मुलुकका प्रमुख गन्तव्यका होटलले गर्मी र बर्खायाम लक्षित छुट र प्याकेज ल्याउँदै नेपाली तथा भारतीय पाहुना आकर्षित गर्न विभिन्न अफर सार्वजनिक गरेका छन्।
What you should know
भैरहवा, चितवन, नेपालगन्ज, बर्दिया, लुम्बिनी — यतिबेला मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा धेरै होटल सुनसान छन् । यस वर्ष ‘अफ सिजन’ मा भारतीय पाहुना भित्रिएकाले काठमाडौं, पोखरा, चितवन र मुक्तिनाथका पर्यटन व्यवसायीलाई राहत मिलेको छ । अन्य गन्तव्यमा पनि स्तरीय होटलको संख्या बृद्धि भएसँगै बार्हैमास पर्यटक भित्र्याउन लगानकर्ताले अनेक जुक्ति लगाउन थालेका छन् ।
वर्षायाममा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या उलेख्य नहुने भएकाले स्वदेशी पाहुना आकर्षित गर्न विभिन्न 'मनसुन अफर' सार्वजनिक गरिरहेका छन् । तारे होटलले पर्यटक आकर्षित गर्न हिउँद–बर्खा यस्ता अफर सार्वजनिक गर्छन् । चिसो मौसम भन्दा गर्मीमा सस्तो प्याकेज ल्याउने गरेका छन् । त्यसको उदाहरण हो बुद्ध जन्मस्थित लुम्बिनी होक्के होटल । उक्त होटलले नेपाली नागरिकका लागि वेलनेश स्टे भन्दै ४ हजार ९ सय ९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । उक्त रकममा बिहान ब्रेकफाष्ट, योगा शेसन, साइकिलिङ, पिस प्यागोडा वाक, परिकारमा १० प्रतिशत छुट र डिलक्स कोठा उपलब्ध गराउने उल्लेख गरेको छ ।
सोल्टी हस्पिटालिटीले पनि आफ्ना विभिन्न स्थानमा रहेका होटल तथा रिर्सोटका लागि समर अफर ल्याएको छ । स्वदेशी र भारतीय पाहुना लक्षित गरेर रुपन्देहीको भैरहवास्थित टाइगर प्यालेस बाई सोल्टी र पोखराको लेकसाइडमा रहेको सोल्टी वेष्टर्न्ड पोखरा समेटेर तीन रात, चार दिनका लागि २५ हजार २ सय ५० रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । उक्त प्याकेज अनुसार दुई रात पोखरास्थित सोल्टी वेष्टर्न्ड र एक रात भैरहवास्थित टाइगर प्यालेस बाई सोल्टीमा बस्न मिल्नेछ । उक्त रकममा दैनिक ब्रेकफाष्ट र डिनर, यातायात सुविधा समेटिएको छ । विभिन्न अवसर पारेर टाइगर प्यालेस बाई सोल्टीले छुट्टै अफर पनि ल्याउने गरेको छ ।
भैरहवास्थित पाँच तारे सिद्धार्थ भिलासाले पनि मनसुन प्याकेज सार्वजनिक गरेको छ । मनसुन प्याकेज रेगुलर भन्दा सस्तो हुने गरेको सिद्धार्थ भिलासाकी सेल्स म्यानेजर सालु कुँवरले बताइन् । नेपाली र भारतीय लक्षित गरेर यो प्याकेज ल्याइएको उनले बताइन् । नेपाली १३ हजार ६ सय रुपैयाँको प्याकेज खरिद गरेपछि दुई जनालाई एक रातका लागि बास, खाना, आधा घण्टा स्पा, ब्रेक फाष्ट, डिनर, स्वीमीङ पुलको सुविधा प्रदान गरिने उनले बताइन् । ‘अफ सिजनमा पनि होटल चलायमान होस भन्ने उद्देश्य हो,’ उनले भनिन् । यो अफर जुलाई २९ सम्मका लागि रहेको छ ।
रुपन्देहीमा पाँच र चार तारे गरेर दुई दर्जन होटल छन् । सबै होटलले समर लक्षित गरेर अफरसँगै छुटको व्यवस्था गरेका छन् । स्तरीय होटलको संख्या एक सय भन्दा बढी छ । होटल र रिसोर्टमा एक खर्ब भन्दा बढी लगानी रहेको सिद्धार्थ होटल संघका अध्यक्ष सीपी श्रेष्ठले बताए । यतिबेला भारतीय पर्यटक गर्मी छल्न आउने गरेका छन् । उनीहरु सिधैं मुक्तिनाथ, पोखरा गइरहेका छन् । ‘यहाँबाट हिल स्टेशनमा जाने पर्यटकलाई एक रात भएपनि रुपन्देहीमा बसाउने उद्देश्य हो,’ उनले भने, ‘त्यसकालागि पाहुना आकर्षित गर्न बार्हैमास विभिन्न अफर र इभेन्ट भइरहेका छन् ।’
बुद्ध जन्मस्थल लुम्बिनीमा रहेका व्यवसायीले पर्यटन प्रवर्द्धनका लागि अभियान सुरु गरेका छन् । लुम्बिनी र भारतको वाराणसीबीच सम्बन्ध बिस्तार गरेर पर्यटकीय गन्तब्य बनाउन तीन दिने लुम्बिनी–वाराणसी बिटुबी ट्राभल मार्ट तथा फ्याम ट्रिप आयोजना गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीको अध्यात्मिकतालाई भारतको सांस्कृतिक राजधानी मानिने वाराणसीसम्म जोडेर पर्यटन प्रबर्द्धन गर्न ट्राभल मार्ट आयोजना गरिएको हो । भारतको वाराणसीकसाथै दिल्ली, लखनउ र बौद्धगायाका ४० जना साना ठूला ट्राभल एण्ड टुर अपरेटर कम्पनी र होटेलका प्रतिनिधि सहभागी थिए ।
बुधबार सकिएको तीन दिने कार्यक्रममा लुम्बिनी र वाराणसीका ट्राभल एण्ड टुर अपरेटर कम्पनीका प्रतिनिधि र होटेलीयर बीच छलफल, अन्तक्रिया र होटलका प्याकेज र सुविधाकाबारेमा छलफल भएको लुम्बिनी होटल संघ अध्यक्ष लिलामणि शर्माले बताए ।
लुम्बिनीमा नीजिस्तरबाट संचालन भएको पहिलो ट्राभल मार्ट हो । लुम्बिनीको पर्यटन प्रबर्द्धन, अन्तर्राष्ट्रिय बजार विस्तार र नेपाल–भारतबीच धार्मिक सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न थप सहयोग हुने लुम्बिनी होटल संघ सल्लाहकार खिम श्रेष्ठले बताए । लुम्बिनीकै होटल ब्यवसायीले आफ्नो होटलमा बास र खानाको प्रबन्ध गरी पर्यटन प्रबर्द्धनकालागि कार्यक्रम गरिएको उनले बताए । लुम्बिनीमा ४ तारेदेखि बजेट फ्रेण्डली ८३ होटल र रेस्टुरेन्ट छन् ।
चितवन–नेपालगन्जमा पनि छुटैछुट
बर्खायाममा चितवन घुम्न आउनेलाई पर्यटकीय होटल र रिसोर्टले छुट व्यवस्था गरेका छन् । यतिबेला जिप सफारी बन्द छ । तर, मध्यवर्ती सामुदायिक वनमा जिप र हात्ती सफारी सञ्चालनमा छ । वन्यजन्तु अवलोकनकालागि आउनेकालागि विशेष प्याकेज तयार गरेका छन् । बर्खायाममा जंगल सफारीकालागि आउने धेरै हुँदैनन । मेघौलीमा पर्यटक घुमाउने मेघौली घटगाई नेचर गाइड एसोसियसनका अध्यक्ष मनेश लिम्बु यस याममा गाउँ घुमेर रमाउने उद्देश्यले पर्यटक आउने गरेको बताउँछन् ।
पर्यटकले आदिवासी थारु समुदायको गाउँ घुम्ने, रोपाइँको रमाइलो र हरियाली हेरेर आनन्द लिने उनले बताए । ‘यतिबेला भारतीयपनि आउने गर्दछन् । होटलले विभिन्न छुट दिएका कारण नेपालीहरु पनि बस्न आउँछन्,’ उनले भने, ‘जंगल घुम्नपनि जान्छन् । नजाने जति गाउँ डुल्छन् । कोही होटलमै बसेर आनन्द लिने र स्वीमिङ पुलमा रमाउँछन् ।’
मेघौलीमा स्तरीय पर्यटकीय होटल तथा रिसोर्ट रहेका छन् । यहाँका होटलले मनसुन अफर ल्याएका छन् । मेघौली सेराई ताज सफारीले ‘मनसुन म्याजिकल’ प्याकेज ल्याएको छ । २५ हजार रुपैयाँबाट सुरु हुने उक्त अफरमा होटलको कोठा र बिहानको नास्ता (बेड एण्ड ब्रेकफाष्ट) समावेश हुन्छ । स्वीमीङपुल पनि प्रयोग गर्न पाइन्छ । अन्य पर्यटकीय गतिवधि गर्नु परे रकम थप्नुपर्ने होटलले जनाएको छ । मेघौलीमा बराही जंगल लज, सिद्धार्थ वाइल्ड लाइफ रिट्रिट जस्ता पर्यटकीय होटल रिसोर्ट छन् ।
