रातोमाटोको ठाउँ गेरूले लियो 

आश्विन २१, २०८१

Red clay was replaced by ocher

म्याग्दी — दसैंमा घर रङगाउने प्रचलन पुरानो हो । मनसुन निष्क्रिय भएसँगै गाउँघर र सहरका घरहरु पनि रङरोगन गर्न सुरु भएको छ । 

ग्रामिण भेगका स्थानीयलाई  परम्परागत रङहरु रातोमाटो र कमेरोलाई कुचो र पोछाले पोतेर घर रग्याउन थालेका हुन् । ग्रामिण बस्ती मात्र होईन, सहरमा पनि विभिन्न ब्राण्डका रंग, इनामेल र चुनाले घर रङरोगन हुने गरेको छ ।

गाउँमा परम्परादेखि घर पोत्न  प्रयोग गरिने कमेरो, रातो र पहेंलो माटोलाई पछिल्ला केही वर्षदेखि उद्योग निर्मित  गेरु र चुनाले विस्थापित गर्न थालेका छन् । घरका झ्लाढोका रङगाउन प्रयोग हुने अगेनोको मोसो र टर्च लाईटमा प्रयोग हुने कालोलाई तोरीको तेलमा मोलेर लगाउने परम्परा अब विरानो भइसक्यो । 

जिल्लाभर रातोमाटो पाईने एक मात्र स्थान रत्नेचौर हो । घर पोत्न रातो माटोलाई गेरुले विस्थापित गरेपछि पहिला जस्तो रत्नेचौरमा रातोमाटो खन्ने मेला लाग्दैन । सामुदायिक वनमा रातो माटो खन्न रोक लगाएपछि व्यक्तिले  आफ्नो बारीको माटो बोरामा राखेर बेच्छन् । कोही कोही माटो लिन आउनेले पनि गाडीबाटै लैजाने गरेका छन् ।

‘केही वर्ष अघिसम्म रत्नेचौर पुगेर रातो माटो ल्याएर दशैंमा घर पोतिन्थ्यो अहिले बजारमा गेरु पाईन्छ त्यसैले पोत्छौं । रघुगंगा गाउँपालिका-२ भगवतीकी फूलकुमारी भण्डारीले भनिन्, ‘माटोको रङ पानी पर्दा पखालिन्छ, मान्छे टाँसिदा दाग लाग्छ, गेरुमा थोरै फेविकोल मिसाएर पोत्ने भने न पानीले पखाल्छ, न कपडामा लाग्छ । सस्तो पनि ढुक्क पनि ।’

दसैंमा समेत चाडपर्वमा घर रङगाउने संस्कृति उस्तै भएपनि घरमा पोतिएको रङको प्रकृति फेरिएको छ ।

‘पछिल्ला केही वर्षदेखि खासगरी दशैंमा घर रङ्गाउन गेरुको माग बढेको छ । वर्षभर बिक्री हुने अन्य समयमा भन्दा दशैं अघिका १५ दिनमा गेरुको व्यापार  बढी हुन्छ,’ सदरमुकाम बेनीस्थित बेनी नगरपालिका, ८ क्याम्पसचोक स्थित विशाल हार्डवेयरका मुकुन्द शर्माले भने, ‘रातो वा कमेरो माटोले घर पोते जस्तै गेरु रङले घर छ्याप्ने हो ।'

Link copied successfully