लन्डनमा एक नेपालीलाई कोरोना संक्रमण

चैत्र १०, २०७६

नवीन पोखरेल

लन्डन — लन्डनमा  एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी  भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् ।

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराइरहेकी छन् ।  ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड-१९ सँग लड्दै छु’, आइतबार बेलुका उनले आफ्नो फेसबुकमार्फत भनेकी छिन् । 


फेसबुकमा आफ्नो संक्रमणबारे राख्ने सोच नभए पनि आफन्त एवं साथीभाइलाई थप भयावह बनाउला भन्ने सोचेर पूर्व सतर्कताका लागि पोस्ट गरेको उनको भनाइ छ । उनले सबैलाई विशेष सावधानी अपनाउन पनि अनुरोध गरेकी छन् । उनलाई सयौंले आत्मबल बढाउन र शीघ्र स्वास्थ्यलाभका लागि कामना गरेका छन् । 


पारिवारिक श्रोतका अनुसार, गत ८ तारिख दिउँसो उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसको भोलिपल्ट ९ तारिख मध्यरात १२ बजेदेखि उच्च ज्वरोले समात्यो । छोरी फर्मासिस्ट भएकाले सिटामोल र आइबुप्रोफिन लिन सुझाइन् । 


औषधिले निको नभएपछि गत १८ तारिख बुधबार हस्पिटल गएर एक्सरे गरेपछि एन्टिकायोटिक लिइरहेकी उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको बताइएको छ । उनलाई संक्रमण भएपछि श्रीमान् मीन रानाभाटसहित एक छोरा र छोरी अहिले घरमा सेल्फ आइसोलेसनमा छन् । 

कोभिड १९’ का कारण बेलायतमा आइतबारसम्म २८१ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ६ सय ८३ मा संक्रमण पाइएको छ । 


‘कोभिड १९’ संक्रमण फैलिएसँगै बेलायतको नेपाली समुदाय पनि सतर्कता अपनाउन लागेको छ । कोरोनाभाइरस संक्रमण तीव्र भइरहँदा नेपालीमाझ सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय कायम गर्न लन्डनस्थित नेपाली दूतावासले राजदूत दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र अन्य विषयगत समितिहरु गठन गरेको छ ।


दूतावासले जनस्वास्थ्य तथा सचेतना सहयोग समिति, स्वयंसेवक सहयोग समिति, वृद्धवृद्धा तथा भूतपूर्व गोर्खा सहयोग समिति, युवा तथा विद्यार्थी सहयोग समिति र सूचना संकलन सहयोग समिति गठन गरेको हो । गैर आवासीय नेपाली संघ बेलायतले पनि कोरोना हेल्पलाइन सुरु गरेको छ । 

कोरोना भाइरस

नवीन

Link copied successfully