कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किरात इतिहासका अध्येता 

सेन्छेलुङ पतङवा

प्राचीनकालको काठमाडौं उपत्यकामा दुई हजार वर्ष हाराहारी राज्य गर्ने शासक किरातहरूको इतिहास लुप्त भइरहेका बेला सन् १९४८ मा सिक्किमबाट एउटा पुस्तक प्रकाशित भयो– ‘किरात इतिहास’ ।

किरात इतिहासका अध्येता 

पुस्तकले किरातहरूको इतिहास र विस्तृत विवरण प्रकाश पारेको थियो । पुस्तकमा क्रमबद्ध एवं व्यवस्थित ढंगले पहिलोपटक किरात इतिहास प्रस्तुत गरिएको थियो । यसरी नेपाली इतिहासको अज्ञात कालखण्ड उत्खनन गरेर किरात इतिहासलाई मूलधारमा ल्याइदिने व्यक्तित्व थिए इमानसिंह चेम्जोङ ।


विद्वान्हरूका भनाइमा लुप्त किरात इतिहास, भाषा, संस्कृति र सभ्यताका तथ्यलाई सतहमा ल्याएर इमानसिंहले नेपाली इतिहासलाई पूर्ण बनाउन महत्त्वपूर्ण भूमिका खेले । इतिहास लेखनमा उनले पुर्‍याएको देनबारे इतिहासकार प्रा. दिनेशराज पन्तले लेखेका छन्, ‘भाषावंशावलीमा पृथ्वीनारायण शाहले पश्चिमतिर गरेको आक्रमणको बयान केही लामै छ, तर पूर्वविजयको बयान भने एक वाक्यमै सिध्याइएको छ । हामीले भाषावंशावलीको सम्पादन गर्दा तात्कालिक प्रमाणहरूसाग दाँज्ने, दाँज्दाखेरी फरक पर्‍यो भने त्यसको खण्डन गर्ने अथवा त्यसको पुष्टि भयो भने त्यसको उल्लेख गर्ने पनि गरेका थियौँ । त्यसैले पूर्वविजयको विस्तृत वर्णन इमानसिंह चेम्जोङको किरात इतिहासबाट झिकी आफ्नो पुस्तकमा हामीले राख्यौँ ।’


इमानसिंहले किरात इतिहाससँगै लिम्बू (सिरिजङ्गा) लिपिको पुनरुत्थान, व्याकरण, लोक साहित्य, दर्शन, संस्कृति, मुन्धुमलगायतका बृहत् क्षेत्रमा अध्ययन/अनुसन्धान गरेका छन् । उनको अध्ययन लिम्बू जातिमा केन्द्रित थियो । तर, उनीअघि नेपालका जातजातिको अध्ययनतर्फ नेपाली अध्येताहरूको खासै ध्यान पुगेको थिएन ।


नेपालका जातजातिबारे अध्ययन गर्ने पहिलो नेपाली अध्येता उनी नै हुन् भन्न सकिन्छ ।


हुन त, उनीअघि केही विदेशी विद्वान्हरूले पनि नेपालका जातजातिबारे अध्ययन/अनुसन्धान गरेका थिए । तर, नेपाली समाजको विशेषता नेपालीहरूले नै बुझ्नुपर्छ/बुझाउनुपर्छ भन्ने बुझाइबाट इमानसिंहले बृहत् काम गरेको देखिन्छ । आफ्नो समुदाय/जातिका विषयमा त्यही समुदाय/जातिका व्यक्तिले गरेको अध्ययन ‘बढी अथेन्टिक’ हुने भएकाले उनले लिम्बू जातिका विविध पक्षमा अध्ययन गरेका छन् । त्यस हिसाबले उनी लिम्बू जातिका ‘अथेन्टिक’ अध्येता हुन् । उनका कृतिहरूबाट देश तथा विदेशका मानवशास्त्री, समाजशास्त्री, इतिहासकार, पुरातत्त्वविद्, भाषाशास्त्री तथा विभिन्न विधाका विद्वान्हरूले लाभ उठाएका छन् ।


उनका किरात साहित्यको इतिहास (सन् १९५६), किरात मुन्धुम (किरातको वेद) (सन् १९६१), किरात मुन्धुम खा?हुन (शिक्षा) (सन् १९६५), किराती दन्त्य–कथा (सन् १९६५), हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल (सन् १९६७), किरात दर्शनको सारांश (सन् १९६९), किरात व्याकरण (सन् १९७०), किरातकालीन विजयपुरको संक्षिप्त इतिहास (सन् १९७४) लगायत दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । किरातअन्तर्गत राई–लिम्बूलगायत सीमित जातिलाई मात्र राखेर गरिँदै आएको व्याख्यालाई इमानसिंहले विराट् क्यानभासमा चित्रित गरे । उनले मंगोल नस्लका सबै जातिलाई किरात मानेर गहिरो खोज अनुसन्धान गरे । खास गरेर किरात जातिविशेष भन्दा पनि त्यसलाई सभ्यताको रूप दिने काम उनले गरे । पछि यो राजनीतिक रूपले महत्त्वपूर्ण भयो ।


राज्यद्वारा लखेटिएर कालिम्पोङमा बसोबास गरिरहेको परिवारमा इमानसिंह जन्मिए । पाँचथरको तुम्बुङ (आङसराङ) पुर्ख्यौली थलो भएका चेम्जोङ परिवार त्यहाँबाट कसरी लखेटियो भन्ने प्रशंग उनी आफैंले लेखेका छन् । श्री ३ तथा प्रधानमन्त्री जंगबहादुर राणाबाट इमानसिंहका बाजे पान्थरसिंह भैरव दल गणमा नियुक्त गरिएका थिए । पान्थरसिंहलाई आगे सुभा बनाएर पाँचथर पठाइयो । तर, वीरशमशेरले सत्ताको बागडोर सम्हालेपछि जंगबहादुर पक्षका सुभाहरूलाई मृत्युदण्ड दिने आदेश दिइयो । त्यसपछि पान्थरसिंह पनि अरू सुभाहरूजस्तै गरी नेपालबाट लखेटिए । उनी दार्जिलिङ गए । पछि उनको परिवार कालिम्पोङ दूरपिनडाँडामा सर्‍यो । त्यही इमानसिंहको जन्म भयो । उनले कालिम्पोङको स्कटिस युनिभर्सिटिज मिसन इन्टिच्युटसनबाट स्कुले शिक्षा पूरा गरे । कलकत्ताको द स्कटिस चर्च कलेजमा बीए पढ्दापढ्दै फर्किएका उनले दार्जिलिङ र सिक्किमका विभिन्न ठाउँमा अध्यापन गरे ।


उनी आफ्नो पितृथलो नेपाल फर्किंदासम्म आफ्ना बाजे राज्यद्वारा लखेटिँदाताकाका थिति फेरिएका थिए । नेपालमा प्रजातन्त्र प्रादुर्भाव भइसकेको थियो । त्यसलाई उनले तत्कालीन पछौटे समाजमा शैक्षिक, सामाजिक सुधारसँगै राजनीतिक चेतना फैलाउने अवसरका रूपमा आत्मसात् गरे । उनकै अगुवाइमा विसं. २००९ भदौमा ‘लिम्बूवान सुधार संघ’ गठन भयो । सुधार संघका योजनाकार, वैचारिक, राजनीतिक र सांगठनिक नेता इमानसिंह थिए ।


सुधार संघमार्फत उनले प्रान्तीय स्वायत्तताको माग उठाएका थिए । सुधार संघको वक्तव्यमा भनिएको छ, ‘हामीले मागेको प्रदेशको स्वायत्तता प्रजातान्त्रिक विकेन्द्रीकरणको अनुरूप सबै सरकारी शासन यन्त्रहरूको सुव्यवस्था गरी वैज्ञानिक, ऐतिहासिक, आर्थिक औ भौगोलिक गुणानुसार पुनः गठन गरिने प्रान्तको सिद्धान्तका आधारमा छ । हामीले प्रान्तीय स्वायत्तता आन्तरिक प्रशासन–व्यवस्थामा मात्र मागेका छौं र यातायात, सञ्चार, रक्षा र परराष्ट्रसम्बन्धी कामहरू केन्द्रमै सुम्पेका छौं ।’


उनले त्यसबखत सहकारी बैंक, अस्पताल, स्कुल, बिजुली, सिँचाइ निर्माणका लागि योजना बनाए । त्यसको स्पष्ट खाका तयार पारेर काठमाडौं सरकारलाई बुझाए । तर, सरकारको स्वीकृति र साथ बिना सम्भव नहुने ती योजना योजनामै सीमित रहे । काठमाडौंका मन्त्रालय–विभाग धाएर पेस गरेका उनका ती योजना त्यत्तिकै तुहाइएको कुरा प्राप्त दस्तावेजले देखाउँछन् ।


इमानसिंहले अघि सारेको प्रान्तीय अवधारणामा चार वटा तहको प्रारुप छ । गाउँ, जिल्ला, प्रान्त र केन्द्र । ‘गाउँ वा जिल्ला वा प्रान्त बलियो बने केन्द्र (देश) बलियो हुन्छ । देशको गौरव र जनताको उन्नति हुन्छ,’ उनले लेखेका छन् । अंग्रेजले छाडेर गएपछि स–साना राज्यलाई विलय गराई जसरी प्रान्तको स्वायत्तताले बलियो भारत निर्माण भयो, त्यसरी नै नेपालमा पनि प्रान्तीय स्वायत्तताले देश बलियो र समृद्ध बन्छ भन्ने बुझेर इमानसिंहले त्यो अवधारणा अघि सारेको देखिन्छ ।


इमानसिंहले त्यति बेला लिम्बू र गैरलिम्बूबीच सेतुको काम गरेका थिए । २००७ सालको क्रान्तिपछि लिम्बूवानका केही ठाउँमा गैरलिम्बू जातिमाथि भएका आक्रमण र लुटपाटका क्रियाकलापले राज्यमाथि पनि संशय कायम राखिदिएको थियो । तर, लिम्बूवान सुधार संघको काम, उद्देश्य र गतिविधिले त्यो संशयलाई मत्थर पार्न ठूलो मद्दत पुग्यो । सुधार संघको क्रियाशीलताले अभियानको स्वरूप ग्रहण गरेकाले पनि राज्यलाई सशंकित पार्ने क्रियाकलाप मत्थर भएको थियो । त्यसबेला सुधार संघलाई ‘साम्प्रदायिकता’ को आरोप पनि लाग्यो । तर, संघको केन्द्रीय नेतृत्व र इकाई कमिटीहरूमा समेत गैरलिम्बू जातिका व्यक्तिलाई समेत चुनेर उनले त्यो आरोपलाई झूटो सावित गराए । उनले समावेशीकरणको राम्रो उदाहरण पेस गरेको भनेर अहिले पनि दृष्टान्त दिने गरिन्छ ।


अहिंसात्मक सिद्धान्तका पक्षपाती इमानसिंहको तत्कालीन राजनीतिक प्रयोग, प्रस्थापना र अवधारणालाई हेर्ने हो भने उनी दूरदर्शी राजनीतिज्ञ थिए भन्ने बुझिन्छ ।


ती राजनीतिज्ञ इमानसिंहलाई आफ्ना कुरा त्यहीँका बासिन्दाबाट अनुमोदन गराउने संयोग त्यही सेरोफेरोमा प्राप्त भयो । संयोग थियो २०१५ सालको आमनिर्वाचन । लिम्बूवान सुधार संघले मागका हिसाबमा राजनीतिक भाव बोके पनि त्यो सामाजिक संगठन मात्र थियो । इमानसिंहलाई चुनाव लड्न राजनीतिक पार्टी चाहिएको थियो । तर, कांग्रेसले उनलाई टिकट दिएन । उनी नेपाल प्रजातान्त्रिक महासभा पार्टीबाट चुनाव लडे । चुनावी टिकट वितरणका लागि त्यसबेला पाँचथर पुगेका बीपी कोइरालाले आफ्नो ‘आत्मवृत्तान्त’ मा भनेका छन्, ‘लिम्बूआनमा लिम्बूले टिकट पाउने, अर्कोमा अर्को जातिले पाउने भन्ने कुरा मलाई पसन्द थिएन । ...त्यहाँ मैले गणेश रिजाललाई त्यो टिकट दिएँ । अत्यधिक बहुमतका साथ तिनी जिते । तिनको विरुद्धमा उभ्भिएको लिम्बू हार्‍यो ।’ बीपीले हारे भनेका लिम्बू इमानसिंह चेम्जोङ नै थिए ।


इमानसिंहले समाजको सूक्ष्म अध्ययन गरेका थिए । त्यस क्रममा उनले इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङका सबैजसो गाउँमा पुगेको उल्लेख गरेका छन् । अनुसन्धानका सिलसिलामा संखुवासभा, खोटाङ र भोजपुरका गाउँ टेकेका थिए । त्यसरी गाउँगाउँ पुगेर त्यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक अवस्थाबारे ‘ग्राउन्ड’ का मानिसहरूसँग संवाद गरेका थिए ।


यस क्रममा उनले ‘तत्काललाई शिक्षाको खाँचो छ’ भन्ने ठम्याए । त्यसैले उनले आफ्नो भाषा, साहित्य, दर्शन, संस्कृतिका विषयमा समय खर्चिए पनि ‘शिक्षामा जोड गरौं’ भनेर आफन्त, अनुयायीलगायतलाई लामालामा चिठी लेखेका थिए ।


ग्राउन्डका कुरा महत्त्वपूर्ण छन् भन्ने उनलाई लागेको थियो । त्यसैले उनले लोकका कुरा सोधखोज, संकलन र सम्पादन गरेर प्रकाशन गरे । उनले लोकमै चलेको कुरालाई ‘किराती दन्त्य–कथा’ का रूपमा पुस्तकको आकार दिए । व्यक्ति–व्यक्तिहरूबाट टिपोट गरेका शब्द र अर्थलाई पछि उनले ‘लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश’ र ‘लाप्चा–नेपाली–अंग्रेजी शब्दकोश’ को रूप दिए । उनले संकलन गरेको ‘बान्तवा राई शब्दकोश’ अप्रकाशित रूपमा सुरक्षित छ । उनले गाउँगाउँमा पुगेर संकलन गरेका मुन्धुमलाई ‘किरात मुन्धुम खा?हुन’ र ‘किरात मुन्धुम’ का रूपमा प्रकाशित गरे । इमानसिंहले किरात मुन्धुमलाई लेख्य परम्परामा ढाले र त्यसलाई खस नेपाली र अंग्रेजीमा अनुवाद गरी अरू अध्येतालाई सहज बनाइदिए ।


मुन्धुमभित्रका जटिल शब्दहरूको सरल व्याख्या गरिदिँदै उनले यसलाई वैज्ञानिक बनाए । मुन्धुम संस्कार गर्दा फलाकिने भाषा मात्र होइन, बरु यो ‘गम्भीर भाष्यसहितको दर्शन हो’ भनेर स्थापित गरे ।


उनले पहिलोपटक लिम्बू भाषाका पाठ्यपुस्तकदेखि व्याकरणसम्म लेखिदिएर लिम्बू जातिबारे बुझ्न चाहनेलाई सजिलो पारिदिए । लेखनका अधिकांश काम उनले त्रिभुवन विश्वविद्यालयमा ‘किरात भाषा तथा संस्कृति विशेषज्ञ’ का रूपमा कार्यरत रहँदाताका (विसं.२०१८–२०३२) गरेका थिए । उनले गरेका तिनै कामका कारण यसबारेका अध्ययन/अनुसन्धानकर्तालाई सजिलो भएको छ ।


इमानसिंहले पुर्‍याएको योगदानबाट राज्यलाई महत्त्वपूर्ण टेवा पुगेको छ । उनले लिम्बू जातिको जीवनपद्धति, सांस्कृतिक चेत, दर्शन, राजनीतिक, भाषिक तथा सामाजिक अवस्थालाई उजागर गरिदिए । त्यो राज्यका लागि समेत ठूलो पुँजी हो । त्यसबेला सामरिक हिसाबले संवेदनशील लिम्बूवानका बासिन्दाका बारेमा बृहत् खोज तथा अनुसन्धान गरिदिनाले राज्यलाई महत्त्वपूर्ण जानकारी सहज रूपमा प्राप्त भएको थियो ।


इमानसिंहले नेपाली समाज, राज्य र आफ्नो समुदायलाई पुर्‍याएको योगदानलाई हेर्ने हो भने उनी विभूति भनिन उपयुक्त व्यक्तित्व हुन् । राज्य, नेपाली समाज र किरात समुदाय इमानसिंह चेम्जोङले पुर्‍याएको योगदानप्रति कृतज्ञ हुन जरुरी छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?