पर्यटक आगमनको सरकारी तथ्यांकलाई मान्दैनौं : लक्ष्मण सुवेदी

माघ ९, २०८१

कान्तिपुर संवाददाता

We do not believe in the official statistics of tourist arrivals: Lakshman Subedi

काठमाडौँ — होटल संघ, पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पर्यटन बोर्डले सार्वजनिक गर्ने पर्यटक आगमनको तथ्यांक वास्तविक नरहेकाले नम्माने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा पोखरामा आयोजित ‘गन्तव्य गण्डकी’ कार्यक्रमको पहिलो सत्र ‘राजनीति र पर्यटन नीति’ मा बोल्दै उनले पर्यटन व्यवसायीले बोर्डको तथ्यांकलाई नमान्ने बताए । 

पारिवारिक भेटघाटमा आएका गैर आवासीय नेपालीलाई पनि बोर्डले पर्यटकको सङ्ख्यामा गणना गरेर साढे ११ लाख पुर्‍याएको सुवेदीको दाबी छ । ‘विदेशमा रहेको छोराछोरी तथा गैरआवासीय नेपालीहरू जो परिवार तथा आफन्त भेट्न आउँछन्, उनीहरूले  होटेल, रेस्टुरेन्ट, ट्राभल ट्रेकिङलगायतमा व्यापार दिएका हुँदैनन्,’ उनले भने, ‘परिवार भेटेर फर्किन्छन् । हामी त्यसलाई पनि पर्यटकका रूपमा लिन्छौँ । ती पर्यटक नै होइनन् ।’

उनका अनुसार पोखरामा लेकसाइड र ड्याम साइडमा मात्रै ७ सयभन्दा बढी होटेल छन् भने पोखरा आसपासमा १२ सय भन्दा बढी होटेलहरू छन् । तर संघमा ४२५ जना मात्रै सदस्य छ । त्यस कारण संघले पनि पर्यटकको यकिन तथ्यांक निकाल्न नसकेको उनले बताए । 

गण्डकी प्रदेशका १० प्रतिशत होटेल पनि नवीकरण गर्ने प्रक्रियामा नरहेको समेत उनले प्रस्ट्याए । ‘सरकारले ३० वर्षदेखि चलेका होटलहरूलाई अहिले वातावरणीय प्रभाव मूल्याङ्कन गरेन भने नवीकरण नुहेन भनेको छ,’ उनले भने, ‘कमसेकम २५ कोठाभन्दा माथि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने वा नयाँ बन्ने भवनलाई अनिवार्य गरेको भए हुन्थ्यो ।’

पोखराका अधिकांश भवनहरू कानुनसम्मत नभएको समेत उनले बताए । ‘पोखरा महानगरले भवनहरूको अभिलेखीकरण गर्ने भनेर आह्वान गरेको छ,१४ सय भन्दा बढीले आवेदन समेत दिएका छन्,’ उनले भने, ‘एक पटक तीन गुणा तिरेर अभिलेखीकरण गर्ने भनिए पनि होटेल रेस्टुरेन्ट तथा व्यवसायी प्रतिष्ठानमा लागू नहुने भनेको छ, त्यस कारण हाम्रा भवनहरू नियमित गर्न नसकेको हो ।’

कान्तिपुर

Link copied successfully