पर्यटनको फाइदा गाउँ-गाउँ पुर्‍याउने हो : सीईओ जोशी 

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Bringing the benefits of tourism to villages: CEO Joshi

काठमाडौँ — नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटनबाट हुने फाइदाहरूलाई घर घर र गाउँ गाउँमा पुर्‍याउनु पर्ने बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रियात्मक कार्यक्रममा उनले पर्यटक र पर्यटकीय भौतिक रूपमा सम्भावना भएको स्थानमा विकास हुने बताएका हुन् । 

‘पर्यटन भनेको हामीले गन्तव्य घर-घर, गाउँ-गाउँ लैजाऊ भनेर भन्छौँ जुन सकिने कुरा होइन,’ पहिलो सत्र ‘राजनीति र पर्यटन नीति’ मा आफ्नो मन्तव्य राख्ने क्रममा उनले भने, ‘हामीले आजको दिनमा फ्रान्स, स्पेन, एसियामा थाइल्यान्ड, मलेसिया जहाँसुकै हेर्‍यौँ सीमित क्षेत्रमै पर्यटन गतिविधि हुन्छ त्यसको फाइदा गाउँ-गाउँ लैजाने हो । त्यसको लाभ हामीले जहाँ लिए पनि हुन्छ ।’

सोही क्रममा पर्यटन विशुद्ध रूपमा प्राविधिक र व्यावसायिक क्षेत्र भएकाले नेपालसँग सीमित स्रोत साधन भएको उनले बताए ।

‘हामी सीमित स्रोत भएको मुलुक त्यसमा पनि सानो स्रोत यति धेरै अनुत्पादक ठाउँमा छरिएको छ जसले नतिजा ल्याइरहेको पाउँदैनौँ,’ उनले भने, ‘अघिल्लो २०/२५ वर्षभन्दा अहिले पर्यटन नराम्रो भएको देखिन्छ । किनभने हाम्रो अभ्यास र बुझाइले अर्कै बाटोतिर लगेको देखिन्छ ।’

सोही क्रममा बोर्डले गरेको सन् २०१८ को सर्भेअनुसार करिब १३ लाख भारतीय पर्यटकहरू सडक सञ्जालमार्फत आउने र उनीहरूकै लागि नेपालमा धेरै गन्तव्य भएको उनले भनाइ राखे ।

कान्तिपुर

Link copied successfully