भाइटीका अनि दिदीहरूको कोसेली साह्रै याद आउँछ : नाजिर हुसेन

उमेर बढ्दै जाँदा जिम्मेवारीले थिच्दो रहेछ । अनि पहिलाजस्तो रंगीन तिहार रंगविहीन बन्दै जाँदो रहेछ । पहिला त धेरै सोच्नै हुन्न थियो । तिहारको रमाइलोमा स्कुलको होमवर्क पनि बिर्सन्थ्यौं हामी ।

कार्तिक ५, २०८२

नाजिर हुसेन

I miss the friendship of my brothers and sisters very much: Nazir Hussain

What you should know

काठमाडौँ — तिहार भन्नासाथ गाउँ र मामाघर सम्झन्छु । अनि सम्झन्छु, गाउँको युवा क्लब । हामीले देउसी खेलेर कमाएको पैसा जम्मा गरेर मादल र डेक किनेर गीत बजाउँथ्यौं । गीत बजाउँदै देउसी खेल्न गएका कुरा हिजोजस्तै लाग्छन् । झिरझिरे र पटाका अझै पनि स्मृतिमा बलिरहन्छन् ।

आमाले भाइ बनाउनुभएको मामा हुनुहुन्थ्यो । रातभरि आमाजी र माइजू बसेर सेल रोटी पकाउनु हुन्थ्यो । सेल रोटी खान जाँदा लक्ष्मी पूजा नगरी खानुहुन्न भन्नुहुन्थ्यो उहाँहरू । हामीले भोलिपल्ट पूजा सकेर मात्र खान पाउँथ्यौं । 

टीकाको दिन पनि ती दिनहरू स्मृतिमा बसेका छन् । रंगीन टीका र माला लगाउनुको खुसी विछट्टै थियो । टीका लगाउने दिन अर्कै खुसी मिल्थ्यो । 

सरु दिदीले केराको पात काटेर निधारमा राखेर टीका लगाइदिनुहुन्थ्यो । त्यतिबेला सोनी दिदीले पात समाउनु भएको थियो । टीका लगाएर केराको पात निकाल्दा टीका बांगो बसेको थियो । त्यतिबेला दिदीले भन्नुभएको थियो– टीका बांगो भयो भने भाग्यमानी हुन्छ । 

दिदीहरूले टपरीमा फलफूल, सेल रोटी, ओखर सबै मसला एक–एक ओटा गरी राखेर दिनुहुन्थ्यो । 

दिदी–बहिनी पाँच जना । मसँग पैसा थिएन । आमाजीले ठूलो दिदीलाई ५० रुपैयाँ, त्यसपछि ४०, २० हुँदै बहिनीलाई दिँदा १० सम्म पुग्थ्यो । अहिले त खाममा राखेर दिइन्छ । सामानहरू थैली बनाएर, थैलीमा दिन्छु । थैली दिन मलाई एकदम मनपर्छ । काठमाडौंमा बस्ने भएपछि यहीँबाट टीका लगाउने भएपछि दिदीहरूलाई पैसासँगै केही सामान गिफ्ट दिनुपर्‍यो, थैलीमा दिन्छु ।

बालापनको तिहारमा दिदीहरूसँग देउसी खेल्न जाने, दिदीहरूले बटुलेर देउसी खेल्न लैजानु हुन्थ्यो । तीन–चार दिन खेलेर पिकनिक जाने भन्ने हुन्थ्यो । अनि सामान जोड्ने । सबैको साझा सपना थियो । त्यो सपनाले डोहोर्‍याइरहन्थ्यो । अहिले त दिदीहरूको बिहे भइसक्यो । भान्जाभान्जी छन् । जिम्मेवारी पनि सबैको थपिएको छ । अहिले त टीका लगायो, आ–आफ्नो काममा फर्कियो । उमेर बढ्दै जाँदा जिम्मेवारीले थिच्दो रहेछ । अनि पहिलाजस्तो रंगीन तिहार रंगविहीन बन्दै जाँदो रहेछ । पहिला त धेरै सोच्नै हुन्न थियो । तिहारको रमाइलोमा स्कुलको होमवर्क पनि बिर्सन्थ्यौं हामी । 

अहिले टीका लगाउँदा सबै सँगै हुन पाउँदैनौं । कोही कतै, कोही कतै । जो जो छौं, लगाउँछौं । कता कता खल्लो लागिरहँदो रहेछ । त्यसकारण पनि त्यो बाल्यकालको तिहार हरेक वर्ष सम्झेर रोमाञ्चित बनिँदो रहेछ । कल्पिँदो रहेछ– तिनै दिनहरूमा फेरि फर्किन पाए भन्ने लागिरहँदो रहेछ ।

(हुसेनसँग समर्पण श्रीले गरेको कुराकानीमा आधारित)

नाजिर हुसेन अभिनेता

Link copied successfully