कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

शुद्ध इतिहासका अभियन्ता

वैज्ञानिक शोधविधि अनुसरण गरेकाले र प्रकाशित सामग्रीको तथ्यपरकता जाँच्ने संशोधन विधिलाई आन्दोलनको रुप दिन सकेकाले इतिहास लेखन परम्परामा नयराजको स्थान विशिष्ट छ ।
सुजित मैनाली

पहिलो छिमलका नेपाली इतिहासकारमध्ये पर्छन्– नयराज पन्त (१९७०–२०५९) । उमेरका हिसाबले उनीभन्दा पाका बाबुराम आचार्य र सूर्यविक्रम ज्ञवालीदेखि उनीभन्दा कनिष्ठ योगी नरहरिनाथ र ईश्वर बरालसम्मले इतिहासका मूल सामग्रीहरूको खोजी, परिशीलन र प्रकाशनमा यथेष्ट योगदान गरेका छन् ।

शुद्ध इतिहासका अभियन्ता

हुन त नेपाली इतिहास लेखनतर्फ स्वदेशी विद्वान्हरू अग्रसर हुनुअगावै कर्कप्याट्रिक, फ्रान्सिस बुखानन ह्यामिल्टन, हेनरी एम्ब्रोस ओल्डफिल्ड, डेनियल राइट, भगवानलाल इन्द्रजी, सेसिल बेन्डल, सिल्भा लेभीलगायत विदेशीले यस क्षेत्रमा महत्त्वपूर्ण काम गरेका थिए । तर सन्दर्भसामग्री पर्गेलेर निष्कर्ष निकाल्ने वैज्ञानिक शोधविधि अनुसरण गरेकाले र प्रकाशित सामग्रीको तथ्यपरकता जाँच्ने संशोधन विधिलाई आन्दोलनको रूप दिन सकेकाले इतिहास लेखन परम्परामा नयराजको स्थान विशिष्ट छ ।


किशोरवय नटेक्दै नयराज इतिहासप्रति आकर्षित भइसकेका थिए । उनी डेढ वर्षको छँदै बाबु बिते । मावलपट्टिका हजुरबुबा भुवननाथ पाँडेबाट इतिहासका प्रसंग सुन्दै उनी मावलमै हुर्किए । भुवननाथले जंगबहादुरलगायतका सभा देखेका थिए । इतिहासमा घटेका घातप्रतिघातका शृंखलाबारे पनि उनी अवगत थिए । हजुरबुबाका कुरा सुन्दै जाँदा नयराजमा इतिहासप्रति अभिरुचि झाँगियो । ‘दस वर्षको उमेरमा राजा द्रव्य शाहदेखि त्रिभुवनसम्मका गोरखाली राजवंशको क्रमपूर्वकको नामावली मलाई कण्ठस्त भइसकेको थियो । बहादुर शाह, दामोदर पाँडे, भीमसेन थापा, माथवरसिंह थापा, जंगबहादुरहरू मेरा परिचित व्यक्ति भइसकेका थिए । यसै बेला मेरो मनमा आज काजी छन् त भोलि पाजी हुँदा रहेछन् भनी एक प्रकारको भय उत्पन्न भएको थियो,’ अतीतको लेखाजोखा गर्ने क्रममा उनले लेखेका छन् ।


नयराजले आफ्ना लेखरचनालाई पश्चिमी मुलुकतिर अभ्यास हुने वैज्ञानिक शोधविधि उपयोग गरेर समृद्ध तुल्याए । भारतको वनारसस्थित काशीका राजकीय संस्कृत पाठशालाबाट ज्योतिष विषयमा आचार्य गर्दैगर्दा पश्चिमी शोधविधिबारे उनी जानकार भएका थिए । सो पाठशालाको मुख्य उद्देश्य बेलायतीहरूलाई संस्कृत भाषा र भारतीय संस्कृतिबारे प्रशिक्षित गर्नु थियो । त्यहाँ पढ्दै गर्दा नयराजलाई पश्चिमी ढाँचाको शिक्षा प्रणालीको सीमा साँघुरो रहेछ र यो प्रणालीबाट विद्यार्थीको बुद्धि खासै बढ्न नसक्ने रहेछ भन्ने महसुस भयो । पाठशालाले प्रशिक्षार्थीलाई बाँड्ने प्रश्नपत्रमै गल्ती भेट्न सक्ने गरी विद्या अभ्यास गरिसकेपछि प्रचलित शिक्षण प्रणालीको विकल्प नखोजीकन भारतीय उपमहाद्वीपमा बौद्धिक पुनर्जागरण ल्याउन सम्भव रहेनछ भन्ने उनको मान्यता अझ दृढ बन्यो ।


