काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं अर्थमन्त्री बाबुराम भट्टराईले बजेट सामान्य सुधारात्मक तरिकाबाट आएको बताएका छन् । उनले बजेट सार्वजनिकपछि कुरा गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि नयाँ कार्यक्रम नआएको बताए ।
‘यो बजेट केही सकारात्मक, सुधारात्मक कुरा छन् । निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने, आइटी क्षेत्रलाई प्रोत्साहन गर्ने, जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्ने, विद्युतीय सवारी कर नबढाएर प्रोत्साहन गर्नु, स्टार्टअफ व्यवसायलाई प्राथमिकतामा राख्नेजसतो केही सकारात्क कुरा छन्,’ उनले भने, ‘तर बजेटमा संरचनात्मक समस्या छ । देशलाई गुणात्मक ढंगले बदल्ने योजना आएनन् । बजेटको संरचना विकास खर्च बढी गर्नेखालको छैन । ऋणको निर्भरता कायम छ । प्रशासनिक खर्च बढी छ ।’
उनले क्षेत्रगत ढंगले प्राथमिकता कृषि, भूमि व्यवस्थान भने वैज्ञानिक भूमिसुधारको योजना नआएको बताए । ‘कृषिको प्राथमिकता छ तर गुणात्मक परिवर्तन आउने गरी कार्यक्रम आउनु पर्थ्यो,’ उनले भने, ‘शिक्षा क्षेत्रमा आमूल सुधार नभएसम्म मुलुकले फड्को हान्दैन ।’
उनले शिक्षामा बढी लगानी गरी रोजगारमूलक, व्यावसायिक बनाउने कार्यक्रम आउन नसकेको बताए । पूर्वाधार विकासमा प्राथमिकतामा राष्ट्रिय गौरवका योजना जोड दिएको भने पनि नेता केन्द्रित भएको उनको भनाइ छ ।
‘बजेट विनियोजना नेताको सुविधा र पार्टीका दलको फाइदाका लागि गरेको छ । बजेट विनियोजन नेतासँग जोडिएका योजनामा अर्बो बजेट परेको छ,’ उनले भने, ‘पिछडिएको कर्णालीमा आवश्यक बजेट छैन । यसमा सरकार पूर्वाग्रही देखियो ।’
उनले मुलुकको दुई अंकको आर्थिक वृद्धि नभई अर्थतन्त्रको रुपान्तरण हुन नसक्ने बताए ।
