काठमाडौँ — आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटनको विकास, सेवाको गुणस्तर र बजारीकरणमा ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिले राम्रो सेवा दिन सके मात्र पर्यटक आकर्षित हुने उनीहरूको भनाइ छ ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको दोस्रो सत्र ‘साहसिक यात्रा, स्वप्निल गन्तव्य’ मा पोखराका पर्यटन उद्यमी दोर्जे लामाले पर्यटनको क्षेत्रमा पैसा लिनेभन्दा पनि सेवा दिने विषय ठूलो रहेको दाबी गरे ।
‘हामीले के गर्नेभन्दा पनि के नगर्ने भन्नेतर्फ बढी ख्याल गर्नुपर्छ,’ उनले भने, ‘यस क्षेत्रमा अब पैसा सेवा र आतिथ्य महत्त्वपूर्ण हो ।’ आतिथ्य सेवामा भएका कमीकमजोरीको आफूले जिम्मा नलिने तर सरकारलाई दोष दिने प्रवृत्ति घातक रहेको उनको भनाइ छ । ‘भएका गल्ती कमी–कमजोरीको आआफ्नो ठाउँबाट हामीले जिम्मेवारी लिन पनि सक्नुपर्छ,’ उनले भने । बर्सेनि पलायन भइरहेको दक्ष युवा जनशक्तिलाई नेपालमै राख्ने गरी तालिम दिनेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने उनले जनाए ।
‘भूकम्प आयो, युरोप जाने बढे, कोभिड महामारी आयो, अष्ट्रेलिया जाने बढे,’ उनले भने, ‘कहिलेकाहीँ त हामी विदेशी मुलुक बनाउन मात्र जन्मिएजस्तो लाग्छ ।’ पूर्वाधारको पहुँचले पर्यटनका पक्षमा परिवर्तन भइरहेको मुस्ताङस्थित याक डोनाल्ड्सकी सञ्चालक लक्ष्मी गुरुङ बताउँछिन् । ट्रेकिङमा मात्रै सीमित पर्यटनमा परिवर्तन आइरहेको उनको भनाइ छ ।
‘सडक पूर्वाधारको पहुँचले गर्दा पर्यटनको पक्ष पनि परिवर्तन भइरहेको छ, पहिला पर्यटन ट्रेकिङमा मात्रै थियो, कम पर्यटक आउँथे,’ उनले भनिन्, ‘अहिले बस नै आउँछ, बाइक र साइकलमार्फत पनि पर्यटक आउँछन् भने ट्रेकर पनि आउन छाडेका छैनन् ।’ हिमालपारिको जिल्ला मनाङ र मुस्ताङ अहिले सामूहिक पर्यटनदेखि तीर्थ यात्रीसम्म आउने गरेको गुरुङको भनाइ छ ।
होटल उद्योगमा आन्तरिक र विदेशी पर्यटक नभनिने र आउने जति सबै पाहुनालाई ठाउँ दिइरहेको उनले सुनाइन् । ‘पैसाका लागि विदेशीलाई नदिने, नेपालीलाई दिने वा नेपालीलाई नदिने विदेशीलाई दिने भन्ने हुँदैन,’ उनले भनिन्, ‘बुकिङअनुसार ठाउँ पाइने हो, त्यसका लागि अनलाइन बुकिङ सधैं खुला हुन्छ ।’
होटल व्यवसायीले दिने गुणस्तरीय सेवाको मूल्य लिने भएकाले पर्यटन क्षेत्रलाई महँगो, मध्यम र सस्तो भनेर वर्गीकरण गर्नुपर्ने गुरुङ बताउँछिन् । ‘सेवाअनुसार हामीले शुल्क लिने हो, महँगो, ठिक्कको र सस्तो भनेर वर्गीकरण गरेर मात्रै मूल्यांकन गर्न सकियो भने राम्रो हुन्छ,’ उनले भनिन् । पर्यटकको आवश्यकताअनुसार गुणस्तरीय सेवासुविधा दिने र त्यहीअनुसार पैसा लिनुपर्ने उनको भनाइ छ । आफूहरू गुणस्तरीय खानामा केन्द्रित भएर त्यहीअनुसार सेवा दिइरहेको गुरुङले सुनाइन् ।