चितवन निकुञ्ज मुख्यालयनजिक जगतपुर र पटिहानी क्षेत्रका होटलले मनसुन अफर ल्याएका छन् । कसरा रिसोर्टले नेपालीका लागि ‘कसराको सिमसिमे सफारी’ प्याकेज ल्याएको छ । जसको नाममा झरीको झल्को आउँछ । कसराको प्याकेज ६ हजार ९९९ बाट सुरु हुन्छ । मनसुन अवधि अगष्टसम्म मात्र कायम रहने छ । ‘१२ हजार पर्ने डिलक्स रुम योबेला आठ हजार रुपैयाँमा पाइने भयो । यसमा ब्रेकफाष्ट पनि हुन्छ । सफारीमा जाने हो भने थप रकम लाग्छ । त्यसमा पनि छुटको व्यवस्था छ,’ कसरा रिसोर्टका रुम डिभिजन म्यानेजर निसान आचार्यले भने । व्यक्तिगत रुपमा, साथीभाइ तथा परिवारका साथमा र संघ संस्था तथा विभिन्न कम्पनीबाट घुम्न आउने गरेको उनले बताए । ‘यसले हामीलाई यसबाट राहत हुने गरेको छ । सोधखोज र बस्न आउने क्रम राम्रो छ’ आचार्यले भने ।
कसरा पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष तथा होटल जंगल भिल्लाका सञ्चालक गणेश पौडेल यतिबेला विभिन्न होटलले २० देखि २५ प्रतिशतसम्म छुट दिएर प्याकेज ल्याएको बताए । यसले घुम्न आउने नेपाली र होटल व्यवसायी दुवैलाई राहत भएको छ । ‘यो बेला निकुञ्जभित्र घुम्न नपाए पनि जगतपुर पटिहानी क्षेत्रका होटलमा आउनेलाई कसराको घडियाल प्रोजेक्टसम्म घुमाउँछौं । साुमदायिक वनमा जिप सफारी जारी नै छ । अरु बेलाको भन्दा यो बेलामा रुम र कार्यक्रममा २० देखि २५ प्रतिशतसम्म छुट दिएर होटलहरुले प्याकेज बनाएका छन्,’ कोषाध्यक्ष पौडेलले भने । यो बेला घुम्न आउनेमा नेपाली र विदेशी बराबर जस्तो हुन्छन् ।
एक/दुई दिनको फरकमा होटलमा पाहुना आउने गर्दछन् । त्यसैले छुटको व्यवस्थाले गर्दा होटलमा आउनेहरुले पनि लाभ लिने र त्यही छुटका कारण पर्यटक घुम्न मन गर्ने भएका कारण बर्खामा होटल व्यवसायीलाई पनि केही राहत भएको उनले बताए । पर्यटकीय होटल धेरै भएको सौराहाका सानाठूला होटलले पनि यो बेलामा छुटको प्रबन्ध गरेका हुन्छन् ।
क्षेत्रीय होटल संघ (हान) चितवन सौराहाका अध्यक्ष ओम पाण्डे यो बेला होटलहरु खाली जस्तै रहने बताए । अन्य पर्यटकीय गतिविधिमा खासै छुट दिने सम्भावना नरहे पनि होटलको कोठामा २० प्रतिशतसम्म छुट दिने उनले बताए । हात्ती, डुङ्गा र जिप सफारीमा सरकारी दररेट कायम रहने भएका कारण यी गतिविधिमा छुट नपाए पनि आफुहरुले दिने कोठाहरुमा छुट दिएर मनसुन अफर ल्याउने गरेको हान अध्यक्ष ओम पाण्डेको भनाइ छ ।
सातामा दुई दिन बिदा र लगातार अन्य सार्वजनिक विदा पनि थपिदा यस पटक गर्मीयाममा पनि घुम्न आउने नेपालीको संख्या उल्लेख्य रहयो । त्यसमाथि यो पटक भारतीय समेत चितवन घुम्न धेरै आएका छन् । गर्मी लागे पनि गएको बैशाख जेठमा चितवन निकुञ्ज क्षेत्रमा पर्यटकीय चहल पहल राम्रै थियो । गएको जेठमा स्वदेशी/विदेशी गरेर ३० हजार भन्दा पर्यटक चितवन निकुञ्ज आएका थिए ।
गर्मी मौसम लक्षित गरेर नेपालगन्जका तारे तथा सुविधा सम्पन्न होटलले समर अफर सार्वजनिक गरेका छन् । आन्तरिक तथा भारतीय पर्यटक आकर्षित गर्ने उद्देश्यले होटलले आवास, स्वीमिङ, खानपान तथा अन्य सेवामा विशेष छुट व्यवस्था गरेका हुन् । होटल सिद्धार्थ नेपालगन्जले समर सिजनमा स्वीमिङ, पेय पदार्थ तथा आवास सेवामा विशेष छुट व्यवस्था गरेको छ ।
होटलका कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टका अनुसार स्वीमिङ प्रयोग गर्ने पाहुना तथा होटलमा बस्ने अतिथिका लागि छुट उपलब्ध गराइएको हो । होटलले समर सिजनमा मात्र नभई हरेक महिना विभिन्न आकर्षक अफर सञ्चालन गर्ने गरेको उनले बताए । ‘हामी गुणस्तरमा सम्झौंता गर्दैनौं,’ उनले भने । सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेलेका अनुसार धार्मिक कार्यक्रमका लागि भारतीय पर्यटक आउने गरेका छन् । ‘अहिले मानसरोवर जाने यात्रले बाँकेका होटल भरीभराउ छन्,’ उनले भने, ‘बिशेषगरी मानसरोवर, लुम्बिनी पशुपतिका लागि भारतीय पर्यटक आउने गर्छन् ।’
सोल्टी वेस्टेन्ड प्रिमियर नेपालगन्ज र होटल स्टारलाइटले पनि समर सिजनलाई लक्षित गर्दै विभिन्न प्याकेज र छुट योजना सञ्चालन गरेका छन् । होटल व्यवसायीका अनुसार समर अफरले नेपालगन्ज आउने आन्तरिक तथा भारतीय पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतीय र आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको जिल्लामा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा रहेका छन् ।
पश्चिम नेपालका तीन प्रदेशलाई भारत र नेपालका अन्य प्रदेशसँग जोड्ने जिल्लामा एकपछि अर्को गरी होटल थपिँदै जाँदा ती होटलमा १२ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको होटल व्यवसायी संघले जनाएको छ । होटल व्यवसायी संघका अनुसार बाँकेमा अहिलेसम्म कोहलपुर र नेपालगन्जमा गरेर दुईवटा पाँचतारे होटल खुलिसकेका छन् । दुई वटा चारतारे होटल छन् । बाँकी तीनतारे र अन्य सुविधा सम्पन्न पर्यटकीय होटल छन् ।
नेपालगन्जबाट हुम्ला सिमकोट हुँदै तिब्बतको मानसरोवर पुग्ने छोटो रुट भएकाले भारतीय पर्यटक बढ्न थालेसँगै होटल व्यवसायमा लगानी थपिने क्रम बढेको होटल व्यवसायी सघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताए । बर्दिया ठाकुरबाबास्थित पर्यटकीय क्षेत्रका व्यवसायीले वर्षा याम लक्षित गरेर विभिन्न सेवामा १५ देखि २५ प्रतिशत सम्म छुट उपलब्ध गराएका छन् ।
वर्षातका पर्यटक कम हुने भएकोले प्याकेज कार्यक्रममार्फत छुट उपलब्ध गराएएको पर्यटन व्यवसायीले बताए । विदेशी पर्यटक वर्षात मौसममा कम आउने गर्छन । विदेशी भन्दा आन्तरिक पर्यटकको आगमन भने तुलनात्मक रुपमा बढी रहेको छ । टाइगर भिल्ला रिर्सोट पत्थरबोझीका सञ्चालक सुनिल घिमिरेले दुई जनासँगै आउनेलाई प्याकेज कार्यक्रम अन्तर्गत १५ प्रतिशतसम्म छुट दिएको बताए । जंगल हेभेन होटल एण्ड कटेजका सञ्चालक कृष्ण प्रसाद भटटराइले आवास, रातीको खाना र विहानको नास्ताका लागि प्याकेज बनाएर २५ प्रतिशतसम्म छुट दिइएको बताए । ‘यस भन्दाअघि एक जनालाई २ हजार ५० रुपैयाँ प्याकेज थियो,’उनले भने, ‘गर्मी मौसममा दुई जनाभन्दा बढी पाहुनाकालागि २५ प्रतिशत छुट छ ।’
