विगतका गल्तीबाट सिकेर, वर्तमानमा सुधार गर्दै र भविष्यका लागि स्पष्ट दृष्टिकोण बनाएर अघि बढे नेपाल पुनः अन्तर्राष्ट्रिय आकाशमा आत्मविश्वासका साथ उड्न सक्छ
What you should know
समय सधैं अगाडि बढ्छ । तर उड्डयन क्षेत्रले समयको गतिलाई अरू क्षेत्रभन्दा तीव्र रूपमा अनुभूति गर्नुपर्दछ । प्रविधि, सुरक्षा मापदण्ड, यात्रुको अपेक्षा र बजार संरचना निरन्तर बदलिँदै जाने भएकाले उड्डयन सधैं परिवर्तनको केन्द्रमा रहन्छ ।
भौगोलिक रूपमा विकट, पहाडी र स्थलमार्गको पहुँचमा चुनौतीपूर्ण नेपाल जस्तो देशका लागि हवाई यातायात केवल सुविधा होइन, राष्ट्रिय विकासको मेरुदण्ड हो ।
पर्यटन, व्यापार, लगानी, आपूर्ति शृंखला, आपत्कालीन उद्धार, स्वास्थ्य सेवा, शिक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध यी सबै क्षेत्रसँग नागरिक उड्डयन प्रत्यक्ष जोडिएको छ । त्यसैले नेपालको नागरिक उड्डयन क्षेत्रको अवस्था बुझ्नु भनेको समग्र राष्ट्रिय क्षमताको मूल्यांकन गर्नु हो ।
प्रजातन्त्र प्राप्तिअघि नेपालको हवाई यातायात सीमित थियो । विमान संख्या थोरै, प्रविधि पुरानो र पूर्वाधार न्यून भए पनि नेपालले केही ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।
सन् १९८९ मा युरोपसम्म सिधा उडान सञ्चालन हुनु, राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको अन्तर्राष्ट्रिय पहिचान स्थापित हुनु र पर्यटन प्रवर्द्धनमा हवाई माध्यमको प्रभावकारी प्रयोग हुनु गौरवका पक्ष थिए । तर विश्व उड्डयन उद्योग तीव्र गतिमा अघि बढ्दा नेपाल प्रजातन्त्रको उदयपछि अपेक्षाकृत सुस्त गतिमा मात्र अघि बढ्न सक्यो ।
२०४६ सालपछि आएको प्रजातन्त्रसँगै निजी क्षेत्रको प्रवेश, खुला आकाश नीति र द्विपक्षीय हवाई सेवा सम्झौताहरूले बजार विस्तार गर्यो । आज नेपालसँग ४२ मुलुकसँगको हवाई सम्झौतापत्र छ । तर सम्झौता हुनु र वास्तविक उडान सञ्चालन हुनु फरक कुरा हुन् । पर्याप्त विमान नहुनु, कमजोर आर्थिक क्षमता, व्यवस्थापकीय जटिलता र नीतिगत अस्पष्टताले गर्दा धेरै सम्झौता कागजमै सीमित छन् ।
सन् २००७ तिरसम्म हवाई सुरक्षालाई उड्डयन क्षेत्रमा सहायक विषयका रूपमा लिइन्थ्यो । आज अवस्था पूर्ण रूपमा बदलिएको छ । सुरक्षा अब कुनै पनि उड्डयन संस्थाको केन्द्रीय आधार हो । चाहे त्यो वायुसेवा कम्पनी होस् वा नियमनकारी निकाय । हवाई सुरक्षा आजका दिनमा अपरेसन (सञ्चालन), वित्त वा मानव संसाधनभन्दा पनि माथि पहिलो प्राथमिकताको विषय बनेको छ । यही परिवर्तनले नेपाली उड्डयनलाई नयाँ दिशातर्फ डोर्याएको छ ।
उड्डयन क्षेत्र कुनै बेला शासक प्रशासकले जटिलता मान्थे । तर आज यस क्षेत्रमा प्रयोग हुने अंग्रेजी शब्दावली आम मानिसका लागि दैनिक जीवनयापनका शब्दावली भएका छन् । दलदेखि सदनसम्म उड्डयनसम्बन्धी विषयमा गहन बहस हुन थालेका छन् । सञ्चारमाध्यमले हवाई क्षेत्रका विषयमा विज्ञहरू सरह लेख तथा समाचार प्रकाशन गर्न सक्ने भएका छन् ।
