गल्ला भण्डार हराउनुको एउटा कारण मधेशमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो, देशको अन्नभण्डार भनिने मधेशका खेत प्लटिङले चिराचिरा छन्, जसकारण उत्पादकत्व दिनानुदिन घट्दो छ।
What you should know
(रौतहट), (नेपालगन्ज), (बर्दिया) र (कपिलवस्तु) — खाद्यान्न बिक्रीका लागि एक समय बस्ती आसपास गल्लामन्डी हुन्थे । सिजनअनुसार उब्जाएका खाद्यान्न लगेर सर्वसाधारणले मन्डी (भण्डार) मा बिक्री गर्थे । ग्रामीण क्षेत्रमा बजार विस्तार नभएका बेला यस्ता मन्डी व्यापारिक केन्द्र थिए । खाद्यान्न र वस्तु विनिमय गर्ने भएका कारण बाह्रै महिना चहलपहल हुन्थ्यो ।
सहरीकरणसँगै गाउँगाउँमा व्यापारिक केन्द्र बने । किनबेचको परम्परा बदलियो, जसले गर्दा ग्रामीण क्षेत्रबाट यस्ता गल्लामन्डी हराउन थालेका छन् । पहिलेका गल्लामन्डी अहिले आधुनिक बजारमा परिणत भइसकेका छन् ।
रौतहटको चन्द्रनिगाहपुरमा उत्पादन बिक्री गर्न आउने किसान र व्यापारीबीचको मोलमोलाइ हेर्नलायक हुन्थ्यो । त्यस बेला जिल्लामा उत्पादित कृषि उपज बिक्रीको थलो नै गल्ला भण्डार (अन्नपात खरिदबिक्री गर्ने गोला) हुन्थे । डेढ दशकअघिसम्म यहाँ एक दर्जन हाराहारी यस्ता खरिदबिक्री केन्द्र थिए । दुःखजिलो गरेर उब्जाएको धान, मकै, गहुँ, मसुरो र तोरी जस्ता खाद्यान्न बोकेर किसान ढुक्कसित गल्ला भण्डारमा आउँथे । यस्ता ठाउँ किसानका आर्थिक भरोसाका केन्द्र थिए । उचित मूल्य र बजार सुनिश्चित हुने भएकाले आफ्नो उपज बेच्न भौंतारिनु पर्दैनथ्यो । अहिले व्यापारी र उद्योग सञ्चालक नै अन्नपात खोज्दै किसानको दैलोमा पुग्न थालेका छन् ।
यतिबेला चन्द्रनिगाहपुरको पुरानो बजार प्रायः सुनसान हुन्छ । किसानको भीड लाग्ने यहाँका २३ गल्ला भण्डारमध्ये अहिले एउटै बाँकी छैन । तिनलाई सञ्चालन गर्ने व्यापारी पनि पलायन भइसकेका छन् । चन्द्रनिगाहपुरबाट विस्थापित व्यापारीले गरुडामा व्यवसाय सुरु गरेका थिए । अहिले त्यहाँका गल्ला भण्डार पनि क्रमिक रूपमा हराउँदै छन् । गरुडामा गोला सञ्चालन गरिरहेका कामेश्वर साहले एक दशकअघिसम्म हुने उत्पादन र किसानको सान दुवै हराइसकेको बताए ।
‘अहिले गाउँगाउँमा किनबेच हुन थाल्यो । सहर बजारका सबै विस्थापित भए,’ साहले भने, ‘अन्न जति खेतमै र बचेको थोरै गाउँमै बिक्न थालेपछि गल्ला भण्डार बन्द भएर व्यापारी पलायन भइसके ।’ साह २०७० सालतिर चन्द्रनिगाहपुरबाट गरुडा पलायन भएका थिए । गरुडामा उनले तीन वर्षजति गल्ला भण्डार सञ्चालन गरे । खाद्यान्न पाउन छाडेपछि उनले छाडेको सुनाए । ३० भन्दा बढी गल्ला भण्डार रहेको गरुडा बजारमा अहिले ५/७ वटा मात्र सञ्चालनमा छन् । तिनमा पनि खासै कारोबार नभएको व्यापारी सुनाउँछन् । केही वर्ष गरुडामा यो व्यवसाय फस्टाए पनि अहिले त्यहाँ पनि गल्ला भण्डार बन्द हुने क्रममा छन् ।
अन्न जति खेतमै र बचेको थोरै गाउँमै बिक्न थालेपछि गल्ला भण्डार बन्द भएर व्यापारी पलायन भइसके।-कामेश्वर साह, गरुडामा गोला सञ्चालकचन्द्रनिगाहपुर मधेश र पहाड जोड्ने बलियो व्यापारिक केन्द्र थियो । आसपासका गाउँबाट किसान उत्पादन बिक्री गर्न आउँथे । पछिल्लो समय गाउँगाउँमै गल्ला भण्डार सञ्चालन हुनु र व्यावसायिक असुरक्षाले गल्ला व्यापारी गरुडातर्फ लागेको उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुरका पूर्वअध्यक्ष सुनिलकुमार साहले बताए । ‘पछिल्लो समय कृषि उत्पादन पनि कम हुँदै गएको छ, गाउँमै गल्ला भण्डार पनि सञ्चालनमा आउन थाले,’ उनले भने, ‘त्यसले गर्दा बजारमा खाद्यान्न खरिदबिक्रीको चहलपहल शून्य भएको छ ।’ जिल्लाभर भित्री गाउँका साना गल्ला भण्डारको संख्या एक सयभन्दा बढी हुन सक्छ । तर तिनको अवस्था पनि नाजुक रहेको साहले सुनाए ।
गल्ला भण्डार घट्नु केवल व्यवसाय बन्द मात्र नभएर कृषि अर्थतन्त्र भत्किएको संकेत भएको चन्द्रपुरका नगर प्रमुख सञ्जय काफ्ले बताउँछन् । ‘मधेशको कृषिलाई जोगाउने र किसानलाई पुनः आत्मनिर्भर बनाउने हो भने तत्काल किसानको उपज सरकार आफैंले समर्थन मूल्यमा खरिद गर्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने, ‘बन्द भएका साना तथा मझौला गल्ला भण्डारलाई सहुलियत ऋण र बजारको ग्यारेन्टी गरेर पुनः आकर्षित गर्नुपर्छ ।’ पछिल्ला वर्षमा ठूला खाद्यान्न उद्योगी, आधुनिक राइस मिल सञ्चालक र बाह्य जिल्लाका ठूला व्यापारी सिधै खेतबारी र किसानको घरदैलोमै पुग्न थालेका छन् । ट्र्याक्टर र गाडी लिएर गाउँगाउँमै पुगेर नगदमै अन्न खरिद गर्ने परिपाटी विकास भयो । यसले गर्दा किसानले ढुवानी खर्च व्यहोरेर पुरानो बजारका गल्ला भण्डारसम्म अन्न ल्याउन छाडेको चन्द्रनिगाहपुरका व्यापारी रोहन साहले सुनाए ।
स्थानीयका अनुसार गल्ला भण्डार बन्द हुनुमा संगठित बजारको अभाव र सरकारी उदासीनता मुख्य कारण हुन् । किसानले सिधै संस्थागत रूपमा बिक्री गर्ने ठाउँ नपाउँदा अहिले सिंगो बजारको स्वरूप विकृत बनेको छ । गाउँघरमा खोलिएका साना गल्ला भण्डारमा बिक्री गर्नुपर्दा उचित मूल्य नपाउने गुनासो छ । साइकलमा खाद्यान्न किन्न आउनेले किसानलाई मूल्यमै बार्गेनिङ गरेर भए पनि किनेरै छाड्ने गरेको रंगपुरका किसान रजौर चौधरीको भनाइ छ । ‘संगठित गल्ला भण्डार नहुँदा किसान ती घुमन्ते व्यापारीले तोकेको सस्तो मूल्यमा अन्न बेच्न बाध्य छन् । पहिले बजारमा गोला हुँदा मूल्य सोधपुछ गरेर बढी दिनेलाई बेच्न पाइन्थ्यो,’ उनले भने, ‘अहिले गाउँमा आउने व्यापारीले जे भन्यो, त्यही मान्नुपर्छ । नबेचे अन्न कुहिने डर, बेचे लागत पनि नउठ्ने अवस्था छ । ठूला गल्ला भण्डार बन्द भएपछि त्यसको सिधा असर किसानलाई नै परेको छ ।’
घरमै पुग्ने कतिपय व्यापारीहरूले तौलमा समेत किसानलाई ठग्ने गरेको गुनासो बढेको छ । गल्ला भण्डारमा तत्काल वा निश्चित समयभित्र भुक्तानी पाइने ग्यारेन्टी हुन्थ्यो, तर अहिले उधारोमा अन्न उठाएर व्यापारी बेपत्ता हुने जोखिम उत्तिकै बढेको किसानको गुनासो छ ।
गल्ला भण्डारहरू हराउनुको अर्को मुख्य कारण मधेशमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट पनि हो । देशको अन्न भण्डार भनिने मधेशका खेत प्लटिङले चिराचिरा छन् । यही कारण उत्पादकत्व दिनानुदिन घट्दो छ । मुख्य सिजनमै मल नपाउँदा र गुणस्तरहीन बिउका कारण उत्पादन खस्किएको छ । अकासे पानीको भर पर्नुपर्ने बाध्यता र भूमिगत जलस्तर घट्दा खेती सुक्दै गएको छ । उत्पादन नै कम भएपछि र संकलन गरिएका अन्न सजिलै ठूला आधुनिक राइस मिलमा सिधै पुग्न थालेपछि रैथाने गल्ला भण्डारको औचित्य र अस्तित्व दुवै संकटमा परेको देखिन्छ । बाँकेमा खाद्यान्न व्यापारको स्वरूप परिवर्तन हुँदै गएको छ । एक समय व्यापारी किसानको घरदैलोमै पुगेर धान, गहुँ, मकैलगायत खाद्यान्न खरिद गरेर गल्ला बजारसम्म पुर्याउने गर्थे । अहिले गाउँमै स्थानीय व्यापारी र बिचौलियाको सञ्जाल विस्तारसँगै खाद्यान्न संकलन र बिक्री प्रक्रिया फेरिएको छ । यसले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको गुनासो गर्छन् ।
आफ्ना बाउबाजेको पालामा व्यापारीले किसानको घरमा पुगेर खाद्यान्न खरिद गर्ने गरेको नेपालगन्जस्थित सरस्वती खाद्य ट्रेडर्सका सञ्चालक शिवशंकर गुप्ता बताउँछन् । अहिले गाउँमा स्थानीय व्यापारी सक्रिय छन् । उनीहरूले किसानबाट धान, गहुँ, मकै, मसुरोलगायत उत्पादन खरिद गरेर ठूला व्यापारीसम्म पुर्याउने गरेका छन् । ‘अहिले घरघरमा धान जोख्ने काँटा पुगेको छ, किसानसँग अटो रिक्सा र ट्र्याक्टर पनि छन्,’ गुप्ताले भने, ‘तर, प्रायः किसानले स्थानीय व्यापारीलाई बेच्ने गर्छन् । बिचौलियामार्फत खाद्यान्न आउँदा किसानले पाउने मूल्य घट्ने गरेको छ ।’ धेरैजसोले एकदेखि ५ कट्ठा जमिनमा खेतीपाती गर्छन् । केही ठूला किसानले चार–पाँच बिघासम्ममा उत्पादन गर्ने गरेका छन् ।
थोरै परिमाणमा खाद्यान्न ढुवानी भाडा तिरेर बजार पुर्याउँदा महँगो पर्ने भएकाले किसान स्थानीय व्यापारीमा निर्भर हुने गरेका हुन् । ग्रामीण क्षेत्रमा श्रमशक्तिको अभाव र वैदेशिक रोजगारीका कारण किसान प्रभावित भएको राहुल फुड्स प्रालिका सञ्चालक रवीन्द्र रावलले जनाए । ‘गाउँघरका धेरैजसो पुरुष बाहिर छन्, घरमा महिला मात्र हुने भएकाले स्थानीय व्यापारी ट्र्याक्टर र काँटा लिएर घरमै पुग्छन् र त्यहींबाट खाद्यान्न खरिद गर्छन्,’ उनले भने ।
सरकारले निर्धारण गरेको समर्थन मूल्य निजी बजारमा प्रभावकारी रूपमा लागू हुन नसक्दा किसान समस्यामा पर्ने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख रामशरण लामिछानेको भनाइ छ । ‘किसानबाट सोझै धान खरिद गर्न हामी वडा कार्यालयमार्फत किसानको परिचय खुल्ने सिफारिस ल्याउन भन्छौं,’ उनले भने, ‘गत वर्ष एक किसानबाट ४० क्विन्टलसम्म धान किन्न सिफारिस गरिएको थियो ।’
किसानलाई मूल्यमा मार
पहिला जस्तो गल्ला व्यवसाय नहुँदा व्यवसायीलाई जीविकोपार्जन गर्नै धौधौ हुन थालेको कपिलवस्तु–२ रमतलहामा श्याम ट्रेडर्स सञ्चालन गरिरहेका गल्ला व्यवसायी पुजारी गुप्ताले बताए । पहिला गाउँघरबाट गल्ला (धान, चामल र गहुँ) गोरुगाडा, ट्र्याक्टरमा राखेर सदरमुकाम ल्याउने गरिन्थ्यो । जसले गर्दा व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । पहिले कृषकले घर गर्जो टार्न आफूले उत्पादन गरेको खाद्यान्न व्यापारीकहाँ सोझै लगेर बेच्थे । दुई/तीन वर्षयता किसान लामो दूरी तय गरेर गल्ला बिक्री गर्न जाँदैनन् । लामो दूरीका लागि बिल काट्नुपर्छ । फर्म नभई बिल काट्न मिल्दैन । त्यसैले नजिकका खुद्रा व्यापारीलाई बेच्छन् । खुद्रा व्यापारीले थोक व्यापारीलाई बेच्दा समस्या भइरहेको अर्का व्यवसायी गिरजेश जयसवालले बताए ।
एउटा तह (खुद्रा) व्यापारीले नाफा खाएर बेच्दा किसानले कम मूल्य पाउने गरेका छन् । थोक व्यापारीले पनि धान–चामल आफैं सिधै बेच्न पाउँदैनन् । ‘ब्रान्ड दर्ता गरेका उद्योगलाई बेच्नुपर्छ,’ जयसवालले भने, ‘उनीहरूले सानो प्याकिङ गरेर उपभोक्तालाई बेच्छन् ।’
थोक व्यापारीले संकलन गरेर बिक्री गर्दा उपभोक्ताले सस्तो मूल्यमा खाद्यान्न पाउँथे । तर ब्रान्ड दर्ता गरेर बिक्री गर्दा धेरै महँगो पर्छ । यसले गल्ला व्यापारी मर्कामा परिरहेको जयसवालले सुनाए । ‘तीन वर्ष अघिसम्म थोक व्यापारीले एक क्विन्टल धान बेच्दा दुई सयदेखि अढाई सय रुपैयाँ नाफा पाउँथे,’ तौलिहवाका व्यापारी पुजारी गुप्ताले भने, ‘अहिले २५ रुपैयाँ मात्र नाफा हुन्छ ।’ गहुँ बेच्दा पहिले एक सय नाफा पाउने गरेकामा अहिले २० रुपैयाँ र चामल बेच्दा पहिले तीन सयदेखि चार सय नाफा पाउने गरेकामा अहिले ५० रुपैयाँ नाफा पाउँदा जीविकोपार्जन गर्न समस्या भइरहेको जयसवालको भनाइ छ ।
व्यापार निराशाजनक
बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरका गल्ला व्यापारी बालकृष्ण लामिछाने केही वर्षयता धान, तोरी र गहुँको व्यापारमा कमी आएको बताउँछन् । भारतबाट निर्बाध रूपमा धान आयात हुन थालेपछि व्यापारीसँगै किसान पनि मर्कामा परेको उनको भनाइ छ । ‘किसानले सस्तोमा खाद्यान्न बेच्न बाध्य छन्,’ उनले भने, ‘धान, गहुँ जस्ता खाद्यान्नको आयात बन्द गर्नुपर्छ ।’
स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि खाद्यान्न उत्पादनका लागि ठोस योजना ल्याउनुपर्ने लामिछाने जनाउँछन् । जिल्लामा राजापुर धानका लागि प्रख्यात छ । चार दशकअघिसम्म राजापुरमा उत्पादित धान भारत र बंगलादेशसम्म निर्यात हुने हुन्थ्यो । उत्पादनमा ह्रास आएपछि यहाँ गल्ला व्यापार निराशाजनक अवस्थामा रहेको राजापुरका गल्ला व्यवसायी वीरेन्द्र गुप्ताले बताए ।
‘सरकारले राजापुर नगरपालिका र गेरुवा पालिकालाई १० वर्षअघि धान जोन घोषणा गर्यो । उत्पादन बढाउन किसानलाई अनुदानसमेत दियो,’ लामिछानेले भने, ‘तीन वर्षअघि धान जोन मानिने राजापुर–५ मा चिनी मिल सञ्चालन गरिएपछि करिब एक हजार हेक्टरमा उखु खेती गरियो । जसले धान उत्पादनमा कमीसँगै गल्ला व्यापार घट्यो ।’ एक दशकअघिसम्म राजापुरको जिल्लाका अन्य बजारसँग सिधै यातायात सम्पर्क थिएन । अहिले पुल र सडक नपुगेको ठाउँ छैन । गाउँगाउँमा बजार छन् । ‘सडक सञ्जालमा जोडिएपछि सुर्खेत, बाँकेलगायत जिल्लाबाट गाडी लिएर व्यापारी घरघर पुगेर गल्ला खरिद गर्न थालेका छन्,’ लामिछानेले भने, ‘किसानबाट सस्तोमा धान खरिद गर्दा गल्ला पसलधनी मर्कामा परेका छन् ।’
विगतमा सडक सञ्जाल नहुँदा निकै दुःख पाएको राजापुर–१० का गल्ला व्यवसायी शालिकराम सिग्देलले सुनाए । विगतमा धान, गहुँ, तोरीलगायत खाद्यान्न लडियाबाट गेरुवा नदी हुँदै डुंगाबाट तारेर नेपालगन्ज पुर्याएको उनको भनाइ छ । ‘खरिदबिक्री राम्रो थियो,’ उनले भने, ‘अहिले चिनी मिलका कारण उत्पादन घट्यो र व्यापारमा कमी आएको छ ।’
