काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा प्रस्तुत गरेको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन समयमा नै निर्माण गर्नुपर्ने कांग्रेस सासद उदयशमशेर राणाले बताएका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त बैठकमा बिहीबार बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै सांसद राणाले निजी क्षेत्रलाई प्रोत्साहन दिने योजना अघि सारिएको पनि उल्लेख गरे ।
नेपालमा बजेट कार्यान्वयनमा समस्या देखिने गरेको कुरालाई समाधान गर्नका लागि आवश्यक कानुन निर्माणमा पनि समयमै ध्यान दिनुपर्ने राणाको भनाइ थियो । 'नेपालमा सबैभन्दा ठूलो समस्या कार्यान्वयनमा हो । बजेट कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्छ । बजेटमा आएका कुरा व्यवहारमा उतार्न आवश्यक कानुन बनाउनुपर्ने हुन्छ,' उनले बताए ।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट महत्वाकांक्षी नभएको पनि सांसद राणाको भनाइ थियो । 'बजेटको आकार हेर्दा साढे ५ प्रतिशत बढाएको छ त्यसकारण यो महत्वाकांक्षी छैन । व्यवहारिक बजेट छ । कतिपय योजनालाई समेटिएका छन् । योजना बैंक पनि बनामइएको छ । निजी क्षेत्रलाई अलिकति बढी प्रोत्साहन दिइएको छ,' उनले भने ।
स्टार्टअपलाई ध्यान दिएको सरकारले आइटी बाहेकका उद्योगले पनि निर्यात गर्दा सहुलित दिएको बताए । विदेशीलाई नेपालमा काम गर्न भिसाको सुविधा व्यवस्थित गरेको उनले बताए । आगामी आर्थिक वर्षमा सार्वजनिक ऋण नबढ्ने पनि राणाले बताए ।
त्यस्तै, सांसद राणाले सरकारले पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गरेको पनि बताए । आगामी दिनमा पनि ती सुझाव कार्यान्वयन गर्दै जानुपर्ने उनको भनाइ थियो ।