आजका दिन एयर अपरेटर सर्टिफिकेट (एओसी) बिना कुनै पनि एयरलाइन्सले व्यावसायिक उडान गर्न सक्दैन । सेफ्टी भन्नाले उडान सञ्चालन गर्दा यात्रु, चालकदल, जहाज र सम्पत्तिलाई जोखिमबाट जोगाउने सम्पूर्ण व्यवस्थालाई जनाउँछ । अपरेसन भनेको उडान योजना, तालिका, चालकदल व्यवस्थापन, इन्धन, मार्ग चयनजस्ता व्यावहारिक प्रक्रिया हुन् । इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) खराब मौसममा पनि सुरक्षित अवतरण गर्न सहयोग गर्ने प्रविधि हो । यो विषय धेरै पटक मुद्दा बनेको छ । रिक्वायर्ड न्याभिगेसन परफर्मेन्स (आरएनपी) उपग्रह प्रविधिमा आधारित मार्गदर्शन प्रणालीबाट काठमाडौंमा जहाज अवतरण हुन थालेका छन् । जसले पहाडी र जटिल भूभागमा पनि सुरक्षित उडान सम्भव बनाउँछ । ह्युमन फ्याक्टर भन्नाले पाइलट, इन्जिनियर, एटीसी, व्यवस्थापकलगायत सम्पूर्ण जनशक्तिको दक्षता, मानसिक अवस्था, तालिम र निर्णय क्षमतालाई जनाउँछ । यो विषय आज लापरबाही गर्नै नमिल्ने विषय भएको छ ।
सन् २०१२ पछि भएका दुर्घटना र त्यसपछि अन्तर्राष्ट्रिय नियामक निकायले उठाएका प्रश्नले नेपाली उड्डयन क्षेत्रलाई गहिरो धक्का दियो । सन् २०१३ मा सिगनिफिकेन्ट सेफ्टी कन्सर्न (एसएससी) घोषणा हुनु इतिहासकै गम्भीर क्षण थियो । तर यही संकटले सुधारको ढोका पनि खोल्यो । नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स पुनःप्रमाणीकरण प्रक्रिया सुरु गर्यो । कडा अडिट लागू गरियो र पाँच चरणीय अपरेटर सर्टिफिकेट ‘एओसी’ प्रणाली कार्यान्वयनमा आयो । सन् २०१७ मा सिग्निफिकेन्ट सेफ्टी कन्सर्न (एसएससी) हट्नु नेपाली उड्डयनको महत्त्वपूर्ण उपलब्धि बन्यो ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आफ्नो क्षमताको सीमामा पुगेको छ । सन् २०२५ मा ५० लाखभन्दा बढी अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिइएको तथ्यांकले नेपाली उड्डयन बजारको विशाल सम्भावना देखाउँछ । तर यहाँ प्रश्न उठ्छ— नयाँ पूर्वाधारको उपयोग किन सुस्त छ ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि अपेक्षित अन्तर्राष्ट्रिय ट्राफिक आकर्षित गर्न सकेका छैनन् । प्राविधिक जटिलता, खराब मौसममा पनि सुरक्षित अवतरण गर्न सहयोग गर्ने प्रविधि इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) प्रणालीको पूर्ण सञ्चालन नहुनु, उपग्रह प्रविधिमा आधारित जहाज मार्गदर्शन प्रणाली रक्वायर्ड न्याभिगेसन परफर्मेन्स (आरएनपी) स्वीकृतिको खर्चिलो प्रक्रिया, उच्च इन्धन मूल्य र व्यावसायिक जोखिमका कारण एयरलाइन्स सतर्क देखिन्छन् । पूर्वाधार निर्माण अन्तिम लक्ष्य होइन । यसको अधिकतम उपयोग नै सफलताको मापन हो ।
हामी पाइलटहरूबीच काठमाडौं विमानस्थल प्राविधिक दृष्टिले अत्यन्त चुनौतीपूर्ण मानिन्छ । उच्च भूभाग, अप्रत्याशित मौसम, ठाडो अप्रोच प्रोफाइल, रनवे ढलान, ट्राफिक घनत्व, चरा तथा वन्यजन्तुका आकस्मिक गतिविधि, मौसमी कुहिरो यी सबैले यसलाई जटिल बनाउँछन् । सामान्य अवस्थामै चुनौतीपूर्ण रहेको विमानस्थलमा कुनै यान्त्रिक समस्या थपिँदा निर्णय प्रक्रिया अझ संवेदनशील हुन्छ । त्यसैले वैकल्पिक विमानस्थलहरूको प्राविधिक तयारी, न्यूनतम सेवा क्षमता र आपत्कालीन व्यवस्थापन स्पष्ट हुनुपर्छ ।
