सांगीतिक क्षेत्रका प्रेमजोडी

फाल्गुन २, २०८१

कान्तिपुर संवाददाता

Music lovers

काठमाडौँ — आज प्रेम दिवस । प्रेमिल जोडीहरूले उत्सवको रुपमा पनि यो दिवस मनाउने गर्छन् । हामीले यसपटक सांगीतिक क्षेत्रका केही ‘रियल जोडी’हरूबारे यहाँ चर्चा गरेका छौँ । 

पछिल्लो समय सांगीत क्षेत्रका एक जोडीबारे उनीहरूका शुभचिन्तकमाझ चर्चा भइरहन्छ । ती जोडी हुन्– अस्तिमा अधिकारी र महेश काफ्ले । महेश र अस्मिता अहिलको समयका संगीतका लोकप्रिय पात्र हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले गत असारमा इन्गेजमेन्ट गरेका थिए । अब छिट्टै उनीहरू वैवाहिक जीवनमा बाँधिदैछन् ।

सांगीतिक क्षेत्रकै पुरानो जोडीमध्येका एक हुन् गायिका कुन्ति मोक्तान र संगीतकार शिलाबहादुर मोक्तान । उनीहरूको प्रेम चार दशकभन्दा अघि दार्जिलिङमा टुसाएको थियो । उनीहरूले त्यतिबेला भागेर विवाह गरेका थिए । भागेर काठमाडौँ आएका कुन्ति र शिलाबहादुरले संगीतमा यहीँ संघर्ष गरे । अहिले उनीहरूको दुई छोरी शीतल र सुबानी पनि गायन क्षेत्रमै सक्रिय छन् ।

उदय सोताङ र मनिला सोताङले गाएको एउटा चर्चित गीत छ–  

उकाली चढौँला, ओराली झरौँला।

सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौँला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउँला।

आफूहरूले गाएको गीतजस्तै छ उदय र मनिलाको जोडी । ३५ वर्षभन्दा बढी भयो उनीहरूले जीवनको सहयात्रा थालेको । यो जोडी सांगीत कर्ममा पनि सँगसँगै छ । उनीहरूको छोरी श्रेया पनि सांगीतिक क्षेत्रमा सक्रिय छिन् ।

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलको जोडी पनि संगीत क्षेत्रमा अनुकरणीयछ । करिब ४ वर्षअघि विवाह गरेका उनीहरूको एउटी छोरी छिन् ।  उनीहरूको सांगीतिक यात्रा पनि करिब डेढ दशकअघि सँगसँगै भएको थियो । अर्जुनले संगीत भरेको, दुर्गाले गाएको फिल्म ‘दिलमाया’को ‘छुट्छ कि साथ’ एक समय निकै चर्चित थियो । 

त्यसैगरी उदित नारायण झा र दीपा झाको जोडी पनि सांगीतिक क्षेत्रम चर्चित छ । उनीहरूले १९८४मा विवाह गरेका थिए । उनीहरूको युगल आवाजमा थुप्रै नेपाली गीत सुन्न सकिन्छ । अहिले उनीहरू बम्मईमा बस्छन् । भारतीय संगीतिक क्षेत्रमा संघर्ष गरेर उदित भारतमै स्थापित भए ।  

सुन्दरमणि अधिकारी र विष्णु माझीको जोडी पनि सांगीतिक क्षेत्रमा सक्रिय छ । 

कान्तिपुर संवाददाता

Link copied successfully