इतिहासमा पोखरा आसपास [तस्बिरहरू]

माघ ९, २०८१

दीपक परियार

Around Pokhara in History [Photos]

पोखरा — बडाहाकिम धनशमशेर राणाले भर्खरै खुलेको विद्यालयमा मास्टरी गर्न भक्तपुरका जगन्नाथ उलकको परिवारलाई २००६ सालमा पोखरा ल्याए । पाल्पाका घुमन्ते तस्बिरग्राफर गंगाप्रसाद बैंजुसँगको भेटले उलकको मोह तस्बिरग्राफीतिर जाग्यो ।

२०२६ सालमा मुग्लिङ नजिकै मर्स्याङ्दीबाट गाडी तारिँदै । पोखरा–काठमाडौं राजमार्ग बन्दै गर्दा पुल बनेका थिएनन्, जसले गर्दा फेरीमा ट्रक, जिप तथा बस यसरी तारिन्थे । तस्बिर : बिल हान्सन
२०२६ सालमा मुग्लिङ नजिकै मर्स्याङ्दीबाट गाडी तारिँदै । पोखरा–काठमाडौं राजमार्ग बन्दै गर्दा पुल बनेका थिएनन्, जसले गर्दा फेरीमा ट्रक, जिप तथा बस यसरी तारिन्थे । तस्बिर : बिल हान्सन

२००९ बाट व्यक्तिका तस्बिर खिच्न थालेदेखि उनी पोखराको पहिलो तस्बिरग्राफर कहलिए । २०१२ मा भैरवटोलमा नवीन तस्बिर स्टुडियो खोलेर व्यावसायिक तस्बिरग्राफी सुरु गरे । त्यतिबेलै तस्बिरग्राफी महँगो थियो । ‘अर्जेन्ट’ तस्बिर निकाल्नुपर्दा २४ रिल सफा गर्नुपर्थ्यो । रिलमा २०–२२ नेगेटिभ सकिएर बाँकी रहेकोलाई उलकले बाहिरफेर निस्किएर तस्बिर खिच्न प्रयोग गर्थे । त्यसरी एउटा रिलमा ४–५ वटा तस्बिर पोखराका दृश्य र जनजीवनको हुन्थ्यो । बुबाले खिचेका तिनै तस्बिर सुनील उलकले सम्हालेर राखे ।

२०२० जेठमा मोहरिया टोलमा राजाको जन्मोत्सव र्‍याली । जिपमा नम्बर भने पश्चिम ३ नं ८ लेखिएको छ । तस्बिर : डगलस बिंगहम
२०२० जेठमा मोहरिया टोलमा राजाको जन्मोत्सव र्‍याली । जिपमा नम्बर भने पश्चिम ३ नं ८ लेखिएको छ । तस्बिर : डगलस बिंगहम

सन् १९६३ देखि नेपालमा पनि अमेरिकी पिस कर्प्स स्वयंसेवक आउन थाले । राष्ट्रपति जोन एफ केनेडीको पालामा उच्च शिक्षापछि दुई वर्ष तेस्रो मुलुकमा गएर अनिवार्य स्वयंसेवा गर्नुपर्ने प्रावधान आएपछि अमेरिकी विद्यार्थी नेपाल आएका थिए । पिस कर्प्स स्वयंसेवकसँग जगन्नाथ उलकको बाक्लो भेटघाट हुन्थ्यो । काठमाडौंको दरबार हाईस्कुलमा पढाउने क्रममा पोखरा घुम्न आउँदा डगलस हलले यहाँका तस्बिर आफ्नो क्यामरामा उतारे ।

तिब्बती सिमानामा खम्पा विद्रोह दबाइएपछि समातेर ल्याइएका खम्पाहरूलाई २०३१ भदौमा पोखराको विन्ध्यवासिनीमा सुरक्षा फौजले घेरेर राखेको थियो । पछि यहाँबाट बसमा राखेर काठमाडौं लगियो । तस्बिर : रिच फाउ
तिब्बती सिमानामा खम्पा विद्रोह दबाइएपछि समातेर ल्याइएका खम्पाहरूलाई २०३१ भदौमा पोखराको विन्ध्यवासिनीमा सुरक्षा फौजले घेरेर राखेको थियो । पछि यहाँबाट बसमा राखेर काठमाडौं लगियो । तस्बिर : रिच फाउ

