काठमाडौँ — आगामी आर्थिक वर्षका लागि काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को बजेट बढाइएको छ । चालु आर्थिक वर्षमा यस आयोजनाका लागि २२ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरिएको थियो भने आगामी आवका लागि २४ अर्ब ४९ करोड रुपैयाँ विनियोज गरिएको हो ।
आर्थिक वर्ष ०८३/८४ भित्र यसको निर्माण सम्पन्न गर्नेगरी बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको फास्ट ट्र्याकको ललितपुरतर्फको विवाद अझै टुंगिन सकेको छैन । जसका कारण यस क्षेत्रमा सुरु विन्दु कहाँ हुने हो, अन्योल छ ।
सेनाले यसको निर्माण व्यवस्थापनको जिम्मा लिएको पनि ७ वर्ष पुग्यो, तर खोकना खण्डको समस्या जहाँको त्यहीँ छ । खोकना/बुङ्मती खण्डको ६.५ किलोमिटर खण्डमा अहिलेसम्म काम सुरु हुन सकेको छैन । कुल ७०.९७७ किलोमिटर दूरीमध्ये अहिले ६४.४७७ किमिमा मात्र ठेक्का व्यवस्थापन भएर काम भइरहेको छ ।
