कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

'डिजिटल मुद्रा' प्रयोगको प्रारुप तयार गरिने

काठमाडौँ — अहिले चल्तीमा रहेका कागजी मुद्रा वा सिक्काको विकल्पका रूपमा विभिन्न देशका केन्द्रीय बैंकले परीक्षण गरिरहेको विद्युतीय मुद्रा प्रयोगमा ल्याउन नेपाल राष्ट्र बैंकले पनि थप पहल अघि बढाउने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा सीबीडीसीको प्रारुप तयार गर्ने उल्लेख छ ।

'डिजिटल मुद्रा' प्रयोगको प्रारुप तयार गरिने

सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) सम्बन्धी राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनको आधारमा पहिलो चरणमा 'होलसेल सीबीडीसी' प्रयोगमा ल्याउन खोजिएको छ । बैंक तथा वित्तीय संस्थाबीचको कारोबारमा प्रयोग हुने होलसेल सीबीडीसीको प्रारुप (डिजाइन क्यारेक्टरिस्टिक्स) तयार गरिने मौद्रिक नीतिमा भनिएको छ ।

‘केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी अध्ययनका आधारमा होलसेल सीबीडीसीको प्रारुप तयार गर्ने कार्य अगाडी बढानेछ,’ मौद्रिक नीतिमा भनिएको छ । राष्ट्र बैंकले पछिल्ला केही वर्षयताको मौद्रिक नीतिमा सीबीडीसीबारे निरन्तर विभिन्न योजनाहरू समावेश गर्दै आएको छ । सन् २०२३ को जुलाईदेखि आफ्नो भुक्तानी प्रणाली विभागअन्तर्गत सीबीडीसीसम्बन्धी छुट्टै इकाइसमेत स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

राष्ट्र बैंकले होलसेल सीबीडीसीको पाइलट परीक्षण सन् २०२६ को अगस्टमा हुने आफ्नो चौथो रणनीतिक योजनामा समेत उल्लेख गरेको थियो । सर्वसाधारणले प्रयोग गर्ने रिटेल सीबीडीसी भने सन् २०२७ को जुनदेखि र क्रस बोर्डर सीबीडीसीका लागि सन् २०२६ को डिसेम्बरमा निर्णय गरिने भनिएको छ ।

प्रकाशित : श्रावण ११, २०८१ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×