काठमाडौँ — मध्यपहाडी राजमार्गको चालु आर्थिक वर्षमा ३ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर आगामी वर्षका लागि भने उक्त राजमार्गका लागि बजेट बढाइएको छ । यो राजमार्गका लागि आगामी आवलाई ३ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो । जुन चालु आवको भन्दा ३४ करोड ४७ लाख बढी हो ।
त्यसो त मध्यपहाडी राजमार्गको निर्माण सुरु भएको १८ वर्ष पुग्यो,प्रगति बल्ल ८० प्रतिशत मात्र छ । आयोजनामा ठेक्का व्यवस्थापनको काम अझै हुन सकेको छैन । नयाँ ठेक्का गर्न सरकारले स्रोत सहमति नै दिएको छैन । आर्थिक वर्ष ०६४/६५ मा मध्यपहाडका २६ जिल्लाका २ सय १५ बस्ती जोड्ने भन्दै यो आयोजना सुरु गरिएको थियो । आयोजना सम्पन्न भएपछि १ करोड जनता लाभान्वित हुने अनुमान छ ।
पूर्वको पाँचथरस्थित चिवाभन्ज्याङबाट पश्चिमको बैतडीस्थित झुलाघाटसम्म दुई लेन कालोपत्र सडक बनाउने लक्ष्यअनुसार काम थालिएको हो । १ हजार ८ सय ७९ किमिमध्ये आयोजनाबाट १ हजार १६ दशमलव ०७ किमि सडक निर्माणको काम भइरहेको छ । ४ सय ६२ किमि सडक अन्य आयोजनाअन्तर्गत पर्छ ।
अहिलेसम्म योजना र डिभिजन सडकहरूबाट गरी १ हजार ४ सय ७८ दशमलव ७ किमि सडक मात्र कालोपत्र भएको छ । १ सय ३७ वटा पुलमध्ये अहिलेसम्म १ सय ८ वटाको मात्र निर्माण सकिएको छ । अहिले ९ खण्डमा १ सय ३७ किमि सडक, बाढीले क्षति गरेका सहित १६ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ ।
आयोजनाको सुरु लागत अनुमान ३३ अर्ब ३६ करोड रुपैयाँ हो । संशोधित लागत अनुमान ८४ अर्ब ३३ करोड रुपैयाँ छ । अहिलेसम्म ७० अर्ब ८८ करोड रुपैयाँ खर्च भइसकेको छ । संशोधित समय अनुसार ०८४/८५ सम्म भित्र यसको काम सक्नुपर्ने छ ।
