गण्डकी प्रदेश आधुनिक पर्यटन विकास गर्ने जननी हो : मन्त्री गुरुङ

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Gandaki province is the mother of modern tourism development: Minister Gurung

काठमाडौँ — गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङले गण्डकीलाई नेपालको आधुनिक पर्यटनको जननीका रूपमा प्रस्तुत गर्दै प्रदेशको पर्यटन विकास र योजनाबारे जानकारी दिएका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको पहिलो सत्र ‘राजनीति र पर्यटन नीति’मा बोल्दै उनले गण्डकी प्रदेशको प्राथमिकतामा ‘एग्रो-टुरिजम’ रहेको धारणा राखे ।


मन्त्री गुरुङले कृषि र पर्यटनको प्रवर्द्धनका लागि ‘एग्रो-टुरिजम’लाई प्रदेशको मुख्य प्राथमिकतामा राखिएको बताए ।

उनका अनुसार गण्डकी प्रदेशको पहिलो प्राथमिकता क्षेत्र कृषि हो र यसलाई दोस्रो प्राथमिकतामा रहेको पर्यटनसँग जोडेर दिगो विकासका कार्यक्रम अघि बढाइएका छन् । ‘भुजुङ खोलाको ट्राउट, लोकल कुखुरा, यहाँका फलफूल बगैँचा र रैथाने बालीनालीजस्ता कृषिका विविध पक्षलाई पर्यटनसँग जोडिरहेका छौँ,’ उनले भने ।

सांस्कृतिक तथा व्यापार मेलालाई प्रवर्द्धन गर्दै जातजाति र बाजागाजालाई आर्थिक रूपले बजारीकरण गर्न प्रदेश सरकारले सहयोग गरिरहेको पनि उनले बताए ।

साहसिक खेल, कोसेली घर, र घरबास कार्यक्रमलाई तालिम प्रदान गरेर स्थानीय स्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नेतर्फ प्रदेश सरकार लागिपरेको गुरुङको भनाइ छ । 

‘हामी अहिले पर्यटन नीति बनाउने क्रममा छौँ र यसका लागि नेचर (प्रकृति), एड्भेन्चर (साहसिक खेल), एग्रीकल्चर (कृषि), कल्चर (संस्कृति), हिस्ट्री (इतिहास), हेरिटेज  (सम्पदा) एन्ड रिलिजन (धर्म) लाई मुख्य दृष्टिकोण मानेका छौँ,’ मन्त्री गुरुङले भने, ‘यिनै गतिविधि र गन्तव्यका रूपमा हामी गण्डकीलाई आधुनिक पर्यटनको जननीका रूपमा थप उजागर गर्ने गरी पर्यटन नीति बनाउन चाहन्छौँ ।’

सन् १९५० को दशकलाई नेपालको आधुनिक पर्यटन विकासको सुरुवातका रूपमा मानिने र सोही वर्ष गण्डकीमा रहेको अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण भएको गुरुङले उल्लेख गरे ।

‘यो घटना नेपालमा आधुनिक पर्यटनको पहिलो गतिविधि थियो, त्यसको तीन वर्षपछि मात्रै सगरमाथा आरोहण भयो,’ उनले भने, ‘यस हिसाबले आधुनिक पर्यटन विकासको जननी गण्डकी प्रदेश हो ।’

गन्तव्य गण्डकी

कान्तिपुर

Link copied successfully