दसैं नजिकिँदा बजारमा भीड, पसलैपिच्छे फरक मूल्य

आश्विन २१, २०८१

माधव अर्याल

As Dasain approaches, the market is crowded, prices vary from shop to shop

पाल्पा — दसैं नजिकिएसँगै पाल्पाको तानसेन, रामपुरलगायत बजारमा उपभोक्ताको भीड बढेको छ । खाद्यान्न, कपडा, उपहारका सामग्री, दैनिक उपभोग्य सामग्रीलगायत अत्यावश्यक सामान किन्नेको घुँइचो लागेको छ । यही मौका छोपेर व्यापारीले मनपरी मूल्यमा बिक्री गरिरहेका छन् ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले दसैं नजिकिएसँगै बजार चलायमान भएको उनले बताए । तानसेनको मखनटोल, सित्तलपाटी, बसपार्क, नारायणस्थान लगायतका क्षेत्रमा अत्यधिक भीड बढेको स्थानीय सुनिता खत्रीले बताइन् ।

तानसेनबाहेक आर्यभन्ज्याङ्, ताहुँ, जब्गादी, दमकडा, डुम्रे, छहरा, बतासे, हार्थोकलगायत ग्रामीण बजारमा पनि उपभोक्ताको भीडले चहलपहलमा बढेको छ । व्यापारीका अनुसार दशैंका लागि आवश्यक सरसामान किनमेल गर्नेको केही दिनयता घुँइचो बढेको हो ।

वर्षा भएर सुनसान बनेको बजारमा एक्कासी चहल पहल देखिएको स्थानीय तानसेन–२ का धर्मचन्द्र नेपालले बताए । ‘बजारमा वर्षापछि यसरी भीड बढेको दशैंले गर्दा नै हो जस्तो लाग्यो,’ उनले भने, ‘बजारमा ठूलै भीड देखिएको छ । बैंक तथा वित्तीय संस्थामा पनि उस्तै भीड छ ।’

तानसेन मखनटोल, सिल्खानटोल, सित्तलपार्टी क्षेत्रमा ग्राहकको अत्यधिक भीड देखिएको छ । खाद्यान्नका साथै फेन्सी पसलमा पनि सामग्री किनमेल गर्न गाउँगाउँबाट आएकाले बजारमा रौनक देखिएको हो । फेन्सी सामान, खाद्यान्न र अन्य किनमेलका लागिबजारमा बढी ग्राहकको भीड लाग्ने गरेको रिब्दीकोट–२, का गोविन्द खनालले बताए । गाउँतिरवाट मानिसहरुको बजारमा किनमेल गर्न आउनेले भीड बढेको उनले बताए  ।

‘हुन त पछिल्लो समयमा गाउँगाउँमै पसल प्रशस्त खुलेका छन्,’ उनले भने, ‘तर बजार गर्न आउनेको भने भीड बजार क्षेत्रमै देखिने गरेको छ ।’ बजार क्षेत्रकाले भने दशैंको बिदाको अन्तिममा मात्रै खरिद गर्छन् । दशैंका लागि आवश्यक पर्ने सबै सामान एउटै पसलमा पाइने भएकाले पनि बजारमा आउने गरेको उनले बताए । गाउँमा सबै सामान पाइन मुश्किल पर्छ ।

‘हुन त गाउँमा भन्दा बजारमा महङ्गी बढेको छ,’ बगनासकाली–८, चापपानीकी विष्णु तिमिल्सेनाले भनिन् । अघिल्ला वर्षमा भन्दा यसवर्ष सामानको मूल्य अत्यधिक बढेको तिमिल्सेनाले बताइन् ।

‘प्रत्येक पसलमा सोध्दै हिड्यो सबै सामानको भाउ बढेको बढ्यैछ,’ उनले थपिन्, ‘बजार गर्न आएको तर सामान लैजाउँ कि नलैजाउँ भएको छ । तै पनि गाउँमा सबै सामान नपाइने भएकाले लानै पर्ने हुन्छ ।’ दशैमा तानसेनमा अत्यधिक भीड हुने गर्छ । किराना, फेन्सी मात्र होइन, सबै सामानको व्यापार बढ्छ ।

नाममात्रैको अनुगमन, पसलैपिच्छे फरक मूल्य

दसैं नजिकिँदै गर्दा बजार अनुगमन भए पनि पसलैपिच्छे फरक मूल्य हुने गरेको पाइएको छ । यति मात्र होइन, म्याद नाघेका खाद्यवस्तु बिक्री भएका छन् । अनुगमनका क्रममा लाखौं मुल्यका सामग्री जफत गरेर नष्ट गरिएको छ ।

कतिपय व्यापारीले कृत्रिम अभाव देखाई कालोबजारीसमेत गर्ने ग्रेकोसमेत उपभोक्ताको गुनासो छ ।  बजार अनुगमन गरे पनि नाम मात्रैको अनुगमन हुने गरेको ती उपभोक्ताले बताए । अनुगमनमा म्याद गुज्रेका सामग्री फेला परे पनि त्यस्ता पसललाई कहिल्यै कारबाही नगरेको तानसेन–६ का उपभोक्ता रमेश घर्तीले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको समन्वयमा दशै नजिकिएसंगै फसलमा अनुगमन गरेको जनाएको छ । अनुगमनका व्रममा मापदण्डविपरीत चलेका पसललाई सुधार गर्न हरेक पटक सचेत गराउने गरिन्छ । तर कारबाही भने कहिल्यै भएको छैन ।

