काठमाडौँ — प्रदूषणयुक्त तुवाँलोका कारण काठमाडौंमा भिजिबिलिटी न्यून हुँदा सोमबार ४ वटा अन्तर्राष्ट्रिय डाइर्भट तथा १५ आन्तरिक उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल कार्यालयले राति १० बजे जारी गरेको तथ्यांकअनुसार तुवाँलोका कारण भिजिबिलिटी ११ सय मिटरमा खुम्चिएका कारण सोमबार भारतको नयाँ दिल्लीबाट आउँदै गरेका एयर इन्डियाका दुईटा उडान बनारस डाइभर्ट भए ।
त्यस्तै दुबईबाट आउदै गरेको फ्लाई दुबईको उडान लामो समय सिमरामाथिको आकाशमा होल्डमा रहेर पनि काठमाडौंमा अवतरणका लागि भिजिबिलिटी नपुग्दा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भएको थियो । त्यस्तै कुबेतबाट आएको जजिरा एयरवेजको विमान पनि काठमाडौंमा अवतरण गर्न नसकेर बनारस डाइभर्ट भएको थियो ।
आन्तरिकतर्फ बुद्ध एयरले पोखरा र पर्वतीय उडान रद्द गरेको थियो भने पोखरा, विराटनगर, नेपालगन्ज, जनकपुर र भैरहवाका ७ वटा उडान मर्ज गरेको थियो । त्यस्तै यति एयरलायन्सले पर्वतीय उडान, पोखरा, विराटनगर र भैरहवाका ५ वटा उडान रद्द गरेको थियो ।
त्यस्तै सुगम रुटमा उडान गर्ने श्रीले पनि पर्वतीय उडान रद्द गरेको जनाएको छ । तारा एयरले सोमबार ५ वटा उडान गर्ने तालिका सार्वजनिक गरेपनि सबै उडान रद्द गरेको छ । त्यस्तै सीता र समिट एयरलायन्सले पनि लुक्लाका उडान रद्द गरेको विमानस्थलले जनाएको छ ।
