उत्पादनको दृष्टिकोणले हेर्दा प्रमुख बाली धानको उत्पादन २०४८ मा ३३ लाख मेट्रिक टन रहेकामा २०७८ मा बढेर ५९ लाख मेट्रिक टन पुगेको छ । त्यस्तै, माछापालन, तरकारी तथा फलफूल उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको छ ।
What you should know
नेपाल खाद्य सुरक्षालाई संविधानले मान्यता दिएको स्वतन्त्र राष्ट्र हो । करिब तीन दशकअघि प्रजातन्त्र स्थापना भएपछि देशमा विकासका धेरै नयाँ अवसरहरू खुले । ती अवसरहरू नागरिकको आवश्यकता, सहभागिता र प्राथमिकताका आधारमा समान रूपमा अघि बढाउन सकिने अवस्था बनेको छ ।
विकासका योजना र नीतिहरू बनाउँदा नागरिकको एक महत्त्वपूर्ण मौलिक अधिकार भनेको खाद्य सुरक्षा हो भन्ने कुरा आत्मसात् गर्नु आवश्यक छ । यसका लागि कृषि क्षेत्रको विकास अनिवार्य छ, किनकि कृषि नै खाद्य सुरक्षाको मुख्य आधार हो ।
नेपालमा २०१३ देखि आवधिक पञ्चवर्षीय विकास योजनाको सुरुवात गरिएको हो । ती सबै योजनामा कृषि र खाद्य सुरक्षालाई सधैं राज्यको प्राथमिकतामा राखिँदै आएको छ । यद्यपि प्रजातन्त्र स्थापनापछि पनि सशस्त्र द्वन्द्व, प्राकृतिक विपद्, भारतसँगको नाकाबन्दी र कोभिड–१९ जस्ता महामारीका कारण खाद्य सुरक्षामा धेरै चुनौतीहरू देखिए । त्यसका बाबजुद पनि नेपालले यस क्षेत्रमा केही महत्त्वपूर्ण कामहरू गरेको छ । अब ती प्रयासहरूलाई अझ मजबुत बनाउँदै, खाद्य सुरक्षासम्बन्धी सही जानकारी र बुझाइ जनमानसमा फैलाउनु आजको ठूलो आवश्यकता हो ।
२०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपालले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण नीतिगत सुधारहरू गरेको छ । ती सुधारहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण उपलब्धि वि.सं. २०७२ को संविधानमार्फत खाद्य सुरक्षालाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गर्नु हो । संविधानले खाद्य सम्प्रभुत्तालाई समेत आत्मसात् गर्दै हरेक नागरिकलाई सुरक्षित, पर्याप्त र पोषणयुक्त खाद्य पदार्थमा पहुँचको प्रत्याभूति गरेको छ । साथै, खाद्य सुरक्षाका सवालमा संघ, प्रदेश र स्थानीय तहका सरकारहरूको एकल तथा साझा जिम्मेवारी संविधानका अनुसूचीहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
यसै संवैधानिक आधारमा टेकेर २०७५ मा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन जारी गरियो । जसले नीतिगत प्रावधानलाई व्यवहारमा उतार्ने स्पष्ट बाटो खोलेको छ । उक्त ऐनअनुसार संघीय तथा प्रादेशिक तहमा खाद्य सुरक्षा परिषद् र स्थानीय तहमा खाद्य सुरक्षा समन्वय समिति गठनको व्यवस्था गरिएको छ । यसले खाद्य सुरक्षा कार्यक्रमहरूलाई समावेशी, सहभागितामूलक र उत्तरदायी ढंगले कार्यान्वयन गर्न सहयोग पुर्याएको छ ।
उत्पादनको दृष्टिकोणले हेर्दा प्रमुख बाली धानको उत्पादन २०४८ मा ३३ लाख मेट्रिक टन रहेकामा २०७८ मा बढेर ५९ लाख मेट्रिक टन पुगेको छ । त्यस्तै, माछापालन, तरकारी तथा फलफूल उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको छ ।खाद्य सुरक्षाको आधारभूत क्षेत्र कृषि भएकाले कृषकको अधिकार संरक्षण र सशक्तीकरणका लागि राष्ट्रिय किसान आयोग गठन गरिएको छ । यस आयोगले कृषकका समस्या, आवश्यकता र आवाजलाई संस्थागत रूपमा नीति निर्माण तहसम्म पुर्याउने महत्त्वपूर्ण भूमिका खेलेको छ । उत्पादनको दृष्टिकोणले हेर्दा प्रमुख बाली धानको उत्पादन २०४८ मा ३३ लाख मेट्रिक टन रहेकामा २०७८ मा बढेर ५९ लाख मेट्रिक टन पुगेको छ । त्यस्तै, माछापालन, तरकारी तथा फलफूल उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको छ । जसले खाद्य उपलब्धता मात्र होइन, पोषण सुरक्षामा पनि ठोस योगदान दिएको छ । उत्पादन र उत्पादकत्व बढाउन सहायक पूर्वाधार र सेवाको विस्तार अत्यावश्यक हुन्छ । २०४८ सालमा करिब ९ हजार किलोमिटर रहेको कृषि सडक २०८१ सम्म आइपुग्दा करिब १ लाख १० हजार किलोमिटर पुगेको छ । यसले कृषि सामग्रीको आपूर्ति र उत्पादित वस्तु बजारसम्म पुर्याउन सहज बनाएको छ ।
वित्तीय क्षेत्रमा भएको विस्तार पनि खाद्य सुरक्षाका लागि सकारात्मक पक्ष हो । २०४८ मा १२ वटा बैंक तथा वित्तीय संस्था र ४४१ शाखामार्फत सीमित सेवा उपलब्ध रहेकामा २०८० सम्म आइपुग्दा १ सय १२ बैंक तथा वित्तीय संस्था र करिब १२ हजार शाखाबाट सेवा विस्तार भएको छ । यसले कृषकलाई कर्जा, बिमा र अन्य वित्तीय सेवामा पहुँच बढाएको छ ।
कृषि र खाद्य क्षेत्रको विकासमा सञ्चार क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका छ । हाल करिब ७५ प्रतिशत जनसंख्याको आम सञ्चारमाध्यममा पहुँच पुगेको छ । यसैगरी विद्युत् उत्पादन २०४७ मा २ यस २७
मेगावाट र १४ प्रतिशत उपभोक्ताबाट बढेर २०८० मा ३४ सय मेगावाट र ९७ प्रतिशत उपभोक्तासम्म पुगेको छ । विद्युत् पहुँच बढेसँगै सिँचाइ, प्रशोधन, भण्डारण, चिस्यान केन्द्र तथा विद्युतीय माध्यमबाट बजार व्यवस्थापन र निर्यात प्रवर्द्धन सम्भव भएको छ । साथै, दिगो र वातावरणमैत्री खेतीका लागि वैकल्पिक ऊर्जाको प्रयोग पनि बढ्दै गएको छ ।
आधारभूत सरसफाइमा ७९.९ प्रतिशत र खानेपानीमा ५३.९ प्रतिशत जनसंख्याको पहुँच पुग्नु पनि खाद्य तथा पोषण सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको सकारात्मक उपलब्धि हो । युवा पलायनका कारण सिर्जित श्रम अभावलाई सम्बोधन गर्न कृषि यन्त्रीकरण र कस्टम हायरिङ सेन्टरको अवधारणा अघि सारिएको छ । यस्ता केन्द्रहरूले कृषकलाई आवश्यक उपकरण सहज रूपमा उपलब्ध गराउने, लागत घटाउने र विशेषतः महिलाको कार्यबोझ कम गर्ने कार्य गरिरहेका छन् ।
देशका करिब ६२ प्रतिशत घरधुरी कृषिमा आश्रित रहेको सन्दर्भमा भूमि पहुँच र स्वामित्व अत्यन्त महत्त्वपूर्ण विषय हो । पछिल्ला वर्षहरूमा महिलाको नाममा भूमि स्वामित्व उल्लेखनीय रूपमा बढेको छ । २०४८ अघि ५ प्रतिशतभन्दा कम रहेको महिलाको भूमि पहुँच २०५८ मा ८ प्रतिशत, २०६८ मा १९ प्रतिशत र २०७८ मा २४ प्रतिशत पुगेको छ । यसले पारिवारिक खाद्य सुरक्षा सुदृढ गर्न सहयोग पुर्याएको छ ।