नेपाल सरकारको भूमिका यहाँ निर्णायक हुन्छ । सरकार नीति निर्माता मात्र होइन, दीर्घकालीन रणनीतिक दिशा तय गर्ने निकाय पनि हो । उड्डयनलाई राष्ट्रिय प्राथमिकतामा राखेर स्पष्ट दीर्घकालीन रणनीति आवश्यक छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन र उड्डयनलाई एउटै सिक्काका दुई पाटा मानेर समन्वित नीति बनाउनुपर्छ । घरेलु वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय एयरलाइन्समा रूपान्तरणका लागि आकर्षित गर्न प्रोत्साहन प्याकेज, शुल्क संरचनामा लचिलोपन, इन्धन मूल्यमा सहुलियत र आक्रामक बजार प्रवर्द्धन अभियान आवश्यक छन् ।
नागरिक उड्डयन प्राधिकरणको प्रमुख जिम्मेवारी सुरक्षा सुनिश्चित गर्नु हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निरीक्षण, अडिट, तालिम र प्रमाणीकरण प्रणाली निरन्तर अद्यावधिक हुनुपर्छ । डिजटल प्रणाली प्रयोग गरेर लाइसेन्सिङ, निरीक्षण र डाटा व्यवस्थापन पारदर्शी बनाउनु जरुरी छ ।
विश्व र एसियाली सन्दर्भमा हवाई यातायात तीव्र गतिमा बढिरहेको छ । एसिया–प्रशान्त क्षेत्र विश्वकै सबैभन्दा छिटो बढ्दो हवाई बजार मानिन्छ । मध्यवर्गको विस्तार, पर्यटनप्रतिको रुचि र सस्तो हवाई टिकटले यात्रु संख्या हरेक वर्ष बढाइरहेको छ । यही वृद्धिदरको सानो अंश मात्र नेपालले उपयोग गर्न सके पनि ठूलो आर्थिक फाइदा लिन सक्छ ।
नेपालको भौगोलिक अवस्थिति रणनीतिक छ । भारत र चीनजस्ता विशाल बजारको बीचमा अवस्थित नेपाल ट्रान्जिट हब बन्न सक्ने सम्भावना बोकेको छ । काठमाडौंसँगै पोखरा र भैरहवालाई प्रभावकारी अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सकियो भने देशमा पर्यटकको बसाइ अवधि बढ्नेछ । खर्च बढ्नेछ र रोजगारी सिर्जना हुनेछ ।
यही सन्दर्भमा नेपालले भविष्यका पुस्ताका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नैपर्छ । काठमाडौं उपत्यकाभित्र थप विस्तार सम्भव छैन । दीर्घकालीन अन्तर्राष्ट्रिय हबका रूपमा निजगढ विकास गरिएमा नेपालले दक्षिण एसिया र पूर्वी एसियाबीचको ट्रान्जिट केन्द्र बन्ने अवसर पाउनेछ । आधुनिक रनवे, कार्गो हब, मर्मत केन्द्र र प्रशिक्षण प्रतिष्ठानसहितको विमानस्थलले अर्थतन्त्रमा गुणात्मक फड्को ल्याउनेछ ।
नेपाल सरकारको भूमिका यहाँ निर्णायक हुन्छ । उड्डयनलाई राष्ट्रिय प्राथमिकतामा राखेर दीर्घकालीन रणनीति बनाउनु आवश्यक छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन र उड्डयनलाई एउटै सिक्काका दुई पाटा मानेर समन्वित नीति बनाउनुपर्छ । नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय मापदण्डअनुसार निरीक्षण, तालिम र प्रमाणीकरण प्रणालीलाई सुदृढ बनाउनु आवश्यक छ ।
विश्व र एसियाली सन्दर्भमा हवाई यातायात तीव्र गतिमा बढिरहेको छ । यही वृद्धिको सानो अंश नेपालले उपयोग गर्न सके पनि ठूलो आर्थिक लाभ लिन सक्छ । अन्ततः भन्नुपर्दा, नेपाली नागरिक उड्डयनको यात्रा चुनौतीपूर्ण भए पनि सम्भावनाले भरिएको छ । स्पष्ट दृष्टिकोण, बलियो नेतृत्व र दिगो नीति भएमा नेपाल पुनः अन्तर्राष्ट्रिय आकाशमा आत्मविश्वासका साथ उड्न सक्छ । उड्डयन केवल जहाज उडाउनु मात्र होइन, यो राष्ट्रको उचाइ नाप्ने सूचक पनि हो ।
