मलाई सानैदेखि नाच्न, गाउन असाध्यै मनपर्ने । त्यसैले देउसी भैलोमा मेरो नाम कहिल्यै छुट्दैन थियो । अब, भट्याउने काम त एकछिन हो । त्यसपछि त नाचगान नै हो । रिमालाई लिएर गएपछि नाचगान हुन्छ, पैसा पनि आउँछ भनेर सबै समूहले लिएर जानुहुन्थ्यो ।
What you should know
काठमाडौँ — तिहारसँग जोडिएका थुप्रै याद छन् । त्यसमध्ये सुरुमै आउने सम्झना होस्टेलमा तिहार मनाउँदाको हो । म नर्सरीदेखि १० सम्म पढ्दा होस्टेलमै बसेँ । भाइटीकाको दिन होस्टेलमा हामीले यति धेरै भाइहरूका लागि मण्डप बनाउनुपर्ने पर्थ्यो कि त्यो हेर्दै आनन्द आउँथ्यो । होस्टेलको त्यो ठूलो समूहमा बसेर तिहार मनाएको एकदम याद आउँछ ।
धार्मिक हिसाबले मेरो परिवारमा 'मिक्स रिलिजन' छ । एउटा परिवार क्रिश्चियन हुनुहुन्छ, अर्को समूह हिन्दू । त्यसैले तिहारको सबै तयारी मैले आफैं गर्नुपर्छ । त्यसैले मेरा लागि तिहार एकदमै फरक हुन्छ । हाम्रो परिवार पनि एकदम ठूलो छ । अनि देउसी भैलो खेल्नचाहिँ हामी आफ्नै घरको वरपर जान्छौं । संस्कृतिलाई निरन्तरता दिन परिवारको केही सदस्य मिलेर हामी देउसी भैलो खेल्न गइरहेका हुन्छौं ।
मलाई सानैदेखि नाच्न, गाउन असाध्यै मनपर्ने । त्यसैले देउसी भैलोमा मेरो नाम कहिल्यै छुट्दैन थियो । अब, भट्याउने काम त एकछिन हो । त्यसपछि त नाचगान नै हो । रिमालाई लिएर गएपछि नाचगान हुन्छ, पैसा पनि आउँछ भनेर सबै समूहले लिएर जानुहुन्थ्यो । मलाई मण्डप बनाउन पनि एकदम मनपर्ने, त्यसैले त्यो बनाउने मौका पनि पाउँथेँ ।
खासमा होस्टेलमा जुनियर क्लासको विद्यार्थी रातमा निस्कन पाउँदैन थिए । तर, देउसी भैलो खेल्नेमा मेरो पनि सधैं नाम हुन्थ्यो । मेरै अरू साथीहरू सँगै जान पाउँथेनन् । नाच्न गाउने भएपछि सानै भए पनि दिदी दाइसँग जान पाउने भएँ । त्यसमा फेरि मैले भाग पनि पाउँथेँ । अनि कक्षामा म मेरो साथीहरूलाई धाक लाउँथे ।
मेरो आफ्नै भाइ क्रिश्चियन छ । उसलाई टीका लगाइदिँदिनँ । अरु भाइहरू पनि हुनुहुन्छ, उहाँहरूलाई भाइटीका लगाइदिने गरेकी छु । तिहारका बेलामा बत्ती बाल्दा हामी लहरै बसेर दियो बत्ती बाल्थ्यौं, होस्टेलमा हुँदा । एक जनाले लहरै दियो राख्दै जाने, अर्कोले तेल हाल्दै आउने । अनि फेरि त्यसलाई बाल्दै जाने । क्या मज्जा हुन्थ्यो । 
सानो हुँदा त देउसी भैलोमा नाचिन्थ्यो मात्र, भट्याउने काम गरिएन । तर, ठूलो भएपछि घरमै भएका साना भाइबहिनीलाई आफ्नो संस्कृति नभुलोस् भनेर देउसी, भैलो खेल्न हौसला दिने गरेको छु । आफैंले लेखेर भए पनि के-के भट्याउने भनेर निर्देशन पनि दिने गर्छु ।
पहिलाको तुलनामा अहिले दिल खोलेर नाच्द पाइँदैन । पहिला त मज्जाले नाच्न पाइन्थ्यो । अहिले त कसैले देख्ने बित्तिकै चिनिहाल्नुहुन्छ । अनि त्यस्तो बेला चुपचाप बस्ने कि नाच्ने भन्ने कुरामै दुविधा हुन्छ । त्यति मात्रै फरक परेको छ अहिले । बच्चा बेला तिहारमा रमाइलो गर्ने मात्रै भागमा पर्थ्यो । तर, ठूलो भएपछि घरको जेठोबाठो आफैं भएपछि आफूले सिक्नु पनि पर्ने अनि आफूभन्दा सानालाई सिकाउनु पनि पर्ने भएकाले जिम्मेवारी झन् थप भएको अनुभव छ ।
यसपालि देशमा जे भयो, त्यस कारणले गर्दा दसैं अलि खल्लो भयो । पहिलाको जस्तो रमाइलो भएन, उत्साह भएन । तिहारमा पनि बत्ती बाल्नेदेखि पूजाका कुरा त छँदैछन् । तर, तिहार पनि अलिकति खल्लो भयो कि जस्तो लाग्छ । तर, पनि म यस वर्ष तिहार मनाउँदैछु ।
हुन त हामी फरक धर्मलाई स्वीकार्ने, फरक धर्मावलम्बीलाई स्वागत गर्ने भइसक्यौं । तर, यो चाडपर्व धर्मसँग मात्रै जोडेर हेर्दिनँ म । यी चाडपर्वले नै हामीलाई निर्माण गर्ने हो, हाम्रो समाजलाई बनाउने हो ।
अहिले त विदेशीहरूले पनि दसैं/तिहारलाई मज्जाले मनाइरहेको देख्छु । तर, हाम्रै मानिसचाहिँ यो संस्कृतिलाई दिल खोलेर मनाउनु भएको देख्दिनँ । होला, त्यो उहाँहरूको रोजाइ हो । तर, हामीले हाम्रो संस्कृतिलाई मनाएनौं भने हाम्रो यो संस्कृतिका कुरालाई पछि आउने पुस्तालाई सिकाउनै सक्दैनौं । यो यत्तिकै हराएर जान्छ भनेर डर लाग्छ । त्यसैले तिहारलाई संस्कृतिको रूपमा स्वीकारेर मान्नुपर्छ ।
(विश्वकर्मासँग रीना मोक्तानले गरेको कुराकानीमा आधारित)