प्राचीन ग्रिक र ल्याटिन भाषाको गहन अन्वेषणमार्फत युरोपमा बौद्धिक पुनर्जागरण भएको घटनाबाट नयराज प्रभावित थिए । नेपालसहित समग्र दक्षिण एसियामा बौद्धिक पुनर्जागरणको लहर ल्याउन प्राचीन संस्कृत भाषाको गहन अध्ययन र परिशीलन हुनुपर्छ भन्नेमा उनी विश्वस्त थिए । यही विश्वासका आधारमा नेपाल फर्किएर उनले प्राचीन भारतीय पठनशैलीको अभ्यास हुने पाठशाला खोले । ३३ नम्बर मात्रै ल्याउँदा पनि पास भइने पश्चिमी मुलुकबाट प्रभावित प्रचलित ढाँचाको शिक्षालाई पाठशालाले त्रिखण्डी शिक्षाको दर्जा दियो र विद्यार्थीले आफ्नो विषयमा पूर्ण दख्खल हासिल गर्नुपर्ने सिद्धान्त लागू गर्‍यो । शिक्षालयले विद्यार्थी उत्तीर्ण भएको प्रमाणपत्र दिने प्रचलनलाई पनि पाठशालाले अस्वीकार गर्‍यो । प्रमाणपत्र पाएकै भरमा कोही पनि आजीवन विद्वान् कहलिन सक्दैन, विद्वान् बनिरहन शास्त्रहरूलाई पनि निरन्तर तिखारिरहनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरेर पाठशालाले शैक्षिक प्रमाणपत्र वितरण गर्ने अवधारणाप्रति विमति जनायो । पाठशालाबाट स्नातक गरेका विद्यार्थीले समेत पढेका विद्या विस्मृत हुन नदिन अनुशासनमा रहेर दिनहुँ शास्त्रहरूको अभ्यास गर्नुपर्ने नियम बसालियो ।


संस्कृत भाषामा आधारित विद्याको पुनर्जागरण गर्न स्थापना गरिएको त्यही पाठशालालाई नयराजले इतिहास अन्वेषणको एउटा दरिलो किल्ला बनाए । विदेशीहरूले नेपाली इतिहासबारे लेखेका कुरामा तथ्यगत त्रुटि र परस्पर बाझिएका विवरण देखेका उनको मनमा त्यस्ता लेखनप्रति श्रद्धा घट्दै गएको थियो । लेखिएका सबै कुरा सत्य हुँदैनन् र असत्य कुराबाट पाठकलाई दिग्भ्रमित बन्न दिनु हुँदैन भन्ने महसुस उनलाई भयो । अनि उनले इतिहास अध्ययनका लागि क्षमता अभिवृद्धि गर्ने विषय पाठशालाको पाठ्यक्रममा समावेश गरे । त्यसकै आधारमा विद्यार्थीलाई प्रशिक्षित गर्न थाले । प्रशिक्षणबाट खारिएका विद्यार्थीलाई इतिहास संशोधनका काममा परिचालन गरेर उनले इतिहास लेखन परम्परामा सार्थक हस्तक्षेप गरे ।


इतिहास संशोधन गर्ने कला पनि नयराजले हजुरबुबा भुवननाथबाट सानो छँदै सिकेका थिए । यसबारे उनले लेखेका छन्, ‘यिनैताका श्री ५ पृथ्वीनारायण शाहका जेठा छोराको नाम प्रतापसिंह हो वा सिंहप्रताप हो भन्ने विषयमा मेरा मातामहले विचार गर्न लाग्नुभयो । त्यसका लागि उहाँले लालमोहर, तामापत्र, टकहरू हेर्न थाल्नुभयो । त्यही प्रसंगमा वसन्तपुरको शिलालेख उहाँको आँखामा परेछ । पुरश्चर्यार्णव नामक पुस्तक पनि उहाँ बारम्बार हेर्नुहुन्थ्यो । यी सबबाट उहाँले शुद्ध नाम प्रतापसिंह भनी निर्णय गर्नुभयो, यसबाट पुराना पुस्तक, टक, तामापत्र, शिलापत्र, लालमोहरहरूबाट पुराना कुरा ठीकसँग पत्ता पाइँदा रहेछन् भन्ने कुरा मेरो मनमा जम्यो ।’


