसको नेता हुनुपूर्वको समय, दोस्रो, नेता हुँदा र तेस्रो पञ्चायत प्रवेश गरेपछिको ।

विसं १९७४ मा देउरीपट्टी (हाल सिरहा जिल्लामा पर्छ) मा उनको जन्म हुँदा त्यो गाउँ सप्तरी जिल्लामा पर्थ्यो । बुबा नारायणदत्त झा र आमा सीतादेवी थिए । उनले सीमावर्ती भारतीय सहर जयनगरबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । ‘सिरहा के इतिहास’ पुस्तकमा उल्लेख भएअनुसार उनी उच्च शिक्षाका लागि काठमाडौं जान चाहन्थे तर सरकारले अनुमति दिएन । वीरगन्जबाट फर्केर उनी कोलकाता पुगे । त्यहाँ पत्रकारिताको प्रशिक्षण लिए । उनले पत्रकारका रूपमा आफ्नो करिअर भारतको पटनाबाट सुरु गरे । आर्याव्रत (हिन्दी) र द इन्डियन नेसन (अंग्रेजी) पत्रिकाहरूको संवाददाताका रूपमा लखनउ र पटनामा काम गरे । पछि तिनै पत्रिकाका उपसम्पादकसम्म भए ।

खुशीलाल मण्डलका अनुसार नेतकाका तत्कालीन नेताहरूले वेदानन्दलाई पटनाबाट बोलाएर पार्टीका अध्यक्ष बनाएका थिए । सिरहा के इतिहास पुस्तकका अनुसार वेदानन्द पढे–लेखेका विद्वान् रहेका कारण कुलानन्द झालगायतका नेतकाका नेताहरूले उनलाई आग्रह गरेरै पार्टीका अध्यक्ष बनाएका थिए ।

पत्रकारबाट नेतकाको अध्यक्ष बन्दाको समयबारे आधिकारिक रूपमा उल्लेख भएका दस्तावेज भेटिँदैनन् । तर, उनको कार्यकालमा नेतकाले गरेका कामहरूबारे विभिन्न पत्रपत्रिका र पुस्तकमा उल्लेख छ ।

सन् १९५३ को मे २ र ४ मा क्रमशः हिन्दुस्तान टाइम्स र स्टेटम्यान पत्रिकाले नेतकाको धारणा एवं मागबारे समाचार प्रकाशित गरेका थिए । उपेन्द्र यादव र फ्रेडरिक गेजका पुस्तकमा उल्लेख भएअनुसार नेतकाका मुख्य मागहरूमा तराई स्वशासित हुनुपर्ने, भाषा, भूगोल, सामाजिक एवं आर्थिक आधारमा मुलुकमा कम्तीमा चार राज्यको स्थापना हुनुपर्ने, तराईको भाषा हिन्दीलाई राज्यभाषाको रूपमा दर्जा दिनुपर्ने, सरकारी सेवामा मधेसी समुदायलाई सहभागी गराउनुपर्ने, सुरक्षा निकायमा मधेसी रेजिमेन्ट हुनुपर्ने र सल्लाहकारसभामा मधेसीहरूको उचित प्रतिनिधित्व हुनुपर्ने भन्ने थिए ।

सन् १९५७ को मे २९ मा नेतकाको तेस्रो बैठकबाट तराई क्षेत्रलाई क्षेत्रीय स्वायत्तता दिनुपर्ने माग पारित गरिएको थियो ।
सन् १९५१ नेतकाको स्थापना वर्ष थियो । सन् १९५३ मे मा प्रकाशित समाचारमा वेदानन्दलाई नेतकाका नेता भनिएका आधारमा के भन्न सकिन्छ भने नेतकाको स्थापनाको केही महिनाभित्रै उनी अध्यक्ष भइसकेका थिए र नेतकाले जे जति राजनीतिक धारणा वा निर्णय लिएको थियो, त्यो वेदानन्द झा अध्यक्ष रहेकै बेलाको थियो । नेतकाका ६ वटा राजनीतिक माग अहिले पनि मधेस राजनीतिमा सान्दर्भिक छन् ।

ग्रीष्मबहादुर देवकोटाको पुस्तकका अनुसार २००७ देखि २०१५ सालमा मुलुकको राजनीतिक वृत्तमा केवल तीन मधेसी नाम चर्चामा थिए— भद्रकाली मिश्र, वेदानन्द झा र काशीप्रसाद श्रीवास्तव । यी तीनै जना फरक–फरक पार्टीसँग आबद्ध थिए । मिश्र नेपाल प्रजा परिषद्का नेता थिए । संयुक्त प्रजातान्त्रिक महासभाका महासचिव काशीप्रसाद श्रीवास्तव थिए भने नेतका नेता थिए वेदानन्द ।
२०१३/१४ सालमा सरकारले भाषासम्बन्धमा लिएका केही निर्णय विरुद्ध तराई मधेस क्षेत्रमा हिन्दी बचाउ आन्दोलन भएको थियो । आन्दोलनमा सबै दलका मधेसीहरू सहभागी भएका भए पनि नेतकाले त्यसको नेतृत्व गरेको थियो र आन्दोलनको केन्द्रविन्दु विराटनगर थियो भन्ने दस्तावेजहरूमा पाइन्छ ।

पुस्तकमा उल्लेख भएअनुसार सल्लाहकार सभामा २००९ वैशाख १ गते थप केही सदस्यको मनोनयन गरिँदा कुलानन्द झा पनि परेका थिए तर उनको जिल्ला उल्लेख छैन । २०११ साल वैशाख १ मा फेरि त्यही सल्लाहकारसभामा वेदानन्द झा (सप्तरी) को पनि मनोनयन भएको थियो । ती दुवैपटकको मनोनयन राजा त्रिभुवनले गरेका थिए ।

२०१५ सालको प्रथम निर्वाचनमा देशभर कुल १०९ निर्वाचन क्षेत्र थिए । तीमध्ये सप्तरी जिल्लामा ६ वटा थिए । त्यतिबेला सप्तरी र सिरहा एउटै जिल्ला थियो । क्षेत्र नम्बर ४० (जो हालको सिरहा जिल्लाको पश्चिमी क्षेत्र पर्छ) बाट वेदानन्दले उम्मेदवारी दिएका थिए । उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसबाट माधवबाबु रेग्मी उम्मेदवार थिए । त्यसभन्दा पूर्वको क्षेत्र नं. ३८ र ३९ बाट नेपाली कांग्रेसका सूर्यनाथ दास र देवनाथ दास दाजुभाइ उम्मेदवार थिए । पहिलो चरणको निर्वाचनको मतगणना परिणाम आइसकेपछि मात्रै दोस्रो चरणको हुने व्यवस्था थियो । ३८ र ३९ दुवै क्षेत्रमा नेपाली कांग्र्रेस विजय भइसकेपछि क्षेत्र नं. ४० मा निर्वाचन भएको थियो ।

पुराना राजनीतिज्ञ खुशीलाल मण्डलका अनुसार नेकाले नेतकालाई सुरुदेखि नै साम्प्रदायिक एवं विखण्डनकारीको आरोप लगाउने गर्थ्यो । नेकाका सर्वोच्च नेता बीपी कोइराला नेतका पार्टी र त्यसका नेताहरूबाट खुसी थिएनन् । नेतका स्थापनाअघि कुलानन्द झा नेकामै थिए । २००७/०८ सालतिर नेकाभित्र उनी मधेसी समस्याबारे बहस गर्न खोज्दा पक्राउ परेका थिए । यो प्रसंग जेपी गुप्ताले पनि आफनो पुस्तक ‘नेपाल के राजनैतिक आन्दोलन मे मधेसी समुदाय का योगदान’ मा उल्लेख गरेका छन् । मण्डलका अनुसार, २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले क्षेत्र नं. ४० को निर्वाचनलाई आफनो प्रतिष्ठाको विषय बनाएको थियो । यस पृष्ठभूमिमा वेदानन्द झा र नेतकाको पराजय भएको थियो ।

२०१७ पुस १ मा राजा महेन्द्रले ‘कू’ गरेपछि वेदानन्द पनि पक्राउ परेका थिए । तर, केही महिनामै जेलबाट रिहा भएर उनी पञ्चायत प्रवेश गरे । नेतकाका तत्कालीन महामन्त्री रामजनम तिवारीको अगुवाइमा सीमावर्ती सहर रक्सौलमा पार्टीको बैठक बस्यो । २०१८ सालमा नेकाका कार्यबाहक सभापति सुवर्णशमशेरको आह्वानमा नेतका नेकामा विलय भएर प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा होमिएको थियो ।

आजका मधेसी नेताहरू वेदानन्दको पञ्चायत प्रवेशको त्यो कदमलाई गद्दारी भन्न रुचाउँछन् भने रामजनम तिवारीको नेकामा विलय र संघर्षको लाइनलाई क्रान्तिकारी भन्दा रहेछन् । जेपी गुप्ताका अनुसार त्यतिबेला नेकामा मिसिएका नेतकाका नेताहरूलाई केही वर्षपछि नै नेकाका संस्थापन पक्षले नजरअन्दाज गर्न थालेका अनुभव भएको थियो । २०३२ सालतिर नेतकाको त्यही समूहसँग गजेन्द्रनारायण सिंह पनि मिलेर कांग्रेसभित्र मधेसी गुट बनाएका थिए, जो कालान्तरमा (२०४२ सालतिर) सद्भावना परिषद्को नाममा बाहिरिएर मधेसी राजनीतिलाई नयाँ बाटो दिएका थिए ।

यता वेदानन्द झा पञ्चायतभित्र अनेकौं मन्त्रालयका मन्त्री हुँदै २०३५ सालमा भारतका लागि नेपाली राजदूत भएका थिए । नेपालमा उनी मन्त्री हुँदा डा. भेषबहादुर थापा सरकारका सचिव थिए । झा राजदूत हुँदा सचिवका रूपमा थापा धेरैपटक डेलिगेसनका सदस्य भएर भारत जानुपरेको थियो । पछि थापा पनि भारतका लागि राजदूत भएका थिए । यो लेख लेख्ने क्रममा भएको भेटमा थापाले भनेका थिए, ‘मेरा विचारमा अहिलेसम्म भारतका लागि नेपाली राजदूतहरूमध्ये वेदाबाबु सबैभन्दा प्रभावशाली हुनुहुन्थ्यो । दिल्लीको कूटनीति, राजनीति, प्रशासनिकका साथै पत्रकारिता जगत्मा पनि उहाँलाई अत्यन्त आदरपूर्वक हेरिन्थ्यो । दिल्लीमा सबैतिर उच्च सम्मानका साथ स्वीकार्यता थियो ।’ लगभग त्यस्तै धारणा पूर्वराजदूत दीपकुमार उपाध्यायको पनि छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×