अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष ०८३/८४ को बजेट पेस गर्दै प्राधिकरणलाई उत्पादन, प्रसारण र वितरण तथा व्यापार तीन छुट्टाछुट्टैमा विभाजन गरिने बताएका हुन् ।
काठमाडौँ — सरकारले नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष ०८३/८४ को बजेट पेस गर्दै प्राधिकरणलाई उत्पादन, प्रसारण र वितरण तथा व्यापार तीन छुट्टाछुट्टैमा विभाजन गरिने बताएका हुन् ।
विद्युत् खरिद सम्झौता भएका तर निर्माण सुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी 'टेक अर पे' विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्ने अर्थमन्त्री वाग्लेले बताए । उनले भने, '१० मेगावाटभन्दा कम क्षमतामा आयोजनाको तत्काल पीपीए गरिनेछ । सुक्खायाममा घटाघटमा विद्युत् खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौँ ।'
निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न व्यवस्था मिलाउनेसमेत बजेट वक्तव्यमा उल्लेख छ । जलविद्युत् आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व हस्तान्तरण हुँदा वनको जग्गाको भोगाधिकार र रुख कटानको वापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउने पनि अर्थमन्त्री वाग्लेले घोषणा गरेका छन् ।
ठूला तथा जलाशय युक्त जलविद्युत् आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न प्रवर्द्धकले शतप्रतिशत रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष ४० प्रतिशत सेयर सर्वसाधरणलाई बिक्री गर्न अनुमति दिने अर्थमन्त्री वाग्लेको घोषणा छ ।
