अवसर दिए एड्भेन्चर ट्रेकिङ क्षेत्रमा धेरै महिलाले काम गर्न सक्छन् : क्षेत्री  

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Given the opportunity, more women can work in the adventure trekking sector: Chhetri

काठमाडौँ — महिलालाई अवसर दिएमा पर्यटन, एड्भेन्चर ट्रेकिङ क्षेत्रमा धेरै महिलाले काम गर्न सक्ने अवसर दिएमा धेरै महिलाहरूले एड्भेन्चर ट्रेकिङ क्षेत्रमा काम गर्न सक्ने थ्री सिष्टर्स एड्भेन्चर ट्रेकिङकी संस्थापक अध्यक्ष लक्की क्षेत्रीले बताइन् ।


कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको पहिला सत्र ‘राजनीति र पर्यटन नीति’ मा बोल्दै क्षेत्रीले अवसर नपाएकै कारण यो क्षेत्रमा महिलाको संख्या कम भएको उनको भनाइ थियो । 

नेपालमा पर्यटनको सम्भावना प्रचुर रहेपनि त्यस क्षेत्रको विकास र विस्तार हुन नसक्दा त्यो लाभ राज्यले पाउन नसकेको उनले बताइन् । 

‘विकासको मुख्य साँचो पर्यटन हो । यो कुरा सबैलाई थाहा छ । तर यो क्षेत्रलाई विकास र विस्तार गर्न हामी किन कन्जुस्याइँ गरिरहेका छौँ । त्यो बुझ्न सकिएन ?’ उनले भनिन्, ‘प्राथमिकताका साथ यो क्षेत्रको विकास विस्तार भएमा नेपालको समग्र आर्थिक उन्नतिमा योगदान पुग्छ ।’

पछिल्ला वर्षहरूमा पोखरा क्षेत्रका हिमालहरूमा निकै कम मात्र हिउँ (कालो हिमाल) परिरहेको छ । तर, यसो हुनुको कारण नेपाल नेपाली बाहेक अरू बाह्य रहेको बताइँदै आए पनि त्यसमा सत्यता नभएको उनले बताइन् । यसमा आफूहरूको पनि जिम्मेवार रहेको उनले दाबी गरिन् ।

‘हामीले हिमाल बिग्रिएकोमा हाम्रो दोष छैन भनिरहेका छौं तर हिमालको नजिकमा गएर ठूला संरचनाहरू बनाइरहेका छौँ,’ उनले भनिन्, ‘यस कारण अहिले हिमाल हिउँविहीन हुनुमा थोरै धेरै गल्ती हाम्रो पनि छ । यसलाई मनन् गरौँ ।’  

कान्तिपुर

Link copied successfully