कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कतारी लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक

काठमाडौँ — कतारका लगानीकर्ताहरू नेपालमा लगानी गर्न सकारात्मक देखिएका छन् । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र कतार फाइनान्सियल सेन्टर (क्यूएफसी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) युसुफ मोहम्मद अल जाइदासँग भएको द्विपक्षीय भेटमा कतारी लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक भएका हुन् ।

कतारी लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक

सरकारले आगामी अप्रिल २८ र २९ तारिख काठमाडौंमा हुन लागेको तेस्रो नेपाल लगानी सम्मेलनमा कतारको लगानी कर्ता बढाउन राजदूत ढकालले क्यूएफसीका सीईओसमक्ष आग्रह गरेका थिए ।

‘नेपालमा विदेशी लगानी कर्ताको लगानी सुनिश्चित गर्न उपयुक्त कानुन र वातावरण छ । हाइड्रोपावर, शिक्षा, स्वास्थ्य, आइसिटी, यातायात तथा ग्रामिण विकासमा लगानी गर्न सकिने क्षेत्रहरु छन् । यसमा नेपाल सरकारले आयोजनाहरु पहिचान गरिसकेको छ,’ राजदूत ढकालले भने ।

क्यूएफसीका सीईओ जाइदाले कतारका ठूला लगानीकर्ताहरूसँग यसबारे छलफल गरिने बताए । ‘नेपालको विकासमा हामी सहयोगी हुन चाहन्छौं । हामी हाम्रा लगानीकर्ताहरूसँग यसवारे छलफल गर्नेछौं,’ उनले भने ।

कतारी लगानीकर्ताहरूसँग छलफल गर्न नेपाल बिजनेस एशोसिएसन, कतारले एउटा कार्यक्रम गर्ने भएको छ । त्यसमा कतारी लगानीकर्ताहरूको उपस्थिति हुने क्यूएफसीले जनाएको छ । यसको लागि तयारी अगाडि बढाइएको राजदूत ढकालले बताए ।

यो भेटमा नेपाली दूतावासका उपप्रमुख कुमार राई, नेपाल बिजेनस एसोसियसनका अध्यक्ष महेन्द्र चौलागाईं, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, सल्लाहकार नरेन्द्र भाट, व्यवसायी सुनिल घिमिरेलगायतको सहभागिता रहेको थियो ।


प्रकाशित : फाल्गुन २५, २०८० ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?