पाल्पाबाट दसैँका लागि आठ करोडका खसीबोका निर्यात

आश्विन २२, २०८१

माधव अर्याल

Export of Khasibo worth eight crores for Dusseim from Palpa

पाल्पा — दसैंका लागि पाल्पाका ११ स्थानका सहकारीबाट झण्डै ६ करोड बराबरको खसीबोका निर्यात भएको छ । सहकारीबाहेक जिल्लाभित्र र फुटकर व्यापारीले थप २ करोड बराबरको खसीबोका बाहिर निकासी गर्छन् । सप्तमीसम्ममा जिल्लामा ८ करोड बराबरको खसीबोकाको कारोबार हुने अनुमान छ । 

पछिल्लो ५ वर्षयता महिलाको सक्रियतामा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा खुलेका सहकारीमार्फत् कारोबार हुँदै आएको छ । जसले गर्दा सहकारीमार्फत् बाख्रापालन व्यवसाय वृद्धि भएसँगै खसीबोका निर्यात पनि बढेको हो । 

आयआर्जनका लागि पालिएका बाख्राले राम्रो आम्दानी भित्रिएको रम्भा गाउँपालिका–२, फोक्सिङकोटकी बाख्रपालक किसान धनीसरा सारुले बताइन् ।

उनले एक वर्षमा २५ वटा खसीबोका बिक्री गरेर ४ लाख ५० हजार कमाएको सुनाइन् । ‘मलाई घरखर्च चलाउनेदेखि लिएर सानातिना कामका लागि कसैको हारगुहार गर्नु पर्दैन,’ उनले भनिन्, ‘छोराछोरी पढाउनेदेखि लिएर घर व्यवहार चलाउन खसीबोका बिक्री गरेको रकमले पुगेकै छ ।’

Export of Khasibo worth eight crores for Dusseim from Palpa

गाउँमा पछिल्लो समय घाँस र चरनको समस्या छैन । तर अधिकांशले भने घरमै बाँधेर पाल्न थालेको रम्भा गाउँपालिका–२, फोक्सिङकोटकै मीना थापाले बताइन् । उनले पनि १९ वटा खसी बोका बिक्री गरेर ३ लाख नगद आम्दानी गरिन् । ‘मेरो खोरमा अझै पनि बिक्रीका लागि तयार भएका खसीबोका छन्,’ उनले भनिन्, ‘अब तिहार खर्चका लागि बिक्री गर्ने योजनामा छु ।’

पछिल्ला वर्षमा हेफर नेपालले प्रवर्द्धन गरेका उपहार महिला सहकारीमार्फत् बाख्रापालन फस्टाएको छ । जसमा महिलामात्र सदस्य हुन्छन् । समुह र सहकारीमा आवद्ध भएर कम्तीमा ५ वटा माउ बाख्रा पाल्ने गर्छन । जसले गर्दा उत्पादन राम्रो भयो भने ३० देखि ५० केजी जिउँदो तौलमा खसी बोका हुर्कने रम्भा गाउँपालिका–२, फोक्सिङकोट ढुंगेकी हुमीसरा पाँडे मगरले बताइन् । 

उनको घरमा अहिले पनि ५० बढी बाख्रा छन् । १३ वटा खसीबोका बिक्रीका लागि तयार छन् । सामान्य मिहिनेतबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । घरका श्रीमान्ले पनि सघाउने भएपछि महिलामा बाख्रपालनमा थप उत्साह थपिएको छ । 

यहाँका किसानले पालेका खसीबोकाको माग बढ्दा धमाधम निकासी हुन थालेपछि किसानलाई जीविकोपार्जन मात्र नभई दशैं तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ । 

महिला सहकारीले व्यापारी खोज्ने र बजारसाग पहुँच पुर्‍याएपछि बाख्रा (खसीबोका) बेच्न समस्या नभएको उपहार सामाजिक उद्यमी महिला सहकारीकी व्यवस्थापक कृष्णमाया पाँडेमगरले बताइन् । 

Export of Khasibo worth eight crores for Dusseim from Palpa

गाउँकै महिला मिलेर खुलेको सहकारीमार्फत बाख्रा संकलन, जिउँदो खसीबोका तौल गरेर बिक्री गर्ने, मूल्य निर्धारण मात्र होइन, बजारीकरणसमेत हुँदै आएको छ । जसले गर्दा महिलामा बाख्रापालनमा रुची बढेको व्यवस्थापक पाँडे मगरले बताइन् । गाउँका महिलाले ३० हजारदेखि ५ लाखसम्म पनि महिलाले आम्दानी गर्दै आएको उनले बताइन् ।  

बाख्रापालनबाटै जिल्लाका धेरै परिवारको राम्रो आम्दानी भएको छ । जसले गर्दा घर व्यवहार, छोराछोरीको शिक्षा साथै समुहमा बचतका लागि कसैसँग हात फैलाउन नपरेको रम्भा–२, फोक्सिङकोटकै शारदा पछाईले बताइन् । खसी बोका बिक्री गर्न समस्या नभएकाले पनि बाख्रापालन गर्न नछाडेको पछाईले बताइन् ।

‘गाउँकै सहकारीमार्फत् बाख्रा संकलन र बजारीकरण हुन्छ,’ उनले भनिन्, ‘जिउँदो खसीबोका तौल गरेर बिक्री गर्ने भएकाले मूल्यमा पनि मार परेको छैन ।’ बाख्रापालनबाट धेरै महिला सन्तुष्ट छन् । बाख्राको बीमा गरेका छन् । स्थानीय तहले आर्थिक तथा प्राविधिक सहयोग गदै आएको छ । 