नेपालका विगतका विवरण विभिन्न प्राचीन ग्रन्थ, अभिलेख, टक, ताम्रपत्र, लालमोहर आदिमा पाइन्छन् । तीमध्ये इतिहासका सुदूर विवरण संस्कृत भाषामा मात्र उपलब्ध छन् । त्यस्ता ऐतिहासिक सन्दर्भ–सामग्रीबाट विवरण ठीकसँग टिप्न संस्कृत भाषामा बलियो पकड हुनु अनिवार्य छ भन्ने निश्चय गरेर उनले आफ्ना शिष्यहरूलाई संस्कृत भाषाको कठोर प्रशिक्षण दिए । संस्कृत भाषामा सहजसँग व्यवहार चलाउन सक्ने गरी योग्य भएपछि शिष्यहरूलाई प्राचीन लिपि पढाए । नयराजले ज्योतिष र गणित विषयको औपचारिक शिक्षा लिएका थिए । यी विषयलाई पनि पाठशालाको पाठ्यक्रममा सेमेटेर ऐतिहासिक दस्तावेज अथवा विवरणको कालनिरूपण गर्न सक्ने गरी प्राचीन समयमा प्रचलित सम्वत्सम्बन्धी प्रशिक्षण दिए ।


वेदांगज्यौतिषअनुसार नेपाली इतिहासको कालनिर्धारण गर्न सक्ने दुर्लभ क्षमता नयराजमा थियो । अन्य इतिहासकारभन्दा उनलाई विशिष्ट मान्नुपर्ने अर्को कारण यो पनि हो । विगतमा प्रचलित नेवार र खस भाषाको लेख्य रूप तथा तिनको अर्थ बुझ्न सक्ने क्षमता हासिल गर्न पनि नयराजले शिष्यहरूलाई प्रशिक्षण तथा प्रेरणा दिए । यस्ता यावत् विषयमा पोख्त हुँदै गएपछि शिष्यहरूलाई दुइटा काममा एकसाथ परिचालन गरे । पहिलो, इतिहासका सामग्री खोजबिन गरी प्रकाशन गर्ने । दोस्रो, पूर्वप्रकाशित इतिहाससम्बन्धी सामग्रीमा भएका तथ्यगत त्रुटि औंल्याउने ।


पूर्वप्रकाशित सामग्रीमा रहेका तथ्यगत त्रुटि औंल्याउन विद्यार्थीलाई साथ लिएर उनले ‘इतिहास–संशोधन’ शीर्षकमा शृंखलाबद्ध रूपमा पर्चा छाप्न थाले । ‘व्याकरण–संशोधन’ र ‘पञ्चाङ्ग–संशोधन’ का शृंखला पनि छापे । ‘विद्या–रक्षा’, ‘सावधान–पत्र’ र ‘अभिलेख–संग्रह’ शीर्षकमा उनले प्रकाशन गराएका सामग्रीमा पनि पूर्वप्रकाशित सामग्रीमा भएका त्रुटि र इतिहासका नयाँ सन्दर्भ सामग्री छापिन थाले । यस्तो खालको बौद्धिक हस्तक्षेपलाई निरन्तर अघि बढाउँदै जाँदा उनी र उनका शिष्यहरू इतिहास संशोधकका रूपमा कहलिए ।


अन्ततः नयराजले २०१८ सालमा विधिवत् रूपमा ‘संशोधन–मण्डल’ स्थापना गरेर इतिहाससम्बन्धी अनुसन्धानलाई अझ व्यवस्थित बनाए । उनका दुई शिष्य गौतमवज्र वज्राचार्य र महेशराज पन्तको संयुक्त सम्पादनमा संशोधन–मण्डलबाट ‘पूर्णिमा’ नामक जर्नल प्रकाशन हुन थाल्यो । उक्त जर्नल नेपाली इतिहासको गहन अध्ययन गर्न चाहनेहरूका लागि अपरिहार्य सन्दर्भ–सामग्री बन्न गयो ।


नयराजले स्थापना गरेको संशोधन–मण्डल आज दुई सदस्य (महेशराज र दिनेशराज, जो नयराजका पुत्रसमेत हुन्) मा खुम्चिएको छ । तर उनी स्वयं र संशोधन मण्डलबाट दीक्षित उनका विद्वान् शिष्यहरू (धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, शंकरमान राजवंशी, गौतमवज्र वज्राचार्य, महेशराज पन्त आदि) ले इतिहास, संस्कृति, ज्यौतिष, गणितलगायत विधामा गरेका महत्त्वपूर्ण कामले उनीहरूलाई नेपालको पुराविद्यामा अविस्मरणीय बनाएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?