अन्तर्राष्ट्रियस्तरमा हेर्दा नेपाल विश्व भोकमरी सूचकांकमा १४.८ स्कोरसहित मध्यम स्तरको खाद्य सुरक्षाको अवस्थामा रहेको छ । ६ देखि २३ महिनाका बालबालिकामध्ये ४४.१ प्रतिशतले अन्डा वा मासु खाने र ६७.२ प्रतिशतले तरकारी वा फलफूल खाने गरेका छन् । पाँच वर्षमुनिका बालबालिकामा कम तौल १६.९ प्रतिशत, ख्याउटेपन ६.६ प्रतिशत, पुड्कोपन २६.६ प्रतिशत र मोटोपन २.१ प्रतिशतमा झरेको छ । जुन सुधारको संकेत हो ।
विपन्न, ज्येष्ठ नागरिक र अन्य जोखिममा रहेका समूहका लागि सरकारले सञ्चालन गरेका सामाजिक सुरक्षा कार्यक्रमहरूले खाद्य पहुँचमा ठूलो प्रभाव पारेका छन् । वि.सं. २०५१ मा सुरु गरिएको वृद्धभत्ता, २०६१ देखि सुरक्षित मातृत्व कार्यक्रम, २०६६ बाट बालबालिका संरक्षण भत्ता, २०७५ मा राष्ट्रपति महिला उत्थान कार्यक्रम र २०७६ देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम यसका प्रमुख उदाहरण हुन् ।
नेपाल सरकार विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पक्षकार भएको नाताले मानव अधिकार, कृषि, खाद्य सुरक्षा, महिला तथा बालअधिकार र व्यापारसम्बन्धी क्षेत्रमा कानुन निर्माण, परिमार्जन र सुधार गर्दै आएको छ । गरिबी र खाद्य सुरक्षाबीच गहिरो सम्बन्ध छ । नेपालमा गरिबीको दर २०५२ मा ४२ प्रतिशत रहेकामा २०६१ मा ३१ प्रतिशत, २०६८ मा २५ प्रतिशत हुँदै २०८० मा २० प्रतिशतमा झरेको छ । गरिबी न्यूनीकरण हुनु आफैंमा खाद्य सुरक्षामा भएको महत्त्वपूर्ण प्रगतिका रूपमा लिन सकिन्छ ।
संविधानमा उल्लेखित प्रावधानहरूलाई व्यवहारमा उतार्न सर्वप्रथम वैचारिक स्पष्टता, सुदृढ संरचनागत व्यवस्था तथा पर्याप्त स्रोतसाधनको सुनिश्चितता आवश्यक छ । तर राजनीतिक अस्थिरता र बहुसंख्यक समय गठबन्धन सरकारको अभ्यासका कारण दीर्घकालीन, तथ्यपरक र सुसंगत सैद्धान्तिक खाका निर्माण हुन सकेको छैन । यसको प्रत्यक्ष असर नीतिको प्रभावकारी कार्यान्वयनमा देखिएको छ ।
नीतिगत स्पष्टतालाई सही दिशामा अघि बढाउन व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच आवश्यक त्रिकोणात्मक समन्वय स्थापित हुन नसकेको अवस्था छ । परिणामस्वरूप, हासिल गरिएका नीतिगत उपलब्धिहरू समेत पूर्णरूपमा कार्यान्वयनमा आउन सकेका छैनन् ।
उपभोक्ता अधिकार, सूचना पहुँच र नागरिकको रोजाइको सन्दर्भमा विशेषतः बालबालिका र युवाहरूमा बजारमा उपलब्ध तयारी तथा प्रशोधित खानाप्रतिको आकर्षण तीव्र रूपमा बढ्दो छ । यसले नसर्ने रोगलगायत विभिन्न स्वास्थ्य समस्याको जोखिम बढाएको छ । तथापि, सरकारले पोषणसम्बन्धी सही सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा सञ्चार माध्यमको प्रभावकारी नियमनमा अपेक्षित ध्यान दिन सकेको देखिँदैन ।
देश संघीय संरचनामा प्रवेश गरिसकेको भए पनि संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट तथा जिम्मेवारी बहनको स्पष्टता अझै स्थापित हुन सकेको छैन । साथै, दक्ष प्राविधिक जनशक्तिको अभावका कारण भूगोलअनुसार सम्भाव्यता बोकेका बाली तथा पशुपालनको उत्पादन, प्रशोधन र बजारीकरणमार्फत उद्यमशीलता विकास, रोजगारी सिर्जना र आयआर्जनमा अपेक्षित प्रगति हुन सकेको छैन ।