गाउँगाउँका महिलाले पालेका बाख्रा खरिदका लागि व्यापारी गाउँमै पुग्ने गरेका छन् । सहकारीले दुरी अनुसार मूल्य निर्धारण गर्छ । जिउँदो खसीबोकाको मूल्य निर्धारण भएप्छि किसान र व्यापारी दुबैलाई फाइदा भएको तानसेनका व्यापारी लालबहादुर दिशा मगरले बताए । 

उनका अनुसार खरिद गरिएका खसी बोका बुटवल, भैरहवा, चितवन, पोखरामा पठाउने गरिन्छ । ‘समयमै मूल्य निर्धारण भएपछि हामीलाई मात्र होइन किसानलाई पनि मर्का परेको छैन,’ उनले भने, ‘त्यसैले पछिल्लो समयमा खरिद बिक्रीमा पनि कुनै समस्या छैन ।’ 

Export of Khasibo worth eight crores for Dusseim from Palpa

अर्का व्यापारी राजेन्द्र श्रेष्ठले प्रत्येक सहकारीमा पुगेर त्यहाँका व्यवस्थापकसंग सहकार्यमा नै किसानको घर, टोलसम्म पुगेर खसी बोका खरिद गर्ने गरेको बताए । उनका अनुसार सहकारीमार्फत् खसीबोका खरिद बिक्री गर्दा तौल हुने, मूल्य निर्धारण हुने भएकाले पनि सहज भएको छ । 

जिल्लामा सबैभन्दा धेरै रम्भा गाउँपालिकामा ७ वटा सहकारीमार्फत् वार्षिक ३ करोड बढीको खसीबोका निर्यात हुने गरेको छ । गत आर्थिक वर्ष रम्भा गाउँपालिका–२, को उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले १ करोड ७६ लाख रुपैयाँको खसीबोका बिक्री गरेको जनाएको छ । 

रम्भाकै पिपलडाँडाको सामाजिक उद्यमी महिला सहकारी संस्थाले ४९ लाख ५० हजार, हुँगीको रम्भादेवी सानाकिसान कृषि सहकारी संस्थाले ३७ लाख ८० हजार आम्दानी गरेका थिए । उपहारले १३ सय वटा खसीबोकाको ३६ हजार केजी, पिपलडाँडाले ३ सय ६० खसीबोकाको १० हजार ३ सय ३० केजी र साना किसानले २ सय ४० खसीबोकाको ८ हजार ४ सय केजी जिउँदो तौल गरी बिक्री गरेको रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।

अन्य स्थानीय तहमा गठित महिलो सहकारीले पनि खसीबोका बिक्री गर्छन् । बाख्रापालक किसानका लागि जिउँदो तौलमा २५ रुपैयाँ प्रति किलो रम्भा गाउँपालिकाले अनुदान दिने गरेको प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताए । उनका अनुसार कार्यविधि नै निर्माण गरेर उत्पादनमा आधारित अनुदान दिने गरेको छ । आवश्यकता अनुसार प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।

गाउँपालिकाले अघिल्लो वर्षसम्म प्रतिकिलो ५० रुपैयाँ दिएको थियो । सहकारीलाई खसीबोका संकलन तथा बिक्री गरेवापत प्रतिकिलो २ रुपैयाँँ र मसलन्द खर्च वापत वार्षिक एकमुष्ठ केही रकम सहयोग उपलब्ध गराउने गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । 

तानसेन नगरपालिकाको छाप, बौघागुम्हा, रम्भाको फोक्सिङ्गकोट, पूर्वखोलाको सिलुवा, बीरकोट, रामपुरको दर्छा, गााडाकोट, निस्दीको गल्धा लगायतका स्थानबाट धेरै खसीबोका निर्यात हुने हेफर नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले बताए ।

बौघागुम्हाको मिलनसार उपहार सामाजिक उद्यमी महिला सहकारीले १ हजार ६ सय खसीबोका बिक्रीबाट २ करोड ९ लाख २३ हजार, रम्भाको फोक्सिङ्गकोटस्थित उपहार महिला सहकारीले १ हजार ३ सय ९१ खसीबोका बिक्रीबाट १ करोड ७६ लाख ६ हजार, निस्दीको गल्धा महिला सहकारीले १ हजार ५ सय ८४ खसीबोका बिक्रीबाट २ करोड ३२ लाख आम्दानी लिएका छन् । 

रामपुर नगरपालिका–२, खयरबोटस्थित दुर्गादेवी महिला सहकारीले ५ सय ४६ खसीबोका बिक्रीबाट ७३ लाख, रामपुर नगरपालिका–३, किर्तिपुरको दियालो महिला सहकारीले ४ सय १८ वटा खसीबोका बिक्री गरेर ७५ लाख १५ हजार आम्दानी गरेको छ । 

पूर्वखोला गाउँपालिका–१, सिलुवास्थित मनकामना महिला सहकारीले ९ सय ६४ वटा बिक्री गरेर १ करोड ५३ लाख १७ हजार, पूर्वखोला गाउँपालिका–२, जल्पास्थित शुभसन्देश महिला सहकारीले ३ सय ८५ वटा खसीबोका बिक्रीबाट ४५ लाख ९१ हजारको कारोबार गरेको छ । 

यो सहकारीले खरिद बिक्रीको काम गर्ने भएकाले सहकारीले नै ९७ हजार फाइदा कमाएको छ । यसबाहेक अन्य सहकारीले ५० लाखदेखि ८० लाख आम्दानी गर्दै आएका छन् ।  

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully