पहिला त संस्कारमै पनि यो दिन यो गर्नुपर्छ, गर्नैपर्छ भन्ने हुन्थ्यो । किनकि तिहार भनेको त प्रकृतिलाई पूजा गर्ने समय हो नि त ! यो चाडमा गाईलाई पूजा गर्नुपर्छ, कुकुरलाई पूजा गरिन्छ । गोरुलाई पूजा गरिन्छ ।
What you should know
तिहार भन्नेबित्तिकै सबैभन्दा सुरुमै 'बत्ती' भन्ने दृश्य दिमागमा आइपुग्छ । केराको दाम्चामा बत्ती राख्नेदेखि माटोको भाँडोको बत्ती हुँदै डिजिटल बत्तीसम्मको युग देखियो ।
परबाट 'देउसी रे' भन्दै गाउँदै गरेको समूहलाई 'कहिले हाम्रो घर'मा गाउन आइपुग्लान् भनेर पर्खेको सम्झना आउँछ । त्यसभन्दा धेरै त हामी देउसी खेल्न कहाँ-कहाँ जाने, कति पैसा पाइएला भन्ने कुराको जुन खुल्दुली हुन्थ्यो, त्यो एकदम याद आउँछ । देउसी खेल्न जाँदा सेलरोटी खान पाइन्थ्यो । त्यतिबेला देउसी खेल्न जाँदा, भाग टिप्ने अर्कै हुन्थ्यो, देउसी भट्याउने अर्के हुन्थ्यो । पैसा टिप्दा कति दियो होला भनेर लुकीलुकी हेरिन्थ्यो । अहिले त्यो तिहार, त्यो सम्झना बस् याद बनेर आउँछन् ।
टीका लगाउन बहिनीहरूले 'दाइ तँ आइज' है भनेर निम्तो दिएको याद आउँछ । अहिले त चलन परिवर्तन भयो । त्यतिबेला त बहिनीहरूले मखमली फूल हातमा बाँधिदिएर टीकाको निम्तो दिन्थे । पहिला-पहिला म फुपूको छोरीको हातबाट टीका लगाउँथेँ । फुपूका चार छोरी । कहिले विराटनगर जान्थेँ, कहिले काठमाडौं जान्थेँ । अनि उनीहरूसँग टीका थाप्दा मेरो बहिनीसँग कम टीका लगाइन्थ्यो । मेरो स्मृतिमा अहिले पनि तिहार भन्नेबित्तिकै उज्यालो मात्रै याद आउँछ । तिहारका बेला काठमाडौं अर्के हुन्छ, सबैतिर उज्यालो । संसार नै उज्यालोजस्तो । यही बेला मात्रै उज्यालो हुँदो रहेछ भन्ने अनुभव हुन्थ्यो । यो उज्यालोले दिने आनन्द अर्कै । यसले अर्कै किसिमको ऊर्जा दिइरहेझैं लाग्छ ।
तिहार त बाल्यकालमै रमाइलो हुने रहेछ । मामाघर जाने । देउसी खेल्न जाने । देउसीमा भट्याउँदै हिँड्ने । टीका लगाउन जाने । फलफूल खाने । मिठाई खाने । तर, अहिलेको समय कामले व्यस्त बनायो । अनि कहिलेकाहीँ त कुदाकुद गर्दा-गर्दै चाडपर्व मनाउनै नपाउने । यो वर्ष कब्बडीको सुटिङले गर्दा मुस्ताङमा छु । पहिला त टीका लगाउनैपर्छ भन्ने हुन्थ्यो । तर, अहिले त जिम्मेवारीबीच लगाउनैपर्छ भन्ने पनि हुँदैन रहेछ । प्राथमिकता भन्दा पनि अहिले त मिलेसम्म लगाउनुपर्छ भन्ने हुन्छ ।
पहिला त संस्कारमै पनि यो दिन यो गर्नुपर्छ, गर्नैपर्छ भन्ने हुन्थ्यो । किनकि तिहार भनेको त प्रकृतिलाई पूजा गर्ने समय हो नि त ! यो चाडमा गाईलाई पूजा गर्नुपर्छ, कुकुरलाई पूजा गरिन्छ । गोरुलाई पूजा गरिन्छ । त्यस बेला त जबरजस्ती गर्नैपर्छ भन्ने हुन्थ्यो, गाईलाई पनि पूजा गरेको छ, ढोगेको छ । कुकुरलाई पनि पूजा गरेको छ, ढोगेको छ । तर, आवश्यकता बढ्दै जाँदा, भ्याउँदा गर्नुपर्छ भन्ने हुँदो रहेछ । अहिले तिहारलाई त्यसरी हेरिन्छ ।
बच्चा बेला त देउसी खेल्न खुब गइन्थ्यो । 'यति भाइ जम्मा' भन्दै देउसी खेल्न गाउँ-गाउँ डुलिन्थ्यो । पछिल्लो समय पूरानो मण्डलामा हुँदा हामी हाम्रा गुरुहरूको घर-घरमा देउसी खेल्न गइन्थ्यो । कहिले अभि सुवेदीकोमा गइन्थ्यो, कहिले कनकमणि दीक्षितकहाँ पुगिन्थ्यो । कहिले निश्चल बस्नेत त कहिले रामबाबु गुरुङकोमा रमाइलो गर्न गइन्थ्यो । तर, जब नयाँ मण्डला आयो । हामी पनि अलिअलि चलेको नाम बन्यौं, चलेको अनुहार भयौं । आफ्नो समस्या र आवश्यकताबीच फस्दै गयौं ।
तिहारमा त्यसरी जानुपर्छ, रमाइलो गर्नुपर्छ भन्ने पक्ष कम हुँदै गयो । नयाँ मण्डला बनेसँगै त्यसरी देउसी खेल्न गएको याद छैन । तर, अनामनगरमा मण्डला हुँदा सानो गाडीमै कोच्चिएर देउसी खेल्न जान्थ्यौं । कसैले मिठोमसिनो बनाएर खुवाउनु हुन्थ्यो । १०/१५ वटा घरमा गइन्थ्यो । हामीहरू पनि तिमीहरूकै मान्छे हौं है भन्ने भनिरहनलाई पनि यस्तो गतिविधि हुनुपर्दो रहेछ ।
पहिलेपहिले मलाई हाम्रो घरमा चाहिँ देउसी खेल्न कम मान्छेहरू आए भन्ने लाग्दा त्यतिबेला अर्थसँग जोडेर हेर्थें । कारण अहिले त देउसी भन्दा अगाडि डिमान्ड आइपुग्छ । देउसी दक्षिणा ५० हजार, १ लाख भनेर । पैसा जहाँ धेरै दिइन्छ त्यतै देउसी खेल्न जान्छन् नि । संस्कृति र संस्कार यसरी अर्थसँग जोडिदियो भने त्यो व्यवसायतिर ढल्किन्छ ।
संस्कृतिसँग व्यवसाय जोडियो भने त्यो संस्कृति मर्छ । त्यसैले होला- त्यतिबेला मलाई हाम्रो घरमा देउसी खेल्नेहरू कम आइपुग्दा बुवाले पैसा थोरै दिएर पो हो कि भन्ने लाग्थ्यो । पछिल्लो समय त मैले घरमा फोन गरेर देउसी खेल्न आउनेहरूलाई पैसा दिनु है भन्ने पनि गरेको छु । कारण, देउसी खेल्नेहरू आइरहून् । देउसी खेल्दा त मान्छेहरू जम्मा हुन्छन् नि त !
दसैंमा त यसरी नचिनेका मान्छे घरमा जम्मा हुँदैनन् । परिवार र आफन्तको मात्रै जमघट हुन्छ । तर, तिहारमा त नचिनेकै मान्छेको घरमा पनि जम्मा भएर देउसी खेल्न पुग्छन् । यो त हाम्रो संस्कृतिको सुन्दर पक्ष पनि हो । त्यसैले पनि अहिले यो सुन्दर कुरा नमासियोस् भन्ने लाग्छ ।
काठमाडौं बस्दा आफू त बिरालोले घर सरेको जसरी डेरा सरिरहेको हुन्छु । तर, मलाई हाम्रोमा पनि आइरहून् भन्ने लागिरहन्छ । यो पाली तिहारमै 'बलिष्ठ बलराम' भन्ने मेरो फिल्म हलमा लाग्दैछ । यसैको छेकोमा बहिनीको हातको टीका लगाउने योजना छ । बहिनीको हातको टीका थापेर हलमा जाने मौका पर्खंदैछु । हेरौं के हुन्छ !
त्यसैले सबैलाई संस्कृतिले दिएको सुन्दर पक्षलाई अनुसरण गर्दै यो चाड मनाउनुहोला भन्ने शुभकामना दिन चाहन्छु । संस्कृतिलाई यसकै सौन्दर्यमा हेरौं, अर्थसँग नजोड्नु होला । त्यसको सौन्दर्य भावी पुस्तामा हस्तान्तरण हुँदै जाऊन् । समयअनुसार परिवर्तन त होला तर त्यसको मिठासलाई मर्न नदिऔं । त्यो संस्कृति जोगियो भने त आउने पुस्ताले हेर्न पाउनेछन्, सुन्न पाउनेछन् । धेरै तडकभडक भन्दा पनि पुरानै मिठासमा तिहार मनाउनुहोला ।
(बरालसँग रीना मोक्तानले गरेको कुराकानीमा आधारित)
