काठमाडौँ — पोखरामा पटक–पटक आइरहने वातावरण बनाउन आफूहरू लागिपरेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको गन्तव्य गण्डकी कार्यक्रमको पहिलो सत्र राजनीति र पर्यटन नीतिमा बोल्दै आचार्यले पर्यटक आवागमन बढाउन सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाउन लागिएको बताए ।
‘पोखरा पर्यटकीय गन्तव्य हो, नआई नहुने ठाउँ हो,’ उनले भने, ‘एकचोटि होइन, पटक–पटक आउने ठाउँ पोखरा हो भनेर बनाउन र पुष्टि गर्न लागिरहेका छौँ ।’ उनले ०८० चैत ४ गते पोखरालाई पर्यटनको राजधानी सहर घोषणा गरेको सम्झँदै उनले त्यही अनुसार नीतिहरू बनाइएको बताए ।
‘गण्डकी प्रदेश पर्यटनको हब र पोखरा पर्यटनको राजधानी भनेर घोषणा गरिसकेका छौँ,’ उनले भने, ‘म निर्वाचित भएर आएपछि पोखरालाई पर्यटनको राजधानी बनाउने भनेर पहिलो निर्णयमा हस्ताक्षर गरेको थिएँ, जुन कुरा आज पुरा भइसकेको छ ।’ पोखराको मुख्य कुरा भनेको नै पर्यटन रहेको उनको भनाइ छ ।
‘त्यसैले हाम्रा सम्पूर्ण गतिविधि त्यस अन्तर्गत नै अगाडि बढाएका छौँ, फेरि साउनयता पानी नपरेकाले माछापुच्छ्रे निकै नै कालो भएको छ, तर त्यो माछापुच्छ्रे जे हेर्यो, त्यसैको आकृति देखिन्छ,’ उनले भने, ‘त्यसैले तपाईँले पोखरालाई जुन आँखाबाट हेर्नुहुन्छ, पोखरा त्यसैको गन्तव्य हो, चाहे शिक्षाको क्षेत्र होस्, पर्यटन, स्वास्थ्य, खेलकुदको नै किन नहोस् ।’
नेचर, कल्चर र एडभेन्चर यी तीन वटै कुरामा पोखरा अब्बल रहेको उनले प्रस्ट पारे । ‘हामी पछिको पुस्तासम्मका लागि यसलाई जोगाएर राख्न योजनाबद्ध तरिकाले काम गर्नु पर्छ भनेर नीति बनाएका छौँ, पर्यटनसँग जोडिएका साढे सात अर्बका परियोजनाहरू सुरु गरिएका छन्,’ उनले भने, ‘यसले पर्यटनको क्षेत्रमा नयाँ पूर्वाधार बनाउन सहयोग पुग्ने छ ।’
फरक प्रंसगमा उनले फेवातालसँग सम्बन्धित हजारौँ अनुत्तरित प्रश्नको जवाफ केही दिन भित्रमा सबैले पाउने उनको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छिटो उडान सुरु गर्नुपर्ने उनको भनाइ थियो ।
‘के समस्या छ, त्यसको गाँठो छिटो सरकारले फुकाउनु पर्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान छिटो हुनु पर्छ, हामीले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाउँदै छौँ, यो वर्षभरि गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका सबै कन्फ्रेन्स, कन्क्लेभलगायत सबै खाले कार्यक्रम पोखरामा गर्न आह्वान गरेका छौँ ।’
