काठमाडौँ — सरकारले वन पैदावार उत्पादन वृद्धि गरी आन्तरिक आपूर्ति र रोजगारी सिर्जना गरिने जनाएको छ। शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दिगो वन व्यवस्थापनमा आधारित वन संवर्द्धन गर्दै वन स्रोतको उचित उपयोग गरिने बताएका हुन्।
'वन पैदावार उत्पादन वृद्धि गरी आन्तरिक आपूर्ति, रोजगारी सिर्जना र आय प्रतिस्थापनमा जोड दिइनेछ,' उनले भने, 'सामुदायिक वन व्यवस्थापनलाई सुदृढ गर्दै वनमा आधारित स्रोतको उचित उपयोग गरिनेछ।'
संघ र प्रदेशमा सुदृढ गर्दै राष्ट्रिय वनलाई व्यावसायिक कबुलियती वनमा रूपान्तरण गर्ने प्रक्रिया सहज बनाइने, राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन क्षेत्रको वातावरणीय सुरक्षा सुनिश्चित गर्दै राष्ट्रिय प्राथमिकताका आयोजना सञ्चालन गरिने, चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने र राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण परियोजनाको पुनः संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइने उनले बताए।