पर्यटक आकर्षित गर्न सेवामा विविधता आवश्यक रहेको द क्लिफ बागलुङका अध्यक्ष राजु कार्कीले बताए । ‘हामीले दिने सेवा फरक–फरक किसिमको हुनुपर्छ, धेरै पैसा एकै पटक लिनुपर्छ भन्ने होइन तर राम्रो सेवा दिन सक्नुपर्छ,’ उनले भने, ‘सेवामा विविधता भए पर्यटकलाई आकर्षित गर्न सकिन्छ, लामो यात्रा गरेर आउने पर्यटकलाई दिनुपर्ने गुणस्तरीय सेवा नै हो ।’
आयोजना सञ्चालनको अवधिमा सरकारबाट केही सहयोग नपाएको उनले गुनासो गरे । ‘हामीले ५ सय रुपैयाँबाट सेवा दिन्छौं, सेवा लिन आउने व्यक्तिले दिनमा ५० देखि ६० हजार रुपैयाँ खर्च गरेर जानुहुन्छ,’ उनले भने, ‘त्यसैले सेवा महत्त्वपूर्ण हो, आउने पर्यटकलाई रमाउने वातावरण बनाउनुपर्छ, जसमा विविधता आवश्यक छ ।’
६० प्रतिशत विदेशी र ४० प्रतिशत आन्तरिक पर्यटक आउने अनुमान गरेर क्लिफ निर्माण गरिएको कार्कीले जनाए । निर्माण सकेर सेवा सञ्चालन गर्ने बेलामा कोभिडको समस्या आइपरेको उनले बताए । अहिले ३० प्रतिशत विदेशी पर्यटक आइरहेको र बिस्तारै त्यस्ता पर्यटकको आवागमन बढाउँदै लगिने उनको भनाइ छ ।
पर्यटकलाई हिमाल चढ्ने कथाबाहेक अन्य पर्यटनका कथा विक्री गर्न नसकिएको होटल सरोवर, पोखराका प्रबन्ध निर्देशक प्रतीकराज पहारीले बताए । नेपालमा पर्यटनको ब्रान्डिङ गर्ने विषयमा सबै स्पष्ट भए व्यवसायीले ब्रान्डिङ गर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । ‘स्विट्जरल्यान्डलाई चर्चित बनाउन भारतीय अभिनेता, अभिनेत्री र निर्माताको हात छ, हामीले पनि त्यस्तै केही उपाय लगाएर पर्यटनको ब्रान्डिङ गर्न सकिन्छ,’ उनले भने ।
नेपाल सुरक्षाका दृष्टिले घुम्नयोग्य रहेको ‘कथा’ सबैतिर फैलाउन सक्नुपर्नेमा पहारीले जोड दिए । ‘बाहिरबाट आउने पाहुनाले सडक कस्तो छ, हवाई सेवा कस्तो छ भनेर सोध्छन्, तर पोखरासम्म आउने हवाई सेवामा समस्या हुँदा र सडकमार्ग अस्तव्यस्त बन्दा घुम्न आउने पर्यटक अन्यत्र डाइभर्ट हुन्छन्,’ उनले भने, ‘पछिल्लो चार/पाँच वर्षमा सडकका कारण हामीले यता आउने धेरै पर्यटक गुमायौं, उनीहरूले सडकका कारण गन्तव्य अन्यत्रै बनाए ।’ तसर्थ सरकारले पूर्वाधार निर्माण गर्दा छिटो सक्ने गरी गर्नुपर्ने र नभए त्यसको असर पर्यटन क्षेत्रमा पर्ने उनको भनाइ छ । (‘कसैलाई हिमाल हेरेर विवाह गर्न मन लागे पोखरा उपयुक्त गन्तव्य हो,’ उनले भने ।
