चार दिन लगातारको बिदा र भारतीय पर्यटकको आगमनले चितवन, पोखरा, पाल्पालगायतका प्रमुख पर्यटकीय क्षेत्रका होटल, रिसोर्ट भरिभराउ भएका छन्।
What you should know
चितवन, बर्दिया, पाल्पा र पोखरा — छुट्टीमा परिवारसहित घुमफिर गर्ने चलनले मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा चहलपहल हुनेक्रम बढेको छ। लगातारकाे सार्वजनिक बिदाका कारण स्वदेशीका साथै गर्मीयाममा भित्रिरहेका भारतीय पर्यटकका कारण चितवन, पाल्पा, पोखरा, लुम्बिनी र बर्दियाका होटलले पाहुना पाइरहेका छन् । तराईका पर्यटकीय क्षेत्रको तुलनामा पहाडी गन्तव्यमा पर्यटकको चहलपहल छ । भारतीय पर्यटकका कारण पोखरामा अफसिजनमा पनि रौनक बढेको छ ।
गर्मी छल्न ‘हिल स्टेशन’ उक्लिरहेका पर्यटकका कारण पहाडका फार्म हाउस र रिसोर्टमा कोठा पाउनै मुस्किल छ । गर्मी ठाउँका होटलले पनि पाहुना आकर्षित गर्न विभिन्न अफर र मनोरञ्जनात्मक कार्यक्रम गरिरहेकाले सप्ताहन्त र धेरै दिनको सार्वजनिक बिदाका बेला होटलका कोठा रित्ता राख्नु परेको छैन ।
काठमाडौं बसुन्धराका सरोज पन्तले बिहीबार चितवनको सौराहा बाघमारामा हात्ती सफारी गरे । दुई सन्तान र श्रीमतीसहित घुम्न हिँडेका उनले शुक्रबार पोखरा पुगेर शनिबार जोमसोमसम्म जाने योजना बनाएका थिए । लगातार चार दिनको सार्वजनिक बिदाले घुमघामको लामो योजना बनेको उनले बताए । ‘समय छ, गर्मीदेखि चिसो मौसमको अनुभव गरौं भन्ने मन भयो,’ उनले भने ।
घाम डुब्दै गर्दा सौराहा घुम्न आउनेहरुले राप्तीको तटबन्ध किनार भरिँदै गएको थियो । भारतीय नम्बर प्लेटका गाडीको आउनेक्रम पनि बढिरहेको थियो । चितवन निकुञ्ज घुमेर फर्केका विदेशी पर्यटक होटल पुगेर सुस्ताउँदै थिए । होटल सञ्चालकहरु व्यस्त देखिन्थे ।
चैतपछि सौराहामा पर्यटक खासै आउँदैनन् । तर यो वर्ष वैशाखमा पनि चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको संख्या राम्रै थियो । यहाँ जेठमा पनि चहलपहल कायम छ । गर्मीका बेलामा जंगल गएर दुर्लभ वन्यजन्तु बाघ–गैंडालगायतका जनावर हेर्ने चाहना बिदाका कारण बढेको होटल व्यवसायीको अनुभव छ । शनिबारसँगै आइतबार पनि बिदा हुँदै आएको छ । यो पटक चार दिन लगातार बिदा छ । बिहीबारदेखि आइतबारसम्म लगातार चार दिनको बिदामा चितवन, बर्दिया जस्ता पर्यटकीय क्षेत्रमा घुम्नेको संख्या पनि बढेको छ ।
सौराहामा तीन दशकदेखि पर्यटन व्यवसाय गर्दै आएका केशव खनालले मोनालिसा होटल सञ्चालन गरेको १५ वर्ष भयो । उनले दसैंतिहार र जाडोयाममा नेपाली धेरै आउने र फागुन–चैतमा विदेशी आउने गरेको बताए । ‘तर यो पटक वैशाखमा पनि राम्रै भयो । हिजोआज पनि राम्रो नै छ । अफ सिजन भन्नु परेको छैन।’ खनालले भने । उनको होटलका कोठामा एक सयजना बस्न मिल्छ । ‘बिहीबार बिदा हुँदा हाम्रो होटल पूरै प्याक भयो । शुक्रबारदेखि आइतबारसम्म यस्तै जान्छ,’ खनालले भने ।
उनको होटलमा बस्न आउनेमा ७० प्रतिशत नेपाली छन् । त्यसपछि चिनियाँ २० प्रतिशत र बाँकी भारतीय तथा अन्य विदेशी रहेको उनले बताए । यो बेला भारतीय र चिनियाँहरु धेरै आउने र बिदाका कारण नेपालीहरु पनि बढेको नेचर गाइड अस्मिता गोदारले बताइन् । ‘बिहानै १८ जनाको ग्रुप लिएर हिँडेको छु । सबै चाइनिज हुन् । दिउँसो जिप सफारी जानु छ । योबेला चाइनिज र भारतीय धेरै छन् । बिदामा नेपाली पनि बढ्छन्,’ गोदारले शुक्रबार बिहान भनिन् । पोरखा र काठमाडौंबाट घुम्न आउनेहरु धेरै हुने उनले बताइन् ।
चितवन निकुञ्ज वन्यजन्तु अवलोकन गर्नेका लागि देशको पहिलो गन्तब्य हो । दुर्लभ बाघ–गैंडा हेर्न आउनेहरु अनुभवी नेचर गाइडको साथमा जंगल वाक, जिप सफारी या निकुञ्जआडका मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी गर्छन् । निकुञ्ज हुँदै बग्ने खोला र नदीमा डुंगा सफारी पनि गर्छन् । निकुञ्ज घुम्ने प्राय: कात्तिकमा धेरै हुन्छन् । त्यसपछि चैतमा निकुञ्ज घुम्ने विगतको चलन हो ।
यो आर्थिक वर्षमा पनि अहिलेसम्म कात्तिकमा धेरै आएका छन् । कात्तिकपछि चैतमा हैन निकुञ्ज घुम्न आउनेहरु पहिलो पटक वैशाखमा धेरै देखिए । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले गएको वैशाखमा स्वदेशी, विदेशी र सार्क देशका गरेर २९ हजार ७४० जनाले निकुञ्ज घुमेको जानकारी दिएका छन् । गएको कात्तिकमा ३२ हजार २५२ जनाले निकुञ्ज घुमेका थिए । त्यसपछि संख्या घट्दै गएर फागुनमा २७ हजार ४०५ पुग्यो । चैतमा झनै घटेर २५ हजार ९८५ पुग्यो ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न विभिन्न १० ठाउँमा प्रवेशद्वार छन् । तीमध्ये सौराहा हुँदै अत्याधिक पर्यटक निकुञ्ज घुम्छन् । निकुञ्जको विवरणमा ९० प्रतिशत पर्यटक सौारहा हुँदै जंगल घुम्न जान्छन् । चितवनको पश्चिम भेगमा पर्ने मेघौली अर्को महत्वपूर्ण गन्तब्य हो । ‘यहाँ पनि बिदाका बेलामा राम्रो चहलपहल हुने गरेको छ । हिजोआज पनि भरिभराउ छ,’ चितवन गोलाघाट पर्यटन व्यवसायी समितिका अध्यक्ष विशाल कुमालले भने । मेघौलीको गोलाघाटमा राप्ती र नारायणी नदीको मिलन हुन्छ । त्यहाँबाट सूर्यास्तको दृश्य गज्जबको देखिन्छ ।
निकुञ्जको जंगलमा गैंडा र मौका मिले बाघ पनि देख्न पाइने हुँदा मेघौलीमा पर्यटक बढ्न थालेको उनले बताए । ‘पश्चिममा बुटबल, पुर्वमा बिराटनगर र हेटौंडाबाट पनि गोलाघाट मेघौली घुम्न आउनुहुन्छ । बिदाको समयमा संख्या बढ्छ । वैशाख, जेठको गर्मीमा पनि यो पटक धेरै घुम्न आउनुमा बिदाको कारणले हुनसक्छ,’ उनले भने। जागिरेदेखि विद्यार्थीसम्म घुम्न आएको उनले बताए ।
बर्दियामा पनि
बर्दिया राष्ट्रिय निकुञ्जमा पनि पर्यटकको चाप छ । निकुञ्जभित्र जिप सफारी गर्ने र निकुञ्ज मुख्यालयको थुनामा रहेका समस्याग्रस्त बाघ, गैंडालाई हेरेर प्रफुलित भएका छन् । दिउँसोको तापक्रम ४१ डिग्रीसम्म पुगे पनि निकुञ्ज आसपासका अधिकांश होटलमा पर्यटकको आगमन सन्तोषजनक रहेको पर्यटन व्यवसायी रामजी बाबु थापाले बताए । यतिबेला सरकारी, गैरसरकारी संस्थाले कार्यक्रम आयोजना गरेकाले पनि भीड राम्रो रहेको उनले बताए ।
निकुञ्ज प्रवेश गर्न आउने आन्तरिक पर्यटकले १ सय, सार्कका ७ सय ५० र विदेशी पर्यटकका लागि १ हजार ५ सय शुल्क लाग्ने गरेको छ । पाटे बाघका लागि ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा बाघ छन् । गत साउनदेखि वैशाखसम्म २२ हजार २ सय २२ जनाले बर्दिया निकुञ्ज भ्रमण गरेका छन् । यस अवधिमा नेपाली १५ हजार १ सय ४०, सार्क ८ सय ८९ र विदेशी ६ हजार १ सय ९३ पर्यटक अवलोकन गरेको निकुञ्जका सूचना अधिकारी वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।
पाल्पाका होटल र रिसोर्ट भरिभराउ
सरकारले शनिबार र आइतबार गरी सातामा दुई दिन बिदा दिन थालेपछि पर्यटकीय क्षेत्रमा घुम्न जानेको संख्या बढेको देखिन्छ । यसपटक बकर इद र गणतन्त्र दिवससहित गरी लगातार चार दिन बिदा भएकाले परिवार तथा साथीभाइसँग घुम्नेको संख्या ह्वात्तै बढेको छ । पाल्पाको तानसेनमा गर्मीमा चिसो छल्न र लामो बिदामा घुमघाम गर्न आउने गर्छन् ।
छिमेकी मुलुक भारतबाटसमेत यतिबेला आगमन बढेपछि तानसेनका प्राय: होटलको ‘अकुपेन्सी’ सतप्रतिशत जस्तै छ । ‘लामो समयपछि अहिले तानसेनका होटल व्यवसायीको अनुहार हँसिलो बनाएको छ,’ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले भने, ‘केही दिनयता तानसेनका होटलमा ८० प्रतिशत अकुपेन्सी नाघेको छ ।’ उनका अनुसार कतिपय होटलको शतप्रतिशत छ । आफुले राख्न नसकेर अर्को होटलमा सिफारिस गरेर पठाउने गरेकोसमेत उनले बताए ।
बस्यालकै होटल अन्नपूर्णमा ४० वटा कोठामध्ये चेकआउट नहुँदै ८० प्रतिशत बुक भइसकेका हुन्छ । प्राय: सबै होटलमा यही अवस्था उस्तै रहेको उनले बताए । अघिल्ला वर्ष जेठ महिनामा यसरी भीडभाड कमै हुन्थ्यो । पाल्पामा होटल तथा रेण्टुरेण्ट १२० वटा छन् तर पाल्पा होटल एशोसिएसन आफ नेपालमा आवद्ध भने १५ वटा मात्र छन् । प्राय: सबै होटलमा आन्तरिक तथा भारतीय पर्यटकको भीडभाड रहेको छ । ‘बिहीबार सबै कोठा बुक भएर पनि बाहिर पठाएको थिए,’ होटल श्रीनगरका प्रबन्ध निर्देशक तथा पाल्पा हानका अध्यक्ष जयन्त भुसालले भने, ‘लामो विदाले गर्दा होला नेपालीहरु पनि घुम्न निस्केको राम्रै पाइएको छ ।’
घुम्न लायक पर्यटकीय स्थलमध्ये पाल्पाको तानसेन पनि पर्छ । घुम्न निस्केकाहरुले पाल्पाको तानसेनलाई नछाड्ने भएकाले पनि लामो बिदाले गर्दा घुम्न आउनेहरु बढेका हुन् । तानसेन बजारका होटलका साथै नजिकमा संचालन भएका रिसोर्टमा अहिले भरिभराउ नै छ । चार दिन बिदाले झापा, मोरङ, सुर्खेत, कैलाली, कन्चनपुर, दाङबाट पाल्पा घुम्न आएका प्रशस्तै छन् ।
झापा दमकका किसन अधिकारीले चार दिन बिदा भएकाले पारिवारसहित लुम्बिनी, पाल्पा हुँदै पोखराबाट फर्किने योजना बनेको बताए । ‘लुम्बिनीमा निकै गर्मी भयो बास बस्न तानसेन आइयो,’ उनले भने, ‘यस्तो शीतल ठाउँमा एक रात नबसी मनले मानेन ।’
रिब्दीकोट गाउँपालिका–३ खस्यौलीस्थित सिर्जना फार्मका प्रबन्धक विष्णु अधिकारीले १४ वटा कटेजसहितको कोठा भए पनि दुई/तीन दिनलाई बुक भइसकेको बताए । यहाँ शान्त वातावरण र पुरानो घरलाई आधुनिकता अनुसारको कोठा बनाएको छ । कम्तीमा ४० जना राख्न सक्ने क्षमता रहेको छ । भारतीयहरुले मन पराउने भएकाले ५० प्रतिशत उनीहरुले बुक गर्छन् ।
पोखरामा ओइरिए भारतीय पर्यटक
फेवातालमा डुंगा चलाउने गोविन्द मगरलाई शुक्रबार एकछिन फुर्सद भएन । तालबाराही जाने पर्यटक ओसार्न उनलाई भ्याइनभ्याइ भयो । भारतीय पर्यटक तछाडमछाड गर्दै डुंगा चढिरहेको दृश्य देखेर उनको अनुहार उजेलियो । ‘यतिखेर भारतीय पर्यटक आउने सिजन नै हो तर यसपल्ट अलि धेरै नै आए,’ उनले भने । चार दिनको लगातार बिदाले बिहीबारदेखि नै आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि भएको उनले बताए ।
भारतको उत्तर प्रदेशस्थित कानपुरका राजेश त्रिपाठी दुई दिनदेखि परिवारसहित पोखरामा छन् । बिहीबार आफ्नै सवारीमा आएका उनको पोखरा भ्रमण तेस्रोपल्ट हो । ‘पहिला साथीहरुसँग आएँ, यसपल्ट परिवारलाई नै घुमाउन ल्याए,’ उनले भने, ‘उता गर्मी छ, यहाँ आएपछि केही दिनको लागि भए पनि राहत मिल्छ ।’ पोखरा आएपछि पानी परिरहेकोले छोराछोरीले पनि रमाइलो मानेको उनले सुनाए ।
उत्तर प्रदेश लखनउका सन्तोष मिश्र आफ्ना ५ जना साथीसहित शुक्रबार पोखरा आए । पोखरा आउने बित्तिकै फेवाताल पुगेका उनले यहाँको शितलताले मन आनन्दित भएको बताए । ‘सोसल मिडियामा जस्तो देखेको थिएँ, पोखरा त्यस्तै रहेछ,’ इन्स्टाग्रामको रिल्स हेरेर पोखरा आएको बताउँदै उनले भने, ‘अझै घुम्न बाँकी छ । यहाँको खाना र नाइट लाइभको अनुभव लिन मन छ ।’
भारतीय र आन्तरिक पर्यटकको उच्च आगमनकै कारण पोखराका तारेदेखि पर्यटकस्तरका होटलसम्म भरिभराउ छन् । पोखराका टेम्पल बेल, बर पिपल, बाराही, अतिथी, टेम्पल ट्री लगायतका होटल भारतीय पर्यटकले भरिएका छन् । फिस्टेल, पोखरा ग्रान्ड लगायतमा पनि भारतीयको वर्चश्व छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखराका होटलमा यतिबेला ९० प्रतिशत अक्युपेन्सी छ । ‘यो भारतीय आउने मौसम नै हो, चार दिनको बिदाले नेपाली पनि थपिए,’ उनले भने, ‘पानी परे पनि बर्खा लागिनसकेकोले ट्रेकिङमा आएका विदेशी पर्यटक पनि पोखरामा हुँदा होटलको कोठा पाउन गाह्रो छ ।’
पछिल्लो समय मुक्तिनाथ पुग्ने भारतीयको संख्या ठूलो हुँदा त्यसको फाइदा पोखरालाई पनि पुगेको उनले सुनाए । ‘हामीले चलिए पोखरा भनेर विभिन्न समयमा अभियान पनि चलायौं, भारतीय पर्यटकलाई नेपाल बोलायौं,’ उनले भने, ‘त्यसको प्रभाव पनि अहिले देखिँदैछ । नरेन्द्र मोदीको भ्रमणपछि मुक्तिनाथ पुग्ने भारतीय बढे ।’ भारतीय पर्यटक आफ्नै गाडीमा आउने, खाना पनि उतैबाट बोकेर आउने गर्दा नेपाली पर्यटन व्यवसायीलाई कुनै फाइदा नपुग्ने तर्कको उनी खण्डन गर्छन् । ‘त्यसरी बाटो–बाटोमा आफै पकाएर खाने भारतीय पर्यटक अहिले १० प्रतिशत पनि छैनन्,’ उनी भन्छन्, ‘यहाँका होटल, रेस्टुरेन्टदेखि क्यासिनोसम्म भारतीय पर्यटकले नै धान्ने हुन् ।’
भारतमा अत्यधिक गर्मी हुँदा यसपल्ट ठूलो संख्यामा भारतीय पर्यटक नेपाल भित्रिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् । ‘दुई दिनको बिदाले शनिबार–आइतबार नेपाली पर्यटक पनि बढेकै थिए,’ उनले भने, ‘अहिले पश्चिम एसिया तनाबको बीच तेस्रो मुलुका पर्यटकको आगमन कम भएको अवस्थामा भारतीय पर्यटकको आगमनले राहत महसुस भएको छ ।’
रुपन्देहीमा होटलपिच्छे 'अफर'
रुपन्देहीको तापक्रम ४० डिग्री सेल्सियस हाराहारी छ । त्यसैले यहाँका बासिन्दा गर्मी छल्न हिल स्टेशन केन्द्रित छन् । गर्मी छल्न पाल्पा र पोखरालगायतका गन्तव्यतिर जाने पर्यटकलाई जिल्लामै रोक्न रुपन्देहीका होटलले विभिन्न अफर ल्याएका छन् ।
जिल्लामा रहेका स्तरीय होटलले स्विमिङ पुललाई आधार बनाएर पाहुना भुलाउने मनोरन्जनात्मक अफर सार्वजनिक गरेका छन् । गर्मी छल्न आउने स्वदेशी र भारतीय लक्षित गरेर अफर ल्याएका हुन् । लुम्बिनीस्थित पाँच तारे होटल लुम्बिनी हेरिटेजले आन्तरिक पर्यटक लुम्बिनीमा आकर्षित गर्न सस्तो प्याकेज ल्याएको छ ।
लगातार परेको चार दिने बिदामा विभिन्न ठाउँबाट घुमफिर गर्ने आउने व्यक्ति लक्षित गरेर बिहीबारबाट प्याकेज लागू गरिएको होटलले जनाएको छ । अफरबाहेक पर्यटकले एक/दुई दिनकालागि आफूलाई आवश्यक सुविधा लिन सक्नेछन् । होटलका महाप्रबन्धक बिजेन्द्रभक्त भाजुले बिहीबारबाट लागू हुनेगरी १५ हजार नेपाली रुपैयाँमा तीन रात, चार दिनको प्याकेज सार्वजनिक गरिएको जनाए । प्याकेज खरिद गर्ने व्यक्तिले कोठा, खाजा–खाना, सबै इभेन्ट र स्विमिङ पुलमा प्रवेश पाउने भाजुले बताए ।
उनका अनुसार बिहीबार मुस्लिम समुदायको चाड ईद परेकाले चाड लक्षित प्याकेज ल्याइएको बताए । ‘काठमाडौं, पोखरा, चितवन र आसपासका आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज ल्याइएको हो,’ उनले भने, ‘लुम्बिनीमा नेपालीको आगमन बढोस् भनेर सस्तो प्याकेज ल्याएका हौं ।’ उनका अनुसार शनिबार पुल पार्टी आयोजना गरिनेछ । आइतबार होटलमा खानपिन सुविधासँगै आइपीएलको फाइनल खेलको प्रत्यक्ष प्रशारण गरिनेछ ।
बुटवलस्थित पाँचतारे ह्यात प्यालेसले शनिबार बबल बास कार्यक्रम आयोजना गरेको छ । पौडी पोखरी लक्षित गरेर मुलुकमा पहिलोपटक यस्तो कार्यक्रम गरिएको हो । उक्त होटलकी एसोसियट डाइरेक्टर अफ सेल्स निशा थापाका अनुसार बबल बास एक किसिमको पुल पार्टी हो । ऊक्त कार्यत्रममा भारतबाट प्रतिष्ठित कलाकार आउनेछन् । कार्यक्रममा खाना समेत समेटिएको छ । ‘यो पुल पार्टी हो,’ उनले भनिन्, ‘साना बच्चादेखि वयस्कसम्म लक्षित गरिएको छ ।’
पौडीसँगै संगीत र मनोरञ्जनात्मक खेल आयोजना गरिने थापाले बताइन् । भारतीय र नेपाली पर्यटक लक्षित गरेर कार्यक्रम गरिएको हो । तिलोत्तमास्थित पाँच तारे टाइगर फ्यालेस बाई सोल्टीले शुक्रबार, शनिबार र आइतबारका लागि विशेष कार्यक्रम गरिरहेको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन थालेपछि विभिन्न प्याकेज सार्वजनिक गरेर होटलले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ ।
गर्मीयाममा नेपाली र भारतीय पर्यटक आकर्षिक गर्न यस्तो कार्यक्रम गरिने होटलले जनाएको छ । अहिले गर्मी छल्न भारतबाट धेरै पर्यटक आउने गरेका छन् । उनीहरु परिवारसहित यहाँ आएर रमाउने गर्छन् । लुम्बिनी प्यालेसल रिर्सोटले प्रत्येक शनिबार ६ बजेपछि पाहुना आकर्षित गर्न सांगीतिक साँझ आयोजना गरिरहेको छ । उक्त रिर्सोटका अनुसार शनिवार साँझ ६ बजेपछि संगीत, खाना, पेयपदार्थ उपलब्ध गराइने छ । परिवारसहित सांगितिक माहोलमा रमाउन पाइने रिर्सोटले जनाएको छ ।
