प्रेम दिवसको दिन जन्मिएकी मधुबालालाई ‘ह्याप्पी बर्थडे’ !

रोगकै कारण मधुबाला आफ्नो हनिमुनमा समेत निजी डाक्टरलाई साथै लिएर हिँड्नुपर्‍यो ।

फाल्गुन २, २०८१

श्रीजु सरल

Happy Birthday to Madhubala who was born on Love Day!

काठमाडौँ — आज प्रणय दिवस! प्रणय दिवसका अवसरमा आज हामी एक लोकप्रिय अभिनेत्रीको कुरा गर्नेछौँ। मधुबाला ! यो नाम नसुन्ने को होला ? हामी बलिउडकी सदाबहार अभिनेत्री मधुबालाको आजकै दिन चर्चा गर्न हामीसँग विशेष कारण छ। त्यो हो उनको जन्मदिन । प्रेम दिवसको दिन जन्मेकी मधुबालाको जिन्दगी कस्तो रह्यो त? आउनुस् उनको जिन्दगीमा नजर लगाऔँ ।

सन् १९३३ मा जन्मिएकी मधुबाला सुरुमा त मधुबाला थिइनन् । मुमताज बेगमका रूपमालाई हुर्किँदै गरेकी उनलाई यो नाम देवीका रानीले दिएकी हुन्। आफ्नो पहिलो फिल्म भने मधुबालाले बेबी मुमताजकै नामबाट खेलिन्। बाल कलाकारका रूपमा ९ वर्षको उमेरमा खेलेको ‘वसन्त’ नामको त्यस फिल्ममा उनले गीत समेत गाएकी छिन्। वसन्तबाट फिल्ममा पाइला राखेकी मधुबालाले आफ्नो जीवनकालभरिमा ७३ बढी फिल्ममा काम गरिन्।

अब थोरै मधुबालाले बाँचेको परिवेशको पनि कुरा गरौँ । भारतमा त्यो समय सिनेमा क्षेत्रमा महिलाहरूको प्रवेश हुनु सजिलो कुरा थिएन। त्यसमाथि, महिलाले बुर्काले ढाकिनुपर्छ भन्ने मूल्यमान्यता राख्ने इस्लाम समुदायले त अहिले पनि सिनेमाजगतमा अरूका छोरीहरूलाई हेर्न रुचाए पनि आफ्नै छोरीहरूलाई देख्न सक्ने मानसिकता भने पर्याप्त बनाइसकेको छैन । र आजभन्दा शताब्दीअघि त भारतीय सिनेमाले प्रतिभावान् अभिनेत्री पाउनु दुर्लभ कुरा हुन्थ्यो । यसका बाबजुद एक-से-एक अभिनेत्री भित्र्याउन भने भारतीय सिनेजगत सफल भएको कुरालाई पनि नकार्न भने सकिन्न । खैर, यस सफलताका पछाडि संघर्षका आफ्नै कथा होलान्। कमसेकम, अहिलेको जस्तो सजिलो पक्कै थिएन ।

त्यस्तो दुर्लभ-विकट परिवेशमा सिनेमाको दैलो टेक्न पुगेका पोटेन्सियल अभिनेत्रीहरूलाई फर्किन नदिने एउटै काइदा थियो- दरिलो पारिश्रमिक! मधुबालाकै सिनेमा प्रवेशको कुरा गर्ने हो भने पनि उनका बाबुले सुरुमा इन्कार गरेकै हुन्। तर, राम्रो पारिश्रमिकको अफर भएपछि उनी छोरीको करियरकै लागि भनेर दिल्लीबाट बम्बई आए जो हाल मुम्बई भनेर चिनिन्छ। यसरी, सङ्कीर्ण समाज भएकै कारणले केही त राम्रो भएको थियो । मधुबालाले बाँचेको परिवेशले कमसेकम अभिनेत्रीहरूको आर्थिक पक्षलाई सुरुदेखि नै सबल बनाउन सहयोग गर्‍यो ।

आफ्नो समयमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री मधुबालालाई नको सुन्दरता र अदाका कारण ‘भेनस अफ इन्डियन सिनेमा’ पनि भनियो। मधुबालाको सौन्दर्य र अभिनय क्षमताको चर्चा भारतमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतसम्म फैलिएको थियो ।

उनको नाममा ग्रिस गायक स्टेलियोस काजान्टिडिसले गीत समेत लेखेर गाए । त्यो गीत यति बेला पनि इन्टरनेटमा भेट्न सकिन्छ। मधुबालालाई सम्बोधन गरी लेखिएको उक्त गीत आफ्नो समयमा यति हिट रह्यो कि ग्रिसको राजधानी एथेन्समा भएको सन् २००४ मा ओलम्पिक क्लोजिङ सेरेमनीको उपलक्ष्यमा समेत ग्रिक गायकद्वय आना भिसी र एन्टोनिस रेमोसले मधुबालाको नाममा उही गीत गाएर माहोल बनाएका थिए। ७० हजार बढी प्रत्यक्ष दर्शकहरूको माझमा उक्त गीत पर्फम गरिएको थियो। भनिन्छ, चीनबाट मात्रै ५२.६ मिलियन दर्शकले त्यो पफर्मेन्स प्रत्यक्ष सामेल भएर हेरेका थिए ।

अब मधुबालाको व्यक्तिगत जीवन तिरै फर्कौँ । कुकुर पाल्नु उनको ठूलो सोखको विषय थियो। आफ्नो जीवनकालभरि मधुबालाले १८ वटा कुकुर पालेकी थिइन् । त्यसो त उनलाई समाजसेवामा समेत उत्तिकै रुचि थियो। बाचुन्जेल च्यारिटी क्याम्पेनमा सक्रिय सहभागिता जनाइरहिन् उनले। बालबच्चा, रोगी र विपन्नहरूलाई दिल खोलेर आर्थिक सहयोग गरिरहिन् ।

तर, दुःखद कुरा, मुटुमा प्वाल लिएर जन्मिएकी मधुबालालाई पर्दामा हामी जति हँसमुख देख्छौँ उनले बाँचेको जिन्दगी भने त्यति नै कष्टपूर्ण थियो। रोगका कारण उनी सुटिङकै बीच पनि बेहोस भइराख्थिन्। नाक र मुखबाट रगत बगिरहन्थ्यो। जीवनको पछिल्लो कालखण्डमा त उनले आफू सँगसँगै अक्सिजन र निजी डाक्टरसमेत लिएरै हिँड्नुपर्‍यो ।

रोगकै कारण यिनले आफ्नो हनिमुनमा समेत निजी डाक्टरलाई साथै लिएर हिँड्नुपर्‍यो। सानोतिनो बिराम हुन्थ्यो त आफ्नो नयाँ नयाँ दाम्पत्य बिथोल्ने रहर कसले पो गर्दो हो? आफ्नो नायक-गायक पति किशोर कुमारसँग लन्डन पुगिरहँदा पनि मधुबालाले आफ्नो डाक्टरलाई आफ्नो छाया बनाई साथै लिएर हिँडिन् ।

मधुबाला भने आफ्नो बाबुको प्रेमले ओतप्रोत भएर हुर्किइन्। बाबुको प्रेम मात्र नभएर मधुबालाको जिन्दगीमा बाबुको चर्को नियन्त्रण समेत रहने गर्थ्यो। कतिसम्म भने कुन फिल्म खेल्ने? कुन नखेल्ने? कोसँग काम गर्ने? कोसँग नगर्ने? मधुबालाका यस्ता सबै निर्णयहरू उनका बाबु अतुल्लाह खानले गर्ने गर्थे। उनीमाथि उनको बाबुको कतिसम्म नियन्त्रण थियो भने उनी सुटका बेलाबाहेक बाहिर निस्किनसमेत पाउने थिइनन्। अन्तर्वार्ताका लागिसमेत मधुबाला बाहिर निस्किन पाउने थिइनन् ।

दिलीप कुमारसँगको ७-७ वर्षदेखिको प्रेम सम्बन्ध पनि भनिन्छ, उनकै बाबुका कारण टुट्न गयो। उनका बाबु र दिलीपकुमारबीच उत्पन्न समस्या कोर्टसम्म पनि पुग्यो। यही कारणले दिलीपकुमारसँग उनले सधैँ एउटा दूरी बनाइरहन पर्‍यो र अन्ततः उनीहरूबीच पानी बाराबारको स्थितिसमेत आइलाग्यो ।

तर, उनको पहिलो प्रेम अर्कै थिए। फिल्मी दुनियाँभन्दा पर। बचपन सँगसँगै गुजारेका बालसखा- लतिफ! हरेकको जिन्दगीमा एउटा लतिफ अर्थात् पहिलो प्रेम हुन्छ जुन अति निर्दोष हुन्छ, निस्वार्थ हुन्छ। र त्यति भईकन पनि यो प्रेम अधूरै छोडिन्छ। मधुबालाको बचपनको प्रेम लतिफ पनि दिल्लीमै छुटे जब सिनेमामा करियर बनाउन उनी सधैँका लागि बम्बई आइन्। भनिन्छ, बसाइँ सरेर आउने बेला मधुबालाले लतिफलाई एउटा ‘रेड रोज’ उपहारमा छोडेर आएकी थिइन्। चिनोको रूपमा सम्हालेर राखेको त्यो रेड रोजलाई लतिफले पनि एक दिन छोडेर फर्किए- मधुबालाको चिहानमा !

सन् १९६९ मा आफ्नो अन्तिम श्वास फेरेकी मधुबाला ३६ वर्षको अल्पायुमै अस्ताइन् । प्रेम दिवसको दिन जन्मिएकी मधुबालालाई ‘ह्याप्पी बर्थडे’ !

श्रीजु

Link copied successfully