काठमाडौंको हावामा हानिकारक कणको मात्रा अत्यधिक, श्वासप्रश्वास र फोक्सोसम्बन्धी रोगको जोखिम
काठमाडौँ — काठमाडौं उपत्यकामा पछिल्लो साता वायु प्रदूषण बढेको छ । काठमाडौंको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक (एक्यूएआई) शनिबार राति साढे ९ बजे १६९ पुगेको हो । गत माघ २७ र २८ मा काठमाडौं उपत्यकाको वायु प्रदूषण १६४, माघ २९ मा १५९, माघ ३० मा १६०, फागुन १ मा १६३ र फागुन २ मा १६९ एक्यूआईसम्म पुगेको थियो ।
सामान्यतः शून्यदेखि ५० सम्मको एक्यूआईलाई सन्तोषजनक मानिन्छ । १५० भन्दा माथिलाई भने मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई १५० देखि २०० हुँदा श्वास प्रश्वाससम्बन्धी समस्या भएका र पाको उमेरका मानिसलाई असर गर्ने विज्ञहरू बताउँछन् ।
२०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढाउँछ । ३०१ देखि ५०० सम्मले आपत्कालीन अवस्था जनाउँ । यसरी हेर्दा शनिबार साँझ काठमाडौंको हावा मानव स्वास्थ्यका लागि अस्वस्थकर छ । विश्वकै सबैभन्दा वायु प्रदूषित सहरको सूचीमा काठमाडौं पनि पर्दै आएको छ । पछिल्लो साता एक्यूआईको तथ्यांकअनुसार वायु प्रदूषण धेरै भएका सहरहरूमध्ये काठमाडौंबाहेक चीनको वुहान र सांघाई, म्यानमारको यांगुन, भारतको कोलकाता र नयाँदिल्ली, बंगलादेशको ढाका पनि छन् ।
काठमाडौंको हावामा हानिकारक कणको मात्रा पनि अत्यधिक देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार हावामा पीएम (पार्टिक्युलेट म्याटर) २.५ को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । जबकि शनिबार साँझ काठमाडौंमा पीएम २.५ को मात्रा ७८ थियो । यो डब्लूएचओले तोकेको मापदण्डभन्दा १५.६ गुणाले बढी हो । हावामा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–सना कण नै पीएम २.५ हुन् ।
यिनमा सल्फेट, नाइट्रेट्स, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन् । सजिलैसँग फोक्सोमा पनि पुग्ने भएकाले यी कण स्वास्थ्यका लागि हानिकारक हुन्छन् । सवारीसाधन, उद्योग, कृषि, निर्माण, घाँस, दाउरा बाल्दा यस्ता कण निस्कन्छन् । यही पीएम २.५ का आधारमा एक्यूआई मान निकालिन्छ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं वायु प्रदूषण विज्ञ नारायणबाबु धितालका अनुसार काठमाडौं उपत्यकामा वर्षा हुन नसकेर प्रदूषण थुप्रिएर बसेको छ । वर्षाले प्राकृतिक रूपमा वायुमण्डललाई सफा गर्ने भए पनि नेपालमा पश्चिमी वायु सक्रिय नहुँदा हिउँदमा पानी पर्न सकेको छैन । ‘थुप्रिएर बसेको प्रदूषण पखालिन पाएको छैन,’ उनले भने, ‘त्यसले प्रदूषण बढाएको हो । यो अझ बढेर जान्छ । पानी परिदियो भने यो घट्छ ।’ धितालका अनुसारकाठमाडौं उपत्यकामा प्रि–मनसुन र जाडो मौसममा वायुको गुणस्तर बढी खराब हुन् ।
‘प्रायजसो डिसेम्बर, जनवरी र फेब्रुअरीको विन्टर सिजन र त्यसपछिको तीन महिना प्रि मनसुन सिजनमा बढी प्रदूषण हुन्छ,’ धितालले भने, ‘जाडो मौसममा वायुमण्डल त्यति चलायमान हुँदैन स्थिर हुन्छ । काठमाडौं बल आकारको सहर भएकाले हावा चल्न पाउँदैन । त्यसले गर्दा प्रदूषण यहीं भेला भएर बस्छ र दिनदिनै थप हुँदै जान्छ । त्यो निस्कन पाउँदैन ।’
उनका अनुसार जाडोमा दाउरा र कोइला बाल्ने गरिन्छ । यो मौसम सुक्खा भएको र डढेलो पनि लाग्ने भएकाले प्रदूषण अझ बढाउँछ । अहिले नेपालको तराई, भारतको उत्तरी क्षेत्र र पाकिस्तानमा किसानले बालीनाली भित्र्याइसकेपछि खेतमा पराल, छ्वालीलगायतमा आगो बाल्ने भएकाले पनि हावा प्रदूषित हुने उनले जानकारी दिए ।
दूषित हावामा सास फेरिरहँदा यसले दीर्घकालीन रूपमा फोक्सोसम्बन्धी रोगहरू निम्त्याउने सिभिल अस्पतालका मेडिकल निर्देशक एवं छाती रोग विशेषज्ञ डा.विदेश विष्ट बताउँछन् । ‘वायु प्रदूषणले धेरै अंगमा असर गर्न सक्छ । यसले विशेषगरी सिधैं फोक्सोमा असर गर्छ ।’ उनले भने, ‘साना कणलाई नाकले पनि छान्न सक्दैन । त्यो कहिलेकाहीं फोक्सोमार्फत रगतमा जान्छ । यसले अहिले नै असर देखिँदैन । वर्षौंपछि भने दम र फोक्सोको क्यान्सर निम्त्याउँछ ।’
प्रदूषणले पहिल्यैदेखि मुटु, दम, फोक्सो र उच्च रक्तचाप भएका बिरामीलाई झन् गाह्रो बनाउने उनले बताए । ‘यस्तो प्रदूषणले मानिसमा आँखाको एलर्जी, मुटुको समस्या, चिडचिडाहट हुने समस्या देखाउँछ,’ उनले भने ।