दोस्रो पटक अनुगमनमा पुग्दासमेत सुधार नभए कारबाही गर्ने भन्दै चेतावनी दिएर छाडिन्छ । ‘पसल अनुगमन गरेर सामाग्री जफत गरेको सधै सुनिएको हुन्छ,’ उपभोक्ता थापाले भने, ‘तर कहिल्यै पनि कारबाही गरेको भन्ने सुनिएको छैन । कारबाही नै नभएपछि सधै लापरवाही हुने गर्छ ।’ चाडपर्व सकिएपछि पुनः अनुगमन हुँदैन । सुधार भए/नभएकोबारे जानकारी पनि सरोकारवाला निकायलाई हुँदैन । झारा टार्ने र देखावटी मात्रैको अनुगमन हुने गरेको रामपुर–५ का गोविन्द पाण्डेयले बताए ।

नागरिक समाजका अगुवा चित्रवलीराम सुवालका अनुसार चाडपर्वलक्षित अनुगमन देखावटी झएको छ । बजार अनुगमनका व्रममा मापदण्डविपरीत चलेका पसललाई कारबाही गर्नु पर्ने उनले बताए । ‘सचेत मात्रै होइन, सुधार नगर्नेलाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘कर्मकाण्डी र भत्ता खानका लागि मात्र बजार अनुगमन गरेर हुँदैन । तीन तहका सरकारले बजार अनुगमन गर्ने गरे पनि प्रभावकारी भएको छैन ।’

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख श्याम कुमार पौडेलले कारबाही भन्दा पनि सचेत गराउने गरेको र कारबाही भने नगरेको बताए । ‘सचेत गराउने र दर्ता गर्नका लागि अनुरोध गर्दै सात दिनको समयावधि दिइने गरेको छ,’ उनले भने, ‘अनुगमनका क्रममा सुधार गर्नका लागि सुझाव दिइएको छ ।’ अनुगमन गरे पनि सदरमुकाम तानसेन र ग्रामीण भेगका पसलैपिच्छे फरक मूल्यमा खाद्यान्न बिक्री गर्ने गरेका छन् । एउटै सामानको फरक मूल्यमा बिक्री गर्दा अनुगमन गर्ने सरोकारवाला निकायले कुनै वास्ता गरेको छैन ।

यसवर्ष घरेलु तथा साना उद्योग कार्यालयले तानसेन नगरपालिका, बगनासकाली, रम्भा गाउँपालिकाका साथै रामपुर नगरपालिकामा बजार अनुगमन गरेको छ । दशैं लागेपछि स्थानीय तहका २ सय ३० पसलमा अनुगमन गर्दा २ लाख ४१ हजार ५९६ रुपैयाँ बराबरका सामग्री नष्ट गरेको कार्यालयले जनाएको छ ।

बजार अनुगमनका लागि लुम्बिनी प्रदेश सरकारले गतवर्ष ३ लाख र यसवर्ष २ लाख ५० हजार बजेट पठाएको थियो । खाद्य, किराना, होटल, रेष्टुरेण्टमा पसल दर्ता, कर तिरे नतिरेको, मुल्य सूचि, नविकरण, लेवल, खाद्य अनुज्ञाका साथै केही नमुनाका रुपमा म्याद गुज्रेको छ वा छैन भन्ने हेरिने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पौडेलले बताए । ‘सहायक प्रमुख जिल्ला अधिकारीसमेतको सहभागितामा भएको अनुगमनमा नगद कारबाही हुन्छ,’ उनले भने, ‘हामीलाई कारबाही गर्ने अधिकार छैन ।’

अनुगमन भएपनि मुल्य सूचि नराख्ने र महङ्गो गर्नेलाई कहिल्यै कारबाही नहुँदा उपभोक्ता सधै ठगिनु परेको तानसेन–४ का उपभोक्ता रेवन्त रानाले बताए । थोक तथा खुद्रा व्यापारीले दैनिक उपभोग्य वस्तु जथाभावी मूल्यमा बिक्री गरेको उनले बताए ।

उनका अनुसार पसलैपिच्छे जथाभावी मूल्य राखेर बिक्री गर्ने गरेपनि कसैलाई चासो छैन । दशैं नजिकिएसंगै खाने तेल, दाल, चामल, तरकारी लगायत दैनिक उपभोग्य वस्तुमा आफूखुसी मूल्य बढाएर बिक्री गर्ने गरेको गुनासो उनले गरे । व्यापारीले आफूखुसी मूल्य बढाउँदा उपभोक्ता मर्कामा परेका हुन् ।

जिल्लाको तानसेन लगायत छहरा, बतासे, अर्गली, झडेवा, रामपुर, मित्याल दैनिक उपभोग्य बस्तुको मूल्य आकासिएको छ । चाडपर्वमा घरमा बढी सामान खरिद गर्दासमेत यस्तो अवस्था आएको हुन सक्ने उपभोक्ता लक्ष्मी खनालले बताइन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully