कच्चा पदार्थ अभाव र महँगीले धेरै उद्योग बन्द हुने अवस्थामा पुगेका छन् भने सबैभन्दा बढी प्लास्टिकजन्य उद्योग प्रभावित भएका छन् ।
What you should know
बुटवल, नेपालगन्ज, विराटनगर र पर्सा —
मध्यपूर्व युद्ध लम्बिँदै जाँदा त्यसको असर सीमा क्षेत्रका नेपाली उद्योगमा पर्न थालेको छ । इरान–इजरायल–अमेरिका यद्धका कारण कच्चा पदार्थको आयात प्रभावित भएपछि नेपाली उद्योगको उत्पादनमा गिरावट आएको छ । कच्चा पदार्थ र उपभोग्य सामान महँगिएसँगै भान्सासम्म समेत त्यसको असर देखिइसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको ४० प्रतिशतले मूल्यवृद्धि भएको छ । त्यसले नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थ माग अनुसार आपूर्ति हुन सकेको छैन । अहिले सबैभन्दा बढी प्लास्टिकजन्य उद्योगहरूमा प्रयोग हुने प्लास्टिक ‘दाना’ को चरम अभाव सुरु भएको छ । त्यससँगै भारत हुँदै नेपाली भान्सासम्म पुग्ने भटमास र सूर्यमुखी तेलका लागि आवश्यक कच्चा पदार्थको आयात समेत प्रभावित भएको छ ।
कच्चा पदार्थ अभावले बुटवल औद्योगिक क्षेत्र, भैरहवा–परासी औद्योगिक करिडोरमा सञ्चालित उद्योग बन्द हुने अवस्था सिर्जना हुन थालेको छ । बुटवल औद्योगिक क्षेत्र उद्योग संघ अध्यक्ष उपेन्द्र अग्रवालले पहिलो चरणमा प्लास्टिकजन्य उद्योग अप्ठ्यारोमा परिसकेको बताए । उद्योगले यसअघि सम्झौता गरेअनुसारका कच्चा पदार्थ आयात भइरहेको छैन । आवश्यकताभन्दा कम आयात भइरहेको छ । ‘प्लास्टिकजन्य कच्चा पदार्थमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भयो । कम्पनीसँगको सम्झौता अनुसार कच्चा पदार्थ उपलब्ध गराउन सकिँदैन भनिरहेका छन्,’ उनले भने, ‘यस्तै अवस्था हुने हो भने बढेको मूल्यमा पनि कच्चा पदार्थ नपाइन सक्छ भनेर सूचना पनि आइरहेका छन् । यसले झनै अन्योल र अप्ठ्यारो बनाएको छ ।’
प्लास्टिक दाना नपाउँदा प्लास्टिकजन्य र प्याकेजिङ उद्योगमा संकट गहिरिएको छ । पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, मोटरसाइकलका हेल्मेट कम्पनी, प्लास्टिकका कुर्ची, प्याकेजिङका प्लास्टिक, कार्टुन लगायतका सामग्री उत्पादनमा पहिलो असर परिरहेको उद्योगीको गुनासो छ । अहिले मौज्दातको सामान सप्लाई भइरहेको र उद्योगको पनि स्टकमा केही सामान रहेकाले अझै उद्योग चलेका छन् । तर, अबको एक साताभित्र कच्चा पदार्थ आयात गर्न नसके नेपालका धेरैजसो उद्योग बन्द हुने रूपन्देही उद्योग संघका पूर्वअध्यक्ष एवं युनाइटेड प्लास्टिक उद्योगका संचालक एजाज आलमले बताए ।
उनका अनुसार सामग्री आयातका लागि एलसी खोलेका सामानसमेत भारतले सम्झौताअनुसार दिइरहेको छैन । भारतीय आपूर्तिकर्ता (सप्लायर्स) कम्पनीले नेपाली उद्योगको अर्डर लिन छाडेका छन् । भारत र तेस्रो मुलुकबाट नेपाल आउने कच्चा पदार्थ ढुवानी गर्ने कम्पनीले अब पठाउन नसक्ने सन्देश पठाइरहेको उनले बताए । ‘प्लास्टिकजन्य दानाको मूल्य ४० प्रतिशतसम्म बढ्दा उद्योगीहरू अप्ठ्यारोमा परिसकेका छन्,’ उनले भने, ‘पेट्रोलियम बाई–प्रोडक्ट्सहरूको धेरै मूल्य बढेको छ । ९ सय डलर पर्ने सामानको मूल्य अहिले १५ सय डलर पुगेको छ ।’ प्लास्टिकजन्य उद्योगका कच्चा पदार्थको आपूर्ति रोकिँदा प्लास्टिक पाइप उत्पादन पनि बन्द भएको उनले बताए । त्यसले सरकारी योजनाहरूमा पनि असर गरिरहेको छ ।
नेपाली उद्योगीले भारतको रिलायन्स र भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्लास्टिकका दाना खरिद गर्ने गर्छन् । रूपन्देहीमा मात्र त्यस्ता प्लास्टिक दाना खरिद गरेर प्रशोधन गरेर प्लास्टिकजन्य सामान उत्पादन गर्ने उद्योग ५ सयभन्दा बढी छन् । तिनमा कम्तीमा २० हजार श्रमिक कार्यरत छन् । ती उद्योगले हरेक १५ दिनमा एलसी खोलेर सामान आयात गर्ने गरेका छन् । तर, अहिले एसली खोलेर पनि सामान आयात गर्न नसकेपछि भएको स्टक अबको १० दिन पनि धान्दैन । त्यसपछि बन्द गर्नुको विकल्प नभएको उद्योगी बाबुराम बोहराले बताए । ‘हामी कहाँको कच्चा पदार्थको स्टकले १० दिन पनि धान्न सक्दैन,’ उनले भने, ‘भारतबाहेक अन्य देशबाट अहिलेसम्म कच्चा पदार्थ ल्याउने प्रक्रिया गरिएको छैन । त्यसैले पनि अप्ठ्यारो परिस्थिति सिर्जना हुँदैछ ।’ अब तत्काल चीनतर्फबाट ल्याउन सम्भव नभएको पनि उनले बताए ।
नेपालका ठूला उद्योगहरू नारायणी पश्चिम रूपन्देही, नवलपरासी, नेपालगन्ज क्षेत्रमा सञ्चालित छन् । बेलहिया नाका र अन्तर्राष्ट्रिय बजारको पहुँच पनि सजिलो भएकाले यस क्षेत्रमा निजी क्षेत्रको लगानी धेरै छ । रूपन्देहीमा चामल उद्योगदेखि सिमेन्ट, छड पनि उत्पादन हुँदै आएको छ । तर, ती सबै सामग्रीको कच्चा पदार्थ भारत हुँदै आउने गरेको छ । तर, पछिल्लो दुई सातामा बेलहिया नाकाबाट आउने सामानमा केही कमी हुँदै गएको बेलहिया भन्सार कार्यालयका अधिकृत सन्तोष न्यौपानेले बताए । ‘अहिले भारतीय सप्लायर्सहरूले अर्डर लिन छोडेको भन्ने कुरा आइरहेको छ, त्यसको असर अर्को साताबाट देखिन सक्छ,’ उनले भने, ‘अहिले नै त लोड गाडीहरूको संख्यामा केही कमी आएको भए पनि ठ्याक्कै आयात कति घटेको छ भन्ने आँकडा तयार भएको छैन ।’ १५ देखि २० प्रतिशतसम्म सामान्य आयातमा गिरावट आएको हुन सक्ने उनले बताए । बेलहिया नाकाबाट आउने सामान धेरै भारतीय सप्लायर्समार्फत नै आउने गरेकाले तत्कालै धेरै गिरावट नआउने कार्यालयले जनाएको छ । तेस्रो मुलुकबाट आउने सामान धेरै वीरगन्जबाट आउने गरेको छ ।
नेपालगन्जमा उत्पादनमा गिरावट
मध्य पूर्व एसियामा चर्किंदै गएको युद्धको असर नेपालगन्जका उद्योगमा पनि परेको छ । कच्चा पदार्थ अभावका कारण बाँकेका विभिन्न क्षेत्रमा रहेका उद्योगको उत्पादनमा गिरावट आएको छ । केही उद्योग बन्द हुने अवस्थामा पुगेको लगानीकर्ताले बताएका छन् । कच्चा सामग्री आयात घटेपछि मर्कामा परेका छन् । युद्धका कारण कच्चा पदार्थ आयात ठप्प भएपछि उद्योग क्षेत्रमा गम्भीर समस्या उत्पन्न भएको नेपालगन्ज उद्योग वाणिज्य संघका एसोसिएट सदस्य तथा स्टार पोलिपाइपका प्रबन्ध निर्देशक कमल कार्कीले जानकारी दिए ।
कच्चा पदार्थको अभावका कारण उत्पादनमा ठूलो असर परेको उनले बताए । ‘कच्चा पदार्थ नआउँदा हाम्रो उत्पादन घटिरहेको छ, युद्धका कारण कच्चा माल रोकिएको डेढ महिना भइसक्यो,’ उनले भने । कच्चा सामग्रीको आयात रोकिएसँगै उत्पादन घटेको उनले बताए । उत्पादन घटेसँगै उद्योग सञ्चालनमा समस्या भएको छ । उद्योगी कार्कीका अनुसार यस्तो अवस्थामा कर्मचारी हटाउने अवस्था छैन भने कर्मचारी कायम राख्न पनि जटिलता छ । नेपालगन्जस्थित लक्ष्मी प्लास्टिक प्रालिका कर्मचारी मोहनप्रसाद शर्मा कच्चा पदार्थ अभावले उद्योगको उत्पादन ठप्प भएको बताए । सरकारले आवश्यक कच्चा पदार्थको दीर्घकालीन भण्डारण र आपूर्ति प्रणाली सहज बनाएमा केही हदसम्म असर कम हुने शर्माको सुझाव छ ।
पेट्रो–केमिकलसँग सम्बन्धित कच्चा पदार्थ तेस्रो मुलुकबाट भारत हुँदै नेपाल भित्रिने गरेको छ । तर अहिले भारतले आफ्नै बजारमा अभाव हुन नदिन निर्यातमा कडाइ गरेपछि यहाँका उद्योग संकटमा परेको नेपालगन्ज उद्योग संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताए । पेट्रो–केमिकलसँग सम्बन्धित कच्चा पदार्थ अभावले अहिले प्लास्टिकजन्य उत्पादन मात्र होइन, दैनिक उपभोग्य वस्तु उत्पादनमा समेत असर देखिन थालेको छ । अन्तर्राष्ट्रिय परिस्थिति यस्तै रहिरहे असर अझ गहिरिँदै जाने उद्योगीले चिन्ता व्यक्त गरे । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले कच्चा पदार्थ आपूर्तिको अवस्था सामान्य रहेको बताए । औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा सामग्रीको आपूर्ति सहज र नियमित रहेको उनले दाबी गरे ।
संकटमा प्लास्टिक उद्योग
विराटनगर भन्सार हुँदै भित्रिने प्लास्टिकजन्य वस्तुको कच्चा पदार्थ आयातमा उल्लेख्य गिरावट आएको छ । कच्चा पदार्थ अभाव भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका सयभन्दा बढी प्लास्टिक उद्योगको उत्पादन नराम्ररी प्रभावित भएको छ । वाग्मती प्लास्टिक उद्योगका संस्थापक नन्दकिशोर राठीका अनुसार साउदी अरव, कतार लगायतका खाडी मुलुकबाट भित्रिने कच्चा पदार्थ युद्ध सुरु भएयता भित्रिन सकेको छैन । खाडीका निर्यातकर्ताले कच्चा पदार्थ पठाउन सकेका छैनन् । खाडीको विकल्पका रूपमा भारतबाट समेत उद्योगले कच्चा पदार्थ आयात गर्थे । भारतले निर्यात रोकेपछि उद्योगहरूमा कच्चा पदार्थको अभाव सुरु भएको छ । ‘कच्चा पदार्थ नहुँदा सबै उद्योगमा संकट सुरु हुने निश्चित छ,’ उद्योगी राठीले भने, ‘उत्पादन लागत बढ्दा बजारमा महँगी बढ्ने निश्चित छ ।’
खासगरी जुत्ता–चप्पल उद्योगदेखि केवल तार लगायतका प्लास्टिकजन्य उद्योगमा यसको प्रत्यक्ष प्रभाव सुरु भएको छ । तेल उद्योगहरूमा पनि असर देखिन थालेको छ । विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार विशेष गरी दुबई र साउदी अरबबाट आउने प्लास्टिकका कच्चा पदार्थको आयातमा समस्या देखिएको हो । ‘धेरैजसो प्रतीतपत्र (एलसी) खुल्न सकेका छैनन् भने खुलिसकेका एलसी पनि रद्द हुने क्रम बढेको व्यवसायीहरूले बताएका छन्,’ श्रेष्ठले भने, ‘युद्ध लम्बियो भने हरेक उद्योगमा यसको असर देखिने निश्चित छ ।’ श्रेष्ठले सामान आयातमा आएको गिरावटले महिनाको अन्त्यमा राजस्व संकलनको लक्ष्यमा समेत धक्का पुग्ने सम्भावना रहेको जनाए ।
श्रेष्ठका अनुसार प्लास्टिकजन्य बस्तुका साथै खाने तेल, पेट्रोल, खाना पकाउने ग्यासमा समेत समस्या सुरु भएको छ । अमेरिका, युक्रेन तथा क्यानाडाबाट आउने अन्य सामानमा समेत प्रत्यक्ष असर देखिन थालेको छ । युक्रेनबाट तोरी आयात हुन्थ्यो । अहिले त्यो क्रम रोकिएको छ । नेपाल भित्रिने कतिपय सामानका कन्टेनरहरू विगत २०–२२ दिनदेखि बाटोमै रोकिँदा लागत बढेको उद्योगीहरूको भनाइ छ । भन्सार एजेन्ट सुरेश बोहराका अनुसार चीनबाट आउने सामानको लागत पनि बढेको छ । रसियाबाट आउने रासायनिक मल र युक्रेनबाट आउने खाद्यान्नको आपूर्ति शृंखलासमेत प्रभावित भएको छ । इन्धनको मूल्यमा भएको वृद्धिका कारण ढुवानी खर्च बढ्दा हरेक उपभोग्य सामानको मूल्यमा चाप परेको छ । युक्रेनबाट आउने सामान आइपुग्न ४० देखि ४५ दिनसम्म लाग्ने गरेकोमा हालको अवरोधले थप अन्योल सिर्जना गरेको छ ।
‘इन्धन आयात नियमित’
मुलुकको प्रमुख स्थलनाका वीरगन्जमा मध्यपूर्व युद्धको असर कम परेको छ । इन्धन तथा तेस्रो मुलुकबाट आयात हुने बस्तुको आयात नघटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले सरदर दैनिक ६० करोड हाराहारी राजस्व संकलन भइरहेको जानकारी दिए ।
‘पहिले पनि यस्तै अवस्था हो, अहिले पनि खासै फरक परेको छैन,’ उनले भने, ‘वीरगन्ज नाकाबाट आयात हुने सबै बस्तुको आयात सामान्य अवस्थामै भइरहेको छ ।’ वीरगन्ज नाकाबाट सर्वाधिक राजस्वमा योगदान गर्ने बस्तु इन्धन रहेको र यसको आयात पनि सामान्य अवस्थामा जस्तै भइरहेकाले कुनै पनि बस्तुको आयात नघटेको विष्टले दाबी गरे । चैतमा २४ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा शनिबारसम्म ४ अर्ब ३६ करोड राजश्व संकलन भइसकेको छ । प्रत्येक महिनामा लक्ष्यको औसत ८६ देखि ८७ प्रतिशतसम्म राजस्व संकलन भइरहेको विष्टले बताए । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी सञ्चालक टीआरएस हिमालयन लजिपार्कका अपरेसनल इन्चार्ज जीतेन्द्र रसाइलीले पछिल्ला दिनमा यो नाकाबाट एलपीजी र हवाई इन्धनको आयात सहज रूपमा भइरहेको जानकारी दिए ।
फागुन १६ देखि ३० सम्म यो नाका हुँदै एलपीजी ग्यास बोकेका ६ सय ९६ ग्यास बुलेट र हवाई इन्धन बोकेका २ सय ७४ ट्यांकर भित्रिएका थिए । चैत १ देखि ८ सम्म ३ सम्म ३३ बुलेट र १ सय ९२ हवाई इन्धन बोकेका ट्यांकर भित्रिएका छन् । डिजेल र पेट्रोल पाइपलाइनबाटै भित्रिने गरेको छ । तिनको पनि आयात सामान्य अवस्थामा जस्तै भइरहेको रसाइलीले जानकारी दिए । सामान्य अवस्थामा यो नाकाबाट दैनिक ७ सय हाराहारीमा मालबाहक सवारी साधन भित्रिने गरेकामा हालका दिनमा ६ सय हाराहारी मात्र भित्रिरहेको उनले बताए ।