सामाजिक तथा सांस्कृतिक विभेदका कारण घरपरिवारभित्र उपलब्ध खाद्य पदार्थमा समेत छोरी, बुहारी, महिला तथा अपांगता भएका सदस्यहरूको पहुँच तुलनात्मक रूपमा कम हुने गरेको यथार्थ विद्यमान छ ।आप्रवासनका कारण पारिवारिक संरचनामा आएको परिवर्तनले खाद्य सुरक्षामा थप चुनौती सिर्जना गरेको छ । गाउँबाट सहरतर्फ युवा परिवारको बसाइँसराइ बढ्दै जाँदा बालबालिकाहरू ताजा, स्वस्थ र पोषणयुक्त खानाबाट वञ्चित भइरहेका छन् । अर्कोतर्फ, श्रमशक्तिको कमीले गाउँघरमा खेतीपाती र पशुपालन घट्दो छ भने विप्रेषणबाट प्राप्त आम्दानीले पसलबाट किनेर खाने खाद्य पदार्थको शुद्धता, मूल्य र गुणस्तरमाथि निर्भरता बढाएको छ । जसले खाद्य सुरक्षामा जोखिम थपेको छ ।
बढ्दो विश्वव्यापीकरणसँगै कृषि र खाद्य सुरक्षा जस्ता संवेदनशील विषयहरू समेत व्यापारको दायराभित्र सीमित हुँदै गएका छन् । यसले उत्पादनको स्रोत, ज्ञान, प्रविधि तथा अन्ततः सम्पूर्ण कृषि मूल्य शृंखला र भान्सामाथि बाह्य प्रभाव बढ्दै गएको संकेत गरेको छ ।
सामाजिक तथा सांस्कृतिक विभेदका कारण घरपरिवारभित्र उपलब्ध खाद्य पदार्थमा समेत छोरी, बुहारी, महिला तथा अपांगता भएका सदस्यहरूको पहुँच तुलनात्मक रूपमा कम हुने गरेको यथार्थ विद्यमान छ । साथै, कुनै पनि नागरिक खाद्य असुरक्षाबाट पीडित भएमा को कति जिम्मेवार हुने भन्ने विषयमा स्पष्ट खाका नहुँदा उत्तरदायित्व बहन गर्ने संरचना र प्रक्रिया सुदृढ गर्न आवश्यक देखिन्छ ।
अब निर्वाचनपछि आउने सरकारले खाद्य सुरक्षा र खाद्य अधिकारलाई राष्ट्रिय सुरक्षाको सवालका रूपमा स्थापित गर्नुपर्दछ । संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी बाँडफाँट तथा उत्तरदायित्वको खाका निर्माण गर्नुपर्ने हुन्छ । खाद्य सुरक्षा र अधिकार सुनिश्चित गर्न आवश्यक सूचक, तथ्यांक प्रणाली, संरचना तथा क्षमता विकास गर्ने, स्थानीय स्तरमा खाद्य सम्प्रभुता प्रवर्द्धन गर्ने कार्यक्रमहरू (कृषि भूमि संरक्षण, स्थानीय बाली प्रवर्द्धन, सामुदायिक बीउ बैंक, खाद्य बैंक, स्थानीय बजार व्यवस्थापन) विस्तार र नियमन गर्नुपर्दछ ।
त्यस्तै साना, सीमान्तीकृत तथा महिला कृषक लक्षित विशेष सहयोग कार्यक्रम सञ्चालनमा ल्याउने, खाद्य तथा पोषण सुरक्षा र सामाजिक सुरक्षा कार्यक्रमहरू (विद्यालय दिवा खाजा, मातृ–शिशु पोषण, खाद्य सहायता, सरसफाइ र खानेपानी) लाई एकीकृत र स्थानीयकरण गर्ने तथ्यांकमा आधारित वित्तीय संघीयतालाई प्रोत्साहन गर्ने, जनसहभागितामा आधारित उत्तरदायी प्रणाली विकास गर्ने, सामाजिक लेखाजोखा, खाद्यसम्बन्धी परिषद् तथा समिति गठन, सहकारी र समूहहरूको आवाज मुखरित हुने मञ्चमार्फत निरन्तर निगरानी र परिमार्जन गर्दै लैजानुपर्दछ । यी सुधारात्मक कदमहरू अवलम्बन गर्न सकेमा नेपालको खाद्य सुरक्षा प्रणालीलाई दिगो, समावेशी र अधिकारमुखी दिशातर्फ अघि बढाउन सकिनेछ ।