मानव संसाधन नेपाली उड्डयनको सबैभन्दा बलियो आधार हो । पाइलट, इन्जिनियर र प्राविधिक उच्च शिक्षित हुँदै बढ्दै गएका छन् । ‘कम्पिटेन्सी बेस्ड ट्रेनिङ’ र ‘इभेन्ड बेस्ड ट्रेनिङ’ जस्ता आधुनिक तालिम प्रणालीतर्फ क्रमशः उन्मुखता बढ्दो छ । प्रविधि महत्त्वपूर्ण भए पनि दीर्घकालीन दिगोपनका लागि दक्ष मानव शक्ति अपरिहार्य हुन्छ ।
कोभिड–१९ महामारीले विश्व उड्डयन इतिहासमै अपूर्व संकट निम्त्यायो । संसारका ठूला–ठूला एयरलाइन्सका जहाज ‘ग्राउन्डेड’ भए । अन्तर्राष्ट्रिय आकाश लगभग सुनसान बन्यो । तर यही कठिन घडीमा पनि नेपाली उड्डयन क्षेत्रले आत्मबल, क्षमता र प्रतिबद्धताको उदाहरण प्रस्तुत गर्यो । नेपाल वायुसेवा निगमका वाइडबडी विमानहरूले महामारीका कठिन परिस्थितिबीच अस्ट्रेलिया लगायतका विभिन्न अन्तर्राष्ट्रिय सहरसम्म चार्टर उडान भरे । ती उडान केवल यात्रु बोकेको यात्रा मात्र थिएनन्, ती नेपाल राष्ट्रको साहस, विश्वसनीयता र अन्तर्राष्ट्रिय जिम्मेवारीप्रतिको प्रतिबद्धताको प्रतीक थिए । ध्वजावाहकको इतिहास हेर्दा उसका पखेटाले छोएका गन्तव्यहरू केवल नक्सामा सीमित छैनन् । ती नेपाली पहिचान बोकेर विश्वका आकाशमा फहराएका गौरवका चिह्न हुन् ।
यही गौरवपूर्ण यात्रामा नेपाली निजी क्षेत्र पनि कुनै हिसाबले पछि परेको छैन । श्री एयरलाइन्स लगायतका नेपाली हेलिकोप्टर तथा वायुसेवा कम्पनीले धेरै वर्ष संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सेवा प्रदान गर्दै आएका छन् । अफ्रिकाका मरुभूमिदेखि मध्यपूर्वका कठिन भूभागसम्म नेपाली हेलिकोप्टर पाइलट, इन्जिनियर र प्राविधिकहरूले जोखिम मोलेर उडान भरेका छन् । उनीहरूको पसिनाले केवल रोजगारी सिर्जना गरेको छैन, नेपाललाई विश्वमाझ भरोसायोग्य उड्डयन साझेदारका रूपमा स्थापित गरिसकेको छ ।
आज नेपाली एभिएटर विश्वका कुनाकुनामा छन् । ठूला अन्तर्राष्ट्रिय एयरलाइन्समा कप्तान पाइलटका रूपमा, मर्मत तथा इन्जिनियरिङ केन्द्रमा विशेषज्ञका रूपमा, एअर ट्राफिक कन्ट्रोल टावरमा नियन्त्रकका रूपमा र प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षकका रूपमा नेपालीहरूको उपस्थिति बढ्दो छ । उनीहरू जहाँ–जहाँ पुगेका छन्, त्यहाँ नेपाली मिहिनेत, अनुशासन र दक्षताको छाप छोडेका छन् । यो अनुभव आफैंमा सम्पूर्ण राष्ट्रका लागि गर्वको विषय हो ।
यसैले नेपाली नागरिक उड्डयन केवल पूर्वाधार वा जहाजको कथा होइन, यो नेपाली आत्मबल, सीप र सम्भावनाको गौरवपूर्ण इतिहास र उज्यालो भविष्यको कहानी हो । समग्रमा भन्नुपर्दा, नेपाली नागरिक उड्डयनको यात्रा उतारचढावले भरिएको छ । विगतका गल्तीबाट सिकेर, वर्तमानमा सुधार गर्दै र भविष्यका लागि स्पष्ट दृष्टिकोण बनाएर अघि बढेमा नेपाल पुनः अन्तर्राष्ट्रिय आकाशमा आत्मविश्वासका साथ उड्न सक्छ । उड्डयन केवल जहाज उडाउनु मात्र नभई राष्ट्रको उचाइ नाप्ने सूचक पनि हो ।
