काठमाडौँ — चालु आर्थिक वर्षमा हुलाकी राजमार्गकालागि ३ अर्ब ३० करोड बजेट विनियोजन गरिएकोमा आगामी आवकालागि ३ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ । जुन चालु आवको भन्दा केही बढी हो ।
दुई वर्षभित्र यसको निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको अर्थमन्त्री विष्णु पौडेलले बताए । तर, हुलाकी राजमार्गको निर्माण थालेको १६ वर्ष भए पनि अझै काम सकिएको छैन । कतिपय निकुञ्ज क्षेत्रमा सडकको रेखांकन विवाद नै टुंगिएको छैन । निर्माणको गति बढाउन बजेटको समस्या उस्तै रहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।
तराईका जिल्ला सदरमुकामलाई पूर्व–पश्चिम जोड्ने गरी यसको निर्माण ०६६/६७ सालबाट सुरु गरिएको हो । अहिलेसम्म प्रगति ७१ प्रतिशत मात्र छ । झापाको केचनाकवलदेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने अवधारणाअनुसार यसको निर्माण प्रक्रिया अघि बढाइएको हो । तराई–मधेशका २१ जिल्लाका करिब एक करोड जनता लाभान्वित हुने गरी यसको निर्माण थालिएको हो ।
राजमार्गको कुल दूरी १ हजार ८ सय ५७ दशमलव ४२ किमि हो । यसमा ८ सय ८२ दशमलव ४२ किमि सहायक मार्ग पर्छ । अहिलेसम्म १ हजार २ सय ५४ दशमलव ६८ किमि सडक मात्र कालोपत्र गरिएको छ । संशोधित समयअनुसार आव ०८३/८४ सम्म म्याद छ । आयोजना सुरु हुँदा प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो । पछि संशोधन गरेर ६५ अर्ब २० करोड पुर्याइयो । अहिले यसको लागत बढेर १ खर्ब १ अर्ब ९३ करोड रुपैयाँ बनाइँदै छ । हालसम्म ६६ अर्ब १० करोड ३३ लाख रुपैयाँ खर्च भइसकेको छ ।