बुबाका उनै साथीसँग सुनीलको सम्पर्क भयो । डगलसले २०६३ देखि नेपाल तस्बिर परियोजना चलाएर अमेरिकी पिस कर्प्स स्वयंसेवकसँग नेपालका पुराना तस्बिर संकलन गरे । ती तस्बिर २०७४ मा नेपाल आएर उनले सुनीललाई हस्तान्तरण गरे । २०७४ वैशाखमा उनले छानिएका तस्बिरको काठमाडौं र पोखरामा प्रदर्शनी गरे ।

२०२० सालमा तनहुँको बन्दीपुरको मुख्य बजार क्षेत्र । तस्बिर : रोजर क्रेन्स
२०२० सालमा तनहुँको बन्दीपुरको मुख्य बजार क्षेत्र । तस्बिर : रोजर क्रेन्स

एक सय ७ जना पिस कर्प्स स्वयंसेवकले खिचेका झन्डै ३२ हजार तस्बिर सुनीलको संग्रहमा छन् । अमेरिकी मानवशास्त्री योहेन रेयनहार्डले खिचेका ४ हजार तस्बिर पनि उनले सुनीललाई उपलब्ध गराए । जापानको ओसाका विश्वविद्यालयको टोली सन् १९५७ मा काठमाडौंबाट पैदलै पोखरा, जोमसोम हुँदै डोल्पा जाँदा खिचेका ३ हजार ६ सय तस्बिर त्यहाँका प्राध्यापकले पोखरा आएर सुनीललाई हस्तान्तरण गरे । अमेरिकाकै पेन्सिलभेनिया विश्वविद्यालयको टोलीले सन् १९५५ देखि ५७ सम्म नेपालमा खिचेका १४ वटा वृत्तचित्रको संग्रह उनीसँग छ । तीमध्ये दुई वटा पोखराका छन् ।

२०२८ सालमा मर्स्याङ्दी नदीनजिकै तर्कघाटमा रहेको श्री वीरभक्ति हाईस्कुल, यो तस्बिर लिँदाका बखत कांग्रेस नेता रामशरण महत प्रधानाध्यापक थिए । तस्बिर : केथ कनिंघम
२०२८ सालमा मर्स्याङ्दी नदीनजिकै तर्कघाटमा रहेको श्री वीरभक्ति हाईस्कुल, यो तस्बिर लिँदाका बखत कांग्रेस नेता रामशरण महत प्रधानाध्यापक थिए । तस्बिर : केथ कनिंघम

आफूसँग नेपालका ६८ जिल्लाका पाँच दशकभन्दा पुराना ७० हजारभन्दा बढी तस्बिर रहेको सुनील बताउँछन् । उनी आफैंले खिचेका ४० हजार तस्बिर छन् । आधा शताब्दीअघि पोखरा र नेपालको भूगोल, रहनसहन, दैनिकी, जीवनशैली र मनोरम दृश्य तस्बिरमा कैद छन् । यी तस्बिरलाई उनले डिजिटल माध्यममा सुरक्षित राखेका छन् । हजारौंमध्ये छानिएका केही तस्बिर उनले भैरवटोलमा संग्रहालय बनाएर प्रदर्शनीमा राखेका थिए । तर कोरोना महामारीपछि उक्त संग्रहालय बन्द भयो ।

विदेशबाट मगाइएको ऊन शरणार्थीहरूलाई बाँडेपछि उनीहरूले गलैंचा बुन्न थाले (२०२१ फागुन) । तस्बिर : स्टुअर्ट उलम्यान
विदेशबाट मगाइएको ऊन शरणार्थीहरूलाई बाँडेपछि उनीहरूले गलैंचा बुन्न थाले (२०२१ फागुन) । तस्बिर : स्टुअर्ट उलम्यान

आफ्नै घरमा पुराना तस्बिरको संग्रहालय बनाउने गरी बुबाको सम्झनामा जगन्नाथ उलक स्मृति कोष स्थापना गरेका छन् । एक हजार ६ सय वर्गफिटमा भवन बनिसकेको छ । भित्री साजसज्जा बाँकी छ । संग्रहालय बनाउन डगलस हलले ‘क्राउडफन्डिङ वेबसाइट गो फन्ड मी’मार्फत सहयोग जुटाइसकेका छन् । पुरानो तस्बिर, भिडियो, वृत्तचित्रलाई सबैको पहुँचमा पुग्ने गरी संग्रहालयलाई अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने सुनीलको योजना छ । ‘यस वर्षको अन्त्यसम्ममा सर्वसाधारणका लागि संग्रहालय खुला गर्छौं,’ उनले भने ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully